
यामाहाको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले नाडा अटो शो २०२६ मा यामाहा एक्सएसआर १५५ सार्वजनिक गरेको छ।
'बर्न टु स्ट्यान्ड अपार्ट' अभियानको अवधारणामा केन्द्रित कार्यक्रममा नेपालभरका आगन्तुक तथा मोटरसाइकलप्रेमीले पहिलोपटक यामाहाको नयाँ रेट्रो–मोडर्न मोटरसाइकललाई प्रत्यक्ष अनुभव गर्न पाउनेछन्।
आफ्नो छुट्टै पहिचान बनाउन र परम्परागत स्ट्रिट बाइकभन्दा फरक देखिन चाहने राइडरका लागि यो मोटरसाइकल डिजाइन गरिएको कम्पनीले जनाएको छ।
यामाहा एक्सएसआर १५५ ले आधुनिक कार्यक्षमतासँगै यामाहाको मोटरसाइकल विरासतको संयोजन प्रस्तुत गर्ने कम्पनीको भनाइ छ।
यसमा टियरड्रप आकारको इन्धन ट्याङ्की, रेट्रो शैलीबाट प्रेरित सिग्नेचर राउन्ड एलइडी हेडलाम्प, फ्ल्याट बेन्च शैलीको सिट तथा मिनिमल र क्लिन बडीवर्क रहेको छ।
यी विशेषताले मोटरसाइकललाई शक्तिशाली उपस्थिति र विशिष्ट क्लासिक स्वरूप प्रदान गर्ने कम्पनीले जनाएको छ।
१५५ सिसीको इन्जिनबाट सञ्चालित एक्सएसआर १५५ ले दैनिक सहरी प्रयोग र उत्कृष्ट कार्यसम्पादनबीच सन्तुलन कायम गर्ने कम्पनीको दाबी छ।
यसले क्लासिक संरचनामा आधुनिक सुविधा र प्रविधिको संयोजन गर्दै फरक राइडिङ अनुभव प्रदान गर्ने जनाएको छ।
एमएडब्लु ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले नेपाली बजारमा छुट्टै पहिचान बनाउन सफल मोटरसाइकल भित्र्याउन पाउँदा उत्साहित भएको बताएका छन्।
उनका अनुसार ‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियान व्यक्तिगत पहिचान र शैलीको उत्सव हो।
यामाहा नेपालले नाडा अटो शोबाटै एक्सएसआर १५५ का लागि विशेष प्रि–बुकिङ खुला गरेको छ।
ग्राहकले मोटरसाइकल खरिदका लागि एक महिनाअघि प्रि–बुकिङ गर्नुपर्नेछ।
सीमित प्रि–बुकिङको व्यवस्था बजारमा व्यापक रूपमा उपलब्ध हुनुअघि नै इच्छुक राइडरलाई प्रारम्भिक पहुँच प्रदान गर्ने उद्देश्यले गरिएको कम्पनीले जनाएको छ।