
बहुप्रतीक्षित विद्युतीय एसयुभी 'सियरा इभी' नेपाल भित्रिने भएको छ।
टाटा मोटर्सको यो नयाँ विद्युतीय मोडललाई सिप्रदी ट्रेडिङले नाडा अटो शोमा सार्वजनिक गर्ने भएको छ।
भदौ १० देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने नाडा अटो शोमा सियरा इभी सार्वजनिक गरिनेछ।
भारतीय बजारमा सार्वजनिक भइसकेको यो मोडल नेपाली बजारमा पनि ल्याउन लागिएको हो।
सिप्रदी ट्रेडिङकी मार्केटिङ म्यानेजर अविरुची गिरीले नाडा अटो शोमा सियरा इभी सार्वजनिक गरिने बताइन्।
उनका अनुसार नयाँ मोडलमा आधुनिक प्रविधि, प्रिमियम फिचर र आकर्षक डिजाइनलाई प्राथमिकता दिइएको छ।
सियरा इभी दुई ब्याट्री विकल्पमा उपलब्ध छ।
यसमा ६३ किलोवाट घण्टा र ७५ किलोवाट घण्टाको ब्याट्री विकल्प छन्। ७५ किलोवाट घण्टाको ब्याट्री भएको रियर ह्विल ड्राइभ संस्करणले एकपटक चार्जमा ६६५ किलोमिटरसम्मको दाबी गरिएको रेन्ज दिन्छ।
यसको ग्राउन्ड क्लियरेन्स २०५ मिलिमिटर छ। नेपाली सडकको अवस्थालाई हेर्दा यो यसको महत्वपूर्ण विशेषता मानिएको छ। गाडीको लम्बाइ ४ हजार ३४० मिलिमिटर र ह्विलबेस २ हजार ७७५ मिलिमिटर छ।
सियरा इभीको अर्को आकर्षण यसको चार्जिङ क्षमता हो।
१२० किलोवाटको डिसी फास्ट चार्जर प्रयोग गर्दा १५ मिनेटमा २६३ किलोमिटरसम्मको रेन्ज थप्न सकिने कम्पनीको दाबी छ।
२० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २६ मिनेट लाग्ने बताइएको छ।
यसमा ट्रिपल स्क्रिन सेटअप छ। डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर १०.२५ इन्चको छ। इन्फोटेनमेन्ट र यात्रुका लागि १२.३–१२.३ इन्चका स्क्रिन छन्।
प्यानोरामिक सनरुफ, हेड–अप डिस्प्ले र भेन्टिलेटेड सिट पनि उपलब्ध छन्।
गाडीमा १२ स्पिकरसहितको जेबिएल अडिओ सिस्टम र डल्बी एटमस, डुअल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर र एयर प्युरिफायरजस्ता फिचर पनि छन्।

पावर टेलगेट, एम्बियेन्ट लाइटिङ, रियर सनब्लाइन्ड र डिजिटल की पनि उपलब्ध छन्।
सुरक्षातर्फ सियरा इभीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र लेभल–२ एडिएएस उपलब्ध छन्।
५४० डिग्री क्यामराले गाडी वरपरको दृश्यसँगै अन्डरबडी क्षेत्र हेर्नसमेत सहयोग गर्छ। अटो पार्क असिस्ट पनि उपलब्ध छ।
सियरा इभीको ७५ किलोवाट घण्टाको उच्च संस्करणमा अल ह्विल ड्राइभ विकल्प पनि छ।
यसमा डुअल मोटर प्रयोग गरिएको छ। यस संस्करणमा नर्मल, ग्रास/स्नो, मड/ग्राभेल, स्यान्ड, रक क्रल र कस्टम गरी छवटा टेरेन मोड छन्।
यसले खराब सडक र अफरोड ड्राइभिङमा थप क्षमता दिनेछ।
एडब्लुडी संस्करणमा बुस्ट मोड प्रयोग गर्दा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्डमा पुग्ने दाबी गरिएको छ।
यसले सियरा इभीलाई पारिवारिक एसयुभीसँगै उच्च प्रदर्शन खोज्ने ग्राहकका लागि पनि लक्षित गरेको देखिन्छ।
सियरा इभीमा ६२२ लिटरको बुट स्पेस छ। पछाडिका सिट फोल्ड गर्दा सामान राख्ने क्षमता अझ बढ्छ।

पाँच जनासम्म यात्रु अट्ने यसको केबिनलाई फराकिलो र आरामदायी बनाइएको छ।
गाडीमा भिटुएल र भिटुभी चार्जिङ सुविधा पनि छ। ओभर द एयर अपडेट, कनेक्टेड कार प्रविधि र ई–भ्यालेट अटोनोमस पार्किङजस्ता प्रविधि पनि उपलब्ध छन्।
नेपाली बजारमा सियरा इभीको मूल्य र कुन–कुन भेरियन्ट उपलब्ध हुने भन्ने विवरण भने नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी गरिएको छ।