हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। ‘हामी आममान्छे’ शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
हामीले उनलाई सोध्यौं —
पहिला आफ्नोबारे भन्नुस् न—तपाईं कहाँ बस्नुहुन्छ, परिवारमा को–को हुनुहुन्छ र के काम गर्नुहुन्छ ?
मेरो नाम पुरूषोत्तम अधिकारी हो। ५४ वर्षको भएँ। मेरो घर पोखरा–३१, बेगनासतालमा हो। मेरो व्यवसाय रेष्टुरेण्ट हो। परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन्।
नातिनातिना पनि छन्। कान्छो छोरा र छोरी न्युजिल्यान्डमा छन्। ठूलो छोरा यहीँ कलेज पढाउँछ।
तपाईंको काम, कमाइ र घर खर्च अहिले कसरी चलिरहेको छ?
हामी यहाँका लोकल मान्छे हौँ। खेतीपातीदेखि व्यवसायसम्म गर्छौं। रेष्टुरेण्ट पनि छ। आयस्रोत भनेको मुख्यतः रेष्टुरेण्ट नै हो। जग्गाजमिन भएकाले धान, तरकारी पनि फल्छ। धान करिब २० मुरी फल्छ। तरकारी सिजनमा आफूलाई पुग्ने गरी फलाउँछौँ।
अहिले तपाईं र तपाईंको परिवारलाई सबभन्दा बढी चिन्ता लागेको कुरा के हो ?
पारिवारिक चिन्ता त छैन। राष्ट्रिय राजनीति हेर्दाखेरी कता जाने हो, के हुने हो भन्ने चिन्ता हुन्छ। बन्द, हड्तालजस्ता कुरा भइरहन्छन्। मुख्य चिन्ता यिनै हुन्।
तपाईंको परिवारका तन्नेरीहरू नेपालमै केही गर्न चाहन्छन् कि विदेश जान चाहन्छन् ? किन ?
छोरी त न्युजिल्यान्डमा घर किनिसकी। पिआर पनि लिइसकिन्। उनी न्युजिल्यान्ड गएको १० वर्ष भयो। बाबु गएको तीन वर्ष भयो। उतैको बासिन्दा भइसकिन्। कान्छो छोरा पनि अहिलेसम्म फर्कने अवस्था छैन। बुहारी पनि जाने कुरा छ।
ठूलो छोराले भने यहीँ पढाउँछ। दुलेगौडा, तनहुँ र बुढीबजारमा क्याम्पसमा पढाउँछ।
जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो ?
भदौ २३ गते जेनजी आन्दोलन सुरू भयो। म यहीँ थिएँ। थुप्रै मान्छे घरमै थिए। जेनजी आन्दोलन हुँदै गर्दा थुप्रै जेनजी युवाको राज्यद्वारा हत्या भयो। त्यसलाई मैले हत्या नै भन्छु।
२४ गते जनआक्रोश बढ्यो। जेनजीका बा पनि गए, मामा पनि गए, आमा पनि गए, काका पनि गए। सबै गए। जेनजीका थुप्रै मान्छेको हत्या भएपछि आक्रोश पैदा हुन पुग्यो।
हामी पनि हेर्न गयौँ। यहीँको वडा कार्यालयमा थुप्रै जेनजी आएका थिए। उनीहरूले राष्ट्रपतिको र प्रधानमन्त्रीको फोटो झिकेर लैजानुस् बरू, हाम्रो वडा हामीलाई चाहिन्छ भनेका थिए। त्यो २४ गतेको कुरा हो। जेनजी प्लस अरू थुप्रै मान्छे जम्मा भए। नारा, जुलुस भयो। मास तालचोकतिर गयो।
त्यहाँ गएपछि मैले पनि देखेँ। कांग्रेसका मान्छे पनि त्यहाँ थिए। एमालेका मान्छे पनि थिए। राजावादी भनेर राप्रपाका मान्छे पनि थिए। माओवादी पनि थिए। लोकल भएर सबैलाई चिन्छु पनि। भीडमा गएँ।
आ–आफ्नो बथानमा भनेजस्तो माओवादी, एमाले, कांग्रेस, राप्रपा केन्द्रित भए। यो नेतृत्वविहीन छ, यसलाई नेतृत्व गर्ने कोही छैन भनेर म पेट्रोल पम्पमा गएँ, स्कुटरमा पेट्रोल हालेँ र रेष्टुरेण्ट फर्किएँ।
मोबाइल हेरेर बसियो। अन्त आगो लागेको देखियो। कसैको भान्जा पर्यो, कसैको मामाको छोरो पर्यो। जनआक्रोश भएपछि दलविहीनजस्तै भएर निस्किए २४ गते। इगो पनि भयो होला, मेरो बुझाइमा। कांग्रेस नेतासँग रिस उठिराखेको थियो, उसैको मान्छे गएर जलाए।
१५ जना मान्छे लिएर गएपछि त सहज पनि भयो। मान्छे त्रसित भइसकेका थिए। जेनजीलाई यसको घर यहाँ छ भनेर १८, २०, २२ वर्षका केटाले थाहा पाउँछ जस्तो लाग्दैन।
युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबभन्दा बढी के कुराले रिसाएका थिए?
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध भन्ने कुरा स्पष्ट भइसक्यो। हामी सबैलाई रिस उठेको थियो। दोस्रो, चरम बेथिति थियो राज्यबाट। भ्रष्टाचार चरम थियो।
कुनै अड्डा–अदालतमा गयो भने पैसा नदिइकन कामै नहुने अवस्था थियो। युवापुस्ताले यो भोगिराखेको थियो। सबै कुराबाट आजित भएकाले सडकमा आए। दिन दुई गुणा, रात चौगुणा विकृति र भ्रष्टाचार बढ्दै गयो। त्यसैले उनीहरू रिसाएका हुन्।
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठीक लाग्यो, के कुरा बेठीक लाग्यो ?
आन्दोलन हुनुपर्ने थियो। तर यसरी भ्रष्टाचारका विरूद्ध, नेताका विरूद्ध, विकृति र बेथितिका विरूद्ध आन्दोलन हुन जरूरी थियो। तर भीडमा डढाउन नपर्ने, जलाउन नपर्ने कुरा पनि जलेका छन्। राष्ट्रका सम्पत्ति जल्न हुँदैनथ्यो। कुनै व्यक्तिको पनि सम्पत्ति जलेको छ।
जल्ने–जलाउनेबाहेक अरू कुरा ठीक थियो। नेतृत्वसहितको आन्दोलन हुनुपथ्र्यो। चुनावमा धुलो चटाउने पक्षमा जानुपथ्र्यो। अरू त हुनुपर्थ्यो। फेरिनुपर्थ्यो।
आन्दोलनपछि देशमा केही राम्रो भएजस्तो लाग्छ कि पहिलेजस्तै छ?
पहिलेको भन्दा धेरै गुणा ठीक छ। सरकारी अड्डा–अदालत गयो भने पनि हिजोको जस्तो ढिलासुस्ती आजका दिनमा छैन। साधन–सम्पन्न नहुने, राम्रोसँग काम नगरिदिने समस्या पनि थियो।
कम्प्युटरको समस्या कहिले हामीकहाँ हुन्छ, कहिले बत्ती नहुने, ढिला हुने, नेट स्लो हुने एउटा पार्ट छ। तर हिजोको भन्दा अहिले राम्रो छ।
देश अब राम्रो हुन्छ भन्ने लाग्छ कि उस्तै हो भन्ने लाग्छ? तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिले जस्तै हो भन्ने लाग्छ ?
समय लाग्छ। आजको भोलि नै तुरून्त भइहाल्दैन। सुन फल्छ भनेर म मान्दिनँ। हाम्रो पुस्ताले कष्ट गर्नुपर्छ। भावी पुस्ता यही हिसाबले जाँदा अलि सुरक्षित हुन्छ कि, भविष्य राम्रो हुन्छ कि भन्ने आशा छ।
यही बसे पनि केही गर्न सक्ने, जीवन गुजारा गर्न सक्ने अवस्था बन्छ जस्तो लाग्छ।
अहिलेको सरकारले राम्रो काम गरिरहेको जस्तो लाग्छ कि चित्त बुझ्दो काम गर्न सकेको छैन? किन?
काम गर्ने क्रममा केही–कहीँ गल्ती र कमजोरी छँदै छैन भनेर भन्दिनँ म। धेरै कामहरू पारदर्शी हिसाबले भएका छन्। प्रधानमन्त्री राहत कोषमा यति ठूलो पैसा इतिहासमा कोही प्रधानमन्त्री भए पनि जम्मा हुन्थेन। अब यसलाई सही सदुपयोग गरोस्। पैसा अझै पनि आउँछ, आइराखेको छ। सही सदुपयोग गर्नुपर्यो।
हिजोको जस्तै लोभी–पापी रह्यो भने यो सरकार पनि नरहला। सडकमा आगो बाल्ला र लागिहाल्ला भन्ने त म भन्दिनँ। पाँच वर्षपछि चुनावमा जाँदा नबोली–नबोली मतदान गर्न त सक्ने रहेछन् नि।
यो सरकारले गरेका राम्रा काम र गर्न नसकेका काम के–के हुन्?
मेरो बुझाइमा सरकार बालेन शाहको नेतृत्वमा रास्वपाको सरकार छ। तर सत्ता हिजोकै मान्छेहरूको छ। नेका, एमाले, माओवादीको सत्ता छ। सरकार मात्र भएर हुँदैन, सत्ता नै परिवर्तन हुन जरूरी छ।
स्थानीय सरकार, वडा, महानगर, गाउँपालिका, प्रदेश सरकार—सबै ठाउँमा परिवर्तन हुनुपर्छ। बाढीपीडितमा प्रदेश सरकारको भूमिका के त ? हामीले देखेका छौँ नि। स्थानीय गाउँपालिका, नगरपालिका, महानगरको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। म त बाढी पीडितकोमा पुगेको छैन। सामाजिक सञ्जालमा हेर्दा उनीहरूको भूमिका शून्यजस्तो देख्छु।
सरकार निर्मम तरिकाले भ्रष्टाचारका विरूद्ध लाग्नुपर्छ। लागेको छ। सत्ता रास्वपाको छैन, सरकार रास्वपाको हो। अड्डा–अदालतमा गयो, चुहाउने काम, चोख्याउने काम भइराखेको छ। कर्मचारीतन्त्रदेखि राज्यका सबै निकायको पुनःसंरचना हुनुपर्छ। हिजोकै मान्छे भएपछि निर्णय पनि उनीहरूको पक्षमा आउने भयो।
अब उनीहरूले परिवर्तन गर्नुपर्छ। कांग्रेस, एमाले, माओवादीले रोके–छेके भन्न पाउँदैनन्। अरू दलले रोके, हर्क साम्पाङ आएर कराए, रोके भन्न पाउँदैन। उनीहरू निर्मम भएर लाग्नुपर्छ। राज्य निर्मम भएर केही बन्न, केही सिर्जना गर्न रोक्ने कुराको अन्त्य गर्नुपर्छ।
पुरानैलाई टालटुल गर्न खोजियो भने हुँदैन। सरकार निर्मम हुनुपर्छ। लगेर दुई दिन थुन्यो अनि फुत्किने, चोख्याउने काम गर्नुहुँदैन। अनुसन्धान राम्रो गर्नुपर्छ। कुनै पनि छिद्र बाँकी नराखीकन सूक्ष्म तरिकाले अनुसन्धान गरेर भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत हुनुपर्छ।
काठमाडौंमा सुकुम्बासी बस्तीमा डोजर चलाइयो। तर रास्वपाकै नेता–कार्यकर्ताले खोलाको मापदण्ड मिचेका छन्। सार्वजनिक जग्गा मिचेर घर, रिसोर्ट बनाएको कुरा आएका छन्। मिचेका छन् भने हटाउनुपर्यो, कारबाही गर्नुपर्यो। होइन भने यो कारणले होइन भनेर जवाफ दिनुपर्यो।
सरकार अझै निर्मम बन्न सकेको छैन। सरकारले ‘यो हाम्रो, त्यो हाम्रो’ भन्न पाइँदैन। नेपाल राष्ट्रका हरेक नागरिक सरकारको हो। सुकुम्बासीलाई एउटा, हुकुम्बासीलाई एउटा, यो हामीलाई मतदान गरेको, त्यो नगरेको भन्न पाइँदैन राज्यले।
रास्वपाले उठाएको पैसा कार्यकर्तालाई मात्र दिन्छु भन्न पाउँछ, तर राज्यको दोहन गर्न पाउँदैन। ‘म देशको बा हुँ’ भनेर जिम्मेवारी लिएपछि। बालेन देशका शक्तिशाली प्रधानमन्त्री हुन्। उनलाई ‘मैले सकिनँ, मैले भ्याइनँ, कांग्रेस, एमाले र माओवादीले दिएनन्। हर्क साम्पाङ कराएर दिएनन्, रोके’ भन्न छुट छैन।
बालेन निर्मम हुनुपर्छ। भ्रष्टाचार, बेथिति र विकृतिको विरूद्ध लाग्नुपर्छ। मान्छे चोख्याउने मात्र काम भयो भने आउँदो चुनावमा झापड हान्छन्। छिद्र नराखिकन सूक्ष्म अनुसन्धान गरेर भ्रष्टाचारको कारबाही अघि बढाउनुपर्छ।
त्यो कुर्सीमा बसेपछि देश र जनता भनेर लाग्नुपर्छ। हरेक सामान्य मान्छेको आयस्रोत थाहा हुने, राज्यले नीतिगत भ्रष्टाचार गरेको कुरा, कर्मचारीले अथाह कमाएको कुरा राज्यलाई थाहा भएन, हामीलाई थाहा भएन भन्न पाउँदैन। यति ठूलो जनमत पाएको, यति शक्तिशाली प्रधानमन्त्रीले छुट पाउँदैन।
पुराना पार्टी र नेताहरू आन्दोलनपछि सुधारिए कि उस्तै छन्?
केही समय यिनीहरू चुपचाप बसेको देखियो। डरले। फेरि झापड खाइने हो कि, फेरि आगो लगाउने हुन् कि भनेर डराए। अहिले मौकामा चौका हान्ने जस्तो, धार्मिक द्वन्द्व फैलाउने तराईतिर प्रयास भइरहेको छ। यत्रो भोटेकोशी बाढी आएको छ। त्यहाँ यो दल, त्यो दल नभनीकन सबै एउटै भएर लाग्नुपर्ने हो। तर पुराना दलले धमिलो पानीमा माछा मार्न खोजेजस्तो लाग्छ मलाई।
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ ?
अहिले देशलाई अगाडि बढाउन सक्ने पार्टी भनेको यही रास्वपा हो। यो बुझ्नुहोस् कि म रास्वपाको साधारण सदस्य पनि होइन। रास्वपामा पढेका, बुझेका, देखेका मान्छेहरूको जमात अलि राम्रो छ। धेरै छन्। गर्यो भने यो रास्वपाले गर्ने हो।
पुरानो दलमा त पेटभरी भात नखाएका मान्छे देशको प्रधानमन्त्री भए। तिनीहरूको घर, बंगला, गाडी–घोडा कहाँबाट आयो ? यो खोज्नुपर्छ, लाग्नुपर्छ।
बालेन सरकार निर्ममतापूर्वक लाग्नुपर्छ। भ्रष्टाचारीलाई समातेर कारबाही गर्ने, उसको सम्पत्ति जफत गर्ने हो भने नेपालको २० वर्षको बजेट बराबर पैसा जम्मा हुन्छ। रास्वपा पनि पुरानो पार्टीको बाटो हिँडेको रहेछ भने त्यो गलत हो। पुरानाले झैँ भ्रष्टाचारका आरोप लागेका नेताका छोराछोरी र आफन्त नियुक्त गर्नु गलत हो।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को–को हुन् ?
बालेन नम्बर वान भए। दुई नम्बरमा चन्द्र भण्डारी र सुनिल शर्मालाई राख्छु। तीन नम्बरमा अहिलेका सभामुख डोलप्रसाद अर्याल (डीपी) लाग्छन्। उनीहरू अरूभन्दा स्पष्ट लाग्छन्। अलि शालिन पनि लाग्छन् ।
एमाले र माओवादीमा केही गर्लान् जस्तो नेता मैले देख्दिनँ।
ती नेताबाट किन आशा छ? उनीहरूले के गरून् भन्ने चाहनुहुन्छ?
बालेनको हकमा भन्दाखेरी भ्रष्टाचारका विरूद्ध निकै आक्रामक रूपमा लाग्छ जस्तो लाग्छ। लागेको पनि देखिन्छ। सूक्ष्म तरिकाले, छिद्र नराखीकन अनुसन्धान होस् मेरो सुझाव यति छ। कमजोरी नहोस्। नत्र चोख्याउने मात्र हुन्छ।
सुनिल शर्मा र चन्द्र भण्डारी भनेका स्पष्ट छन्। डिपी अर्याल पनि अरूभन्दा स्पष्ट र शालीन लाग्छन्। उनीहरूले एक पटक मौका पायो भने केही गर्छन् कि!