
लिपमोटरले नाडा अटो शोमा तीनवटा विद्युतीय गाडी प्रदर्शनीमा राखेको छ।
कम्पनीले बी–१०, हालै सार्वजनिक भएको बी–०३एक्स र सी–१० प्रदर्शनीमा राखेको हो।
यीमध्ये बी–१० र बी–०३एक्सले ग्राहकको बढी ध्यान आकर्षित गरिरहेको कम्पनीले जनाएको छ।
बी–०३एक्स कम्प्याक्ट विद्युतीय एसयुभी हो।
यसको लम्बाइ ४ हजार २७० मिलिमिटर र ह्विलबेस २ हजार ६०५ मिलिमिटर छ।
यसमा ५३ किलोवाट आवरको ब्याट्री र १४५ किलोवाटको मोटर रहेको छ।
कम्पनीका अनुसार यसले डब्लुएलटिपी परीक्षणमा एकपटकको चार्जमा ३८२ किलोमिटरसम्म यात्रा गर्न सक्छ।
यसलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न १६ मिनेट लाग्ने कम्पनीले जनाएको छ।
बी–०३एक्समा १४.६ इन्चको केन्द्रीय टचस्क्रिन, स्प्लिट–स्क्रिनसहितको लिप ओएस ४.० प्लस, ३३ वटा स्टोरेज स्पेस, उच्च सिटिङ पोजिसन र लचकदार सिट व्यवस्थालगायतका सुविधा छन्।
बी–०३एक्सको नियमित मूल्य ४६ लाख ९९ हजार रूपैयाँ रहेकोमा हाल ४४ लाख ९९ हजार रूपैयाँको सुरुवाती मूल्यमा उपलब्ध रहेको लिपमोटर नेपालको वेबसाइटमा उल्लेख छ।
त्यस्तै, बी–१० विद्युतीय एसयुभी हो।
यसमा पूर्ण एलईडी हेडलाइट, लुकाइएका ढोका ह्यान्डल, १८ इन्चको एलोय ह्विल, इ रूपमा ढल्काउन मिल्ने अगाडिका सिट, १४.६ इन्चको २.५के केन्द्रीय स्क्रिन र ८.८ इन्चको चालक डिस्प्ले उपलब्ध छन्।
बी–१० को टप भेरियन्टको मूल्य ६० लाख रूपैयाँबाट घटाएर ५४ लाख ९९ हजार ९९९ रूपैयाँ कायम गरिएको लिपमोटर नेपालको वेबसाइटमा उल्लेख छ।
लिपमोटरले प्रिमियम विद्युतीय एसयुभीका रूपमा सी–१० पनि प्रदर्शनीमा राखेको छ।
नेपालमा यसको मूल्य ७२ लाख रूपैयाँ रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ।
नाडा अटो शोअन्तर्गत लिपमोटरका गाडीमा इन्स्योरेन्सलगायतका सुविधामा छुट उपलब्ध गराइएको कम्पनीले जनाएको छ।