
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल थप खस्किएको गुनासो गरेका छन्।
मंगलबार नाडा अटो शो २०२६ को उद्घाटनमा उनले आफ्नो व्यवसयिक करिअरकै सबैभन्दा कमजोर मनोबल अहिले देखिएको बताएका हुन्।
'मेरो ३६ वर्षको करियरको अनुभवले अहिले सबैभन्दा कमजोर मनोअवस्थामा पुगेको ठान्छु,' उने थपे ' व्यवसायको मनोबल इतिहासकै कमजोर अवस्थामा छ।'
भएका उद्योग सञ्चालनमा समस्या परेको माग बढ्न नसकेको र मनोबल पनि कमजोर हॅुदा ठूलो अन्योल देखिएको उनले बताए।
उनले वर्तमान सरकार आएपछि धेरै प्रतिवद्धता गरेर पनि काम हुन नसकेको तर्क गरेका छन्।
'सरकारले बजेटमार्फत अर्थतन्त्र चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेको छ, ५ देखि ७ वर्षमा ३ हजार डलरको प्रतिव्यक्ति आय, १ सय बिलियनको अर्थतन्त्र र १२ लाख रोजगारीको प्रतिवद्धता छ,' उनले भने, 'बजेटका घोषणा अगाडि बढेनन्।'
उल्लेखित उपलब्धि हासिल गर्न सरकारले रणनीति बनाउन नसकेको उनको आरोप छ।
अटोमोबाइल क्षेत्रमा गत आर्थिक वर्षमा १ खर्ब ६ अर्बको आयात हुदा ८१ अर्ब राजस्व संकलन गरिएको भन्दै उनले यातायातलाई राजस्व उठाउने स्रोता रूपमा मात्रै हेरिएको बताए।
'१२ खर्ब राजस्व मध्ये एक्लैले ८१ अर्ब योगदान गर्ने क्षेत्रलाई सरकारको प्राथमिकता हुनु पर्छ,' उनले भने।
अटोमोबाइल क्षेत्रमा आयात प्रतिस्थापनका लागि स्वदेशमै उद्योग खुल्नु पर्ने उनले बताए।
सरकारले आफैं उद्योग सञ्चालन गर्ने सोच बनाएकोमा पनि उनले टिप्पणी गरे।
'भुइँको टिप्दा पोल्टाको खस्ला भन्नेमा सचेत गराउन चाहन्छु,' सरकारले केही उद्योग सञ्चालन गर्ने तयारी गरेको अवस्थामा श्रेष्ठले टिप्पणी गरे।