
हुन्डाइले नेपालमा उत्पादन हुँदै आएका दुई गाडी 'मेड इन नेपाल' थिममा नाडा अटो शोमा प्रस्तुत गरेको छ।
कम्पनीले भेन्यु र क्रेटा तथा क्रेटा इलेक्ट्रिक प्रदर्शनीमा राखेको छ।
हुन्डाइ सन् २०१५ देखि नेपालमा उपलब्ध हुँदै आएको हो।
भेन्यु भने सन् २०१९ मा नेपाली बजारमा आएको हो।
कम्पनीका अनुसार नाडा अटो शोमा नयाँ जेनेरेसनको भेन्यु म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ।
म्यानुअलतर्फ एचएक्स–२ र एचएक्स प्लस–५ भेरियन्ट छन्।
यी भेरियन्टको मूल्य क्रमशः ४८ लाख ९६ हजार र ५२ लाख ९६ हजार रूपैयाँ छ। अटोमेटिक भेरियन्टको मूल्य ५८ लाख ९६ हजार रूपैयाँ छ।
भेन्युमा १२ सय सिसीको इन्जिन, १९५ एमएमको ग्राउण्ड क्लियरेन्स र ३७५ लिटरको बुट स्पेस छ।
यसमा स्पेयर टायर पनि उपलब्ध छ। मोडलअनुसार वायरलेस चार्जर, सनरुफलगायतका सुविधा रहेका छन्।
त्यस्तै, क्रेटाको मूल्य ५५ लाख ५६ हजार रूपैयाँबाट सुरू हुन्छ।
पेट्रोल भेरियन्टमा 'ई' र टप भेरियन्टमा 'एसएक्सओ' उपलब्ध छ।
एसएक्सओ भेरियन्टको मूल्य ८० लाख ५६ हजार रूपैयाँ छ।
क्रेटामा एलईडी हेडलाम्प, १९० एमएमको ग्राउण्ड क्लियरेन्स, ४३० लिटरको बुट स्पेस, स्पेयर टायर र प्यानोरामिक सनरुफलगायतका सुविधा छन्।
बिक्रीपछिको सुविधाका कारण हुन्डाइका गाडी नेपाली बजारमा धेरै रुचाइएको कम्पनीले बताएको छ।