
चेरी अटोमोबाइल्सले नयाँ विद्युतीय गाडी 'चेरी क्यू' नेपालमा सार्वजनिक गरेको छ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले चेरी क्यूका दुई विकल्प सार्वजनिक गरेको हो। हाल प्रिमियम भर्सन मात्रै नेपालमा ल्याइएको कम्पनीले जनाएको छ।
चेरी क्यूमा ४१.२ किलोवाट–आवरको ब्याट्री र ९० किलोवाटको मोटर छ।
कम्पनीका अनुसार यसले एक पटकको चार्जमा ४०० किलोमिटरसम्म यात्रा गर्न सक्छ। गाडीमा ३७५ लिटरको बुट स्पेस रहेको छ, जसलाई पछाडिको सिट फोल्ड गर्दा १ हजार ४५० लिटरसम्म बढाउन सकिन्छ।
कम्पनीका अनुसार नाइमा एक्स्पोको पहिलो दिन स्टलबाटै ७६ वटा गाडी बुकिङ भएका छन्।
एक्स्पो अफरअन्तर्गत चेरी क्यूको मूल्य ३० लाख ९९ हजार रुपैयाँ तोकिएको छ। टप मोडलको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ छ।
कम्पनीले बिक्रीपछिको सेवाअन्तर्गत मोटर र ब्याट्रीमा ११ वर्षको वारेन्टी दिने जनाएको छ।
मंगलबारदेखि काठमाडाैंको भृकुटी मण्डपमा नाइमा एक्स्पो चलिरहेकाे छ। आयाेजकका अनुसार याे एक्स्पो आइतबारसम्म चल्नेछ।