
ग्रेट वाल मोटर (जिडब्लुएम) ले नयाँ विद्युतीय एसयुभी 'हाभल जोलियन म्याक्स' नेपाली बजारमा सार्वजनिक गरेको छ।
काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले यो मोडल सार्वजनिक गरेको हो।
५८.३ किलोवाट–आवर ब्याट्री रहेको जोलियन म्याक्सले एक पटकको चार्जमा ४२० किलोमिटरभन्दा बढी दूरी तय गर्ने कम्पनीको दाबी छ। यसमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ।
सुरक्षातर्फ एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, लेन चेन्ज असिस्ट, फर्वार्ड कोलिजन वार्निङ, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, रियर क्रस ट्राफिक वार्निङलगायतका सुविधा छन्।
यसमा १४.६ इन्चको टचस्क्रिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो, वायरलेस चार्जिङ, भ्वाइस रिकग्निसन, ब्लुटुथ र ६ वटा स्पिकरको अडियो सिस्टम छ। भेरियन्टअनुसार प्यानोरामिक सनरुफ, हिटेड तथा भेन्टिलेटेड फ्रन्ट सिट, इलेक्ट्रिक ड्राइभर सिट र एम्बियन्ट लाइटिङ पनि उपलब्ध छन्।
जोलियन म्याक्सले ६.६ किलोवाटसम्मको एसी चार्जिङ र डीसी चार्जिङ सपोर्ट गर्छ। यसमा भेहिकल–टु–लोड (भिटुएल) सुविधा पनि छ।
जिडब्लुएमले करिब एक महिनाअघि ‘ओरा–५’ इभी सार्वजनिक गरेको थियो। नेपाल हाभल जोलियन म्याक्स सार्वजनिक हुने विश्वकै दोस्रो बजार भएको कम्पनीले जनाएको छ।
नेपालका लागि जिडब्लुएमको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालि. हो। नाइमा एक्स्पोको विशेष सुरुआती मूल्यमा हाभल जोलियन म्याक्स ५९ लाख ९९ हजार ९ सय ९९ रूपैयाँमा उपलब्ध हुनेछ।