हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मुख्य बजार क्षेत्र हो। यही बजारमा आफ्नै घर छ ५३ वर्षीय भीमलाल विश्वकर्माको।
उनी यो क्षेत्रका चिरपरिचित खेलाडी पनि हुन्।
हामीले उनलाई सोध्यौं —
पहिले आफ्नो बारेमा भन्नुस् न— परिवारमा को को हुनुहुन्छ र के काम गर्नुहुन्छ?
म तेक्वान्दोको प्रशिक्षक र अन्तर्राष्ट्रिय निर्णायक हुँ। म छैटौं डान हुँ। मैले २०४४ सालदेखि तुलसीपुरमै खेल्न थालेको थिएँ। प्रशिक्षक भई म पहिलो पटक २०५२ सालमा सल्यान पुगेको थिएँ। अहिले पनि राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत दाङ जिल्ला खेलकुद विकास समितिमा कार्यरत छु। म छैटौं तहको कर्मचारी हुँ। अब प्रमोसन भए सातौं तहमा पुग्छु।
मैले २०५२ सालमै राष्ट्रिय गेममा गोल्ड मेडल जितेको थिएँ। सन् १९९८ मा बैंककको थाइल्यान्डमा भएको १३ औं एसियन गेममा पनि प्रतिस्पर्धा गरेको थिएँ।
मेरो परिवारमा आमा, श्रीमती, एक छोरा, बुहारी र दुई छोरीहरू छन्। कान्छी छोरी अञ्जली टिचिङ अस्पतालमा गाइनो डाक्टर छिन्। जेठी छोरी अस्मिता त्यहीँ स्टाफ नर्सका रूपमा कार्यरत छिन्। दुवै छोरी अविवाहित छन्। छोराको बिहे भइसक्यो। उनीहरू अस्ट्रेलिया बस्छन्।
तपाईंको काम, कमाइ र घरखर्च कसरी चलिरहेको छ?
म, छोरीहरू सबै जागिरे छौं। मेरो महिनामा ५७ हजार रूपैयाँ तलब प्रशिक्षणबाटै आउँछ। मेरी आमा र श्रीमतीले मिलेर तुलसीपुरमै मासु पसल चलाएका छन्। हाम्रो परिवारले यो मासु पसल विगत ४० वर्षदेखि सञ्चालन गर्दै आइरहेको छ।
अहिले तपाईं र तपाईंको परिवारलाई सबैभन्दा बढी चिन्ता लागेको कुरा के हो ?
बाढीपहिरोले पुर्याएको क्षति नै अहिले म र मेरो परिवारलाई सबैभन्दा बढी चिन्तित तुल्याएको छ। छिमेकी जिल्ला रोल्पामा पहिरोबाट पुगेको धनजनको क्षति र पछिल्लो समय रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको अपूरणीय क्षतिका विवरणहरू निकै अत्यासलाग्दा छन्।
त्योबाहेक घरपरिवार र सन्तानको त कुनै चिन्ता छैन।
तपाईंका छोराछोरी नेपालमै केही गर्न चाहन्छन् कि विदेश जान चाहन्छन्, किन?
आफ्नो योग्यता र क्षमताअनुसारको जागिर पाए किन विदेश जान्थे र? त्यस अनुरूपको काम यहाँ नमिलेपछि भविष्यका लागि सम्भावनाका ढोकाहरू खोल्न विदेश जान खोज्नु स्वाभाविक हो।
मेरै घर आफैमा उदाहरण छ। दुई छोरी यहीँ काम गरिरहेका छन्। छोरा अस्ट्रेलिया आउजाउ गरिरहन्छ। नेपालमा सिस्टमको कमी छ। राज्य सञ्चालकले विकास र रोजगारीका अवसरका लागि सिस्टम बनाउन सकेनन्। आज नवयुवाहरू सत्तामा छन्। अब त्यस्तो सिस्टम बस्ला कि भन्ने आशा छ।
जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
जेनजी आन्दोलन एक्कासि भयो। म अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्न काजिकस्तान जान भनेर काठमाडौंमै गएको थिएँ। आन्दोलनले गर्दा सबै क्षेत्र तहसनहस भयो। हवाई सेवासमेत ठप्प बन्यो। उडान नै क्यान्सिल भयो। त्यहाँ म जान पाइनँ।
त्यो बेलाको अवस्था यस्तो थियो कि बाहिर निस्किने वातावरण नै थिएन। झन्डै १०/११ दिनपछि जुन दिन आन्तरिक उडानहरू हुन थाले, म त्यही दिन तुलसीपुरस्थित घर फर्केको थिएँ।
युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबैभन्दा बढी के कुराले रिसाएका थिए?
तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धकै कारण युवाहरू सबैभन्दा बढी रिसाएका थिए भन्ने मलाई लाग्छ। साथै नेताहरूले ठीक गरिरहेका थिएनन्। म्युजिकल चियरमा रमाइरहेका जस्तै लाग्थे।
अर्कोतर्फ पढे वर्षौंदेखि सुशासन खोजिरहेका थिए भने भ्रष्टाचारको अन्त्य चाहिरहेका थिए। यस्तै कारणले गर्दा युवाहरूको आक्रोशको ज्वालामुखी विस्फोट हुन पुग्यो कि भन्ने मलाई लाग्छ।
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठीक लाग्यो, के कुरा बेठीक लाग्यो?
राष्ट्रिय सम्पदा भएका देशका संरचना तोडफोड वा आगजनी गरी बिगार्नु तथा ध्वस्त पार्नु बेठिक थियो। मुलुकमा सिस्टम बसाल्न वा ल्याउने उद्देश्यले गरेको आन्दोलन भने ठीक थियो। त्यो शान्तिपूर्ण भइदिएको भए सुनमा सुगन्ध हुने थियो।
आन्दोलनपछि देशमा केही राम्रो भए जस्तो लाग्छ कि, पहिले जस्तै छ?
ठ्याक्कै बदलिएर कायापलट त भएको छैन। तर पासपोर्ट वा लाइसेन्स बनाउने जस्ता कुराहरू समयमै बनाएर गरे हुने रहेछ भन्ने उदाहरण भने देखिएको छ।
हामीजस्ता कर्मचारी पनि आज अपडेट बनेका छौं। हामीले दैनिक गरेको कामको रिपोर्ट माथि पठाउन थालेका छौं। पहिला यस्तो थिएन।
देश अब राम्रो हुन्छ भन्ने लाग्छ कि उस्तै हो भन्ने लाग्छ? तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिले जस्तै हो भन्ने लाग्छ?
मुलुक सिस्टममा आएपछि सबैले सुधारको अनुभूति गर्न पाउने छन्। अब बिस्तारै मुलुक सिस्टममा जाला भन्ने आशा छ। मेरो परिवारको मात्रै होइन, त्यसो हुन सके सबैले सुधारको महसुस गर्न सक्ने छन्।
यो सरकारले गरेका राम्रा काम र गर्न नसकेका काम के के हुन्?
गृहमन्त्री आफै बाढी प्रभावित क्षेत्रमा खटिनु राम्रो काम हो। माननीय तथा एक जना इन्जिनियर पनि उद्धारमा खटिएको देखियो। जनताको सुख–दुःखमा राज्य भएको अनुभूति दिलाउनु ठूलो कुरा हो।
सरकारले अहिलेसम्म गरेका कामहरूमा त्यति धेरै खोट लगाउने अवस्था म देख्दिनँ।
पुराना पार्टी र नेताहरू आन्दोलनपछि सुधारिए कि उस्तै छन्?
मलाई राजनीतिको विषयमा धेरै थाहा हुँदैन। तर मेरो खेलकुद क्षेत्रमा वर्षौंदेखि नयाँ भ्याकेन्सी खुलेको छैन। जसले गर्दा प्रशिक्षक तथा कर्मचारीको संख्या धेरै कम भएको छ। प्रशिक्षक र कर्मचारीका लागि नयाँ आवेदन छिट्टै खोलिनुपर्छ भन्ने मेरो आग्रह हो।
अर्कोतर्फ बीच बीचमा प्रशिक्षकलाई रिफ्रेसिङ तालिमहरू सञ्चालन गरिनुपर्छ। तेक्वान्दो, सितोरिया कराँते जस्ता मार्सल आर्टले देशलाई चिनाउन धेरै भूमिका खेलेको छ। थुप्रै मेडलहरू मुलुकका लागि खेलाडीले जितेका छन्। पेरिस ओलम्पिकमा पारा तेक्वान्दोकी पलेसा गोबर्धनले तृतीय मेडल प्राप्त गर्नु पनि ऐतिहासिक उपलब्धि थियो।
खेलाडीले राम्रो प्रशिक्षण र सुविधाहरू पाए तेक्वान्दो र कराँते जस्ता खेलाडी थप प्रगतिपथमा लम्किने छन्।
सुध्रिने र बिग्रनेभन्दा पनि केही पुराना पार्टीले अगाडि बढ्न थप केही सुधार गर्दै अगाडि बढ्न खोजेको देखिएको छ। तर पनि अन्य अधिकांश आन्तरिक सुधार गर्नु भन्दापनि निष्क्रिय बसेको देखिन्छ।
त्यस्ता दलहरू भन्नलाई आफूलाई सुध्रिएको भन्छन्, तर त्यो सुधार भएको छ जस्तो मलाई लाग्दैन।
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
अहिलेको अवस्थामा जनताले नसोचेको बहुमत दिएर पठाएको हुँदा रास्वपाले नै देशलाई सही बाटोमा लैजान भूमिका खेल्नुपर्छ भन्ने मलाई लाग्छ। यतिखेर बल रास्वपाकै कोर्टमा छ। यो सरकारलाई जनताका आकांक्षामा फल खेल्ने छुट छैन।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को–को हुन् ?
यो मलाई निकै अप्ठ्यारो प्रश्न लाग्यो। नभनौं है।
नाम नभने पनि आशा लागेका नेताहरूबाट किन आशा छ? उनीहरूले के गरून् भन्ने चाहनुहुन्छ?
समग्र रूपमा देश राम्रो बनाउन लागे पक्कै राम्रो बन्छ। नेताहरूले त्यहीँनेर भूमिका खेल्नुपर्छ। देश थितिमा चलोस् भन्ने नेताको भूमिका हुनुपर्छ। तर त्यसका लागि नेता, कर्मचारी, निर्माण व्यवसायी, मजदुर, शिक्षक, खेलाडी, सबैले आ–आफ्नो काम निष्ठाका साथ गर्नुपर्ने हुन्छ।