जंगलभित्रको कथा : अध्याय २
'जंगलमा बाघसँग जम्काभेट भए के गर्छस्?'
'मैले त के गर्नू, चुपचाप आँखा चिम्लेर बस्छु; जे गर्छ बाघले नै गर्छ।'
यो हामीले धेरैचोटि भन्दै वा सुन्दै आएको जोक हो। तर जुन दिन मैले खिकुमारी अधिकारीलाई भेटेँ र उनको कथा सुनेँ, मलाई यो जोक फिक्का लाग्यो।
अचेल कसैले यस्तो जोक सुनायो भने मेरो मुखबाट हाँसो फुट्दैन, बरू दिमागमा खिकुमारीले सुनाएका दृश्य नाच्न थाल्छन्।
खिकुमारीले बाघसँग जम्काभेट हुँदा आँखा चिम्लेर बसिनन्। डराएर भाग्दा पनि भागिनन्। जे गरिन्, उनैले गरिन्; खिकुमारीका अगाडि बाघको पनि केही जोड चलेन।
घटना २०५६ चैतको हो।
चितवन, माडीको किर्तनपुर गाउँमा बाघ पसेको थियो।
त्यो बाघले चैत १८ गते राति स्थानीय शिलादेवी पन्थलाई घरकै आँगनमा करप्पै पार्यो।
शिलादेवी आधी रात शौच जान निस्केकी थिइन्। नजिकै जंगल थियो। उनले घरको आँगन नाघ्नधरि भ्याएकी थिइनन्, रातको अन्धकारमा जंगलछेउ लुकेर बसेको बाघ एक्कासि झम्टिन आइपुग्यो।
बाघले शिलादेवीको छाती र पेटमा आफ्ना फालीझैं तीखा नंग्रा गाड्दै भुइँमा लडाइहाल्यो।
उनले ऐया पनि भन्न नपाउँदै बाघले उनको घाँटीमा धारिला दाँत गाड्यो र तातो, आलो रगत चाट्न थाल्यो।
धारिला दाँतको चोटले घाँटीबाट रगतको फोहोरा छुट्यो।
शिलादेवी ठाउँको ठाउँ ठहरै भइन्।
रातको सन्नाटामा शिलादेवी बाघको शिकार भएको गाउँलेहरूले सुइँकै पाएनन्।
भोलिपल्ट बिहानै गाउँभरि हल्ला फैलियो।
सबै जना शिलादेवीको घरमा झुम्मिए।
बाघले लुछेर, चिथोरेर छाडेको शिलादेवीको शव आँगनमा यसै लडेको थियो। गाउँलेहरू डरले आँखा फारेर शव नियाल्दै थिए।
एकचोटि मान्छेको रगत चाखेको बाघ फेरि पनि रगत खान आइरहन्छ भन्ने गाउँलेहरूलाई थाहा थियो।
उनीहरूलाई यो पनि थाहा थियो — बाघले आफ्नो शिकार एकैचोटि जम्मै खाँदैन। ऊ शिकारको आसपासै रहन्छ र भोक लागेपछि फेरि खान आउँछ। आफ्नो शिकार कसैले खोस्यो भने ऊ रिसाउँछ र झन् भयानक भएर हमला गर्छ।
त्यो बिहान शिलादेवीको आँगनमा झुम्मिएका गाउँले यही विषयमा कानेखुसी गर्दै थिए।
भन्दै थिए, 'यो बाघ अब नरभक्षी भयो। बेलैमा समात्न सकिएन भने हामीमध्येकै कोही अर्को शिकार हुनेछ।'
खिकुमारी त्यही भीडमा थिइन्। शिलादेवीलाई बाघले खाएको खबर सुन्नेबित्तिकै उनी कान्छो छोरा च्यापेर गाउँलेहरूसँगै प्रत्यक्षदर्शी बन्न आएकी थिइन्।
अरू सबै बाघको सम्भावित हमला आकलन गरेर गाइँगुइँ गरिरहेका बेला खिकुमारीका आँखा भने वरपर नियाल्न थाले।
उनले देखिन् — शिलादेवीका श्रीमान ज्यानबहादुर पन्थ घरको पिँडीमा झोक्राएर बसेका छन्। एक-दुई जना छिमेकी उनलाई सान्त्वना दिँदै छन्। नजिकै गोठमा गाई, बाख्रा भोकाएर कराउँदै छन्। पन्थ दम्पतीले बुढेसकालमा रहर गरेर पालेका रेशम कीरा पनि आहार नपाएर यताउता सल्बलाउँदै छन्।
खिकुमारीले मन थाम्न सकिनन्।
उनले छोरालाई भुइँमा थपक्क बिसाइन् र साडीको फेर कम्मरमा कसेर भोकाएका गाईवस्तु स्याहार्न अघि सरिन्। रेशम कीरालाई आहार पनि जुटाइदिइन्।
त्यसैबीच आँगनमा झुत्तिएका गाउँलेले पनि होस सम्हाले र शिलादेवीको शव सदगद् गर्ने तयारीमा जुटे।
चैतको चर्को घाम बिस्तारै उकालो लाग्दै थियो। गर्मीले ज्यानबाट चिटचिट पसिना रसाउँदै थियो।
गोठको बन्दोबस्त गर्दागर्दै खिकुमारी थकाइले लखतरान भइन्। तिर्खाले मुख प्याकप्याक भयो।
उनले वरपर पानी खोजिन्।
घरमा एक अम्खरा पानीधरि भेटिनन्।
उनी पानी पिउन भनेर आफ्नो कान्छो छोरा च्यापेर नजिकै कुवातिर बढिन्। एक स्थानीय महिला सँगसँगै आइन्।
जसै उनीहरू कुवामा पुगे, उनीहरूका पाइला मूर्तिझैं टक्क अडिए।
प्रचण्ड गर्मीमा पनि जीउभरि काँडा उम्रिए।
उनीहरूको ठ्याक्कै अगाडि, कुवाकै छेउमा एउटा अजंग बाघ थियो।
शिलादेवी खाने बाघ त्यही हो भन्नेमा खिकुमारीलाई कुनै शंका भएन। किनभने, त्यो बाघको मुखमा अझै पनि रगत लतपतिएको थियो।
उनीहरूलाई देख्नेबित्तिकै बाघ जुरूक्क उठ्यो। पूरै गाउँ थर्किने गरी ठूलो आवाजमा गर्जियो।
सातोपुत्लो गएका खिकुमारीले कान्छो छोरालाई बेस्कन छातीमा अँठ्याइन् र बेतोड खेततिर दौडिन थालिन्। छिमेकी महिला पनि सँगसँगै दौडिइन्।
खिकुमारी बेलाबेला फर्केर हेर्थिन्।
बाघ उनीहरूलाई पछ्याउँदै थियो।
उनी जतिचोटि फर्केर हेर्थिन्, त्यति नै चोटि बाघलाई पछ्याइरहेको देखिन्।
उनको हंसले ठाउँ छाड्यो। उनलाई आफ्नोभन्दा काखेछोराको बढ्ता माया लाग्यो।
धन्न त्यही बेला खेतमा एक हुल पुरूषहरू भेटिए।
मान्छेको भीड देखेपछि बाघले पछ्याउन छाड्यो र तर्किएर जंगलतिर पस्यो।
त्यो रातभर खिकुमारी राम्ररी निदाउन सकिनन्।
आँखा झपक्क लाग्न खोज्थ्यो, बाघ गर्जेको झस्काले झसंग ब्युँझिन्थिन्।
बाघले कोपरेको घाउ देखाउँदै खिकुमारी अधिकारी। साथमा उनका श्रीमान ऋषिराम अधिकारी। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
भोलिपल्ट पनि बिहानभरि उनको मनबाट बाघको झस्का जाँदै गएन।
एकतमासले टोलाएरै बसिरहेकी थिइन्, त्यही बेला उनलाई शिलादेवीको याद आयो। उनले शिलादेवीको मृत्युपछि एक्लिएका वृद्ध ज्यानबहादुरलाई सम्झिइन्। गोठमा भोकाएर कराइरहेका गाई, बाख्रालाई सम्झिइन्। आहार नपाएर सल्बलाइरहेका रेशम कीरालाई सम्झिइन्।
उनलाई छटपटी भयो।
उनी जुरूक्क उठि्न र मन दरो पारेर शिलादेवीको घरतिर लागिन्।
ज्यानबहादुर घरभित्र एक जना छिमेकीसँग गफ गर्दै थिए। गाई, बाख्रा र रेशम कीराहरू अघिल्लो दिनजस्तै भोकले आलसतालस परेका थिए।
खिकुमारीले गाई, बाख्राका लागि घाँस काटेर ल्याइन्। रेशम कीरालाई किम्बु हालिदिइन्।
त्यही बेला उनको आँखा आँगनतिर गयो।
उनले देखिन् — अघिल्लो दिन जुन ठाउँमा शिलादेवीको शव भेटिएको थियो, त्यही भुइँमा मुन्टो जोडेर सुँघ्दै थियो बाघ।
खिकुमारी आत्तिएर कराउन थालिन्, 'पन्थ बा, पन्थ बा... बाघ आयो... बाघ आयो...!'
उनी गाईवस्तु राख्ने साँघुरो र जीर्ण कटेरोभित्र थिइन्। बाघले आफूलाई नदेखोस् भनेर एउटा कुनामा लुकिन्। आफ्नो ज्यान जतिसक्दो खुम्च्याएर राखिन्। सासधरि हलुकासँग फेर्न थालिन्।
जति कोसिस गर्दा पनि बाघको नजरबाट बच्न भने सकिनन्।
बाघ सरासर कटेरोभित्र पस्यो।
खिकुमारी फेरि जोडसँग चिच्याइन्, 'लौ मार्यो, मलाई खान त दुइटा बाघ आए।'
खासमा बाघ एउटै थियो। तर रिसाएको बाघले आफ्नो पुच्छर जोडसँग आफ्नै टाउकोतिर फर्काउँदा खिकुमारीका भयभीत आँखाले दुइटा टाउको देखेका थिए। र, उनलाई दुइटा बाघ आएको भ्रम भएको थियो।
उनी एकछिन हल न चल भएर बसिन्।
बाघ चुपचाप फर्किन्छ कि भनेर आफू पनि चुप्पै लागिरहिन्।
बाघले फर्किने लक्षण देखाएन।
बरू जोडसँग गर्जिँदै सुम्सुम्ती पाइला बढायो र भित्तामा सपक्क टाँसिएर बसेकी खिकुमारीलाई झम्टिन आयो।
हेर्दाहेर्दै बाघले आफ्नो पञ्जा खिकुमारीको गर्दनमा जोत्यो।
यहाँ खिकुमारीले फुर्ती देखाइन्।
उनले आफ्ना दुवै हातले बाघको कान समात्न भ्याइन्। कम्तीमा बाघको हमलाबाट टाउको जोगाउन पाए ज्यान जाँदैन भन्ने सोच उनको मनमा आयो।
यही सोचले उनको मनमा साहस भर्यो।
उनले आफ्नो सकेको बल लगाएर बाघलाई पछाडि धकेलिन्।
बाघलाई पनि समस्या के पर्यो भने, ऊसँग खिकुमारीलाई तानेर लैजाने सजिलो ठाउँ थिएन।
साँघुरो कटेरोमा केही बेर खिकुमारी र बाघको घम्साघम्सी चल्यो।
उनीहरूले कुस्तीबाजझैं एकअर्कालाई ठेलाठेल गरे।
बाघ किन हार मान्थ्यो — उसले बल लगाएर खिकुमारीको घाँटीतिर आफ्नो पञ्जा बढायो।
खिकुमारीले दुवै हातले बाघको पञ्जा च्याप्प समातिन्।
बाघले पछाडिको खुट्टाले हान्न खोजेको थियो, उनले त्यसलाई पनि छलिन्।
यही घम्साघम्सीमा खिकुमारीको एउटा हात स्वाँट्टै बाघको मुखभित्र पस्यो।
यति हुँदा पनि एउटा हातले बाघलाई ठेल्न भने छाडिनन्। आफ्नो मुखभित्र पसिसकेको हात पनि बाघले दाँतको बीचमा करप्प पार्न सकेन।
यही मौकामा खिकुमारीले आफ्नो हात जतिसक्दो बाघको मुखमा भित्रैसम्म पसाल्न खोजिन्।
उनको यो जुक्तिले बाघलाई अटसमटसै पार्यो। न हलचल गर्ने ठाउँ दियो, न त मुखभित्र छिरेको खिकुमारीको हात टोक्न सक्यो।
ऊ निरीह बनेको थियो। तैपनि बल लगाउन भने छाडेको थिएन।
यतिञ्जेल ज्यानबहादुर पन्थ र उनका छिमेकीले कटेरोमा बाघ पसेको र खिकुमारीलाई हमला गरेको थाहा पाइसकेका थिए।
उनीहरू चिर्पट बोकेर कटेरोभित्र छिर्दा बाघ र खिकुमारीको कुस्ती चल्दै थियो।
खिकुमारी चिच्याइन्, 'यसलाई चिर्पटले हानिहाल्नू बा!'
उनीहरूले बाघको टाउकोमा जोडसँग चिर्पट बजारे।
चिर्पट भाँचियो, तर बाघलाई ऐया पनि भएन।
ज्यानबहादुरले फेरि दाउराले बाघमाथि प्रहार गरे।
यो प्रहारबाट भने बाघ रन्थनियो।
त्यही मौकामा खिकुमारी बाघको पञ्जाबाट फुत्किइन्।
बाघ दाउराको चोट र रिस थाम्न नसकेर जोडसँग गर्जियो।
कटेरोबाहिर गाउँलेहरू जम्मा भइसकेका थिए। मान्छेको हुल र हल्लाखल्लाले बाघ अत्तालियो।
ऊ रन्थनिएर कटेरोबाट दौडिँदै निस्कियो र सामुन्ने रहेको गोरूमाथि जाई लाग्यो। अनि जंगलतिर पस्यो।
गाउँलेहरूले खिकुमारीलाई पानी खुवाए।
जसै मुखमा पानी पर्यो, उनी बेहोस भइन्।
उनको शरीरभरि बाघले कोपरेको घाउ थियो। गाउँलेहरूले हतारहतार बोकेर १५ मिनेट परको किर्तनपुर बजार पुर्याए।
त्यति बेला माओवादी द्वन्द्वका कारण रातको समय माडीमा नाकाबन्दी लागेजस्तो हुन्थ्यो। तत्कालीन शाही चितवन राष्ट्रिय निकुञ्जले रात पर्नासाथ माडी–भरतपुर आवतजावत गर्न दिन्थेन।
त्यही भएर खिकुमारीलाई रातभर किर्तनपुरकै क्लिनिकमा राखियो र बिहानै भरतपुर अस्पताल लगियो।
अस्पताल भर्ना भएको तेस्रो दिनको कुरा हो। उनी शैयामा सुतिरहेकी थिइन्। स्टाफ नर्सले औषधि खान उठाइछन्। उनी जुरूक्क उठेकी मात्र के थिइन्, अगाडि भुइँमा बाघहरू हिँडिरहेको देखिन्।
उनी चर्को स्वरमा चिच्याइन्, 'अस्पतालमा पनि बाघ आयो... गुहार... गुहार!'
उनी शैयाबाट हामफालेर भागिन्।
यसरी भाग्दा हातमा लगाइएको सलाइनको पाइप चुँडियो। डाक्टर, नर्स र कर्मचारीले मिलेर उनलाई समाते।
भएको के रहेछ भने, उनको शैयाअगाडि भुइँमा एक जना बिरामी तन्ना ओडेर सुतेका रहेछन्। बिरामीको चापका कारण यसरी भुइँमा राख्नु सामान्य हो। संयोगको कुरा, ती बिरामीले ओडेको तन्नामा बाघका चित्र रहेछन्। अघिल्लो दिन बाघसँग सिँगौरी खेलेकी खिकुमारीको दिमागमा बाघको तस्बिर मात्रै आइरहेको थियो। त्यही भएर आँखाअगाडि चित्र देख्दा पनि उनलाई साँच्चिकै बाघ आयो भन्ने भ्रम भयो।
त्यसपछि त उनी झनै बिरामी परिन्। सपनामा पनि बाघ मात्रै देख्न थालिन्।
उनको शरीरमा बाघले कोपरेका १४ वटा घाउ थिए। सबै घाउमा टाँका लगाइएका छन्। तीन महिना अस्पताल बसेपछि खिकुमारी घर फर्किएकी थिइन्। घर फर्केको करिब एक वर्ष उनी चल्नै सकिनन्। अहिले पनि उनलाई काम गर्न असाध्यै गाह्रो हुन्छ। केही घन्टा काम गर्यो भनेर शरीर दुखेर औडाहा हुने उनी बताउँछिन्।
'लडेर भाँचिएको भए केही हुन्थेन होला,' उनी भन्छिन्, 'जनावरले चिथोरेको त यस्तो गाह्रो पो हुने रहेछ!'
खिकुमारी र उनका श्रीमान ऋषिराम अधिकारी। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
खिकुमारीले हालैको एकदिन आफ्नै आँगनमा बसेर बाघसँग जम्काभेटको कथा सुनाएकी थिइन्।
माडीको बनकट्टा-बगही सडकमा पर्ने किर्तनपुरस्थित रेवा मध्यवर्ती उपभोक्ता समितिको कार्यालयबाट करिब १५ मिनेट दक्षिण लागेपछि स्याउलीबासको आधारभूत विद्यालय पुगिन्छ। विद्यालयअगाडि दलिन र खाँबाहरू कुहिन थालेको एउटा जीर्ण घर छ।
त्यही जीर्ण घरको आँगनमा खाटमाथि बसेर खिकुमारी र उनका श्रीमान ऋषिराम अधिकारीसँग म गफिएको थिएँ। भर्खरै धान काटेर फर्किएकी खिकुमारीले लुंगी र सर्ट लगाएकी थिइन्। टाउकोमा पछ्यौरा बाँधेकी थिइन्।
बेलाबेला पछ्यौरा मिलाउँदै उनले भनिन्, 'पहिले मलाई जस्तोसुकै खतरा सामना गर्छु जस्तो लाग्थ्यो। बाघसँग कुस्ती खेलेपछि मेरो आँट कता हरायो कता!'
'त्यत्रो बाघसँग भिडेपछि त झन् आँट चौगुना हुनुपर्ने हो, तर खोई कसरी हो, म त पहिलेभन्दा काँतर भएँ!' उनले अगाडि थपिन्, 'अचेल त साँझ पर्नेबित्तिकै मुटु हल्लिएजस्तो हुन्छ। डर लागिरहन्छ। बाघसँग लडेको कटेरोतिर नजर जाँदा पनि आत्तिन्छु। श्रीमान सँगै हुनुहुन्न भने त राति भाँडा माझ्न पनि सक्दिनँ।'
'अनि तपाईंले कुस्ती खेलेको त्यो बाघ के भयो त?'
मेरो प्रश्नको जबाफ ६३ वर्षीय ऋषिरामले दिए, 'त्यो घटनापछि निकुञ्जका कर्मचारी र सेनाको टोली बाघ खोज्न आयो। शंकास्पद ठाउँमा पाडो बाँध्यो। उनीहरूले पाडोको शिकार गरेर बसिरहेको बाघलाई घेरेर बेहोस बनाए र खोरमा हालेर लगे।'
बाघ लगायतका जंगली जनावरसँग यहाँका बासिन्दाको खटपट अझै जारी छ।
मसँग भेट हुनुभन्दा केही दिनअघि पनि जंगली जनावरले खिकुमारीको एउटा बाख्रो खाएछ। बँदेलले बाली खाएर उस्तै हैरान पार्छ। यसबारे मध्यवर्ती वन कार्यालयमा निवेदन दियो भने केही राहत त पाइन्छ, तर खिकुमारीले अहिलेसम्म निवेदन दिएकी छैनन्।
घाइते हुँदा उनलाई निकुञ्जले उपचार खर्च भनेर १० हजार रूपैयाँ दिएको थियो। त्यसबाहेक सरकारबाट एक पैसा नलिएको उनी बताउँछिन्।
पन्थ परिवारलाई किरिया खर्च भनेर निकुञ्जले २५ हजार रूपैयाँ दिएको ऋषिरामले बताए।
अधिकारी दम्पतीका चार भाइ छोरा छन्। दुई जना घरमै बस्छन्। दुई जना काम गर्न अन्य जिल्ला गएका छन्। जंगल नजिक रहेको टाँडीको जमिनमा पहिले उनीहरूले किम्बु लगाएका थिए। कोदो पनि फलाउँथे। जंगली जनावरले दुःख दिएपछि भने त्यो जमिन बाँझै छ। अचेल उनीहरू घरनजिकै आफन्तको ५ कट्ठा जमिनमा धान रोप्छन्। दर्जनभन्दा बढी बाख्रा पालेका छन्।
'मेरी श्रीमती त महसुर हो। बाघको मुखमा परेर पनि बाँचेर आइन्,' ऋषिराम आफ्नी पत्नीको तारिफ गर्दै भन्छन्, 'उस्तै मान्छे भए मार्दिन्थ्यो। बरू अचेल डराउन थालेकी छन्। साँझ परेपछि बाहिर निस्किनुपर्यो भने म नभई हुँदैन।'
खिकुमारी पनि त्यो घटनाले आफ्नो ठूलो 'ग्रहदशा टरेको' बताउँछिन्।
'बाघले समेत मार्न नसकेको मलाई अब कसैले केही गर्न सक्दैन,' उनी भन्छिन्, 'अचेल म गाउँका अरूलाई पनि जंगल नजान सल्लाह दिन्छु। कहिलेकाहीँ बाघले दुःख दियो, मार्न पर्यो भन्छन्। म मार्न हुँदैन, कुनै दिन हामीले नराम्रो काम गर्यौं होला, त्यसैको फल भोगेका हौं भन्छु।'
कुराकानी सकिँदा अँध्यारो भइसकेको थियो। फर्किँनै लाग्दा खिकुमारीले भनिन्, 'नजिकै भोला राउतको घर छ। उनको पनि खबर बुझ्नू न!'
६८ वर्षीय राउत २०७४ सालमा बाघको आक्रमणमा परेका थिए।
म अँध्यारोको पर्वाह नगरी उनको घर गएँ।
घरमा उनकी श्रीमती र नाति-नातिना मात्रै थिए। भोला भने बाख्रा चराउन जंगल गएका रहेछन्। उनी बाख्रा चराउन गएको गोपालनगर सामुदायिक वन घरबाट आधा घन्टा पैदल दुरीमा पर्छ।
उनलाई बाटैमा भेट्ने उद्देश्यले म गोपालनगर वनतिर लागेँ। यो वनको सिमाना चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ।
उनी जंगलनजिकै काँधमा थाँक्रा बोकेर बाख्राको पछि पछि हिँड्दै थिए। छ वर्षअघि यही वनमा भैंसी चराउन जाँदा बाघले उनलाई आक्रमण गरेको थियो।
त्यो बेला भैंसी घोलमा आहाल बसेको थियो। उनी गोठालो गएका एक जना साथीसँग अलि पर बसेर गफिँदै थिए। भैंसीको हालखबर बुझ्न घोलतिर अघि बढ्दा डिलमा बाघ बसिरहेको उनले देखे।
त्यो बाघ भोलालाई नै हेर्दै थियो।
दुवैबीच केही बेर हेराहेर भयो। दुरी केही मिटरको मात्रै थियो।
भोलाको सातो गयो। उनी केही बोल्न सकेनन्। आँखा नझिम्क्याइकन हेरिरहे। बाघ पनि एकोहोरो हेरिरह्यो।
जब भोलाको आँखा झिमिक्क भयो, बाघ जुरूक्क उभिएर ठूलो आवाजमा गर्जियो।
दुई पाइला अघि बढेर बुर्लुक्क उफ्रियो र झ्याप्पै उनीमाथि हामफाल्यो।
च्याप्प समातेर घिसार्न थालिहाल्यो।
भोलाको साथमा एउटा झोला थियो। त्यसमा खाजा खान ल्याएको चाउमिन र एक बोतल पानी थियो। एउटा लौरो, खुर्पा र हँसिया पनि थिए।
ती सबै भुइँमा असरल्ल भए।
बाघको आवाज सुनेपछि सँगै गोठालो गएका साथी जुरे राई दौडिँदै आए।
बाघले भोलालाई जंगलतिर घिसारिरहेको देखेपछि जुरेले भुइँमा रहेको लौरो टिपेर प्रहार गरे।
लौरो बाघको पुच्छरमा लाग्यो।
उनले ठूलो आवाजमा चिच्याएर वरपर रहेका अन्य गोठालालाई डाके।
हल्लाखल्ला भएपछि बाघ भाग्यो।
भोला बेहोस भए।
बाघले उनको शरीरका धेरै भागमा चोट पुर्याएको थियो। उनी रगताम्मे भइसकेका थिए। हाँपदाँप गर्दै घटनास्थल आइपुगेका गोठाला महिलाहरूले आफ्नो सल झिकेर दिए। पुरूषहरूले बलिया हाँगा काटेर झोलुंगो बनाए र त्यसैमा भोलालाई बोकेर गाउँ फर्के।
यसबीच कसैले उनको घरमा फोन गरिदिएको रहेछ। उनका छोराहरू एम्बुलेन्स लिएर बाटोसम्मै लिन पुगे। उनलाई उपचारका लागि भरतपुर ल्याइयो। सरकारी अस्पतालमा राम्रो उपचार नहुने ठानेर छोराहरूले मेडिकल कलेज लगे।
भोलाको शरीरमा २२ वटा टाँका लगाउनुपर्यो। एक महिना अस्पतालै बस्नुपरेको थियो। उपचारमा साढे ८ लाख रूपैयाँ खर्च लाग्यो। उपचार गर्न भनेर चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनले डेढ लाख रूपैयाँ दिएका थिए।
भोला राउतका तीन जना छोरा अहिले विदेशमा छन्। घरमा बूढाबूढी, बुहारी, नाति, नातिना मात्रै बस्छन्। उनी अहिले पनि बाख्रा चराउन त्यही वन जान्छन्, जुन ठाउँमा बाघले झन्डै उनको ज्यान लिएको थियो।
केही दिनअघि उनको घर आडको खोरमै बाघ पसेछ। दुइटा बाख्रालाई झम्टिन भ्याएछ। त्यसपछि गाउँले मिलेर बाघ लखेटेका रहेछन्।
'गोठालो जानेहरू कहिले चार-पाँच जना हुन्छौं। त्यस दिन दुई जना मात्रै भयौं,' उनले भने, 'घर वरपर डाले घाँस पाइँदैन। जंगल नगई सुखै छैन।'
बाघले हानेपछि भोलाको उपचार त भयो, तर त्यसको असर अझै धेरै छ। उभिँदा उनको ज्यान काम्छ। टाँका लगाएको ठाउँमा बेलाबेला बेस्सरी दुख्छ। जंगल पस्दा पनि उनी बाघ सम्झन्छन्। आफूलाई झम्टिएको, घिसारेको सम्झन्छन्। तर उनीसँग बाख्रा पाल्नेबाहेक अरू उपाय छैन। त्यही बाख्राबाट हुने आम्दानीले उनको परिवारको खर्च चलिरहेको छ।
'अहिले बाघबाट बच्ने केही उपाय जानेको छु। बाघ भेट भइहाल्यो भने दुई-चार पाइला पछाडि सर्ने, लौरीले ड्याम कि ड्याम भुइँमा बजार्ने गर्नुपर्छ रे,' बाघबाट बच्न जानेको नयाँ जुक्ति सुनाउँदै उनले भने, 'त्यति गर्दा पनि लग्यो भने त के गर्न सकियो र!'
भोला राउत। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
यस्तै यस्तै गरेर चलिरहेछ, चितवनमा जंगल नजिक बसोबास गर्नेहरूको जीवन।
कुनै समय केही थारू गाउँबाहेक चितवन जंगलै जंगलले भरिएको थियो। यो जनावरहरू खाने, बस्ने, खेल्ने र रमाउने ठाउँ थियो। आफ्नै ठाउँ पर्याप्त भएपछि उनीहरूलाई मान्छेको बस्तीतिर जान कुनै रहर हुन्थेन। बाध्यता हुने त कुरै भएन।
मान्छे भने बिस्तारै उनीहरूको बासस्थान कब्जा गर्दै थिए। जंगलको ठूलो घेरालाई साँघुरो बनाउँदै लगे। जंगलै जंगलले भरिएको ठाउँ बिस्तारै उजाड हुँदै गयो। त्यहाँका खास आदिवासीहरू खाना र बासको संकटमा पर्दै गए।
जसरी मान्छे जंगल पसेका थिए, अहिले त्यसरी नै वन्यजन्तुहरू मानव बस्ती पसिरहेका छन्। कोहीले मान्छेले लगाएका बालीलाई निसाना बनाउँछन्, कोही सिधै मान्छेमाथि जाई लाग्छन्। उनीहरूको आक्रमण आफ्नो बासस्थान खोसिएको रिस पनि हुनसक्छ!
यसरी जंगलै जंगलले भरिएको राप्ती नदी आसपासको क्षेत्रमा बस्ती बसाउने निर्णय करिब नौ दशकअघि भएको भयो। राणाकालका एक कुशल कूटनीतिज्ञ र प्रशासक मानिने सरदार भीमबहादुर पाँडेले हालको चितवनलाई अमेरिकाको 'टेन्नेसी भ्याली' जस्तै बनाउने परिकल्पना गरेका थिए। उनले जुद्धशमशेर प्रधानमन्त्री हुँदा देशको तराई क्षेत्रलाई औद्योगिकीकरण गर्ने योजना निर्माणमा भूमिकासमेत खेलेका थिए।
पद्मशमशेर र मोहनशमशेरको कार्यकालमा उनी विकास आयोजनाको खाका तयार पार्ने काम गर्थे। नेपालले अमेरिकासँग दौत्य सम्बन्ध कायम गरेपछि पाँडे वासिङ्टनमा प्रथम सचिव नियुक्त भए। विक्रम सम्बत् २००५ सालमा राष्ट्रिय आर्थिक योजना समितिको सदस्य-सचिव हुँदै उद्योग परिषद प्रमुख भएका पाँडे पछि जर्मनी र भारतका लागि नेपाली राजदूत भए र २०२९ सालमा महालेखा परीक्षक पनि बने।
अमेरिकामा रहँदा उनी टेन्नेसी भ्याली पुगेका रहेछन्। आफ्नो अमेरिका बसाइबारे उनले 'त्यस बखतको नेपाल' किताबमा वर्णन गरेका छन्।
अमेरिकाको दक्षिणी भागमा पर्ने टेन्नेसी भ्याली सन् १९३० अघि तत्कालीन राप्ती दून क्षेत्र (हालको चितवन) जस्तै अनकन्टार थियो। सीमित मान्छे बसोबास गर्थे। विकास पूर्वाधार केही पुगेका थिएनन्। गरिबी व्याप्त थियो। ठूला नदीहरू रहेकाले सधैं बाढीको भय हुन्थ्यो। विश्वकै चौथो लामो नदी मिसिसिपी यही राज्यलाई छोएर बग्छ। जंगल र झाडी बढी भएको उक्त क्षेत्रमा मलेरियाको महामारी थियो।
अमेरिकी इतिहासमा पिएचडी गरेका डा. टम रबर्टसनका अनुसार सन् १९३० पछि अमेरिकी सरकारले ठूलो प्रोजेक्ट तयार पारेर त्यहाँका नदीमा तटबन्धन गर्यो। विद्युत् उत्पादन गरेर वितरण गर्न थाल्यो। त्यसपछि औद्योगिकीकरण सुरू भयो। शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गरियो।
अहिले टेन्नेसी अमेरिकाका ५० राज्यमध्ये धेरै जनसंख्या भएको १६औं राज्य हो। औद्योगिक क्षेत्र, कृषि, पशुपालन र पर्यटनका लागि यो अग्रणी बन्दैछ।
नेपालसँग जोडिएको अमेरिकी इतिहास खोज्न चितवन आइपुगेका डा. टमसँग केही वर्षअघि मेरो भेट भएको थियो। त्यतिखेर उनले भनेका थिए, 'सरदार पाँडे तत्कालीन राप्ती दुन क्षेत्रलाई अमेरिकाको टेन्नेसीसँग तुलना गर्थे र यस क्षेत्रको विकास गरी नेपालको अर्थतन्त्रमा सुधार ल्याउन सकिने सोचमा थिए।'
देशका शासक, प्रशासकदेखि विदेशीसँग समेत पहुँच बनाएका पाँडेले काठमाडौंबाट दिल्ली जाने क्रममा हवाईजहाजबाट राप्ती दून क्षेत्र देखेपछि त्यतिखेर नेपालमा अमेरिकी अपरेसन मिसन (युएसओएम) का निर्देशक रहेका पउल रोजलाई सुनाए। जहाजबाट चितवनमा जंगलै जंगल देखिन्थ्यो। दुईतिर ठूला नदी बगेका थिए।
जंगल जोगाएर नदी व्यवस्थापन गरी बाँकी जमिनमा अन्न उत्पादन गर्न सकिने सोच उनले रोजसँग बाँडे। उनले यसबारे किताबमा पनि उल्लेख गरेका छन्।
युएसओएमलाई नेपालमा दूतावास बस्नुअघिको अमेरिकी उपस्थिति मानिन्छ। त्यो सन् १९५० अर्थात् नेपालमा राणा शासन अन्त्य हुँदा ताका स्थापना भएको थियो।
विक्रम सम्बत् २००९ देखि २०१५ सम्म नेपालमा रहेका रोजसँग सम्बन्धित विषयमा अनुसन्धान गरेका टम भन्छन्, 'पाँडेले जहाजबाट देखेको राप्ती दून क्षेत्रमा टेन्नेसीको जस्तै कुनै योजना लगेर विकास गर्न पाए आर्थिक क्षेत्रमा धेरै राम्रो हुने कुरा सुनाएको मैले भेटेँ।'
पाँडेको विचार रोजले पनि राम्रो माने।
उनले नेपाल सरकारका तर्फबाट सरदार पाँडेले राखेका कुरा आफ्नो देशमा पुर्याए। तर तत्कालै सुनुवाइ भएन।
'त्यतिखेर अमेरिकाले नेपालजस्तो देशमा सहयोग गरेर के हुन्छ र भन्ने सोच्यो होला!' डा. टमले भने।
राणा शासकहरू चितवनको बढीभन्दा बढी जमिनमा आबादी गराएर रैती बसाउने र कर संकलन गर्न चाहन्थे। काठमाडौं उपत्यका र उत्तरका पहाडी जिल्लामा प्रायः खाद्यान्न अभाव भइरहने हुँदा चितवन उपत्यकामा कसरी बढी अनाज उत्पादन गर्न सकिन्छ भन्ने पनि सरकारको सोच थियो। काठमाडौं उपत्यकाका जनतालाई सस्तो मूल्यमा खाद्यवस्तु उपलब्ध गराउँदा सरकारलाई लाग्ने घाटाको मात्रा तीव्र गतिमा बढेको थियो।
यो घाटा कसरी कम गर्न सकिन्छ भनेर मोहनशमशेरले मेजर जनरल विजयशमशेर र मीरसुब्बा भीमबहादुर पाँडेलाई योजना पेस गर्न निर्देशन दिएका थिए।
निर्देशन पालना गर्दै मेजर जनरल विजयशमशेरले चितवन विकास योजना बनाई उद्योग परिषदमार्फत् मोहनशमशेरसमक्ष पेस गरे। त्यसपछि चितवन विकास योजनाका लागि ८ लाख रूपैयाँ तुरून्तै निकासा भएको पाँडेको पुस्तक 'त्यस बखतको नेपाल' मा उल्लेख छ।
सात सालको क्रान्ति चर्केपछि चितवन विकास योजनामा असर पर्यो। चितवनका लागि निकासा भएको बजेट पनि फिर्ता भयो।
२०११ सालमा नेपालका विभिन्न ठाउँमा ठूलो वर्षासँगै बाढी, पहिरो आयो। चितवनसहित नजिकैका पहाडी जिल्ला धादिङ, गोरखा, लमजुङ र मकवानपुरमा बाढी र पहिरोले सतायो। 'त्यसपछि भने रोजको कार्यालयमा थन्किएका फाइलको काम आउन थाल्यो। रोजले नेपालको सम्पूर्ण विवरण अमेरिका पठाएर सहयोगको आग्रह गरे,' टम भन्छन्, 'यसैको परिणामस्वरूप अमेरिकाले २० लाख डलर सहयोग घोषणा गरेको थियो।'
अमेरिकाले त्यतिखेर घोषणा गरेको उक्त रकम बाढी र पहिरो पीडितहरूको पुनर्स्थापनामा खर्च गर्न थालियो। रोजले त्यो रकमको ठूलो हिस्सा राप्ती दून क्षेत्रमा ल्याउन भूमिका खेले।
त्यसपछि पहाडी क्षेत्रमा गएको पहिरोबाट विस्थापित भएकाहरूलाई चितवनमा ल्याउन थालियो। यस क्रममा आदिवासी थारू, दराई, कुमाल, बोटे समुदायको सीमित उपस्थिति रहेको चितवनमा पहाडबाट झर्नेहरूको आबादी बढ्दै गयो। पछि विश्व स्वास्थ्य संगठनको सहयोगमा मलेरिया उन्मूलन गरियो। अमेरिकी सहयोगमा अस्पताल, स्वास्थ्य चौकी, विद्यालय, सडकहरू बन्न थाले। भरतपुर अस्पताल, पूर्व-पश्चिम राजमार्गको भरतपुर-हेटौंडा खण्ड पनि निर्माण भए।
सरदार पाँडेको प्रस्तावअनुसार रोजको समूह राप्ती दून क्षेत्र आइपुगेको थियो। उनीहरू काठमाडौंबाट चित्लाङ, हेटौंडा हुँदै चितवनको झुवानी पुगेका थिए। झुवानी चितवनको पुरानो सदरमुकाम हो। चितवनको सदरमुकाम पहिले गर्मीमा उपरदाङगढी र जाडोमा झुवानी रहन्थ्यो।
स्थलगत निरीक्षण क्रममा रोजले यहाँका खोलामा तत्काल बाँध बाँध्न नसके पनि मलेरिया हटाउन सकिन्छ, बाटो बनाउन सकिन्छ, अस्पताल, स्कुल बनाउनुका साथै आधुनिक कृषिमा राम्रो गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेका थिए।
बाढी, पहिरोले विस्थापित भएकालाई स्थानान्तरण गर्नैपर्ने भएकाले पनि राप्ती दून क्षेत्र रोजिएको थियो। तर सरदार पाँडेले त्यस्तो चाहेका थिएनन्।
'पाँडेले राप्ती दूनमा बस्ती बसाउनभन्दा आधुनिक कृषि र औधोगिकीकरण गर्न चाहेका थिए,' टमले भने, 'उनले यस क्षेत्रमा अन्न फलाएर काठमाडौं पुर्याउने सोच बनाएका थिए। यहाँ उद्योगधन्दा खोलेर उत्पादनलाई देशभर पुर्याउने सोच रोजलाई सुनाएका थिए।'
तर पाँडेले नचाहेर पनि राप्ती दून क्षेत्रमा बसाइँसराइ बढेर गयो।
सरकारले पछि राप्ती दून विकास परियोजना घोषणा गरेर यस क्षेत्रको अनुगमन र सुपरिवेक्षणका लागि कृष्णबम मल्ललाई निर्देशक बनायो। उनैको योजनाअनुरूप राप्ती उपत्यकामा जग्गा बाँडफाँटदेखि विकासका काम सुरू भएका थिए।
मल्लले त्यतिखेर राप्ती दूनको करिब ६०० वर्गमिल क्षेत्रमा २ लाख २९ हजार २०० बिघा (२८ लाख २८ हजार रोपनी) जमिन रहेको र यसमा १ लाख ७५ हजार बिघा जंगल रहेको उल्लेख गरेका छन्। योजना आउनुअघि तीन सय गाउँको २५ हजार बिघा जमिनमा खेती भएकोमा थप ३० हजार ७५० बिघा जमिन नयाँ आबादीका निम्ति राप्ती दूनमा प्राप्त हुनसक्ने सुझाव उनले दिएका थिए।
'सिँचाइको बन्दोबस्त, औलो उन्मूलन, जंगली जनावर नियन्त्रण र वन तथा भूमि परीक्षण गर्ने उन्नत कृषिको प्रसार र यातायात सुप्रबन्ध भए करिब ३० हजार जनताको बसोबास र सम्पूर्ण राप्ती दूनको सामूहिक विकास भई १४/१५ लाख मुरी खाद्यान्न उपार्जनमा वृद्धि हुन सक्नेछ। यसले काठमाडौं उपत्यकाको खाद्यान्न अभाव पूर्ति गर्नेछ,' उनले आफूले दिएको सुझाव पुस्तकमा उतारेका छन्।
राप्ती दून उपत्यकामा धान, मकै, कोदो, गहुँ, घैया, तोरी, तिल, बदाम, आलस, अँढेर, मुँग, मास, मसूर, चना, केराउ, उखु, सुर्ती, आलु, अदुवा, सागसब्जी, आँप, कटहर, पपिता, केरा, कागती, आरू, अम्बा लगायत अन्न र फलफूल उत्पादन गर्न सकिने उनले उल्लेख गरेका थिए। यस क्षेत्रमा औद्योगिकीकरणको सम्भावना पनि उनले प्रचुर देखेका थिए।
मल्ल र जनकलाल शर्माले २०१४ सालमा लेखेको पुस्तक 'राप्ती उपत्यका' मा राप्ती दून क्षेत्रको विगत, परियोजना सुरू भएपछिका कामदेखि विश्व स्वास्थ्य संगठन र अमेरिकी सहयोगका विषयहरू समावेश छन्।
टमलाई त्यतिखेर अमेरिकी सहयोगमा नेपाल सरकारले राप्ती दून क्षेत्र विकास गरेको भए पनि अहिले हेर्दा गर्नसक्ने र गर्नुपर्नेजति काम नभएको हो कि भन्ने लाग्छ। आदिवासी थारू, नेपाल सरकार र अमेरिकी अधिकारीहरूको सोच मेल खान नसक्दा हुनुपर्ने धेरै काम नभएजस्तो महसुस भएको उनी बताउँछन्।
'त्यतिखेर थारू समुदायका जमिन प्रशस्त थिए, तर उनीहरू सरकारसँग डराउँथे। जग्गा दर्ता गर्दा सरकारको नजरमा परिन्छ भन्ठान्थे,' टम भन्छन्, 'सरकारले जग्गा वितरण त गर्यो, तर यहाँका आदिवासी विगतमा के गर्दै थिए, उनीहरूको अस्तित्व कसरी बचाउने भन्ने सोचिएन। यसको परिणामस्वरूप आदिवासीले भूमि गुमाउन थाले।'
थारू समुदायका अगुवा युवा वीरेन्द्र महतोका अनुसार उनको समुदाय केही वर्षको अन्तरालमा बालीका लागि जमिन परिवर्तन गर्थे।
खेती गर्दै जाँदा माटोको स्तर कमजोर हुँदै जाने भएकाले जमिन परिवर्तन गर्दै बाली लगाउने चलन थियो। यसले थारूहरू एकातर्फ बाली लगाउँदै गर्थे, अर्कातर्फको जमिन अरूले आफ्नो बनाइहाल्थे। बछौलीस्थित थारू सांस्कृतिक संग्रहालयका अध्यक्ष महतोले त्यतिखेर सरकारको बेवास्ताकै कारण आदिवासीहरू सधैं पछि परिरहेको बताए।
लामो समयदेखि बस्दै आएका आदिवासीमाथि अन्य समुदाय हाबी हुँदै जानुमा त्यतिखेरका जिम्मेवार व्यक्तिहरूको कमजोरी कारण रहेको डा. टम बताउँछन्।
'योजनाअनुसार काम भएको भए साधारण मान्छेले धेरै र ठूलाठालु मान्छेले थोरै जग्गा पाउँथे,' उनी थप्छन्, 'जिम्मेवार मान्छेले त्यता ध्यान दिएनन्, थारू लगायतका साधारण मान्छे जिम्मेवार मान्छेसम्म पुग्नै सकेनन् या डराए।'
राप्ती दूनमा बस्ती विस्तार गर्दा आफ्नो ट्याक्टर हुनेलाई धेरै जमिन दिने गरिएको थियो। कृषिमा प्रविधिलाई प्रोत्साहन गर्न त्यसो गरिएको भए पनि विपन्न समुदायले सम्पन्नले भन्दा कम जमिन पाउने अवस्था बढेको थियो।
'सरदार भीमबहादुर पाँडेले टेन्नेसी भ्याली देखेर कल्पना गरेको राप्ती दून उपत्यका टेन्नेसीजस्तै त हुन सकेन, तर उनले त्यो समय त्यति कल्पना नगरेको भए चितवन बिल्कुलै फरक पो हुन्थ्यो कि!' डा. टम रबर्टसन आफ्नो अनुसन्धानपछि यस्तो निष्कर्षमा पुगेका छन्।
...
यो पनि पढ्नुहोस्: