
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा बहुप्रतीक्षित सवारीमध्ये एक 'आर्कफक्स टी१' एक्स्पोको पाँचौं दिन औपचारिक रूपमा सार्वजनिक भएको छ।
प्रिमियम पारिवारिक क्रसओभर विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको आर्कफक्स टी१ मा नेपालको सहरी सडक तथा विविध ड्राइभिङ अवस्थालाई सुहाउने इन्टेलिजेन्ट प्रविधि, आरामदायी क्याबिन र व्यावहारिक कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ।
टी१ को प्रमुख विशेषतामध्ये अटोमेटिक पार्किङ असिस्टेन्स सिस्टम एक हो।
यस प्रणालीले सवारीलाई समानान्तर तथा ठाडो पार्किङ गर्न र पार्किङ क्षेत्रबाट सुरक्षित रूपमा बाहिर निकाल्न सहयोग गर्छ।
काठमाडौंजस्ता व्यस्त सहरका साँघुरा सडक र सीमित पार्किङ क्षेत्रमा यो सुविधा विशेष उपयोगी हुने देखिन्छ।
यसलाई ३६० डिग्री अराउन्ड भ्यू मोनिटर, न्यारो रोड असिस्टेन्स, रिभर्स पाथ ट्रेस तथा अगाडि र पछाडिका पार्किङ सेन्सरले थप प्रभावकारी बनाएका छन्।
यी प्रविधिले साँघुरा सडक, भीडभाड र सीमित ठाउँमा सवारी चलाउँदा चालकलाई वरपरको स्पष्ट दृश्य र थप आत्मविश्वास प्रदान गर्छन्।
टी१ मा ७० किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ, जसले १७० एनएम टर्क उत्पादन गर्छ।
यसको ४२.३ किलोवाट आवर क्षमताको सिएएलबी लिथियम आइरन फस्फेट ब्याट्रीले एकपटकको पूर्ण चार्जमा ३१० किलोमिटरसम्मको डब्लुएलटिपी रेन्ज प्रदान गर्छ।
डिसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई करिब २५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
आफ्नो सेग्मेन्टमै उत्कृष्टमध्येको १८१ एमएम ग्राउन्ड क्लियरेन्स भएका कारण टी१ नेपालका स्पिड ब्रेकर तथा असमान सडकमा सहज रूपमा चलाउन उपयुक्त छ।
यसमा इको, स्पोर्ट, कम्फर्ट र पर्सनलाइज्ड गरी चारवटा ड्राइभिङ मोड उपलब्ध छन्।
सुरक्षाका लागि यसमा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध छ।
यसअन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल, ट्राफिक जाम असिस्ट, लेन डिपार्चर वार्निङ, फर्वार्ड कोलिजन वार्निङ र अटोमेटिक इमर्जेन्सी ब्रेकिङजस्ता सुविधा समावेश छन्।
गाडीको संरचनाका महत्वपूर्ण भागमा १,५०० मेगापास्कलसम्मको उच्च क्षमतायुक्त स्टिल प्रयोग गरिएको छ।
टी१ मा २,७५० एमएमको ह्विलबेस, १५.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, डुअल–जोन भ्वाइस रिकग्निसन तथा तातो र चिसो बनाउन मिल्ने अगाडिका सिटसहित फराकिलो र आरामदायी क्याबिन उपलब्ध छ।
पछाडिका सिटलाई २८ डिग्रीसम्म ढल्काउन सकिन्छ। गाडीमा ३२ वटा स्टोरेज स्पेस, सातवटा मोबाइल होल्डर तथा पछाडिका सिट फोल्ड गर्दा १,३५२ लिटरसम्मको लगेज क्षमता उपलब्ध हुन्छ।
इन्टेलिजेन्ट पार्किङ प्रविधि, उन्नत सुरक्षा, प्रिमियम आराम र दैनिक प्रयोगमा आवश्यक व्यावहारिकताको संयोजनसहित आर्कफक्स टी१ नेपालका सहरी पेशाकर्मी तथा आधुनिक परिवारका लागि आकर्षक विद्युतीय सवारी विकल्पका रूपमा भित्रिएको छ।
आर्कफक्स टी१ अहिले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा प्रदर्शनमा राखिएको छ।