साधारण-असाधारण
आउनुस्, आउनुस्, आउनुस्! सस्तो तरकारी लिएर जानुस्!
अचेल काठमाडौंको चाबहिल गणेशमन्दिर पछाडि लाउड स्पिकरमा आवाज घन्किरहन्छ। ठूलो आवाज भएकाले धेरै पैदलयात्री अडिएर सुन्छन्।
कोही पुलुक्क हेरेर आफ्नै धुनमा पाइला अगाडि बढाउँछन्, कोही त्यही आवाज आएको पसल छिर्छन्।
एक अधवैंसे महिला तरकारीको थुप्रो भएतिर अगाडि बढिन्।
त्यहीँ उभिएर 'आउनुस्, सस्तो तरकारी लिएर जानुस्' भनिरहेका थिए कृष्ण अधिकारी।
ग्राहकलाई देखेपछि कृष्ण मुसुक्क हाँसे, मानौं उनले ती महिलालाई पहिल्यैदेखि चिनेका छन्!
कृष्णले रत्तिभर अलमल नगरी उनलाई सोधे, 'दिदी के लानुहुन्छ, सस्तोमा पाइन्छ सब!'
महिलाले गोलभेँडा भनेपछि कृष्ण आफैंले भटाभट झोलामा हालिदिए। तुलोमा लगरे जोखे अनि भने, 'दिदी ६० रूपैयाँ मात्र भयो, यति थोरै लैजाने!'
अरू तरकारी अहिले चाहिएको छैन भन्दै महिलाले पैसा झिकेर दिइन् र गोलभेँडा बोकेर हिँड्न लागिन्।
'ए दिदी, त्यति मात्र के लिएर जानुहुन्छ? पख्नुस्! अरू ताजा तरकारी लैजानु! फ्रिजमा राख्नुभयो भने एक सातासम्म हिँडिरहनु पर्दैन।'
हँसिलो आवाजमा कृष्णले भनेपछि हिँडिसकेकी महिला रोकिइन्। र, भनिन्, 'फ्रिज त छ तर खै अरू के लैजानु?'
'गोलभेँडाको मात्र अचार मिठो हुँदैन। त्यसमा मूला कुटेर हाल्नुभयो भने ट्वाक्क हुन्छ,' जिब्रो पट्काउँदै कृष्णले भने।
महिलाले हाँसेर सहमति जनाइन्। उनी तरकारीको थुप्रोमा आँखा लाउन थालिन्।
त्यति नै बेला पसलमा आइपुगेकी अर्की युवतीलाई हेर्दै कृष्णले भने, 'आज कति राम्रो टोपी लगाएर आउनुभएछ। सधैं हाम्रोबाट तरकारी लैजाने दिदी होइन?'
युवती एकछिन अकमक्क परिन्, केही नभनी फिस्स हाँसिन्।
कृष्ण टोपीको सुन्दरता पुष्टि गर्नमै लागे। ती युवतीको टोपी देखाउँदै अधवैंसे महिलालाई भने, 'लु भनिदिनु त राम्रो छ कि छैन?'
महिलाले हाँसेर हो भनेजस्तो संकेत दिइन्।
अनि तरकारीहरू पालैपालो हातमा राखेर कृष्णले भने, 'यो ब्रोकाउली भक्तपुरको हो। दुई/चार दिनसम्म राखे पनि बिग्रिँदैन। सस्तो भएका बेला काउली, साग लगेर सुकायो भने पछि खान हुन्छ के दिदी!'
टोपी लगाउने युवती एक किलो काउली किन्न आएकी थिइन्। उनलाई गफ सुनाउँदै कृष्णले थमाए — मूला, काउली र फर्सी।
'चार किलो काउलीको सय रूपैयाँ हो, तपाईं पनि सय रूपैयाँ नै दिनुस्। तपाईंले एकपल्ट पानीपुरी खाएर सक्काउने पैसा त हो,' उनले भने।
तरकारी चार किलोभन्दा अलिकति बढी भयो। कृष्णले नझिकी भने, 'यो मेरो तर्फबाट!'
युवती दंग परिन्। एक सय रूपैयाँ दिएर हाँस्दै हिँडिन्।
कृष्णले भने, 'यो सकिएपछि आउनु है!'
त्यतिन्जेलमा टमाटर मात्र किनेर फर्किन लागेकी महिलाले ब्रोकाउली र काउली छानिसकेकी थिइन्। चार किलो। पैसा २१० रूपैयाँ।
'अचारमा धनियाँ हाले मिठो स्वाद आउँछ। यो मेरो तर्फबाट,' भन्दै कृष्णले थोरै धनियाँ उनको झोलामा घुसारिदिए।
महिला मख्ख परिन्। ६० रूपैयाँको टमाटर लिएर हिँडिसकेकी उनले २७० रूपैयाँको एक झोला तरकारी लिएर गइन्।
उनी गएपछि कृष्णको नजर पसल छेउमा उभिएर उनैलाई नियालिरहेका पाका पुरूषमाथि पर्यो। के लैजाने भनेर सोधे। ती पुरूष खाने मान्छे छैन, बुढाबुढीलाई के तरकारी लैजानु भन्दै हिँडे।
कृष्णले हातको इसारासहित बोलाउँदै भने, 'बुबा, बेलुका आउन गाह्रो हुन्छ। साँझलाई तरकारी लिएर जानुस्। धेरैपटक हिँडिरहनु पर्दैन।'
ती बाले नकार्नै सकेनन्। फर्किए। एउटा फर्सी टिपे। डेढ किलो भयो। २५ रूपैयाँ भए पनि बुबालाई ५ रूपैयाँ छुट भन्दै कृष्णले उनलाई झोला थमाए।
एउटा गाँजर पनि हालिदिँदै भने, 'गाँजर महँगो छ तर बुढेसकालमा खानु राम्रो हो!'
बा मुसुक्क हाँसे र भने, 'केटोले तरकारी बिकाउन जानेको छ!'
'तरकारीवाला कृष्ण' को खुबी नै यही हो।
हरेक दिन कृष्ण आफ्नो पसलमा आउने ग्राहकलाई यसैगरी तरकारी किनूँ किनूँ लाग्ने बनाउँछन्। केही समय उनको गतिविधि नियाल्दा लाग्छ — खासमा उनी गफ र मुस्कानसँग मिसाएर तरकारी बेच्छन्।
उनी सबैजसो ग्राहकलाई केही न केही तरकारी थपिदिएरै पठाउँछन्। कसैलाई दुई/चार रूपैयाँ कम लिन्छन्। उनको बोली र व्यवहारले ग्राहकहरू उनका चिनजानका वा आफन्तै हुन् कि जस्तो लाग्छ।
यही खुबीले होला, उनको पसलसम्म पुगेका ग्राहक कोही खाली हात फर्किएको देखिँदैन। उनी सकेसम्म फर्काउँदैनन् पनि।
'तरकारीवाला भाइ' भनेर टिकटकदेखि फेसबुक र युट्युबसम्म चर्चा कमाएका छन् उनले। ग्राहकसँग गरेका कुराकानी र ग्राहक बोलाउँदै गरेका भिडिओ उनले 'कृष्ण तरकारीवाला' नामको खातामा हाल्छन्। यी भिडिओ धेरैले रूचाएका छन्। देशमै तरकारी बेचेर प्रगति गरेको भनेर उनको प्रशंसा हुन्छ। युवाहरूले प्रेरणाको स्रोत भन्छन्। हौसला दिन्छन्।
यिनै कृष्णको कथा सुन्न हामी केही समयअघि उनको पसल पुगेका थियौं।
पहिलोपटक जाँदा उनले आफूलाई फुर्सद नै नभएको भने।
'युट्युब, रूटिन अफ नेपाल बन्द, अरूले पनि मेरो फोटो हालेकै छन्,' उनले आफ्नो फेसबुक आइडी पनि देखाउँदै भने, 'फेसबुकमा भिडिओ हाले लाखौंले हेर्छन्। तपाईंले त लेख्ने रहेछ, के बोल्नु!'
उनी छरिएका तरकारी मिलाउन थाले।
उनको काममा नरोकिने गरी भन्यौं, 'तपाईंको संर्घष र अनुभव समेटिएको लेख पनि आए धेरै युवालाई प्रेरणा मिल्छ नि!'
कृष्णको थोरै चासो देखियो। फेसबुकमा फलो गरेर म्यासेज गर्नुहोस् अनि आउनुहोस् भने।
एकैछिनमा उनले मेरो मोबाइल मागे। मेरो फेसबुक खोले र मेरै अकाउन्टबाट आफ्नो आइडीमा फलो गरिदिए। अनि म्यासेज पनि गरे।
त्यतिमै रोकिएनन्, उनका चार/पाँच वटा तस्बिर र भिडिओमा 'लब रियाक्ट' गरिदिए।
अनि मोबाइल थमाउँदै भने, 'बाँकी तपाईंले गरिदिनु!'
त्यो दिन साँझसम्म उनले भेट्ने समयबारे केही जानकारी गराएनन्।
'भोलि १० बजे भेट्ने है' भनेर मैले म्यासेज पठाएँ।
केही समयपछि कृष्णको जबाफ आयो, 'भिड भयो भने धेरै कुरा गर्न भ्याउँदिनँ। एकैछिन मात्र बोल्छु।'
सहकर्मी नवीनबाबु गुरूङलाई तस्बिर खिच्न सोही समयमा आउन जानकारी गराएकी थिएँ। नवीन अलि चाँडै नै चाबहिल पुगेछन्।
केहीबेर मन्दिर आसपासका फोटो र भिडिओ खिचेर नवीन कृष्णकै पसल अगाडि पुगे। म नपुगी नवीन कृष्णलाई भेट्न जाने कुरै थिएन। कृष्णको बारेमा जानकारी पनि दिन भ्याएकी थिइनँ। फोटो खिच्न आउन मात्र भनेकी थिएँ। त्यसैले नवीन आफ्नै सुरमा घुमिरहेका थिए।
उनी क्यामरा बोकेर हिँडिरहेका बेला कृष्णको भने नजर परिहाल्यो।
कृष्ण आफैं नवीनको नजिक आउँदै भने, 'कति ठूलो क्यामरा रहेछ। यसबाट राम्रो फोटो आउँछ होला है।'
नवीनलाई पनि समय कटाउन गफ गर्ने साथी चाहिएको थियो, भेटिहाले!
कृष्णलाई नवीनले भर्खरै आफूले खिचेका मन्दिरका केही फोटा देखाए। त्यसपछि कृष्णले आफ्नो फोटो खिचिदिन आग्रह गरे।
फोटोग्राफर नवीनले नाइँ किन भन्थे, खिचिदिए।
-1703677705.jpg?timestamp=1703677924945)
खिचेका फोटा हेराहेर गर्ने क्रममा उनीहरूको कुराकानी लम्बियो।
गफकै क्रममा कृष्णले भनिहाले, 'मसँग कुरा गर्न सेतोपाटीबाट एक जना बहिनी आउँदै छिन् अहिले। तर त्यसमा भिडिओ नआउने रे। दिने कि नदिने भनेर अलमलमा छु।'
कृष्णको कुरा सुनेपछि बल्ल नवीनले आफू उनकै फोटो खिच्न आएको भन्ने बुझे। सुरूमा केही नभनी थप फोटा खिचिदिए।
अनि फेरि फोटा देखाउँदै भने, 'यी राम्रा फोटा पनि सेतोपाटीमै आउने हुन्। म पनि सेतोपाटीमै काम गर्छु।'
कृष्ण एकछिन छक्क परे।
नवीनले स्टोरीसँगै फोटा हाले धेरै पाठकसम्म पुग्छ भने। फोटा हेरिसकेपछि कृष्ण नवीनसँग थप गफिए। म पुग्दा उनी कुरा गर्न तयार भइसकेका थिए।
एक घन्टा जस्तो समय त उनी तरकारी बेच्नमै व्यस्त भए। म उनलाई कुरेर त्यहीँ बसिरहेँ।
त्यहाँ बसेर निकैबेरदेखि नियालिरहेका एक जना ६०/६५ वर्षीय पुरूषलाई देखाउँदै कृष्णले मलाई भने, 'हेर्नुस् उहाँ अमेरिका बसेर आउनुभएको हो। यहाँबाट ताजा तरकारी लगेर खानुहुन्छ। कति स्वस्थ देखिनुहुन्छ!'
त्यो बेला कृष्णकी दिदी निर्मला पराजुली पनि पसलमै थिइन्।
तरकारी मिलाउँदै उनले थपिन्, 'बाले अमेरिकाबाट ल्याइदिनुभएको चकलेट पनि खायौं।'
अनि उनले मतिर हेरेर आँखा झिम्क्याइन्।
उनी नजिकै गएर मैले उहाँ साँच्चै अमेरिका गएर आउनुभएको हो भनेर सोधेँ।
निर्मलाले हाँस्दै भनिन्, 'हावा दिएको नि!'
म कृष्णको स्टोरी लेख्न त्यहाँ गएको भन्ने निर्मलालाई थाहा रहेनछ।
पसलमा लामै समय बसेको देखेर उनले भनिन्, 'तपाईं कपन बस्ने नेवारनी बहिनी होइन? हाम्रोबाट सधैं तरकारी लैजानुहुन्छ है!'
पसलमा आएका मानिसलाई चिनारूजस्तो व्यवहार गर्ने कृष्णको शैली निर्मलाले पनि सिकेकी रहिछन्। पसलमा धेरै भिड भएर कृष्ण एक्लैले धान्न नसकेपछि एक वर्षयता निर्मलाले बिहान-साँझ सघाउन थालेकी रहिछन्।
कृष्णको समय पर्खिउन्जेल तरकारी किन्न आउने कतिलाई उनले मलाई देखाउँदै भन्न भ्याए, 'यी बहिनी मेरो बिग फ्यान रैछिन्। मेरो कथा लेख्न आएको रे!'
उनले मलाई एकाएक आफ्नो 'फ्यान' बनाइदिए।
फेसबुक, टिकटकमा उनले हाल्ने भिडिओका त साँच्चै हजारौं फ्यान छन्। उनका भिडिओ १७ हजारदेखि दस लाखसम्मले हेरेको देखिन्छ।
तीन वर्षअगाडि अरू नै कसैले बनाएर हालिदिएको एउटा भिडिओ भाइरल भएपछि उनी पनि भाइरल भएका हुन्।
'एक जना दिदीले मेरो भिडिओ हाल्नुभएछ, भाइरल भएछ। मलाई त थाहै थिएन। हालेकै दिन लाखौंले हेरेका थिए,' कृष्णले दंग पर्दै भने।
त्यो भिडिओमा के थियो त्यस्तो?
उनले त्यसको कथा सुनाए।
तीन वर्षअघि बिहानपख कलाकार राजेश हमाल मर्निङ वाकमा थिए। हमाललाई पछ्याउँदै चाबहिलमा कपडा पसल चलाउने एक महिला भिडिओ खिच्दै आइरहेकी थिइन्। हमाल कृष्णको पसलमा गाँजर किन्न छिरे।
ग्राहक बोलाउन खप्पिस कृष्णले भनिहाले — ल आयो है, राजेश हमालले खाने गाँजर!
त्यो सबै दृश्य ती महिलाले खिचिरहेकी थिइन्। भिडिओ आफ्नो टिकटकमा राखिन्।
'त्यो भिडिओ भाइरल भएपछि ती दिदी अर्को भिडिओ बनाउन त्यसैगरी बोल्न भन्दै आउनुभयो,' कृष्णले सुनाए, 'त्यो पनि रूचाइयो। अनि त उहाँले लगातार मेरो तीन/चार वटा भिडिओ बनाउनुभयो। ती सबै लाखौंले हेरे। बिग फ्यान भन्दै धेरैले मलाई अरू फोटो र भिडिओ हाल्नु भनेर म्यासेज गरे।'
त्यसपछि आफैं टिकटकमा उत्रिएका हुन् कृष्ण।
सुरूमा उनले 'ह्यान्डसम केटो म' नाम राखेर टिकटक खोले। सस्तोमा तरकारी दिने भन्दै पसलको ठेगानासहितका भिडिओहरू हाले। केही समयपछि 'कृष्ण तरकारीवाला' नाममा पनि टिकटक बनाए। अनि दुवैमा रमाइलो तरिकाले आफ्नो पसलको प्रचार गरे।
उनले कहिले तरकारीको विशेषता बखान गरे, कहिले किन्न आउने ग्राहकको प्रशंसा गरे। कहिले आफ्नो दुःख देखाए, कहिले खुसीका क्षण साटे। कहिले गीत भरेर दृश्य देखाए, कहिले आफ्नै स्वरमा उक्तिहरू राखे। कहिले हँसिमजाकका भिडिओ हाले त कहिले गम्भीर प्रकृतिका।
जे जे जसरी हाले पनि उनका भिडिओले हजारौं भ्युज पाउन थाले। कृष्ण हौसिँदै गए। तरकारी बेच्नु, ग्राहक बोलाउनु र टिकटकका लागि भिडिओ खिच्नु उनको दैनिकी बन्यो।
२०७९ को स्थानीय चुनावताका उनले टिकटकमा एउटा भिडिओ हाले। त्यसमा उनले अलि बेग्लै कुरा राखे — बालेन शाहले काठमाडौंको मेयर जिते एक गाडी तरकारी सित्तैमा बाँड्ने घोषणा गरे।
'मैले एक गाडी तरकारी ल्याएर बाँडे,' बालेनको जितपछि बाचा पूरा गरेको उनी बताउँछन्।
त्यो भिडिओ पनि खुब चल्यो, उनको व्यापार अझै फस्टायो।
उनी टिकटकमा 'भाइरल तरकारी ब्वाइ' भनेर चिनिए। उनको भिडिओ हेरेर नजिकका त भइहाले, बौद्ध, जोरपाटी, कोटेश्वर, पुरानो बानेश्वरसम्मका ग्राहक आउन थाले। काम परेर वा घुम्न चाबहिल आइपुग्नेहरू उनको पसल छिर्न थाले। कोही तरकारी किन्न त कोही उनीसँग भिडिओ बनाउन। भिडिओ बनाउनेहरू पनि खाली हात कहिल्यै गएनन्।
दिनकै धेरै मानिसहरू आउन थालेपछि कृष्णको तरकारी व्यापार सामाजिक सञ्जालमा उनले पाएको 'भ्युज' जस्तै उकालो लाग्यो।
'तरकारी महँगो हुँदा धेरै र सस्तो हुँदा थोरै नाफा बस्छ,' २५ वर्षीय कृष्णले भने, 'अमेरिका, अस्ट्रेलियामा कमाउने पैसा यतै कमाउँछु। दैनिक एक-डेढ लाख रूपैयाँको कारोबार हुन्छ।'
अहिले उनीसँग तरकारी बोक्ने आफ्नै गाडी छ। मूलपानीमा घडेरी जोडेका छन्। सिन्धुलीको आफ्नो गाउँमा आमाबालाई बस्न एउटा सानो पक्की घर बनाइदिएका छन्। यो सबै उनले तरकारी पसलबाटै जोडेको सम्पत्ति हो।
तर सामाजिक सञ्जालमा भिडिओ हालेरै मात्र कृष्ण यहाँसम्म आइपुगेका होइनन्। उनले कमाएको चर्चा र सफलताको पछाडि उनको अथाह मेहनत छ।
हरेक दिन बिहान ३ बजेदेखि राती ११ बजेसम्मै काममा व्यस्त हुन्छन् उनी।
'सुताइ त जम्मा तीन/चार घन्टा मात्र हुन्छ। पछिल्लो समय यो व्यापारबाहेक अन्त कतै ध्यान दिन पाएको छैन,' उनले भने।
उनको बसाइ पसल नजिकै छ। दिदी निर्मला उनीसँगै बस्छिन्।
कृष्ण बिहान तीन बजे उठेर पसल पुग्छन्। त्यो बेला होलसेलमा तरकारी किन्ने व्यापारीहरू आइपुगेका हुन्छन्। दुई/तीन गाडी तरकारी त होलसेलमै बिक्छ। उज्यालो भएपछि खुद्रा बिक्री हुन्छ।
पसलबाट समय निकालेर उनी तरकारी लिन विभिन्न ठाउँ पुग्छन्। सुरूआती दिनमा मूलपानीबाट ल्याउँथे। अहिले मूलपानीसँगै कहिले थली त कहिले भक्तपुर पुग्छन्। काभ्रेका विभिन्न ठाउँका किसानका खेतमै पुगेर पनि तरकारी ल्याउँछन्। कतिपय व्यापारीले उनको पसलसम्मै ल्याइदिन्छन्।
'कतिलाई त मैले तरकारी उत्पादन गर्ने समयमा लगानी हालिदिन्छु,' उनले भने, 'स्वदेशमै उत्पादित तरकारी मात्र बेच्ने अठोट छ मेरो।'
पसलमा आइपुगेको तरकारी उनी यसै बेच्दैनन्। किन्न आउने ग्राहकले देख्दा पनि तरकारी आकर्षक देखियोस् भन्ने चाहन्छन्। त्यसैले तरकारीको रङ र आकारअनुसार सजाउँछन्।
यति मात्र होइन — फोहोर, माटो लागेका तरकारी धोइपखाली गर्छन्। पुछपाछ पार्छन् र सफा बनाउँछन्। कतिसम्म भने, फर्सी र भान्टा जस्ता तरकारीमा त तेल दलेर टलक्कै टल्काउँछन्।
'तरकारी भनेको सबभन्दा पहिला आँखाले खानुपर्छ, मनले त त्यसै खान्छ,' उनी भन्छन्, 'हेर्दै मनपर्यो भने ग्राहकलाई किनूँ किनूँ लाग्छ नि। दुई-चार पैसा तिर्न हिचकिचाउँदैनन्।'
-1703677702.jpg?timestamp=1703678030044)
उनको अर्को खासियत भनेको आएका कोही ग्राहकलाई खाली हात नफर्काउनु हो। कोही केही किन्न आएको छ तर उनको पसलमा छैन भने यताउति खोजेर पनि उपलब्ध गराइदिन्छन्।
कृष्णले आफ्नो व्यापार सूत्र सुनाए — ग्राहकको मागअनुसार काम गरे व्यापार टिकिरहन्छ!
हुन पनि आएको जति माग उनी पूरा गर्न सधैं तम्तयार हुन्छन्। जस्तै कतिपयलाई कार्यालय जान हतार भएको हुन्छ। तरकारी पखालेर, ताछेर, काटकुट गर्ने, केलाउने फुर्सद हुँदैन। यी सबै काम भइसकेको तयारी तरकारी खोज्दै कृष्णको पसलमा आउँछन्। कृष्ण उनीहरूले भनेजस्तै गरी तरकारी धोइपखाली, काटकुट पारेर केलाइदिन्छन् र बेच्छन्।
'दुई-चार रूपैयाँ बढी तिरेर भए पनि केलाएका र सफा तरकारी लैजान रूचाउनेहरू हुन्छन्,' उनले भने, 'म इमानदारीपूर्वक काम गर्छु। त्यसैले ग्राहकको मन जितिरहेको छु।'
सेवामा चित्त बुझे ग्राहकहरू अन्त नजाने उनी बताउँछन्। ग्राहकको सुविधा र सहजताका लागि सोच्नु, सकेसम्म कसैलाई खाली हात नफर्काउनु, रसिलो-हँसिलो शैलीमा बोल्नु उनको व्यापारको राज हो। आफ्नो व्यापार शैलीले नै ग्राहक तानेर सफलताको सिँढी उक्लिरहेका छन् कृष्ण।
'मलाई व्यापारमा भिज्न र मानिसहरूसँग बोल्न यही काठमाडौंले सिकाएको हो,' उनले भने।
उनी सिन्धुली दुधौली नगरपालिका-११ मा जन्मेका हुन्। आमाबाका ६ सन्तानमध्येका कान्छा। २०७२ सालमा एसएलसी दिएपछि उनी गाउँमा त्यसै डुलेर बसेका थिए। बेरोजगारीको ठप्पा र बुबाको तितो बचन सुन्न नसकेर पाँच वर्षअघि काठमाडौं भित्रिएको उनले बताए।
'स्कुल जान दिनकै तीन घन्टा हिँड्नुपर्थ्यो। बिहान-बेलुका घाँस दाउरा गरेर पढ्न जान्थेँ। एसएलसीपछि थप पढ्न मन थियो। पैसा नभएर सकिनँ,' उनले भने।
उनीहरूको जग्गाजमिन त थियो, तर सिँचाइको राम्रो सुविधा थिएन। त्यसैले खास उत्पादन हुँदैन थियो। दुई छाक टार्न मुस्किल हुन्थ्यो। उनका बुबा टोमप्रसाद काठमाडौंमा ज्यालादारी काम गर्न आउँथे।
उनलाई अझै याद छ — गाउँमा सबैले दसैंमा नयाँ लुगा किन्थे। केटाकेटीलाई झनै रहर हुन्थ्यो। त्यही मौकामा उनका बुबाले छोराछोरीलाई स्कुलको ड्रेस किनिदिन्थे। नयाँ लुगा पनि भयो, स्कुलको लुगा पनि टर्थ्यो।
त्यही लुगा लगाएर कृष्ण गाउँभरिका साथीहरूलाई देखाउन डुल्थे।
उनले हाँस्दै भने, 'अहिलेका बच्चा हप्तामा तीन जोर लुगा फेर्छन्।'
अहिले उनलाई दुई छाक जे खाए पनि पुग्छ। उनी हुर्किने बेला ढिँडो र सागबाहेक केही थिएन। तरकारीमा हाल्ने भुटुन (तेल) समेत हुँदैन थियो। खान नपाउनु त एउटा कुरा, छिमेकले गरिबीको मजाक उडाउलान् भन्ने पिर पनि आमालाई हुन्थ्यो। त्यस्तो बेला उनकी आमा आगोमा कराइ रातो हुन्जेल तताउँथिन्। अनि जे हाले पनि तेलमा हालेजस्तै झ्वाइँय्य गरिहाल्थ्यो। आमाले छिमेकीलाई सुनाउन सधैंजसो नै यसरी कराइ झ्वाइँय्य पारेको सम्झना छ कृष्णलाई।
'त्यसरी पकाएको तरकारी र मकैको ढिँडो आज पाँचतारे होटलमा बनाएको भन्दा मिठो लाग्थ्यो,' उनले भने, 'चामलको भात त कहिल्यै पाक्दैन थियो। पुगे पो पाक्नु!'
चाडपर्वमा कहिलेकाहीँ नसिब हुन्थ्यो भात। त्यही नै उनीहरूका लागि विशेष परिकार हुन्थ्यो। आमाले भातको माड निकालेर नुन हाल्थिन्। अनि त्यसमै गुन्दुक छर्किएर खुवाउँथिन्।
'यही भोगेर हुर्किएकाले मैले पैसाको महत्त्व सानै बेलादेखि बुझेको हुँ,' कृष्णले भने।
आर्थिक अवस्था कमजोर भएकैले हातखुट्टा लागेपछि उनका दाइदिदी घर छाडेर आआफ्नो बाटो लागेको उनी बताउँछन्। उनी भने आमालाई छोडेर हिँडिहाल्न सकेनन्। कान्छा छोरा भएकाले पनि होला!
तर उनी बुबाको गाली खाइरहन्थे। कृष्ण किशोर भइसकेका थिए। उनको पढाइ थिएन, कमाइ पनि थिएन।
त्यसैले बुबा भनिरहन्थे — लाठे भइसकिस्, गाउँमा हल्लिएर बस्छ! तेरो उमेरका विदेश पुगेर कमाइसके!
घरखर्च जुटाउन दिनरात खट्दा पनि नपुगेपछि बुबाको रिसको पारा तातेको थियो। कृष्णले केही काम गरे भरथेग हुन्थ्यो भन्ने उनको आश थियो।
धेरैपटक कृष्णले बुबाका गाली एउटा कानले सुनेर अर्कोले उडाइदिए। पाँच वर्षअघिको एक दिन भने उनलाई साह्रै नमिठो लाग्यो।
बिहानपख घाम ताप्दै आँगनमा बसेर कृष्ण मकैको ढिँडो र सागको स्वाद लिइरहेका थिए।
त्यही बेला बुबाले उनले खाइरहेको ढिँडो र सागको थाल खोसे। लगेर ब्राखाका अगाडि फ्याँकिदिए।
'तैंले खाएर केही हुँदैन। ब्राखाले खाए पैसा आउँछ भन्दै थाल खोस्नुभयो,' कृष्णले अलि मसिनो स्वरमा सुनाए।
उनका बुबाले यस्तो गरेको पहिलोपटक भने थिएन। त्यसअघि दई/चार पटक खाँदै गरेको खाना बाख्रालाई दिएका थिए। तर त्यो दिन के भयो, कृष्णको मन साह्रै दुख्यो। रिसले दिमाग रन्थनियो।
उनले अब त बस्दै बस्दिनँ भनेर रिसको झोंकमै झोला पोको पारे। घरबाट तुरून्तै निस्किए।
निस्किन त सजिलै थियो, तर अब कहाँ जाने, के गर्ने — निधो गर्न सकेका थिएनन्।
डेढ घन्टा हिँडेर बस चढ्ने ठाउँसम्म पुगे। त्यहाँ एकछिन अलमलमा परे। कहाँ जाने बस चढ्ने? कहाँ हो अब मेरो गन्तव्य?
त्यो दिन उनलाई काठमाडौंले तानेको रहेछ!
कृष्णले काठमाडौं हिँडेका केही मान्छे भेटे। उनलाई आफ्नो गन्तव्य काठमाडौं नै हो भन्ने लाग्यो। तर जान पैसा थिएन। भाडा तिरेर त्यहाँसम्म कसरी पुग्ने हो?
उनले जुक्ति लगाए। काठमाडौं हिँडेका तिनै मानिसहरूको झोला बोकिदिने भए। त्यसवापत ती मानिसहरूले भाडा तिरिदिने बताए।
कृष्ण उनीहरूकै साथ लागेर काठमाडौं आइपुगे। कोटेश्वरमा ओर्लेपछि अब फेरि कहाँ जाने टुंगो थिएन। बुबाले काम गर्ने ठाउँ चाबहिल हो भन्ने सुनेका थिए। त्यहीँ जान्छु भनेर उनी हिँड्दै, खोज्दै चाबहिलसम्म पुगे। त्यहाँ पनि उनलाई कुरेर त को बसेको थियो र, जाने ठाउँ कहाँ थियो र!
उनी हिँड्दै हिँड्दै बौद्ध पुगे। त्यो रात त्यतै बिताए। उनी त्यो बेला कहाँ बसे भनेर अहिले पनि भन्न चाहँदैनन्। जिन्दगीका कति भोगाइ उनी आफैंभित्र रहोस् भन्छन्।
भोलिपल्ट बिहान त्यतै घुमिरहे। वरपर केही पसलहरू चहारे। काम दिनु न भन्दै हिँडे। उनलाई कसैले पत्याएनन्।
त्यहाँ दिउँसोपख एक जना दिदी मकै पोलेर बेच्थिन्। दुई दिनसम्म केही नखाएका कृष्ण भोक खप्न नसक्ने भइसकेका थिए। पेट हुँडलिइसकेको थियो। अडिन समेत मुस्किल भएपछि उनलाई मकैले लोभ्यायो। खाने पो कसरी?
मकै पोल्ने ठाउँमा साँझपख भिड हुन्थ्यो। त्यही मौकामा कृष्णले मकै मागे। जसै मकै हात लाग्यो, उनी भिडबाट खुसुक्क निस्किए, पैसा नतिरी हिँडे।
'त्यसरी मैले दुई दिन भोक टारेँ। खपिनसक्नु भएपछि के गर्ने,' कृष्ण त्यो बेलाको आफ्नो व्यवहारबारे भन्छन्, 'मलाई अहिले ती दिदीलाई साह्रै भेट्न मन छ। उहाँलाई गएर सबै कुरा भन्न मन छ। तर त्यहाँ जाने हिम्मत नै गर्न सकेको छुइनँ।'
उनी फेरि त्यही बेलामा फर्किए।
उनका दुई-तीन दिन बौद्ध स्तुप वरिपरि नै बिते। चौबीसै घन्टा त्यहीँ बस्दा एक जना व्यक्तिसँग चिनजान भयो। विकास लामा भन्ने ती व्यक्ति मूलपानीमा बस्थे। बालुवा बोक्ने, मार्बल घोट्ने जस्ता काम गर्थे। विकासले कृष्णलाई पनि त्यही काम गर्न भने।
काठमाडौंमा काम नपाउनुको र भोकै बस्नुको पीडा सायद विकासले बुझेका थिए। त्यसैले कृष्णलाई उनले आफैंसँग लगे। केही दिन आफ्नै कोठामा राखे। बिस्तारै कृष्ण विकाससँगै घर बनाउने काममा लागे। केही कमाइ भयो। तर साथीकहाँ धेरै दिन बस्न बोझ हुने भन्ठाने। अनि जहाँ घर बनाउने काम हुन्थ्यो, त्यहीँ रात बिताउन थाले। ओढ्ने-ओछ्याउने थिएन, कामका लागि ल्याइएका बोरालाई बिछ्यौना बनाए।
काम गरून्जेल दिनमा एक पटक ठेकेदारले खान दिन्थे। त्यति बेला ठेकेदारले कृष्णलाई दैनिक ज्याला लिन भनेका थिए। तर आफूसँग भए मासिन्छ भन्ने उनलाई लाग्यो। गाँस र बास टरेको थियो। उनी अलिकति भए पनि पैसा जोगाएर केही काम सुरू गर्न चाहन्थे। त्यसैले ठेकेदारलाई एकैपटक पैसा दिनु भने। ठेकेदारले पनि मानिहाले।
खाना खाएर उनले पाउने दैनिक ज्याला ३ सय रूपैयाँ थियो। घरको काम सकिँदासम्म २५-३० हजार पुग्ला भन्ने सोचे कृष्णले। त्यही सपना देख्दै बन्दै गरेको घरमा रात बिताएर तीन महिना काम गरे।
घरको काम सकिनै लागेको थियो। एक दिन एक्कासि ठेकेदार काममा आएनन्। त्यो दिन कृष्णले खान पनि पाएनन्। भोकै बिताए।
अर्को दिन घरधनी आफ्नो घर हेर्न आएका थिए। त्यहीँ काम गरिरहेका कृष्णलाई देखेर छक्क पर्दै सोधे — तिमी यहीँ छौ?
घरधनीको प्रश्नले कृष्ण झस्किए। मनमा चिसो पस्यो। हतासिए।
उनको हालत देखेर घरधनीले ठेकेदार त हिसाबकिताब सकेर गइसकेको जानकारी गराए।
त्यसपछि त कृष्णलाई आफूमाथि संसारै खसेजस्तो भयो। तीन महिनाको मेहनत डुब्यो। आफूले गरेको विश्वास पनि टुट्यो। सपना सबै चकनाचुर भए।
उनी के गर्ने, कसो गर्ने भनेर अत्तालिए। केही उपाय सुझेन। हतार हतार तिनै विकासको कोठामा पुगे।
विकासलाई सबै सुनाए। विकासले मान्छे चिनेको भए पनि बस्ने ठाउँ नदेखेको बताए। ठेकेदार मूलपानीमै बस्छन् भन्नेसम्म थाहा थियो। भेटिन्छ कि भन्ने आशमा उनीहरू एक सातासम्म ठेकेदारलाई खोज्दै मूलपानीका गल्ली गल्ली हिँडे।
'हामीले उनलाई खोज्न छाडेनौं। त्यत्रो समय मेहनत गरेको थिएँ, यसै कहाँ छाड्नु र भन्ने भयो,' कृष्णले भावुक हुँदै सुनाए, 'दोस्रो हप्तामा कोठा त पत्ता लाग्यो। तर ठेकेदार सरिसकेका रहेछन्!'
उनका लागि त्योभन्दा पीडादायी दिन अरू कुनै भएन।
तैपनि उनले आश मारेनन्। ठेकेदार भेटिइहाल्छन् कि भनेर सोधीखोजी गर्दै मूलपानीतिर भौंतारिइरहे। त्यही क्रममा एक दिन उनको एक जना बूढी आमासँग कुराकानी भयो। उनले आफ्नो सबै पिरलो सुनाए।
एउटा ठिटोको रोदन सुनेपछि ती आमाले उनलाई फ्याट्टै भनिदिइन् — हातखुट्टा सग्ला छन् त! यहाँ तरकारी खाएर नसक्नु हुन्छ। खेर गएको छ। यही लगेर चाबहिलमा बेचे भइहाल्यो नि! यसरी भौंतारिएर हुन्छ?
कृष्णलाई त त्यो बेला साक्षात् देउता आएर उपाय दिएजस्तो भयो।
उपाय मात्र हो र, वरदान नै दिएजस्तो भयो। ती आमाले उनलाई आफ्नै बारीको साग दिइन्। मुठाको १० रूपैयाँमा लगेर चाबहिलमा २० रूपैयाँ बेच्न भनिन्। त्योसँगै कमाएर तिर्नू भन्दै एउटा डोको पनि थमाइदिइन्।
कृष्णलाई साग मुठा कसरी बाँध्ने, कत्रो बनाउने भन्ने पनि सिकाइदिइन्। सिकाएअनुसार कृष्णले हातमा अटाए जतिलाई एक मुठो बनाए। दिनभरि साग पखाले। दस मुठा बनाएर साँझपख चाबहिल ल्याएर बेच्न बसे।
चोकमा अरू मानिसहरू पनि तरकारी बेच्न बसेका थिए।
'कहिल्यै नगरेको काम, साग कसरी बेच्ने होला भनेर म त डराएँ,' उनले पहिलो दिनको अनुभव सुनाए, 'एक-दुई जना व्यापारीले साग साग भन्दै कराएर मान्छे बोलाएको देखेँ। अनि मैले पनि त्यही सिकेर बोलाउन थालेँ।'
मान्छे बोलाउन थालेपछि उनको साग धमाधम बिक्री भयो। पहिलोपल्ट सय रूपैयाँको दस मुठा सागले दुई सय रूपैयाँ कमाए।
त्यति नै बेला उनलाई महसुस भयो — लाज मानेर बस्यो भने तरकारी नबिक्ने रहेछ। बोल्यो भने जसरी पनि बिक्ने रहेछ!
-1703677700.jpg?timestamp=1703677988338)
दोस्रो दिन उनले बीस मुठा साग ल्याए। त्यही ठाउँमा बसेर बेचे, सबै बिक्यो। तेस्रो दिन चालीस मुठा, चौथो दिन साठी गर्दै बढाउँदै लगे। बिस्तारै सागसँगै उनले मूलपानीमा सिजनअनुसार उत्पादन हुने तरकारी ल्याएर बेच्न थाले। यो, ऊ भन्ने थिएन, जे पाउँथे, त्यही ल्याएर बेच्थे। ताजा तरकारी बिक्न मुस्किल भएन।
त्यसपछि त मूलपानीका स्थानीयले उनलाई आफैं बोलाउन थाले। आफ्नो बारीको तरकारी पनि बेचिदिन भने। चार/पाँच महिनामै कृष्ण मूलपानी र चाबहिल चोकमा सबैले चिन्ने व्यापारी बने।
'ग्राहक बढ्दै गएपछि मैले थोरै नाफा खाएर धेरै तरकारी बेच्न थालेँ। मैले बारीबाट ल्याएको तरकारी कहिल्यै फाल्नुपरेन। ढिला, चाँडो सकिन्थ्यो नै। कुनै कुनै दिन बाँकी रहे म फुटपाथमा बस्नेलाई दिएर फर्किन्थेँ,' उनले भने।
कृष्णले डेढ वर्ष यसैगरी चाबहिल चोकमा बसेर तरकारी बेचे। बिहानदेखि दिउँसो दुई बजेसम्म उनको काम तरकारी बटुल्ने, सफा गर्ने, पोको पार्ने हुन्थ्यो। अनि साँझ बेच्ने।
उनी टन्नै तरकारी ल्याउने भइसकेका थिए। फुटपाथमा तरकारीको थुप्रो देखेर कति मान्छे त आत्तिन्थे। कतिले यति धेरै बिक्छ भने त पसल राख न भन्थे। धेरै जनाले बारम्बार एउटै कुरा भनिरहँदा कृष्णलाई पनि पसल राखेर तरकारी बेच्दा ठीक हुन्छ कि के हो भन्ने लाग्यो। त्यतिबेला सडकका फुटपाथमा बिहान र साँझ मात्र तरकारी बेच्न पाइन्थ्यो। पसल भए जतिखेरै बेच्न पाइन्छ भन्ने लोभ पनि कृष्णलाई भयो।
उनी त्यहीँ वरपर तरकारी पसल गर्न मिल्ने सटर खोज्न थाले। गणेश मन्दिरको तरकारी बजार छेउमै एउटा कोठा भेटिहाले। फराकिलो ठाउँ भएकाले एकैपटकमा कृष्णलाई मनपर्यो। मन्दिर छेउमा भएकाले ग्राहक अझै तान्न सकिन्छ भन्ने सोचेर दंग पनि परे।
भयो पनि उनले सोचेजस्तै नै।
फुटपाथबाट पसलमा आएपछि उनले बेच्ने तरकारी बढ्यो। तरकारीका बखान गरी गरी रमाइलो तरिकाले बोलाउन क्रम बढ्यो। हँसिला र रसिला उनका कुराले नै धेरै मान्छेलाई तान्थ्यो, व्यापार बढ्यो।
दिनमा सय रूपैयाँको साग बेचेर सुरू गरेको कामले, महिनाको ५०/६० हजार रूपैयाँ भाडा तिर्न मजाले पुर्यायो।
त्यही पसलमा यसै गरी तरकारी बेच्दाबेच्दै उनको जीवनमा टिकटक पुगेको थियो।
'राजेश हमालले खाने गाँजर' भनेको भिडिओले उनको जीवन बदलिदियो। पहिले व्यापार मात्र हुन्थ्यो, टिकटक चलाउन थालेपछि उनी लोकप्रिय बने। चर्चा चुलिँदै गयो।
मान्छेले के मनपराउँछन् भन्ने बुझिसकेका उनले नानाभाँती रमाइला किस्सासहित भिडिओ हाल्न थाले।
'तरकारीवाला भाइ' टिकटकका सेलेब्रेटी बन्न कुनै समय लागेन।
'मेरा भिडिओ हेरेर देशका कुनाकाप्चा र विदेशबाट समेत मानिसहरू आउँछन्,' उनले भने।
यसरी उनलाई भेट्न आउनेहरूसँग उनी भिडिओ बनाउँछन्। आउनेहरूले उनलाई उपहार पनि ल्याइदिन्छन्। उपहार लिएका भिडिओ पनि उनले टिकटकमा हाले। उनलाई पछ्याउनेहरूले ती भिडिओ पनि खुब मनपराए।
'मेरो हँसिलो र मेहनती बानीले टाढा टाढाबाट आउनेहरूले लुगा, चकलेट र के के सामान ल्याइदिनुहुन्छ,' कृष्णले दंग पर्दै सुनाए, 'कतिले मिठाइ खान भनेर पैसा पनि दिनुहुन्छ।'
तीन साताअघि बुटवलबाट काठमाडौं घुम्न आएकी ५० वर्षीया महिलाले मिठाइ खान एक हजार रूपैयाँ दिएको उनले सुनाए। त्यसको भिडिओ पनि उनले हालेका छन् जुन हजारौंले हेरे।
आफूले लगाएको हरियो बाक्लो ज्याकेट देखाउँदै कृष्णले थपे, 'यो ज्याकेट रञ्जना कम्प्लेक्समा रहेको ब्लुबर्ड ब्रान्डका साहुले दिनुभएको हो। टिकटकका भिडिओमा मैले सधैं एउटै लुगा लगाएको देखेपछि ल्याइदिनुभएको रे।'
'टिकटक सेलेब्रेटी' भएपछि उनलाई स-साना विज्ञापन र गीतमा खेल्ने अवसर पनि आएका छन्। उनले केहीमा काम पनि गरे। तर मेहनत अनुसार कमाइ नहुने भएपछि अचेल खास रूचि नभएको उनी बताउँछन्।
'हिरो पनि भइयो नि,' उनी मज्जाले हाँसे, अनि भने, 'टिकटकबाट पसलको प्रचारप्रसार भयो। व्यापार बढ्यो। मैले धेरैको माया पनि बटुलेँ।'
गत कात्तिक अन्तिमतिर सरकारले एक्कासि नेपालमा टिकटक बन्द गर्यो।
प्रचारको मुख्य थलो बन्द भए पनि कृष्ण हतासिएका छैनन्। आफ्नो व्यापार र ग्राहकको मायामा केही फरक नपरेको उनी बताउँछन्। किनकि टिकटकको माया अहिले उनी फेसबुकमा पाइरहेका छन्।
टिकटक बन्द भएपछि उनले फेसबुकमा 'कृष्ण तरकारीवाला' आइडी खोलेका हुन्। त्यहाँ उनका फलोअर डेढ लाख भन्दा बढी भइसके।
'टिकटक बन्द हुनासाथ फेसबुकमा भिडिओ हाल्न थालेँ, व्यापार घटेको छैन,' कृष्णले भने, 'फेरि बेच्न जाने त काठमाडौंमा जे पनि बिक्छ। कमाइ भइहाल्छ।'
हुन पनि उनी जे पनि बेच्न खप्पिस भइसकेका छन्। तिहारमा उनले काभ्रे पाँचखालबाट दुई ट्याक्टर रातोमाटो ल्याए। माटोको पैसा तिर्नुपरेन। बाटो खर्च केही हजार रूपैयाँ लागेको थियो।
'त्यसबाटै मैले लाख कमाएँ,' उनले दाबी गर्दै भने।
उनी तरकारी मात्र बेच्दैनन्, औंसी, पूर्णिमा जस्ता दिनमा गणेश मन्दिरमा टीका र डोरा बाँध्न पनि बस्छन्।
'२०/२५ हजार रूपैयाँ त्यसरी पनि कमाइ हुन्छ। खासमा मान्छेमा लाज भएन र जाँगर भयो भने स्वदेशमै सहजै पैसा कमाउन सकिन्छ के,' उनी हाँस्दै भन्छन्, 'अनि पैसा कमाएपछि आफन्त र परिवारको माया पनि कमाइन्छ।'
उनले यो अनुभव गत वर्ष गाउँ फर्किँदा बटुलेका हुन्। घर छाडेर हिँडेपछि, उनी पोहोर पहिलोपटक गाउँ गएका थिए।
अरूका झोला बोकिदिएर काठमाडौं छिरेका कृष्ण फर्किँदा टन्न पैसा र दुई/तीन जना भरियालाई लत्ताकपडा र रासन बोकाएर तामझामसाथ गएका थिए।
सामाजिक सञ्जालमा चर्चित भएकाले उनलाई बसबाट झर्नेबित्तिकै गाउँका युवाले चिने।
'त्यसपछि त म आधा बाटो हिँड्नै परेन। गाउँले भाइहरूले बोकेरै घर पुर्याइदिए,' गजक्क पर्दै कृष्णले सुनाए, 'घरमा बाआमालाई मात्र होइन, वरिपरिका बालबच्चादेखि बुढापाकालाई समेत लुगा र रासन बाडेँ। दुई दिन बसेर फर्किँदा बस चढाउने ठाउँसम्म धेरै आफन्त र गाउँलेहरू मलाई छोड्न आएका थिए।'
अब उनलाई के खाने, के लाउने चिन्ता छैन। तरकारीको व्यापार कसरी धेरै बनाउने, प्रचारप्रसार कसरी गर्ने भन्ने मात्र ध्याउन्न छ। पसल ठूलो बनाउने भन्दा पनि ग्राहकका घरघरमै तरकारी पुर्याउने योजना बनाएका छन् उनले। युट्युब च्यानल खोलेर तरकारीको मूल्यसहित भिडिओ राख्ने पनि सोच छ। तरकारी हेरेर मगाउनेलाई होम-डेलिभरी गर्ने तयारी गरिरहेका छन्।
उनी भन्छन्, 'लाज नमानी, बोल्न जान्यो र गर्न सक्यो भने विदेशमा मेहनत गरेभन्दा बढी यहीँ कमाउन सकिन्छ। अझ यहाँ त परिवारसँगै बस्न पाइन्छ। त्यसैले कसैलाई तरकारी पसल खोल्न मन छ भने भन्नु, म सकेको सहयोग गर्छु। मलाई कृष्ण तरकारीवाला फेसबुक आइडीमा म्यासेज गर्नुहोला।'
***
-1703677693.jpg?timestamp=1703678127389)