सँगसँगै जिन्दगी
त्यति बेला चित्रकलामा प्रकृति, संस्कृति र दरबारको बोलबाला थियो। प्रकृति, देवीदेवता, जात्रा र राजाहरूका चित्र मात्र कोरिन्थे।
प्रसिद्ध कार्टुनिस्ट एवं चित्रकार दुर्गा बराल उर्फ वात्स्यायनले भने आफ्नो क्यानभासमा समाजको सबभन्दा पुछारमा रहेका मानिसलाई स्थान दिए। चित्रकलाको परम्परामा मात्र होइन; तत्कालीन राजनीतिक, सामाजिक र आर्थिक परिवेशमाथि पनि विद्रोह र व्यंग्य प्रहार गरे।
आफ्नी श्रीमती पार्वतीको भने एउटा पनि चित्र उनले बनाएनन्।
पार्वतीले गुनासो पनि कहिल्यै गरिनन्।
आफ्नो चित्र नबनाएकोमा गुनासो नगर्ने मात्र होइन, वात्स्यायनका अन्य चित्रबारे खासै रूचि पनि उनले कहिल्यै देखाइनन्।
वात्स्यायनका चित्रमा देखिने मानिस को हुन्? उनले कहिल्यै यस्तो प्रश्न सोधिनन्।
अन्तर्मुखी स्वभावका वात्स्यायन झन् के बताउँथे! सोधेका प्रश्नको त छोटकरी जबाफ दिने वात्स्यायन सोध्दै नसोधेको प्रश्नमा किन जबाफ दिन्थे!
पोखरा नदीपुरस्थित उनीहरूको घरको बैठक कोठामा एउटा चित्र झुन्डिएको छ। चित्रमा घना जंगल देखिन्छ, जहाँ एक युवती हरिणको चिउँडो प्रेमपूर्वक समाएर चुम्बन गर्न खोजिरहेकी छन्।
मैले त्यो चित्र देखाउँदै पार्वतीलाई सोधेँ, 'यो मान्छे को हो, तपाईं चिन्नुहुन्छ?'
उनी चित्र हेरेर हाँसिन् र लजाउँदै भनिन्, 'खोई, मैले त कहिल्यै खोजिनँ!'
चित्रकै माध्यमबाट देशभरि चिनिएका वात्स्यायनले भलै त्यसको भाव र पात्रहरू पार्वतीलाई चिनाएनन्, तर उनीहरूले एकअर्कालाई चिनेको ६४ वर्ष नाघिसकेको छ।
पार्वती र वात्स्यायनको जोडी २०१६ वैशाखमा गाँसिएको हो। त्यति बेला पार्वती १४ वर्षकी थिइन्, वात्स्यायनको उमेर १७ वर्ष थियो।
पार्वतीको हुर्काइ-बढाइ दरबारमा भयो। उनका बुबा डिल्लीराज अर्याल डिट्ठा (न्याय लेख्ने मानिस) थिए। स्याङ्जाको गह्रौंकोटका रजौटा गुप्तबहादुर खाँणको दरबारमा काम गर्थे। त्यही दरबारमा पार्वतीले पढ्ने अवसर पाइन्।
पार्वती कक्षा ६ हुँदाको कुरा हो, वात्स्यायनका बुबा हरिवंश बराल आफ्नो छोराको निम्ति हात माग्न उनको घर वालिङ आए।
पार्वतीकी आमाले सर्त राखिन्, 'छोरीलाई विवाहपछि पनि पढ्ने वातावरण मिलाइदिनुहुन्छ भने हामी खुसी-खुसी दिनेछौं।'
हरिवंश राजी भए।
नौ कक्षा पढ्दै गरेका वात्स्यायनलाई भने आफ्नो विवाहको कुरा चल्दै गरेको अत्तोपत्तो थिएन।
उनी आमा कलावतीको निधनपछि पोखराको मामाघर बसेर पढ्दै थिए। उनी ९ वर्ष उमेरमा कास्कीको आर्वाबाट मामाघर आएका थिए। मामा-माइजूका छोराछोरी नहुँदा वात्स्यायनले मामाघरमा पनि छोरासरह नै माया र ममता पाए।
वात्स्यायनलाई आफ्नो विवाहको खबर साइतको अघिल्लो दिन मात्र थाहा भएको थियो। अपर्झट बोलावट आएपछि उनी मामाघरबाट आफ्नो घर फर्किँदै थिए। खेतमा काम गर्ने मान्छेहरूले 'दुलाहा बाबु आए' भन्दै जिस्क्याएपछि उनी झसंग भए। त्यसपछि बल्ल आफ्नो विवाह हुन लागेछ भन्ने सुइँको पाएको उनी बताउँछन्।
'त्यति बेला परिवारले छिनोफानो गरेपछि कुरा काट्ने चलन थिएन,' उनले भने, 'उहाँहरूको मञ्जुरी भएपछि सकियो!'
उनी घर पुग्दा विवाहका लागि रोटी पोल्ने काम सुरू भइसकेको थियो। कसार बटार्न थालिसकिएको थियो। आँगनमा तामझाम चलिसकेको थियो।
घरमा विवाहको धुमधाम तयारी चलिरहँदा वात्स्यायन भने होस उडेझैं चुपचाप थिए।
भोलिपल्ट जन्ती स्याङ्जाको वालिङ प्रस्थान गर्यो। अहिलेजस्तो मोटरबाटो नभएकाले आर्वाबाट हिँडेको जन्ती एकै दिनमा बेहुलीको घर पुग्न सकेन। उनीहरू स्याङ्जाको नुवाकोटमा बास बसे र भोलिपल्ट साँझ मात्र वालिङ पुगे।
'त्यति बेला रातमा विवाह गर्ने चलन थियो। हाम्रो पनि टीकाटालो र कन्यादान राति नै भयो,' पार्वतीले भनिन्, 'माइती पक्ष र जन्ती पक्षबीच रातभर श्लोकमा दोहोरी चल्यो। बिहानसम्म सबै कार्यक्रम सकिएपछि मलाई लिएर जन्ती पोखरा फर्कियो।'
विवाहको एक महिनापछि पार्वतीको कक्षा ६ को जाँच थियो। उनी जाँच दिन माइती फर्किइन् र त्यहीँ बसेर पढ्न थालिन्। घर आउजाउ भने चलिरह्यो।
पार्वतीले वालिङबाटै टेस्ट परीक्षा पास गरिन् र २०२० सालमा पोखरा आइन्। यसबीच वात्स्यायनले २०१८ सालमा एसएलसी पास गरे।
'विवाह भएको दुई वर्षसम्म हामी श्रीमान-श्रीमतीबीच खासै बोलचाल भएन,' वात्स्यायनले मुस्कुराउँदै भने, 'काठमाडौं आएपछि बल्ल बोल्न थालेका हौं।'
त्यति बेला नेपालमा औलोको महामारी थियो। सरकारले औलो रोकथाम गर्न रगत जाँच्ने प्राविधिक खोज्यो। टेस्ट पास भएकालाई भर्ना लिएर तालिम दिने अनि कार्यक्षेत्रमा पठाउने सरकारी योजना थियो। पोखरा र काठमाडौंमा भएको उक्त तालिममा पार्वती पनि सहभागी भइन्।
उनी औलो परीक्षण गर्न पोखरादेखि बन्दीपुरसम्म पुगिन्। पछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा प्रयोगशाला प्राविधिक बनिन्।
यता वात्स्यायनले एसएलसी पास गर्दा पृथ्वीनारायण कलेज खुलेको एक वर्ष मात्र भएको थियो। उनी कलेजको दोस्रो शैक्षिक सत्रमा भर्ना भए।
कलेजका संस्थापक एवं प्रधानाध्यापक जर्ज जोनकी श्रीमती एलियामा जोनले त्यसै वर्षदेखि जीव विज्ञान पढाउन थालेकी थिइन्। वात्स्यायन उनको पहिलो ब्याचका विद्यार्थी थिए।
जीव विज्ञान पढ्दा जीवजन्तु र बोटबिरूवाको चित्र बनाउनुपर्थ्यो। एलियामाले थरीथरीका बोटबिरूवा र थरीथरीका फूलको चित्र बनाउन लगाउँथिन्। कक्षामा सबभन्दा राम्रो चित्र बनाउने वात्स्यायन नै थिए।
उनको चित्रको प्रशंसा गर्दै एलियामा भन्थिन्, 'तिमी विज्ञानभन्दा चित्रकलामा लाग। तिम्रो भविष्य त्यसैमा छ।'
त्यतिञ्जेल वात्स्यायनले चित्रकार बन्ने सपना देखेका थिएनन्। भविष्यमा के गर्ने भन्ने सोचेका पनि थिएनन्।
एलियामाको मार्गदर्शनले उनलाई गम्भीर सोचमा त पार्यो, तर जीव विज्ञानको पढाइ चटक्कै छाडेनन्।
तर नियतिले वात्स्यायनको जिन्दगीमा त्यही बाटो लेखेको रहेछ, जुन एलियामाले सुझाएकी थिइन्!
त्यो बेला पृथ्वीनारायण कलेजमा जीव विज्ञानको पढाइ भए पनि त्रिभुवन विश्वविद्यालयले स्वीकृति दिएको थिएन। विश्वविद्यालयको स्वीकृतिबिना वात्स्यायनले आइएससी परीक्षा दिन पाएनन्। एक वर्ष त्यसै खेर गयो।
त्यसपछि उनी एलियामाले भनेजस्तै विज्ञान छाडेर चित्रकलातर्फ मोडिए।
वात्स्यायनको कलाको परख राखेका कलेज प्रमुख जर्जले नै उनलाई चित्रकलाको काममा लगाए।

अमेरिकी 'पिस कोर' स्वयंसेविका डोरेथी मिएरोले कलेज परिसरमा प्राकृतिक संग्रहालय बनाएकी थिइन्। वात्स्यायनले त्यही संग्रहालयमा जीवजन्तु, बोटबिरूवा र फूलहरूको चित्र बनाउने जिम्मा पाए।
पछि उनी शिल्पकला केन्द्र पोखराका प्रमुखको सल्लाहमा कलाकारितासम्बन्धी तालिम लिन २०२१ सालमा काठमाडौं गए।
'छ महिनाको तालिम थियो। भत्ता पनि राम्रो थियो,' उनले भने, 'तर त्यो चित्रकलाको तालिम नभएर काठका सामग्री बनाउने र डिजाइन गर्ने तालिम रहेछ। मलाई त रंग र रेखाहरू संयोजन गर्ने कौशल चाहिएको थियो। त्यसैले तीन महिनामै तालिम छाडेँ।'
तालिम छाडेपछि काठमाडौंमा के गर्ने भनेर उनी रनभुल्लमा परे। चित्रकार बन्ने सपना पूरा नगरी घर फर्किन मन लागेन। आफैं पढ्न पैसा पनि थिएन।
वात्स्यायन काठमाडौंमा साथीसँग कोठा लिएर बसेका थिए। पार्वती पनि काठमाडौंमै थिइन्, तर उनी दिदीको घरमा बसेर प्रयोगशाला प्राविधिकको दुईवर्षे तालिम लिँदै थिइन्।
उनीहरू एउटै सहरमा थिए, तर दुई ध्रुव भएर बसेका थिए।
त्यही समयको कुरा हो — वात्स्यायनलाई पोखराको गैह्रापाटनका शालिकराम कोइरालाले कार्टुन बनाउन बोलाए।
कोइराला 'नयाँ सन्देश' पत्रिकामा काम गर्थे। उनले सम्पादकसँग भेटाएपछि वात्स्यायनको जागिर पक्का भयो।
उनी सम्पादकले भनेअनुसार कार्टुन बनाउन थाले। त्यस निम्ति देशको राजनीति र समसामयिक घटनाक्रम बुझ्न सम्पादकीय पढ्न थाले। कार्टुन बनाउने शैली तिखार्न भारतीय पत्रपत्रिका हेर्न थाले।
लामो समय 'नयाँ सन्देश' मा कार्टुन बनाउँदा पनि वात्स्यायनले कामको इनाम पाएनन्। दुःखी हुँदै पत्रिका छाडे।
काम केही नभएपछि उनले पोखरा फर्किने निधो गरे। पार्वतीले प्रयोगशाला प्राविधिक तालिमबाट आउने भत्ता दिएर वात्स्यायनलाई पोखरा पठाइन्।
यहाँ वात्स्यायनलाई के सुर चढ्यो कुन्नि; उनी पार्वतीले दिएको पैसा बोकेर पोखरा होइन, भारततिर लागे।
उनले वीरगन्ज हुँदै रक्सौल पुगेर दिल्ली जाने रेल समाते। दिल्लीमा चित्रकला पढ्छु भन्ने उनको सोच थियो। तर सोचेजस्तो भएन।
दिल्लीमा धेरै हन्डर र ठक्कर खाएपछि एकदिन उनले साइनबोर्ड बनाउने पसलमा काम मागे।
ती पसलेले काम त दिए, सँगसँगै यो पनि सम्झाए, 'भारतमा चित्रकला पढ्न पायौ भने पनि माथि पुग्न गाह्रो छ। त्यसैले तिमी नेपाल नै फर्किऊ।'
उनले नेपाल फर्किने बाटो खर्च पनि आफैं दिने आश्वासन दिए।
वात्स्यायनलाई उनको कुरा ठिकै लाग्यो।
उनी पन्ध्र दिन दिल्ली बसेर नेपाल फर्किए र काठमाडौंमा दिदीको घर बस्न थाले।
पार्वतीलाई भने यी सब घटनाको सुइँकोसम्म थिएन। उनले त वात्स्यायन पोखरा नै गए र त्यहीँ बसिरहेका छन् भन्ठानेकी थिइन्।
'मलाई खबरै नगरी भारत जानुभएको थाहा पाउँदा निकै रिस उठेको थियो। तर मैले आफ्नो रिस व्यक्त गरिनँ,' पार्वतीले भनिन्, 'मलाई रिसको झोँकमा उहाँसँग बोल्नै मन लागेन। कति दिनसम्म नबोली बसेँ।'
काठमाडौंमा वात्स्यायनका एक साथीले जनक शिक्षा सामग्री केन्द्रमा काम गर्ने गाडीचालक चिनेका थिए। उनैमार्फत् वात्स्यायनले जनक शिक्षामा करारमा काम पाए।
जनक शिक्षाले त्यसै वर्ष पहिलोपटक राष्ट्रव्यापी चित्रकला प्रदर्शनी आयोजना गरेको थियो, जसमा वात्स्यायनले पनि भाग लिए।
उनले बनाएको किसानको चित्र प्रथम भयो।
'नेपालका घघडान चित्रकारहरूले भाग लिएका थिए। उनीहरूका अगाडि मेरो चित्र के नै हो र भनेर वास्ता गरेको थिइनँ,' वात्स्यायनले मुसुमुसु हाँस्दै भने, 'प्रतिस्पर्धामा भाग लिएको छु भनेर साथीभाइलाई भनेको पनि थिइनँ। तर प्रदर्शनीमा प्रथम भएपछि रहस्य खुल्यो।'
जनक शिक्षामै रहँदा वात्स्यायनले अर्थशास्त्रमा आइए पास गरे। जापान जाने अवसर पाए। काममा बढुवा पनि भयो।
यति हुँदाहुँदै चित्रकलाको खासै अवसर नपाएपछि उनले काम छाडे।
'काठमाडौंको यस्तो दैनिकीबाट कलाकार बन्न सकिन्न भन्ने बुझेपछि म २०२६ सालमा पोखरा फर्किएँ,' उनले भने।
पोखरा फर्केपछि सुरूमा फोटोग्राफी गरे। महेन्द्रपुलमा 'फोटो संसार स्टुडिओ' चलाए। त्यसलाई राम्ररी सञ्चालन गर्न नसकेपछि त्यो काम पनि छाडे।
यहाँसम्म आइपुग्दा थोरबहुत चित्र कोरे पनि उनी आफ्नो कामबाट सन्तुष्ट थिएनन्। चित्रकार बन्ने लक्ष्य लिए पनि प्रस्ट बाटो भेटिसकेका थिएनन्।
उनको चित्रकला यात्रामा २०२८ साल महत्त्वपूर्ण रह्यो, जब पोखरामा खुलेको ललितकला संस्थामा उनी सचिव भए।
'त्यसपछि बल्ल मैले मनले खाएको काम गर्न पाएँ। संस्थाले काठमाडौंबाट सस्तोमा क्यानभास, रंग, ब्रस लगायत सामग्री मगाएर कलाकारलाई उपलब्ध गराउँथ्यो। चित्रकला प्रदर्शनी, कला कार्यशालाजस्ता गतिविधि आयोजना गर्थ्यो,' उनले भने, 'म ती कार्यक्रममा सरिक भइरहन्थेँ।'
यसले चित्रकलामा वात्स्यायनको हात तिखार्दै लग्यो।
२०३२ सालमा उनले पोखराको मोहरिया टोलमा 'इगल आई आर्ट स्टुडियो' खोले र त्यहीँ बसेर चित्र कोर्न थाले। उनी पोखराको सहरी झाँकी, तालतलैया, हिमशृंखला र जनजीवनका चित्र बनाएर बेच्थे।
यसरी करिब १५ वर्ष उनले आर्ट स्टुडियोमा बिताए। विभिन्न पत्रपत्रिकामा कार्टुन पनि बनाए। उनको कार्टुन यात्रा नयाँ सन्देश, नेपाल पुकार, देशान्तर, मातृभूमि, गोरखापत्र हुँदै कान्तिपुरसम्म आइपुग्यो। समसामयिक राजनीतिक तथा सामाजिक विषयमा वात्स्यायनले बनाएका कार्टुन लामो समयदेखि कान्तिपुरमा प्रकाशित छन्।
वात्स्यायन कलाकारितामा जमिरहेका बेला पार्वती औलो उन्मूलन कार्यक्रमका लागि रगत परीक्षणको काम गर्दै थिइन्। कार्यालय आउजाउ र घरायसी काममै उनको दैनिकी बित्थ्यो।
'म त दरबारमा हुर्किएको मान्छे, विवाहपछि निकै दुःख पाएँ। कहिल्यै घरको काम नगरेको, विवाह गरेर आएपछि बल्ल घाँसदाउरा र मेलापात गर्न सिकेँ,' पार्वतीले भनिन्, 'श्रीमान अन्तरमुखी स्वभावको भएकाले कुन दुनियाँमा आइपुगेँ जस्तो भएको थियो। बिस्तारै त्यो दुनियाँको बानी पर्दै गयो।'
वात्स्यायन र पार्वतीका चार सन्तान छन् — तीन छोरा र एक छोरी। वात्स्यायन चित्रकारितामै व्यस्त भएकाले सन्तान हुर्काउने-बढाउने काम पार्वतीले नै गरिन्। उनले घरव्यवहारदेखि छोराछोरी र अस्पतालमा प्रयोगशाला प्राविधिकको जिम्मेवारीसम्म सम्हालिन्।
'उहाँ सबेरै उठेर आर्ट स्टुडियो जानुहुन्थ्यो। न उहाँलाई चियाको मतलब थियो, न खानाको। बिहान निस्केपछि एकैचोटि साँझ भेट हुन्थ्यो। कहिलेकाहीँ त साँझ पनि निकै ढिला घर फर्किनुहुन्थ्यो,' पार्वतीले गुनासो पोख्दै भनिन्, 'म पनि दिनभरि काममा हुन्थेँ। त्यसैले एकअर्कासँग गफ गरेर बस्ने फुर्सद नै भएन।'
'त्यति बेला त हाम्रो कुरै हुन्थेन भन्दा हुन्छ,' उनले अगाडि भनिन्, 'अहिले बल्ल हो, हाम्रो कुराकानी हुन थालेको। उहाँले चित्रकलाको धपेडीबाट फुर्सद लिएपछि।'
पार्वतीले प्रयोगशाला प्राविधिकका रूपमा ३० वर्ष काम गरेर २०५० सालमा अवकाश लिएकी थिइन्। अवकाशपछि उनलाई तीर्थयात्रा गर्ने रहर जाग्यो।
उनले वात्स्यायनसँग भारतका धार्मिक केन्द्रहरू घुम्न जाने प्रस्ताव राखिन्।
वात्स्यायनले मानेनन्।
उल्टै भनिदिए, 'मेरो तीर्थयात्रा भनेकै कला हो।'
श्रीमानबाट यस्तो जबाफ पाएपछि पार्वती अरू साथीहरूसँग तीर्थयात्रामा गइन्।

एकपटक उनले मुक्तिनाथ सँगै जाऔं भनेर वात्स्यायनलाई आग्रह गरेकी थिइन्। वात्स्यायनले भने आफू साथीहरूसँग कला यात्रामा जान लागेको बताए।
वात्स्यायनकी माइजूले निकै कर गरेपछि बल्ल उनीहरू दुई जना मुक्तिनाथ गए। मुक्तिनाथबाटै वात्स्यायन आफ्नो पूर्वनिर्धारित कला यात्रामा निस्किए।
'उहाँलाई आफ्नो चित्रकलामा मात्र ध्यान छ। कतै जान मान्नुहुन्न,' पार्वतीले आफ्नो श्रीमानप्रति गुनासो पोखिन्।
वात्स्यायन भने घुम्ने उद्देश्यले जहाँ जान पनि खुसी हुने बताउँछन्। तीर्थयात्रा भनेर धार्मिक भ्रमण गर्नमा भने आफूलाई रूचि नभएको उनको भनाइ छ।
वात्स्यायनको यही सोच र खासगरी उनको अन्तरमुखी स्वभावले उनीहरूको सँगसँगै जीवनयात्रामा बेलामौका नोकझोक चल्छ।
वात्स्यायन खासै धेरै बोल्दैनन्। मुखबाट शब्दभन्दा बढी मुस्कान छुट्छ। कलामा विद्रोह झल्काउने उनको स्वभाव शान्त, सरल र सादगीपूर्ण छ। यही शान्त स्वभावका कारण उनीहरूबीच चल्ने नोकझोकले कहिल्यै ठूलो रूप लिन पाएन। जस्तोसुकै परिस्थितिमा मुसुक्क हाँसिदिने उनको स्वभावले जिन्दगीको यात्रालाई सधैं सहज राख्यो; नरम राख्यो।
जतिसुकै रिसाएर सवाल गर्दा पनि जबाफमा वात्स्यायनको मुखबाट मुस्कान मात्र छुटेपछि आफ्नो रिस त्यसै शान्त हुने पार्वती बताउँछिन्।
उनीहरूबीच चित्रकलाबारे पनि खासै कुराकानी हुन्न। पार्वतीले छरछिमेकका मुखबाट वात्स्यायनका चित्रबारे चर्चा सुने पनि स्वयं वात्स्यायनकै मुखबाट अहिलेसम्म एक शब्द सुनेकी छैनन्। उनी आफैंले पनि वात्स्यायनका चित्र खासै चासो दिएर हेरेकी छैनन्।
एउटा चित्र भने उनको मनमा गडेर बसेको छ।
भयो के भने, एकदिन वात्स्यायन कोठामा चित्र बनाउँदै थिए। पार्वती चिया लिएर गइन्। त्यही बेला उनको आँखा चित्रमा पुग्यो, जसमा माओवादी युद्ध चित्रण गरिएको थियो। अंगभंग भएका घाइते थिए। घाइतेको छेउमा बुद्धले शान्तिको आशिर्वाद दिँदै थिए।
त्यो चित्र देखेर पार्वती डराइन् र वात्स्यायनलाई भनिन्, 'अबदेखि म यो कोठामा आउँदिनँ।'
पार्वतीले वात्स्यायनका चित्रको भाव नबुझे पनि वात्स्यायनको स्वभाव राम्ररी बुझेकी छन्। उनले थोरै बोल्नुको अर्थ पनि बुझेकी छन्। भन्छिन्, 'चित्र बनाउँदा ध्यान भंग भयो भने उहाँलाई मन पर्दैन। चित्र पनि राम्ररी बनाउन सक्नुहुन्न। त्यही भएर म उहाँको काममा खासै बाधा पुर्याउँदिनँ। उहाँले चित्र बनाउने कोठामा जाँदा पनि जाँदिनँ।'
वात्स्यायनको स्वभाव मात्र होइन, ६० वर्षभन्दा लामो सँगसँगै जीवनयात्रामा उनले भोगेका दुःख पनि पार्वतीले बुझेकी छन्।
वात्स्यायन लाख दुःख-कष्ट सहँदै, भोक-निद्रा नभनी काठमाडौं र भारतका गल्ली भौंतारिए। यसबारे पार्वतीसँग कहिल्यै कुरा गरेनन्। आफ्नो मनको गाँठो कहिल्यै खोलेनन्। तर मन नखोले पनि त्यसभित्र गुम्सिएको दु:ख पार्वतीले बुझेकी छन्।
'उहाँले भन्दै नभने पनि म उहाँको मनको कुरा बुझ्छु,' उनले भनिन्, 'जस्तोसुकै अवस्थामा मुस्कुराउन सक्ने उहाँको खुबी छ। तर उहाँ कुन बेला कसरी मुस्कुराउनुहुन्छ भन्ने मलाई थाहा छ। सुखमा मुस्काएको र दु:खमा मुस्काएको अन्तर म बुझ्छु। ओठबाट मुस्कान छुट्दा गालामा पर्ने चाउरीले नै उहाँको मनको असली भाव म थाहा पाउँछु।'
'मैले जीवनमा अभाव झेल्नुपरेन, बेलैमा जागिर खाएँ। दुःख त उहाँले पाउनुभयो, तर आफ्नो दु:ख कहिल्यै देखाउनुभएन,' पार्वतीले अगाडि भनिन्, 'गुनासो पनि कहिल्यै गर्नुभएन।'
पार्वतीको यो भाव वात्स्यायनले पनि महसुस गरेका छन्। उनकै आड, विश्वास र भरोसाले अहिलेसम्म आफूलाई कलाकारितामा टिक्न सहज भएको उनी बताउँछन्।
'चित्रकलाको सुरूआती दिनमा मैले एक पैसा आम्दानी गरिनँ। तैपनि यो काम नगर्नू भनेर उनले कहिल्यै अवरोध गरिन,' उनले भने, 'उनले घरधन्दा सम्हालिन्। चार-चारवटा सन्तान आफैं हुर्काइन्। मलाई आफ्नो काममा स्वतन्त्र छाडिदिइन्।'
'एउटा कलाकारलाई आफ्नी श्रीमतीबाट त्योभन्दा ठूलो सहयोग अरू के हुन्छ!' वात्स्यायनले भने।
चित्र बनाउँदा थोरैले चिनेका दुर्गा बराल वात्स्यायनका नामले कार्टुन बनाउन थालेपछि धेरैमाझ परिचित भएका हुन्। पञ्चायत कालमा 'नेपाल पुकार' पत्रिकामा कार्टुन पठाउँदा उनले तत्कालीन सरकारबाट जोगिन 'वात्स्यायन' को छद्म नाम प्रयोग गरेका थिए।
वात्स्यायनको अर्थ हो, ६४ कला बुझेका ऋषि। उनलाई यो नाम पृथ्वीनारायण क्याम्पसका प्राध्यापक सोमनाथ पौडेलले जुराइदिएका थिए।
पत्रिकामा छापिएका चोटिला र गहिरा अर्थ बोकेका कार्टुनले सर्वसाधारणमाझ स्थापित भए पनि उनको मन कार्टुनभन्दा चित्रकलामै बढी रम्छ, उनी भन्छन्, 'कार्टुनको सीमा छ, चित्रकला स्वतन्त्र हुन्छ।'
उनी आफ्ना सबै चित्र एउटै ग्यालरी बनाएर संरक्षण गर्न चाहन्छन्। आफूले बनाएका कार्टुन भने किताबका रूपमा प्रकाशित गरेका छन्। पहिलो कार्टुन संकलन किताब 'वात्स्यायन एन्ड हिज बार्ब्स' २०६२ सालमा प्रकाशित थियो। दोस्रो भाग यो वर्षको नेपाल लिटरेचर फेस्टिभलमा सार्वजनिक भएको छ।
वात्स्यायनले तीन वर्षदेखि एउटै चित्र कोरेका छैनन्। कार्टुन पनि बनाएका छैनन्। गत वर्ष मोतीविन्दु अपरेसनपछि उनी आराम गरिरहेका छन्। चित्रप्रतिको मोह भने उस्तै छ।
'आफूले बनाएका चित्र हेर्दा आफैंलाई चित्त बुझ्दैन,' ८१ वर्षीय वात्स्यायन उर्फ दुर्गा बरालले भने, 'चित्तबुझ्दो चित्र बनाउन अझै बाँकी छ।'
पार्वती अहिले ७८ वर्षकी भइन्। उनलाई बाथको समस्या छ। उच्च रक्तचाप छ। घुँडा पनि खिइसकेका छन्; हिँड्न सहायता चाहिन्छ।
सँगसँगै जिन्दगीको लामो समय एकदमै कम कुराकानी गरेका उनीहरू अहिले एकअर्काका मिल्ने साथी भएका छन्। पहिलेको तुलनामा बढी बोल्छन्। चित्रबारे भने अझै पनि खासै कुराकानी हुँदैन।
'तपाईंलाई आफ्नो चित्र बनाइदिए हुन्थ्यो जस्तो लाग्दैन?'
हाम्रो यो प्रश्नमा पार्वती हाँसिन् मात्र। वात्स्यायनले पनि हाँसेरै टारे।
पार्वतीले २०२० सालमा तालिम लिन काठमाडौं जाँदा न्यूरोडको स्टुडिओमा 'ब्ल्याक एन्ड ह्वाइट' फोटो खिचाएकी थिइन्। २०२६ सालमा वात्स्यायनले त्यही फोटोमा रंग भरिदिए। त्यसयता केही चित्र बनाउँदा उनले पार्वतीलाई पोज–पोजमा बस्न लगाए। तर पार्वती चिनिने गरी वा उनको अनुहारजस्तो देखिने गरी एउटा पनि चित्र बनाएका छैनन्।
'मलाई उहाँको चित्रभन्दा अक्षर एकदमै राम्रो लाग्छ। छापाखानामा छापेजस्तो सुन्दर अक्षर छ,' पार्वतीले भनिन्, 'चिठी पनि राम्रो अक्षरले लेख्नुहुन्थ्यो।'
वात्स्यायनले त्यही सुन्दर अक्षरमा आफ्नो निम्ति एउटा चिठी लेखिदिए हुन्थ्यो भन्ने पो पार्वतीले चाहेकी हुन् कि!
***