
नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रिक एसयूभी सिएरा इभी सार्वजनिक भएको छ।
नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले मंगलदेखि सुरू भएको नाडा अटो शो २०२६ मा सिएरा इभी प्रदर्शन गरेको हो।
साथै, कम्पनीले सिएरा इभीको औपचारिक सुरू प्रि-बुकिङ खुलाएको छ।
यसको डेलिभरी आगामी दसैंदेखि सुरू गरिने कम्पनीले जनाएको छ।
नेपाली बजारमा विद्युतीय सवारीमा वर्चस्व जमाइरहेको टाटाले सिएरा इभी ल्याएसँगै आफ्नो उपस्थिति झन् बलियो भएको बताएको छ। सिप्रदीले हाल टाटाका टियागो इभी, पन्च इभी, नेक्सन इभी र कर्भ इभी बिक्री गर्दै आएको छ।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालको विद्युतीय क्षेत्रमा टाटा इभीको यात्राले नयाँ उचाइ लिएको बताए।
'नयाँ टियागो इभी र नयाँ पञ्च इभीमा नेपाली ग्राहकले देखाउनुभएको अभूतपूर्व विश्वासले हामीलाई उत्साहित बनाएको छ। काठमाडौंका सडकदेखि देशका विभिन्न भू-भागसम्म पहुँच पुर्याउन टाटा इभी अग्रणी बनेको छ,' श्रेष्ठले भने, 'सिएरा इभीको आगमनले प्रिमियम एसयूभी खोज्ने ग्राहकका लागि नयाँ मापदण्ड खडा गर्नेछ। यसले ग्राहकलाई आगामी दिनका लागि सबैभन्दा आधुनिक र सक्षम इभीहरूमा पहुँच सुनिश्चित गर्छ।'
आकर्षक डिजाइन, उत्कृष्ट कार्यक्षमता, फराकिलो इन्टेरियर र अत्याधुनिक प्रविधिसहित २०५ मिमी ग्राउन्ड क्लियरेन्समा आएको सिएरा इभीले नेपालको इभी रूपान्तरणमा अर्को ठूलो कोसेढुंगा थप्ने उनको विश्वास छ।
सिएरा इभी विशिष्ट डिजाइन, रोमाञ्चक कार्यक्षमता र दैनिक व्यावहारिक प्रयोग चाहने ग्राहकहरूका लागि तयार पारिएको कम्पनीले जनाएको छ।
टियागो इभी, नेक्सन इभी र पन्च इभीमा विशेष छुट
कम्पनीले नाडामा आफ्नो लोकप्रिय एसयुभी नेक्सनको नयाँ भेरियन्ट नेक्सन इभी रिलोड पनि लन्च गरेको छ।
कम्पनीले यसको आधिकारिक मूल्य ४३ लाख ९९ हजार रूपैयाँ तोकेको छ।
नाडा अफरअन्तर्गत ग्राहकले ४२ लाख ४९ हजार रूपैयाँमै किन्न पाउने कम्पनीले जनाएको छ।
त्यस्तै, कम्पनीले गत हालै सार्वजनिक गरेको टियागो इभी र पन्च इभी फेसलिफ्ट मोडलमा पनि १-१ लाख रूपैयाँ छुट दिएको छ। नाडा अफरमा ग्राहकले पन्च इभी ३२ लाख ९९ हजार र टियागो इभी २७ लाख ९९ हजार रूपैयाँमै खरिद गर्न सक्नेछन्।