हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। ‘हामी आममान्छे’ शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
४३ वर्षीया गीता मगर दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएकी छन्।
ज्याला मजदुरीको लागि दाङको लाल मटियाबाट बुटवल आएकी गीता बन्दै गरेको घरमा बालुवा चालिरहेको अवस्थामा भेटिएकी थिइन्।
हामीले उनलाई सोध्यौं —
तपाईंको घर कहाँ हो, कहाँ बस्नुहुन्छ?
घर त पहिले रोल्पा हो। अहिले डेढ वर्षदेखि दाङको लाल मटियामा बस्छौं। काममा बाहिर जाँदा जहाँ काम पर्छ, त्यतै बस्छु। अहिले यो घरमा काम भइरहेको छ, यही बसेकी छु।
दाङमा आफ्नै घर छ?
घर जग्गा जमिन त दाङ, रोल्पा कहीँ पनि छैन। रोल्पामा पहिले थियो, श्रीमानले बिक्री गरेर सकाउनु भयो। अहिले हामी भाडामा बस्छौं।
परिवारमा को को हुनुहुन्छ?
चार जना छोरा र एउटा छोरी छन्। श्रीमानले अर्को विवाह गरेपछि हामी अलग्गै बसेका छौं।
तपाईंको घर खर्च अहिले कसरी चलिरहेको छ?
यस्तै लेबरको काम गरेर अलि अलि जुटाउँछु। अहिले छोराहरूले पनि काम सिक्दै थोरै थोरै कमाउन थालेका छन्। उनीहरूले पनि अलि अलि सघाउन थालेका छन्।
तपाईंले दिनमा कति कमाउनुहुन्छ, भन्न मिल्छ?
भन्न किन नमिल्ने मिलिहाल्छ नि। लेबर काम गरेर दिनमा सुख्खा ५ सय रुपैयाँ मात्र पाउँछु। त्यसैबाट आफूले खान पर्यो। बचत त दिनमा २ सय पनि हुँदैन। काम पनि कहिले पाइन्छ, कहिले पाइँदैन। काम हुँदा काम गर्ने नहुँदा घरमै बस्ने। गाउँमा खेतीपातीको काम हुँदा त्यता पनि काम गर्छु।
छोराहरूले पनि कमाउन थालेका छन् भन्नुभयो, छोराहरूले के काम गर्छन्?
केही महिना भयो माइलो छोरा दुबई गएको छ। ठूलो छोराले फर्निचर उद्योगमा काम गर्छ साइँलो छोरा पनि विदेश जाने भनेर तयारी गरिरहेको छ। कान्छो छोरा र छोरीले चार र पाँच कक्षामा पढ्छन्।
घर खर्चको लागि महिनामा कति पैसा चाहिन्छ?
महिनामा २० हजारले पनि पुग्दैन। गाउँमा पनि कोठा भाडा महिनाको ३५ सय तिनुपर्छ। खान लाउन पर्यो, दुइटा छोराछोरीको स्कुलको फिस, कापी कलम, ड्रेस सबै चाहियो।
अहिले तपाईं र तपाईंको परिवारलाई सबभन्दा बढी चिन्ता लागेको कुरा के हो?
सबभन्दा धेरै चिन्ता त घर बासको लाग्छ। आफ्नो घर बास भए लाउन खान त जसरी पनि कमाउन सकिन्थ्यो। घर बास नै नहुँदा धेरै दु:ख हुने रहेछ। अरूको घरमा भाडा तिरेर बसे पनि धेरै डराउनुपर्छ। छोराछोरीले हल्ला गर्दा पनि गाली गर्छन् कि भन्ने डर हुन्छ। एउटा घर बास बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ।
तपाईंको एउटा छोरा त विदेश गइसकेछन्। अरू छोराहरूको पनि विदेश जाने चाहना छ कि नेपालमै केही गर्न चाहना छ?
सबै विदेश जाने भन्छन्। एउटा गइसक्यो। अर्कोले जाने तयारी गरिरहेको छ। राम्रो ठाउँमा काम पाए फर्निचर उद्योगमा काम गरिरहेको छोरा पनि जाने हो भन्छ। उनीहरूको कुरा सुनेर ९ वर्षको कान्छो छोराले पनि ठूलो भएर विदेश जाने हो भन्न थालिसक्यो।
अहिलेका छोराछोरीहरू किन विदेश जान चाहन्छन्?
नेपालमा राम्रो काम नपाएर त होला। नेपालमा पेट पाल्न सक्ने काम पाइन्न। मैले पनि नेपालमा दुःख गर्न भन्दा विदेशमै गएर कमाएर आए हुन्छ भनेकी छु।
तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिले जस्तै हो भन्ने लाग्छ?
मलाई त राम्रो हुन्छ भन्ने लाग्छ। छोराहरूले कमाएपछि राम्रै होला। राम्रो हुन्छ भनेर नै मैले पनि मेहनत गरिरहेकी छु। सधैंभरी दुःख त के होला र! भगवानले पनि हेर्लान् नि।
पोहोर साल जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
एक्कासि आन्दोलन भएपछि बल्ल थाहा पाएकी थिएँ मैले त। सधैं काममा हिँड्ने मान्छेलाई धेरै थाहा हुने कुरा पनि भएन।
देशभर सहरहरूमा युवाहरू त्यसरी किन सडकमा आएर आन्दोलन गरेका हुन् जस्तो लाग्छ? उनीहरू सबभन्दा बढी के कुराले रिसाएका थिए?
नेताहरूले राम्रो गरेनन् भनेर नै रिसाए होलान्। नेताहरूले काम नगरे पनि राम्रो राम्रो खाइरहने जनतालाई जति दुःख गरे पनि खान नपुग्ने भएर होला। हुन पनि त्यस्तै त छ हामी दिनभरि बालुवा चाल्ने, इँटा, सिमेन्ट बोक्ने गर्दा जम्मा ५ सय रुपैयाँ पाइन्छ। ठूला मान्छेहरूले दिनमै कति हजार कमाउँछन्। काम गरेर कमाएर मात्र भएन उनीहरूले नै भ्रष्टाचार पनि गरे।
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठीक लाग्यो, के कुरा बेठीक लाग्यो?
भ्रष्टाचार हटाउन भनेर गरेको आन्दोलन गरेको त राम्रो हो तर, आन्दोलनमा गएका धेरै मान्छे गोली लागेर मरे, देशका ठूला ठूला अफिसहरू, घरहरूमा आगो लगाएर जलाइयो त्यो राम्रो लागेन।
आन्दोलनपछि देशमा केही राम्रो भएजस्तो लाग्छ कि पहिलेजस्तै छ?
केही राम्रो भएको छैन। आन्दोलन भए पनि हामी काम गरेर खानेहरूले के पायौँ। काम नगरी खान छैन। दिनभरि काम गर्दा पोहोर पनि ५ सय रुपैयाँ पाइन्थ्यो अहिले पनि त्यही ५ सय रुपैयाँ पाउँछौं। पोहोर र अहिले पनि भाडामै बसेका छौं। गरिब जनतालाई जो आए पनि केही हुँदैन। राम्रो त जो सरकारमा जान्छन्, उनैलाई हुने हो।
देश अब राम्रो हुन्छ भन्ने लाग्छ कि उस्तै हो भन्ने लाग्छ?
खोइ मलाई त केही राम्रो होला जस्तो लाग्दैन। कहिले के को आन्दोलन, कहिले बाढी पहिरो। मान्छे मरेको मर्यै छन्।
अहिलेको सरकारले राम्रो काम गरिरहेको छ जस्तो लाग्छ कि चित्तबुझ्दो काम गर्न सकेको छैन?
सरकारले के काम गरेको छ भन्ने नै थाहा छैन। एक वर्षमा त केही न केही त गरेर देखाउन पर्ने हो। त्यति चित्त बुझ्दो लागेको छैन।
सरकारको काम किन चित्त बुझेको छैन?
चित्त बुझ्नलाई त हामीजस्ताको मर्का पिर बुझ्न पर्यो नि। जग्गा जमिन नभएकोलाई जग्गा जमिन देला भन्दा सुकुम्बासी भन्दै भगाइदियो।
तपाईंहरूलाई पनि भगाइदियो?
हामी त जमिन ओगटेर बसेका थिएनौँ किन भगाउने तर, जो बसेका भए पनि दुखैले बसेका थिए होलान्।
यो सरकारले गरेका राम्रा काम र गर्न नसकेका काम के के हुन्?
यसमा त मलाई धेरै केही थाहा छैन।
पुराना पार्टी र नेताहरू आन्दोलनपछि सुधारिए कि उस्तै छन्?
पुराना पार्टी र नेता पनि कहिल्यै सुध्रिँदैनन्। उनीहरू सुध्रिए पनि राम्रो हुन्थ्यो।
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
हामीलाई कसैले राम्रो गर्दैनन् हाम्रै पाखुराले हो राम्रो गर्ने। कुनै पार्टी भन्दा बरू राजाले राम्रो गर्छन् कि भन्ने लाग्छ।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को-को हुन्?
मैले नेताहरू कोही चिन्दिनँ। नचिनेको नेताहरूको नाम कसरी भन्ने!