
विद्युतीय दुईपांग्रेको नेपाली ब्रान्ड 'यात्री' ले बहुप्रतीक्षित नयाँ स्कुटर यात्री पी२ सार्वजनिक गरेको छ।
नेपालमा टाटा गाडीको समेत आधिकारिक बिक्रेता रहेको सिप्रदी ट्रेडिङ अन्तर्गतको सिप्रदी यात्रीले यो स्कुटर सार्वजनिक गरेको हो।

फरक फरक प्रयोगकर्ता र उनीहरूको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले पी२लाई विभिन्न ब्याट्री तथा कन्फिगरेसन विकल्पसहित ल्याएको जनाएको छ।
यात्रीका मेकानिकल डिजाइन टोलीका सदस्य पवन श्रेष्ठका अनुसार पी२ विकास गर्दा कागजमा आकर्षक स्पेसिफिकेसन देखाउनुभन्दा दैनिक प्रयोगमा कत्तिको उपयोगी हुन्छ भन्ने पक्षलाई प्राथमिकता दिइएको छ।
विभिन्न मानिसको प्रयोग र आवश्यकता फरक हुने भएकाले स्कुटरलाई मोड्युलर बनाइएको उनले बताए।

पी२मा ३.०, ३.७ र ५.२ किलोवाट आवर क्षमताका एलजी लिथियम–आयन ब्याट्री प्याक उपलब्ध छ।
कम्पनीका अनुसार यसबाट क्रमशः ९०, ११२ र १५७ किलोमिटर रेन्ज प्राप्त गर्न सकिन्छ। लामो दुरी यात्रा गर्न चाहनेका लागि १.८ किलोवाट आवरको वैकल्पिक रेन्ज एक्सटेन्डर पनि उपलब्ध हुनेछ, जसले थप ५० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।
५.२ किलोवाट आवरको ब्याट्री र रेन्ज एक्सटेन्डर जोड्दा कुल रेन्ज २०७ किलोमिटरसम्म पुग्ने कम्पनीले जनाएको छ।

स्कुटरमा १० किलोवाट पिक पावर र ३१५ एनएम ह्विल टर्क छ। डिसी चार्जरबाट ० देखि ८० प्रतिशतसम्म चार्ज हुन ४१ मिनेट लाग्नेछ भने १,३५० वाटको एसी चार्जरबाट २.५ घण्टाभन्दा कम समयमा चार्ज गर्न सकिने बताइएको छ।
पी२ डिजाइनमा बुट स्पेस र दैनिक उपयोगितालाई पनि विशेष प्राथमिकता दिइएको श्रेष्ठले बताए। बुटमा फुल–साइज हेल्मेट राख्न सकिनेछ भने आवश्यक पर्दा त्यहीँ रेन्ज एक्सटेन्डर पनि राख्न मिल्ने व्यवस्था गरिएको छ।
ठूलो ब्याट्री भएका विद्युतीय स्कुटरमा देखिने सिट उचाइ र ग्राउन्ड रिचको समस्यालाई समाधान गर्न फ्लोरबोर्ड, सिट र समग्र प्याकेजिङमा विशेष काम गरिएको छ।

कम उचाइ भएका चालकले पनि सहज रूपमा चलाउन सकून् भनेर सिटको डिजाइनमा विभिन्न परीक्षण गरिएको छ।
यात्री पी२ 'एभरेस्ट स्नो', 'मुस्ताङ डेजर्ट', 'भैरव मिडनाइट', 'शिवपुरी थन्डर', 'अन्नपूर्णा स्टर्म' र 'सौराहा मिस्ट' गरी ६ रङमा उपलब्ध हुनेछ।


