चिनियाँ अटोमोबाइल कम्पनी वुलिङले विकास गरेका सवारी प्लेटफर्म र प्रविधि एसएआइसी मोटरअन्तर्गतका विभिन्न ब्रान्डमा प्रयोग हुँदै आएका छन्।
विशेषगरी विद्युतीय सवारीसाधन (इभी)को क्षेत्रमा वुलिङको इन्जिनियरिङ क्षमता एमजी ब्रान्डका मोडलमा समेत देखिन थालेको छ।
एसएआइसी मोटरको इकोसिस्टममा रहेको वुलिङ चीनको प्रमुख अटोमोबाइल कम्पनीमध्ये एक हो।
ठूलो उत्पादन क्षमता, बलियो घरेलु बजार र अन्तर्राष्ट्रिय बजारमा बढ्दो उपस्थितिका कारण वुलिङले पछिल्लो समय विश्व अटोमोबाइल बजारमा आफ्नो प्रभाव विस्तार गरिरहेको छ।
वुलिङले कम्प्याक्ट तथा व्यावहारिक विद्युतीय सवारीसाधन विकासमा सुरुवाती समयदेखि नै काम गर्दै आएको छ।
यसको प्रविधि र सवारी प्लेटफर्मलाई विभिन्न बजार तथा ब्रान्डअनुसार परिमार्जन गरेर प्रयोग गर्ने गरिएको छ।
यसको एउटा उदाहरण एमजी कोमेट इभी हो। कोमेट इभीको आधारभूत आर्किटेक्चर वुलिङ एयर इभीसँग सम्बन्धित छ।
यसमार्फत वुलिङले विकास गरेको कम्प्याक्ट इभी प्रविधि एमजी ब्रान्डमार्फत भारतीय बजारमा पुगेको हो।
पछिल्लो उदाहरणका रूपमा एमजी हेक्टर टोमाहकलाई लिन सकिन्छ।
भारतमा अगस्ट २०२६ मा सार्वजनिक गरिएको यो मोडल वुलिङ एक्सियनसँग नजिकबाट सम्बन्धित रहेको बताइएको छ।
वुलिङ एक्सियनलाई इन्डोनेसियामा अप्रिल २०२६ मा औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।
त्यसअघि फेब्रुअरीमा आयोजित आइआइएमएसमा उक्त मोडल पहिलोपटक सार्वजनिक गरिएको थियो।
हेक्टर टोमाहकमा वुलिङले विकास गरेको सवारी आधार प्रयोग भए पनि एमजीले आफ्नो ब्रान्डअनुसार डिजाइन, प्रविधि, फिचर र बजार पोजिसनिङमा परिवर्तन गरेको छ।
त्यस्तै, एमजी विन्डसर इभी पनि वुलिङ क्लाउड इभीसँग सम्बन्धित छ। क्लाउड इभी केही बजारमा बाओजुन युन्डुओ नामबाट समेत बिक्री हुँदै आएको छ।
वुलिङ र एमजीबीचको यो प्राविधिक सम्बन्धले एसएआईसी मोटरको साझा प्लेटफर्म र इन्जिनियरिङ रणनीतिलाई समेत देखाउँछ।
एउटै इकोसिस्टमभित्र विकास भएका प्रविधि तथा प्लेटफर्मलाई फरक ब्रान्ड र बजारको आवश्यकताअनुसार परिमार्जन गरेर प्रयोग गर्ने रणनीति एसएआइसीले अपनाउँदै आएको छ।
एयर इभी र कोमेट इभीदेखि एक्सियन र हेक्टर टोमाहकसम्म आइपुग्दा वुलिङको योगदान केवल एउटा प्लेटफर्ममा सीमित छैन।
विद्युतीकरण, दक्षता, व्यावहारिकता र दैनिक प्रयोगमा सहज सवारीसाधन विकासमा वुलिङले हासिल गरेको अनुभव एसएआईसी समूहका विभिन्न ब्रान्डका लागि महत्वपूर्ण इन्जिनियरिङ आधार बन्दै गएको छ।