
रोयल इन्फिल्डले 'नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६' मा आफ्ना विभिन्न मोडलका बाइकहरू प्रदर्शनमा राखेको छ।
भृकुटीमण्डपमा जारी एक्सपोमा रोयल इन्फिल्ड स्टलमा मेटिओर ३५०, स्क्र्याम ४४०, गोअन क्लासिक ३५० र हन्टर ३५० लगायत बाइक राखिएका छन्।
यीमध्ये कुनै क्रुजर, कुनै एड्भेन्चर र कुनै सहरमा दैनिक चलाउन उपयुक्त भएको कम्पनीले जनाएको छ।
नेपालमा रोयल इन्फिल्डका बाइकहरू अल्फा अटोमोटिभ प्रालिले बिक्री वितरण गरिरहेको छ।
सबभन्दा पहिले कुरा गरौं, मेटिओर ३५० मोडलको।
मेटिओर ३५० मा ३४९.३४ सिसीको सिंगल–सिलिन्डर, एयर–आयल कुल्ड इन्जिन छ। यसले २०.२ बिएचपी शक्ति र २७ एनएम टर्क उत्सर्जन गर्छ।
५–स्पिड गियरबक्स भएको यो बाइक लामो दुरीको यात्रा आरामदायी बनाउन डिजाइन गरिएको हो।
निर्माता कम्पनीले दाबी गरे अनुसार यसको माइलेज ३६.२ किलोमिटर प्रतिलिटर छ। ठाउँ, समय र चलाउने तरिका अनुसार माइलेज केही घटबढ हुन्छ।
यसमा १५ लिटर क्षमताको पेट्रोल ट्यांकी छ। अगाडि ३०० मिलिमिटर र पछाडि २७० मिलिमिटर डिस्क ब्रेकसँगै डुअल–च्यानल एबिएस दिइएको छ। यसको ग्राउन्ड क्लियरेन्स १७० मिमी र सिटको उचाइ ७६५ मिमी छ।
नेपालमा मेटिओर ३५० को मूल्य ५ लाख ९१ हजार रूपैयाँबाट सुरू हुन्छ। रङ तथा भेरियन्ट अनुसार ६ लाख ११ हजार रूपैयाँसम्म पुग्छ।
नेपालमा मेटिओर ३५० सुपरनोभा ब्ल्याक, औरोरा रेट्रो ग्रीन, अरोरा रेड, स्टेलर मरिन ब्लू, स्टेलर म्याट ग्रे, फायरबल ओरेन्ज र फायरबल ग्रे गरी सात रङमा उपलब्ध छ।

अब कुरा गरौं, स्क्र्याम ४४० को।
यहाँ उल्लिखित चार मोडलमध्ये स्क्र्याम सबभन्दा ठूलो इन्जिन क्षमता भएको बाइक हो। यसमा ४४३ सिसी सिंगल–सिलिन्डर इन्जिन छ।
यसले २५.४ बिएचपी शक्ति र ३४ एनएम टर्क उत्सर्जन गर्छ। ६–स्पिड गियरबक्स दिइएको यो बाइकले ३० किलोमिटर प्रतिलिटर माइलेज दिने निर्माण कम्पनीले दाबी गरेको छ। यो पनि ठाउँ, समय र चलाउने तरिका अनुसार घटबढ हुन्छ।
यसको पेट्रोल ट्यांकी क्षमता १५ लिटर छ। अगाडि ३०० मिमी र पछाडि २४० मिमी डिस्क ब्रेक छन्।
यसमा स्विचेबल डुअल–च्यानल एबिएस छ। एड्भेन्चर तथा कच्ची बाटोका लागि उपयोगी बनाउन यसको ग्राउन्ड क्लियरेन्स २०० मिमी राखिएको छ। अगाडि १९ र पछाडि १७ इन्चका चक्का छन्।
नेपालमा स्क्र्याम ४४० को मूल्य ६ लाख ८९ हजार ९०० रूपैयाँबाट सुरू हुन्छ। यसको फोर्स भेरियन्टको मूल्य ६ लाख ९९ हजार ९०० रूपैयाँसम्म पुग्छ। यो फोर्स ब्लू, फोर्स ग्रे, फोर्स टिल, ट्रेल ब्लू र ट्रेल ग्रीन रङमा उपलब्ध छ।

अब गोअन क्लासिक ३५० तर्फ लागौं।
नामले नै संकेत गरेझैं यसको डिजाइन क्लासिक तथा बबर शैलीमा आधारित छ। यसमा ३४९ सिसीको जे–प्लेटफर्म इन्जिन छ, जसले २०.२ बिएचपी शक्ति र २७ एनएम टर्क उत्सर्जन गर्छ।
५–स्पिड गियरबक्स भएको यसको माइलेज ३६.२ किलोमिटर प्रतिलिटर भएको कम्पनीले जनाएको छ।
यसमा १३ लिटरको पेट्रोल ट्यांकी छ। अगाडि ३०० मिमी र पछाडि २७० मिमी डिस्क ब्रेक तथा डुअल–च्यानल एबिएस छ। यसको ग्राउन्ड क्लियरेन्स १७० मिमी र सिटको उचाइ ७५० मिमी छ।
नेपालमा गोअन क्लासिक ३५० को मूल्य ६ लाख १२ हजार रूपैयाँबाट सुरू हुन्छ।
स्याक ब्ल्याक र पर्पल हेजको मूल्य ६ लाख १२ हजार रूपैयाँ छ। त्यस्तै ट्रिप टिल र र्याभ रेडको मूल्य ६ लाख १६ हजार रूपैयाँ पर्छ।

अब अन्त्यमा हन्टर ३५०।
हन्टर ३५० मा ३४९ सिसीको एयर–आयल कुल्ड, सिंगल–सिलिन्डर इन्जिन छ।
यसले २०.२ बिएचपी शक्ति र २७ एनएम टर्क उत्सर्जन गर्छ। ५–स्पिड गियरबक्स र असिस्ट–स्लिप क्लच रहेको यो बाइकले ३६.२ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ। माथि भनेझैं विभिन्न कारणले माइलेज थोरै घटबढ हुन्छ।
यसमा १३ लिटरको पेट्रोल ट्यांकी छ। अगाडि ३०० मिमी र पछाडि २७० मिमी डिस्क ब्रेकसँगै डुअल–च्यानल एबिएस छ। यसको ग्राउन्ड क्लियरेन्स १६० मिमी छ।
नेपालमा हन्टर ३५० को मूल्य ५ लाख ६ हजार रूपैयाँबाट सुरू हुन्छ। रङ अनुसार यसको मूल्य ५ लाख ११ हजार रूपैयाँसम्म पुग्छ।
नेपालमा हन्टर ३५० ग्राफाइट ग्रे, टोकियो ब्ल्याक, लन्डन रेड, रिबेल ब्लु, ड्यापर ग्रे र रियो ह्वाइट लगायत रङमा उपलब्ध छ।

समग्रमा हेर्दा मेटिओर ३५० आरामदायी क्रुजर यात्राका लागि, स्क्र्याम ४४० सहरसँगै कच्ची तथा लामो दुरीको यात्राका लागि, गोअन क्लासिक ३५० बबर शैली मन पराउनेका लागि र हन्टर ३५० दैनिक सहर यात्राका लागि लक्षित छन्।
एउटै ब्रान्डका भए पनि इन्जिन क्षमता, डिजाइन, ग्राउन्ड क्लियरेन्स, माइलेज र मूल्यमा यी चारै बाइक एकअर्काभन्दा फरक रहेको कम्पनीले जनाएको छ।