(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
बुटवलको हाटबजारमा पसल राख्न उनी टाँड बनाइरहेकी थिइन्। टन्टलापुर घाम लागेको थियो। पसिना पुछ्दै उनी काम गर्दै थिइन्।
खिया लागेर मक्किएको फलामको फ्रेमलाई जोडेर त्यसैमाथि फलेक तेर्साएर टाँड बनाइन्।
यो टाँडमाथि हाट बजारमा बिक्रीका लागि ल्याएका कपडा राख्ने तयारीमा उनी छन्।
हाट बजारमा पसल थाप्न एक्लै मेहनत गरिरहेकी उनीसँग मैले आफ्नो परिचय दिँदै सेतोपाटीका लागि कुराकानी गर्न समय मागे, कुराकानी गर्न उनी तयार भइन्।
आमा तपाईंको नाम के हो?
पार्वती मल्ल।
कति वर्षको हुनुभयो?
खोइ, कहिले जन्मिएको भन्ने पनि थाहा छैन। भारतमा जन्मिएको र त्यसपछि बुवाआमाले नेपाल ल्याउनुभएको हो रे। बुवाआमा छिट्टै बित्नुभयो। बुवाआमा भएको भए कति सालमा जन्मिएको हो भनेर सोध्नहुन्थ्यो, त्यसैले मेरो उमेर थाहा छैन।
नागरिकता बनाउनु भएको छ होला, त्यसमा कति सालमा जन्मिएको लेखेको छ?
नागरिकता त बनेको छ त्यतिकै अन्दाज गरेर बनाएको हो। त्यसमा पनि कति साल लेखेको छ भन्ने कुरा मैले बिर्सिएँ।
तपाईंको घर कहाँ हो?
आफ्नो जग्गाजमिन नभएका सुकुम्बासीलाई जहाँ बस्यो त्यही घर।
अहिले कहाँ बस्नुभएको छ?
यही हाट बजार पछाडि सानो छाप्रो हालेर बसेका छौं।
तपाईंले यहाँ पसल थाप्न लाग्नुभएको कति वर्ष भयो?
व्यापार गर्न थालेको त ३० वर्षजति भयो होला। कपडा बेच्न थालेको पनि १२/१५ वर्ष जति भयो।
पहिले के गर्नुहुन्थ्यो?
कहिले काइयो, काँटालगायत खित्रीमित्री बिक्री गरेँ। कहिले खेलौना, कहिले तरकारी जे पायो त्यहि बेचियो नि!
के व्यापार गर्दा धेरै नाफा हुने रहेछ?
यस्तो खुद्रा व्यापार गरेर पनि के नाफा हुन्थ्यो र! अहिले खासै व्यापार छैन।
पसल सधैं राख्नुहुन्छ कि बजार लाग्ने दिनमा मात्रै?
हप्ताको चार दिन मात्र पसल राख्छु- मंगलबार, शुक्रबार, शनिबार र बुधबार।
अरू दिन के गर्नुहुन्छ? अन्यत्रै पसल राख्नुहुन्छ?
अन्त जान्न। सामान धेरै बिक्री पनि हुन्न।
एउटा बजारमा कतिको व्यापार हुन्छ?
पहिले राम्रै हुन्थ्यो, अहिले त केही व्यापार छैन। दिनमा दुई तीन हजारको पनि व्यापार हुँदैन। एक हजारको व्यापार भए डेढ दुई सय नाफा निस्किने हो। दिनमा चार पाँच सय कमाउन पनि मुस्किल छ।
पसल थाप्ने सामानहरू कहाँबाट ल्याउनुहुन्छ?
यही बुटवलका थोक पसलबाटै ल्याउँछु। टाढा गएर पनि भाडा मात्रै धेरै लाग्ने हो। एकै पटक अलि धेरै ल्याएर राख्न पनि पैसा धेरै छैन। आठ दस हजारका सामान ल्याउने हो, बिक्री भएपछि त्यही पैसाले फेरि गएर ल्याउने त्यस्तै गरेर चलेको छ।
घरमा को-को हुनुहुन्छ?
मेरी एउटा मात्र छोरी छन्। म अहिले उनीसँगै बस्छु, श्रीमान् गएको फागुन २७ गते बित्नुभयो।
श्रीमान् के भएर बित्नुभयो?
क्षयरोग लागेको भन्थे डाक्टरले। दुखी गरिबलाई लाग्ने त्यस्तै रोग त रहेछ। पहिले मिस्त्रीको काम गर्नुहुन्थ्यो। कमाएर ल्याउने मदिरा खाने गर्नुहुन्थ्यो बित्ने बेला क्षयरोग लाग्यो।
छोरीले के काम गर्नुहुन्छ?
छोरी पनि यहीँ आउँछिन्, मैले सामान लिएर आइहालेँ। छोरीले घरधन्दा गरेर आउँदैछिन्। हामी त आमाछोरी एकअर्काका साथी बनेका छौं। ज्वाइँ पनि गएको साउनमा बित्नुभयो। छोरीतर्फ नातिनातिनी पनि छन्।
तपाईंलाई व्यापारबाहेक अरू के गर्न मन लाग्छ?
केही गर्न मन लाग्दैन। चार दिन यही बजार आएर बित्छ। अरू दिन घरमै बस्छु। पहिले पनि धेरै दुःख गरेर होला जति गरे पनि त्यस्तै रहेछ भन्ने लाग्छ।
पहिले के दुःख गर्नुभयो?
धेरै दुःख गरियो नि! पेट पाल्नलाई गिट्टी बोक्ने, बालुवा चाल्ने, इँटा बोक्ने सबै काम गरियो।
तपाईंलाई सबभन्दा के खान मन लाग्छ?
सेलरोटी, पुरी तरकारी मन पर्छ। चाडपर्वका बेला बनाएर खान्छौं।
तपाईंको स्वास्थ्य कस्तो छ, केही बिमार छ?
थला नै पर्ने गरी बिमार त छैन। अहिले हात झमझमाउन थालेका छन्। के भएर हो खोइ।
अस्पतालमा गएर जचाउनु भएको छैन?
अस्पताल गएर जचाएको पनि हो। डाक्टरले त्यस्तो केही छैन भने। केही दिन सुइ पनि लगाइदिए। झमझमाउन छोडेको छैन। औंलाहरूमा पनि गाँठागुँठी पर्न थालेका छन्। अब उमेर सकियो भनेर शरीरले थाहा पाउन थालेको हो कि।
तपाईंलाई निद्रा कत्तिको लाग्छ?
निद्रा त धेरै लाग्छ। यही सामान बिक्री गर्दै गर्दा पनि निदाउँछु। कहिलेकाहिँ मनमा कुरा खेले भने रातिमा निद्रा लाग्दैन।
मनमा कस्ता कुरा खेल्छन्?
खेल्छन् नि! म पनि एक्लै छु, छोरीको पनि श्रीमान् हुनुहुन्न। नातीनातीनी छन्। उनीहरूको जिम्मेवारी पनि छ। यस्तै यस्तै कुराले कहिलेकाहीँ निद्रा लाग्दैन।
तपाईंलाइ ठिक्क पैसा भए यस्तो गर्न हुन्थ्यो भन्ने केही छ?
पैसा भए त यही व्यापारलाई ठूलो बनाउन हुन्थ्यो। आफूले भनेर मात्र भएन। पैसा कहिल्यै हुँदैन। सामान बेचेर खान पनि पुग्दैन। पैसा भए घुम्न जाने मन छ।
कहाँ घुम्ने मन छ?
जहाँ गए पनि हुन्छ। म त बुटवल र भैरहवाबाहेक अरू कहीँ गएकी पनि छैन। काठमाडौं, पोखरा भन्ने नाम मात्र सुनेको हो कस्तो छ भन्ने केही थाहा छैन।
तपाईं सबभन्दा बढी खुसी कहिले हुनुभयो?
मेरो त जीवनमा कहिल्यै खुसी आएन। जन्मिएदेखि नै सधैं दुखै दु:ख भयो।
सबभन्दा धेरै दुखी कहिले हुनुभयो?
ज्वाइँ बित्दा, बुढा बित्दा सबभन्दा धेरै दु:ख लाग्यो।
तपाइईंको मनमा गढिरहेको कुनै पीर वा यस्तो चिज नभइदिएको भए हुन्थ्यो भन्ने केही छ?
पिरै पीरको भारीले थिँचिएको मान्छेले कुन पीरको कुरा गर्ने हो र खोइ। बुवाआमा सानैमा बित्नुभयो। सम्पत्ति केही नभएपछि सधैंभरि ज्याला मजदुरीमै दिन बिते। बुढेसकालमा बुढाले पनि छोडेर गए। एउटी छोरी उसलाई पनि भगवानले एक्लो बनाइदिए।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
टोल समाज राम्रै छ। टोल समाज पनि धन सम्पत्ति हुनेलाई राम्रो छ, सम्पत्ति नहुनेलाई केको टोल, केको समाज।
तपाइँलाई नेपालको राजनीति कस्तो लाग्छ?
मैले राजनीति त केही पनि बुझ्दिनँ। राजनीति बुझेर पनि के गर्ने हो र। राजनीतिले गरिबका दु:ख कम गर्ने भए पो हुन्थ्यो। आफ्ना दु:ख आफैसँग छन्। राजनीतिबारे मलाई चासो छैन।
तपाईंलाई नेपालको नेतामा को मन पर्छ?
मैले कोही नेता चिन्दिनँ। नचिनेपछि कसलाई मन पर्छ भन्नु। कोही पनि मन पर्दैन।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
भोट पनि कसलाई दिए बिर्सिएँ। अब त जसले जित्यो उसैलाई दिएको हो।
तपाईंलाइ सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले त हामीजस्ता गरिबलाई हेरिदिए हुन्थ्यो। यस्तो खुला आकासमुनि पसल राख्नुपरेको छ। घामपानीले सताउँछ। चर्को घाम लाग्दा र पानी आउँदा बस्न सकिन्न, उठाएर हिँड्ने हो।
यस्तो ठाउँमा पसल राखेको पनि नगरपालिकालाई पैसा बुझाउनु पर्छ। एक दिनको दुई सय रूपैयाँ नगरपालिकालाई बुझाउँछु मैले। पहिले ५० रुपैयाँ थियो, अहिले दुई सय रुपैयाँ पुगेको छ, सरकारले त्यो हटाइदिए हुन्थ्यो।