(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। ‘हामी आममान्छे’ शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
चन्द्रविक्रम थापा ललितपुर, झम्सीखेलको अरूण थापा चोक नजिकै फूल पसल चलाउँछन्।
सर्लाहीको लालबन्दीका उनी काठमाडौं उपत्यका आएको पाँच वर्ष भयो। उनी श्रीमती र छोरीसँग बसेर व्यवसाय गरिरहेका छन्।
हामीले उनलाई सोध्यौं —
पहिले आफ्नो बारेमा भन्नुस् न—तपाईं कहाँ बस्नुहुन्छ, परिवारमा को को हुनुहुन्छ र के काम गर्नुहुन्छ?
म लालबन्दीमा हुर्किएँ। १२/१३ वर्षको उमेरमा भारत गएँ। २५/३० वर्ष उतै बसेँ। काठमाडौं आएको ५ वर्ष भयो। मेरो परिवारमा श्रीमती लता राई थापा र छोरी मानस्वी छन्।
बुबा र ममी बितिसक्नुभयो। मेरो बुबा कृष्णविक्रम थापा गायक–कलाकार पनि हुनुहुन्थ्यो। ‘सिन्धुली गढी घुमेर हेर्दा’ गीत मेरो बुबाले गाउनुभएको हो। बुवाको दुई परिवार थियो, जेठीपट्टिको म एउटै हुँ। कान्छीपट्टि तीन जना दाजुभाइ हुनुहुन्छ।
म यहाँ फूल व्यवसाय र सजावटमा केन्द्रित छु। बिहे, व्रतबन्ध जस्ता उत्सवहरूमा सजावटको काम गर्छु।
तपाईंको काम, कमाइ र घरखर्च अहिले कसरी चलिरहेको छ?
ठीकै छ, परिवार चलाउन खासै गाह्रो छैन। मेहनत त यसमा धेरै छ। किनकि चाडपर्व भन्न पाइँदैन। पसलमै बस्नुपर्छ। जे होस्, मेहनत गरेर एउटा छोरी पढाउन पुगेको छ। अहिले काठमाडौंमा बास बनाउन सकिएको छैन। त्यसका लागि कोसिस गरिरहेको छु।
अहिले तपाईं र तपाईंको परिवारलाई सबभन्दा बढी चिन्ता लागेको कुरा के हो?
चिन्ता भनेर त्यस्तो धेरै केही छैन। हाम्रो सरकार स्थिर भएर अघि बढे राम्रो हुन्थ्यो। स्थिर सरकारले नीतिहरू पनि राम्रो ल्याउन सक्छ। देश बन्यो भने आफू पनि बन्न सकिन्छ नि।
भनेको तपाईंलाई देशकै अवस्था कस्तो हुन्छ भन्ने चिन्ता छ?
हो। मेरो परिवार चलिरहेकै छ। तर सरकार ६/६ महिनामा बदलिने अनि काम नहुने भइरहेको थियो। एउटाले गरेको कामले निरन्तरता नपाउँदा अप्ठ्यारो हुन्थ्यो। अब त्यस्तो नहोस् भन्ने हो।
तपाईंको किशोर उमेरकी छोरी छ भन्नुभयो। उनी नेपालमै केही गर्न चाहन्छिन् कि विदेश जान चाहन्छिन्? किन?
मेरो छोरी १९ वर्ष पुग्न लाग्दैछ। उसले नेपालमै के गर्छु भनेकी छ। अहिले चार्टर्ड एकाउन्टेन्ट पढ्न सुरू गरेकी छ। उसलाई विदेश जान मन छैन। मलाई पनि मेहनत गर्दा नेपालमा सजिलो छ भन्ने लाग्छ।
जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
त्यो घटना देख्दा साह्रै चित्त दुखेको थियो। नहुनुपर्ने गल्ती भयो। हाम्रै नेतृत्वको कारणले भयो जस्तो लाग्छ। त्यो घटना हुनुभन्दा पहिला प्रधानमन्त्रीले राम्रै तरिकाले मिलाएको भए हुन्थ्यो। केही ल्याउनलाई युवाहरू मर्नुपर्ने हुन्छ। अब त्यस्तो नहोस् भन्ने लाग्छ।
युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबैभन्दा बढी के कुराले रिसाएका थिए?
मेरो बुझाइमा त्यो बेला उनीहरू सडकमा आउनुको कारण बेरोजगारी हुन सक्छ। जुन तरिकाले महँगी बढेको छ, त्यो अनुसार युवाहरूको कमाइ नभएर हो। भविष्य नदेखेको कारणले त्यस्तो गरेको जस्तो लाग्छ। बेरोजगारी र अन्योल भविष्यले गर्दा उनीहरू रिसाएका हुन्।
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठिक लाग्यो, के कुरा बेठिक लाग्यो?
जनता एक भएर आए, त्यो राम्रो हो। त्यो कुरा मलाई मन परेको छ। तर त्यति ठूलो घटना हुनु भने चित्त दुखाइ हो। सरकारी सम्पत्ति जल्नु हाम्रो लागि नोक्सान हो। त्यति धेरै मान्छे जम्मा हुनु राम्रो हो। तर भोलिपल्ट जलेको राम्रो भएन।
जेनजी आन्दोलनपछि देशमा केही राम्रो भएजस्तो लाग्छ कि पहिलेजस्तै छ?
मैले अलिकति सुधार देखेको छु। किनभने मैले नागरिकता बनाउँदा धेरै समय र खर्च लाग्यो। माओवादी युद्ध चलिरहेका बेला मेरो झन्डै १२/१५ हजार रूपैयाँ खर्च भयो। केही दिनअघि छोरीको नागरिकता बनाउन जाँदा केही खर्च लागेन।
अर्को कुरा, सानो–सानो शब्द बिग्रिँदा पनि घुस खानेहरू भेटिन्थे। अहिले त्यस्तो कोही भेटिएन। अर्को खुसीको कुरा, एक जना सरकारी अधिकृतकी छोरी पनि मेरो छोरीसँगै लाइनमा बसेकी थिइन्। जति हाम्रो लागि समय लाग्यो, उनका लागि पनि त्यही समय लाग्यो।
सरकारी काममा सहज भएजस्तो लाग्छ?
सरकारी काममा सहज भएजस्तो लागेको छ। मैले आन्तरिक राजस्व कार्यालयमा पैसा तिर्न जाँदा सजिलो भयो। यो अलि सुधार भएजस्तो लाग्छ।
देश अब राम्रो हुन्छ भन्ने लाग्छ कि उस्तै हो भन्ने लाग्छ? तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिले जस्तै हो भन्ने लाग्छ?
केही भएजस्तो लाग्छ। आफ्नै घरको समस्या त मिलाउन समय लाग्छ। मलाई आशा छ गर्छन् भन्ने। त्यो आशा पुर्याइदिन्छन् भन्ने लागेको छ। देश राम्रो भयो भने हाम्रो जीवन यसै राम्रो हुन्छ नि!
अहिलेको सरकारले राम्रो काम गरिरहेको छ जस्तो लाग्छ कि चित्त बुझ्दो काम गर्न सकेको छैन? किन?
पहिलाभन्दा अहिले सरकारी कर्मचारी सहज भएजस्तो लागेको छ। सरकारको सिस्टम सुध्रिएर नै यस्तो भएको हो। जे होस्, पहिलाभन्दा अहिले काम भइरहेको छ र सरकार पनि राम्रोसँग गइरहेको छ। मलाई सरकारको काम चित्त बुझेको छ।
अहिले ग्यास अभाव छ, महँगी छ भन्छन् नि!
अभावको कुरा अहिलेको अवस्था अनुसार भएको हो। कति ग्यास बोक्ने गाडी बाढीले बगायो होला, धेरै कुराको समस्या छ। हामीले यो पाटो बुझ्न सक्नुपर्छ। हाम्रै देशमा उत्पादन हुने पनि होइन। हामी अरू देशमा निर्भर छौं, त्यसैले हामीले भनेर मात्र पनि हुँदैन। अरू देशबाट पनि अर्को देश हुँदै हामीले पाउने हो।
यो सरकारले गरेका राम्रा काम र गर्न नसकेका काम के–के हुन्?
मेरै आँखाअघिको घटना हो। दुई/तीन वर्षअघि नख्खुमै मान्छे जोगाउन कति गाह्रो भयो। सरकारले तुरून्तै एक्सन लिन सकेन। अहिले रसुवा, नुवाकोटमा हेर्नु त। हुन त म त्यहाँ प्रत्यक्ष गएको छैन। तर सामाजिक सञ्जालमा हेर्दा मन्त्री, नेताहरू खटिरहेका छन्। त्यो मलाई एकदमै सही लागेको छ। राहत प्रशस्त पुगेको भनेर सुनिएको छ। पहिला हराउँथ्यो भन्ने थियो।
सरकारले गर्न नसकेको भनेको त्यहाँको स्थानीय सरकारसँग समन्वय गर्न सकेन। त्यहाँको अवस्थाबारे काठमाडौंका नेतालाई भन्दा त्यहाँका नेतालाई थाहा हुन्छ। यसमा सरकारले मेसो पाएन जस्तो लाग्छ।
यो सरकारले गरेका नराम्रो कामबारे मलाई खासै जानकारी छैन। तर स्थानीय तहका जनप्रतिनिधिसँग जसरी काम गर्नुपर्ने हो, त्यो गरेन जस्तो लाग्छ।
पुराना पार्टी र नेताहरू आन्दोलनपछि सुधारिए कि उस्तै छन्?
गगन थापाजी (कांग्रेस सभापति) मलाई अलिकति सुध्रिएजस्तो लाग्छ। अहिले उहाँका भाषणहरू हेरिरहेको छु। उहाँ केही न केही परिवर्तन हुनुभएको छ। चुनावपछि अलि पत्याउने खालको बोलिरहनुभएको छ। अरू नेताहरू उस्तै छन्।
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
अहिले कसले सही बाटोमा लैजान्छ भन्नेभन्दा पनि हामीले जिताइसकेका छौं। जिताइसकेपछि राम्रो–नराम्रो जस्तो भए पनि पूरै कार्यकाल चल्नुपर्छ। पहिला चाँडो–चाँडो सरकार फेरिँदा छिमेकी राष्ट्रले पनि राम्रो मानेका थिएनन्। अहिलेको सरकार जसरी पनि ५ वर्ष चल्नुपर्छ।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को को हुन्?
पहिलो त प्रधानमन्त्री (वालेन्द्र शाह) नै हुनुहुन्छ। दोस्रो नम्बरमा सुधन गुरूङ भइहाल्नुभयो। अनि तेस्रो नम्बरमा सुहाङ नेम्वाङ हो।
ती नेताबाट किन आशा छ? उनीहरूले के गरून् भन्ने चाहनुहुन्छ?
बालेनजीको मलाई राम्रो लाग्ने भनेको उहाँले गर्ने निर्णय हो। सुधन गुरूङजी हरेक परिस्थितिमा जुनसुकै ठाउँमा पुग्नुहुन्छ। जनतासँग प्रत्यक्ष घुलमिल हुने स्वभाव एकदमै मनपर्छ।
सरकारले सही तरिकाले नीति बनायो भने हामीलाई पनि काम गर्न सजिलो हुन्छ। यसमा ध्यान जान जरूरी छ।
सुहाङजीले गलतलाई गलत र सहीलाई सही भन्नुहुन्छ। उहाँले बोल्दा पनि सभ्य भाषामा बोल्नुहुन्छ। विपक्षमा रहेर पनि तटस्थ तरिकाले बोल्दै जानुभएको छ। यस्तै गर्नुपर्छ भन्ने लाग्छ।