हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
रूपन्देहीको तिलोत्तमाकी सीता वाग्लेले जुत्ता पसल सञ्चालन गरेको तीन वर्ष भयो। केही दिन पहिले हामीले भेट्दा उनी तिलोत्तमाको भलवारीस्थित मनकामना पथमा रहेको पसलमा जुत्ता मिलाइरहेकी थिइन्।
हामीले उनलाई सोध्यौं —
पसल चलाउन थाल्नुभएको कति भयो?
धेरै भएको छैन, भर्खर तीन वर्ष जति भयो।
व्यापार कत्तिको हुन्छ, बचत कति हुन्छ?
व्यापार नै छैन भने पनि हुन्छ। दिनमा २-३ हजारको मात्र बिक्री हुन्छ। त्यसैबाट कति नाफा खानु! आम्दानी त ५-७ सय मात्र होला।
घर आफ्नै हो कि भाडामा लिनुभएको?
घर आफ्नै हो। भाडा तिर्नुपरेको भए त भाडालाई पनि पुग्ने थिएन। दिनभरि यत्तिकै बस्नुभन्दा पसल चलाएपछि २-४ सय भए पनि कमाइ होला भनेर चलाएकी हुँ।
सुरूमा पसल राख्दा कति लगानी गर्नुभएको थियो?
पसल सुरू गर्दा दुई-अढाइ लाख जति लाग्यो होला। अहिले त त्यति पनि छैन। सामान धेरै राख्नलाई पनि व्यापार केही छैन। जुत्ता-चप्पलहरू समयमा बिक्री भएनन् भने नष्ट हुने रहेछन्। दुई बोरा जुत्ता-चप्पल मक्किएपछि फोहोर लैजाने गाडीमा हालेर पठाइदिएँ। त्यसपछि सामान हाल्ने जाँगर पनि हरायो।
घरमा को को हुनुहुन्छ?
अहिले त बाबु र म छौं। नानी पढ्न विदेशमा छन्। सासू-ससुरा, देवर-देउरानी यहीँ नजिकै हुनुहुन्छ।
श्रीमान?
श्रीमान त बितेको १४ वर्ष भइसक्यो। कोरिया जाने-आउने गर्नुहुन्थ्यो। एक्कासि हर्ट अट्याक भएर ३९ वर्षको उमेरमा बित्नुभयो।
घर व्यवहार तपाईं आफै चलाउनुहुन्छ?
म आफैले चलाएकी छु। बाबुको पनि जागिर लागेको छैन। पढाइ पनि बीचमै छाडेर घरमै बसेका छन्। छोरी पढ्दै छिन्।
अहिले तपाईं र तपाईंको परिवारलाई सबभन्दा बढी चिन्ता लागेको कुरा के हो?
चिन्ता भनेकै बाबुको हो। एउटा जागिर लाग्यो भने सजिलो हुन्थ्यो भन्ने लाग्छ। छोरी पढ्न विदेश गए पनि बाबुको भने केही रोजगारी छैन। यही पसललाई ठूलो बनाएर चलाऔं भन्दा पनि मान्दैन। पसल कुरेर के बस्ने भन्छ।
छोरीलाई विदेश पठाउनुभएछ, छोराले विदेश जान्छु भन्दैनन्?
छोरा विदेश जान पनि मान्दैनन्। मैले त बरू केही वर्ष विदेश गएर आए हुन्थ्यो भनेकी छु।
छोराले विदेश जान नमान्दा पनि तपाईं किन विदेश पठाउन चाहनुहुन्छ?
विदेश नै पठाउने चाहना त होइन तर, नेपालमा राखेर के गर्ने? न कुनै जागिर पाइन्छ, न कुनै व्यवसाय गर्न सजिलो छ। यही पसल त बिहान सटर उठाउने र साँझ झार्ने मात्र भएको छ। व्यापार केही छैन। अहिले विवाह नगर्दासम्म त केही छैन, घर व्यवहार मैले चलाएकी छु। विवाह गरेपछि बालबच्चा होलान्, परिवार होला, चलाउनु त पर्छ।
जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
देशमा धेरै सुधार हुन्छ, रोजगारी पाइन्छ भन्ने लागेको थियो। तर त्यस्तो केही देखिएको छैन।
युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबभन्दा बढी के कुराले रिसाएका थिए?
देशको नेतृत्वमा रहेकाहरूले युवाहरूको भावनालाई सम्बोधन गर्न सकेनन्। सधैं उमेर पुगेका वृद्धहरू नै राजनीतिको केन्द्रमा रहिरहे। युवा जति रोजगारीको लागि विदेश पलायन हुनुपर्ने, देशमा भ्रष्टाचार भइरहने। यस्तै यस्तै कुराले होला युवाहरू रिसाएर त्यसरी सडकमा आएको।
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठिक लाग्यो, के कुरा बेठिक लाग्यो?
युवाहरू सबै एकठाउँ उभिनु त राम्रो हो, तर आन्दोलनमा युवाहरू मरे, धेरै धनजनको क्षति भयो, त्यस्तो हुनु हुँदैनथ्यो।
आन्दोलनपछि देशमा केही राम्रो भएजस्तो लाग्छ कि पहिलेजस्तै छ?
मलाई त केही राम्रो भएजस्तो लाग्दैन। सबै पहिलेजस्तै लाग्छ।
किन लाग्दैन?
खोइ त के राम्रो भयो? कोरोनापछि बन्द भएको व्यापार व्यवसाय आन्दोलनपछि पनि उस्तै छ। एक वर्षमा त केही सुधार हुनुपर्ने हो। नेपालमा जति भन्नलाई सजिलो छ, गर्नलाई त्यति नै गाह्रो छ।
देश अब राम्रो हुन्छ भन्ने लाग्छ कि उस्तै हो भन्ने लाग्छ?
आजभन्दा भोलि राम्रो त हुनैपर्यो। हिजोभन्दा आज केही भए पनि राम्रो भएको छ भने आजभन्दा भोलि राम्रो हुनुपर्छ। तर देश बनाउँछौं भन्नेहरूमा परिपक्वता देखिएको छैन। अहिले सरकारमा गएकाहरू पढेलेखेका भए पनि उनीहरू सबैमा विज्ञ छैनन्। एउटा विषयमा विज्ञ हुनु एउटा कुरा हो, देशको नेतृत्व गर्नु फरक कुरा हो।
तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिलेजस्तै हो भन्ने लाग्छ?
राम्रो होला भन्ने आशा गरेकी छु। अहिले पनि राम्रै छ। मैले धेरै संघर्ष र झमेलाहरू बेहोर्दै यहाँसम्म आएकीले धेरै अपेक्षा भने छैन। अहिले जसरी चलेको छ यस्तै सधैं चल्यो भने पनि धेरै सजिलो हुने छ।
अहिलेको सरकारले राम्रो काम गरिरहेको छ जस्तो लाग्छ कि चित्तबुझ्दो काम गर्न सकेको छैन?
के राम्रो काम गरेको छ र? मलाई त लाग्दैन।
किन नि?
चुनावभन्दा पहिले जसरी यसो गर्छौं, उसो गर्छौं भनेका थिए, सरकारमा गएपछि त्यो कार्यान्वयन हुन सकेको छैन। अहिलेको अवस्थामा जनताले चाहेको भनेकै सुशासन हो। सरकारले खर्च कटौती गर्न सक्नुपर्थ्यो, त्यो हुन सकेन। पहिलेका मन्त्रीहरूले अघि-पछि गाडी लिएर हिँडे, सांसदहरूले भत्ता मात्र बुझे, सचिवालयका नाममा कार्यकर्ता भर्ती गरे भनेर विरोध गरियो। हामी पनि अर्को पार्टीको क्रियाशील सदस्यता त्यागेर घन्टी पछि लागेर हिँड्यौं, तर ती सबै गफ मात्र भए। पहिले जे जे कुराको विरोध गर्थे, आफू सत्तामा पुगेपछि त्यही कुरा गर्ने भए किन अरूको विरोध गर्नुपर्थ्यो?
अर्को पार्टीको क्रियाशील सदस्यता त्यागेको भन्नुभयो, तपाईं पहिले कुन पार्टीको सदस्य हुनुहुन्थ्यो र किन त्याग्नुभयो?
मैले नेपाली कांग्रेसको सदस्यता लिएकी थिएँ। तीन वर्ष भएको थियो। अहिले चुनावमा रास्वपाका उम्मेदवार (सुनिल लम्साल) को प्रचारप्रसार कार्यालयका लागि सटर भाडामा दिएकी थिएँ। कांग्रेसका कतिपय सदस्यले तिमी त रास्वपा भइछौ भन्दै प्रश्न उठाउन थाल्नुभयो। मैले पैसा लिएर सटर भाडामा दिएकी थिएँ, तर आफ्नै पार्टीका सदस्यहरूले समेत ममाथि त्यत्तिकै शंका गर्न थालेपछि चित्त दुख्यो। त्यसै शंका गरेर प्रश्न उठाउन थालेपछि सदस्यता नै त्यागेर रास्वपालाई भोट दिएँ। फेरि रास्वपाका उम्मेदवार हाम्रै यही ठाउँको भाइ हुनुहुन्थ्यो। उम्मेदवार अरू भएको भए त के गर्थेँ थाहा छैन।
आन्दोलनपछि पुराना राजनीतिक दलहरू र नेताहरू सुध्रिएजस्तो लाग्छ?
अहिले नेपाली कांग्रेसमा गगन थापाले राम्रो गर्नुभएको छ जस्तो लाग्छ।
तपाईंलाई सदस्यता त्यागेकोमा पछुतो लागेको छ?
गगन थापाको भाषण सुन्दा त किन सदस्यता त्यागेछु भन्ने भएको छ। हुन त रास्वपालाई भोट दिए पनि मैले सदस्यता लिएकी छैन। मैले धेरै राजनीति गर्ने पनि होइन। गाउँ समाजमा राम्रो मान्छे चुनावमा उठ्दा जुन पार्टीको भए पनि भोट दिँदै आएको हो। नेपाली कांग्रेसको क्रियाशील सदस्य हुँदा पनि वडा अध्यक्षमा एमालेका उम्मेदवारलाई भोट दिएको हो। पहिले विष्णु पौडेललाई पनि भोट दिएको हो।
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
अहिले गगनलाई हेर्दा नेपाली कांग्रेसले पनि देशलाई अगाडि बढाउन सक्छ कि भन्ने लाग्छ। अर्को कुरा, कुनै एउटा पार्टीभन्दा पनि देशका लागि सबै पार्टीमा रहेका केही गरौं भन्ने युवाहरू एक ठाउँ भए हुन्थ्यो।
***