साधारण-असाधारण
फिल्म अभिनेता आर्यन सिग्देलका एक जना साथी थिए, जोसँग लक्ष्मी ठाकुरको पनि चिनजान थियो।
उनै साथीमार्फत् आर्यनसँग लक्ष्मीको सम्पर्क भयो।
लक्ष्मी आर्यनको कपाल काट्न चाहन्थे। एकदिन उनले आर्यनलाई आफ्नो सैलुनबारे बताए र आफ्नै हातले कपाल काट्ने इच्छा व्यक्त गरे।
आर्यन सहमत भए।
उनलाई लक्ष्मीको कपाल कटाइ यति मन पर्यो, त्यसपछि नियमित आउन थालेको लक्ष्मी बताउँछन्।
यो त्यति बेलाको कुरा हो, जब उनी चण्डोलको कुण्डलिनी क्लबमा सैलुन चलाउँथे। आज नारायण गोपाल चोक, कलंकी र पुल्चोक गरी तीन ठाउँमा उनको सैलुन छ, जसको नाम हो — लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो।
आर्यन मात्र होइन, लक्ष्मी ठाकुरको नियमित ग्राहक सूचीमा धेरै सेलेब्रिटीको नाम छ। फिल्म अभिनेतादेखि क्रिकेट खेलाडी र मिडियाकर्मीदेखि राजनीतिक नेतासम्म कपाल काट्न उनको सैलुन पुग्छन्।
उनले थुप्रै फिल्ममा मेकअप डिजाइनरको काम पनि गरेका छन्। पहिलोपटक २०६७ सालमा 'पर्खी बसेँ' फिल्मका लागि मेकअप गरेका थिए। लगत्तै निरक पौडेल निर्देशित 'कुसुमे रूमाल-२' मा काम गरे। त्यसपछि उनको माग ह्वात्तै बढ्यो।
हाल प्रदर्शनरत 'अगस्त्य' का मेकअप डिजाइनर लक्ष्मी नै हुन्। गत महिना पोस्टर सार्वजनिक भएको दिनेश राउत निर्देशित 'पूजार सार्की' को मेकअपमा उनै छन्। राउतकै निर्देशनमा तयार भएको 'प्रकाश' का लागि अभिनेता प्रदीप खड्काको मेकअप डिजाइन उनैले गरेका थिए।
सौगात मल्ल, बिपिन कार्की, अनुपविक्रम शाही, अनमोल केसी, नम्रता श्रेष्ठ लगायत कलाकारका लागि विभिन्न फिल्ममा मेकअप र कपाल डिजाइन गरेको लक्ष्मी बताउँछन्। यीमध्ये धेरै जना उनका नियमित ग्राहक छन्।
पर्दामा चम्किला देखिने कलाकारहरूलाई चम्काउने काम गर्दै आएका लक्ष्मी ठाकुर आजका एक 'सेलेब्रिटी' हेयर स्टाइलिस्ट तथा मेकअप डिजाइनर हुन्।
कपाल काट्ने 'साधारण' काम गर्ने लक्ष्मी आफैंमा असाधारण छन्। जीवनप्रति उनको उत्साह, कामप्रति उनको जाँगर र आफूकहाँ कपाल काट्न वा मेकअप गर्न आउने ग्राहकप्रति उनको समर्पण सबै असाधारण छन्। यिनै असाधारण गुणका कारण उनको व्यवसाय चम्किएको छ, जिन्दगीले गति समातेको छ र उनले आजको मुकाम हासिल गरेका छन्।
उनले हासिल गरेको मुकामका पछाडि दुई दशक लामो संघर्षको कथा छ।
यो दुई दशकमा उनी धेरैचोटि पराजयको संघारमा पुगे। अर्काको नमीठो बचन र हेपाइले धेरैचोटि उनको आत्मसम्मान धुजाधुजा भयो। उनले कयौं रात अँध्यारोमा एक्लै रोएर काटे। कयौंचोटि आफूलाई एक्लो महसुस गरे।
जीवनका ती कठिन मोडमा पनि उनी एउटा कुरामा सधैं दृढ थिए — म जन्मेकै कपाल काट्न हो।
मनमनै भन्थे — जसले जेसुकै भनोस्, कपाल काट्नु मेरो कर्म हो, मेरो धर्म हो। जबसम्म म कर्ममा अटल रहन्छु, मलाई बाहिरी कुराले हल्लाउन सक्दैन।
यही आत्मबोधले लक्ष्मीको सपनालाई कहिल्यै मर्न दिएन।
उनको मनभित्र आशाको धिपधिपे ज्योति सधैं जलिरह्यो।
जीवनमा जस्तोसुकै हुरीबतास चले पनि लक्ष्मीले आफ्नो सपना पछ्याइरहे।
-1710952195.jpg)
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका-१५ मा सानो ठाकुर बस्ती छ। लक्ष्मी त्यहीँ हुर्किए; जीवनको १५ वर्ष त्यहीँ बिताए।
यो उनको मावली गाउँ हो। उनको घर यहाँबाट करिब आधा घन्टा पर इथरवामा छ।
उनी दुई वर्षको हुँदा आमाको निधन भयो। बुबाले अर्को विवाह गरे। त्यसपछि लक्ष्मीको जिम्मेवारी नाना-नानी (मैथली भाषामा मावली हजुरबुबा-हजुरआमा) ले सम्हाले। उनलाई आफ्नै घर ल्याएर हुर्काए।
'मावली आएपछि घरतिरबाट मलाई चासो राख्ने दादा (हजुरबुबा) मात्रै हुनुहुन्थ्यो। उहाँले नै मेरो नाम लक्ष्मी राख्नुभएको हो,' उनले पुलकित हुँदै सुनाए, 'म मंसिरमा जन्मेको। म जन्मेको वर्ष घरमा धेरै धान भित्रिएको थियो रे। त्यसैले लक्ष्मीको आगमन भएको भन्दै मेरो नामै लक्ष्मी राखिदिनुभयो।'
लक्ष्मीले मामाघरमा खुब माया पाए। टोल-छिमेककाले 'टुहुरा' भनेर हेपे पनि नाना-नानीले कहिल्यै त्यस्तो अनुभूति हुन दिएनन्।
उनले मामाघरमै बसेर कक्षा १० सम्म पढे र एसएलसी दिनेबित्तिकै खल्तीमा १७ सय रूपैयाँ बोकेर भारतको मुम्बईतिर लागे। यो आजभन्दा करिब ३० वर्षअघिको घटना हो। लक्ष्मी १७ वर्ष उमेरका थिए।
'जनकपुर सहर र नाना-नानी छाडेर जाने मन त थिएन, तर मलाई जीवनमा केही गर्नुपर्छ भन्ने रनाहा थियो। नाना-नानीलाई खुसी दिने चाहना थियो,' लक्ष्मीले भने, 'सामान्य परिवारमा जन्मे-हुर्केकाले म जीवनमा केही न केही गर्न चाहन्थेँ। सायद उमेरभन्दा पहिले नै म आफ्नो खुट्टामा उभिन चाहन्थेँ।'
मुम्बईलाई भारतकै 'सपनाको सहर' भनिन्छ। बलिउड प्रवेश गर्ने सपना साँचेर दैनिक सयौं व्यक्ति भारतका विभिन्न प्रान्तबाट मुम्बई पुग्छन्।
लक्ष्मीको सपना भने बलिउड थिएन। उनलाई सिनेमा बनाउनु थिएन। हिरो बन्नु थिएन। गीत गाउनु थिएन। कथा लेख्नु पनि थिएन।
उनलाई सिर्फ आफ्नो जीवन बनाउनु थियो। आफ्नै जीवनको हिरो बन्नु थियो। सफलताको गीत गाउनु थियो। र, त्यही सफलताको कथा लेख्नु थियो।
यसका लागि अरू केही उपाय नलागे सैलुन खोलेर कपाल काट्छु भन्ने उनले सोचेका थिए।
लक्ष्मीले ८ कक्षा पढ्दा नै कपाल काट्न सिकेका थिए। उनी एक जना आफन्तको सैलुनमा सरसफाइ गर्थे। मौका मिल्दा अरूले कपाल काटेको हेरी बस्थे। साना केटाकेटीको काट्नुपरे आफैं कैंची समात्थे। कक्षा १० पुग्दासम्म उनी सिपालु भइसकेका थिए।
यही सिपले उनलाई मुम्बई जाने हिम्मत दिएको थियो।
उनले जनकपुरबाट सँगै गएका साथीको चिनजानमार्फत् अँधेरीको एउटा सैलुनमा काम पाए।
काम त पाए, तर बसोबासको चाँजो मिलाउन हम्मे नै पर्यो।
उनी अँधेरीबाट करिब १८ किलोमिटर टाढा वर्लीको झोपडपट्टीमा बस्थे। हरेक दिन सैलुन आउजाउ गर्न समस्या भएपछि त्यहीँ सुत्ने व्यवस्था मिलाए।
काम सकिएपछि उनी दिनभरिको फोहोर सफा गर्थे, अनि दराजमा गुट्मुट्याएको ओढ्ने-ओछ्याउने झिकेर त्यसैमा सुत्थे। भोलिपल्ट बिहान ५ बजे उठेर पानी भर्ने जिम्मा पनि उनकै थियो।
यसरी सैलुन सरसफाइदेखि सहयोगीसम्मको काम गर्दै उनी छोटो समयमै त्यहाँका 'हेयर ड्रेसर' भए।
'कपाल काट्नेलाई हेयर ड्रेसर भनिन्छ भनेर मैले मुम्बईमै सिकेको हुँ,' उनले भने, 'कपाल काट्ने मात्र होइन, कस्तो मान्छेलाई कस्तो शैलीमा कपाल काटेको सुहाउँछ भनेर स्टाइलिङ गर्नु पनि हेयर ड्रेसरको काम हुन्थ्यो।'
यो सिकाइले लक्ष्मीलाई लाग्यो — हेयर ड्रेसिङ पनि अवसरहरूले भरिएको फराकिलो क्षेत्र रहेछ।
अवसर देखेपछि त्यसमा खुरन्धार लाग्नु लक्ष्मीको स्वभाव हो। उनले सबभन्दा पहिला त आफ्नो सीप तिखार्नमा जोड दिए। समय मिलाएर विभिन्न संस्थाबाट तालिम पनि लिए।
यसका बाबजुद उनलाई ग्राहक पाउन सकस भयो। सैलुनमा आउनेहरू भर्खरै काम सुरू गरेका अपरिचित व्यक्तिका हातबाट कपाल काट्न अनकनाउँथे। कोही त उनको कामै नहेरी 'यसले मेरो कपाल बिगार्छ' भनेर मूल्यांकन गरिदिन्थे। कोही चाहिँ 'नयाँ मान्छेको हातबाट कपाल काट्दिनँ' भन्दै रूखो व्यवहार देखाउँथे। उनीसँग कपाल काट्नेहरू पनि चित्त नबुझेझैं मुख बिगार्थे।
यसले लक्ष्मीको आत्मविश्वास डगमगायो। पहिलो ग्राहकको कपाल काट्दा उनका हात लगलग कामेका थिए। काम बिग्रेर गाली खानुपर्ला कि भन्ने डरले उनलाई धेरै समय सताइरह्यो।
'मान्छेको व्यवहार देखेर सुरू सुरूमा म निकै डराएको थिएँ,' उनले भने, 'मसँग कपाल कटाउँदिनँ भन्न त जसले पनि पाउँछ, तर हेपेर बोल्न त पाइँदैन नि! म दिनभरिको अपमान सम्झेर रातभरि एक्लै रून्थेँ।'
धेरै रात अपमानको आँसु बगाएपछि एकदिन लक्ष्मीले अठोट गरे — म यो डरलाई जसरी भए पनि जित्छु। जतिसुकै अपमान सहनु परोस्, म आफ्नो कर्म छाड्दिनँ। अर्काको बचन सुनेर मैले आफ्नो हात कमाउनु भनेको आफैंप्रति विश्वास नगर्नु हो। म अबदेखि जस्तोसुकै परिस्थितिमा हात नकमाई कैंची चलाउँछु। आज मेरो हातबाट कपाल काट्न नमान्नेहरू कुनै दिन खोजी खोजी मकहाँ आउने छन्।
यही अठोटका साथ कैंची कर्ममा लागेका लक्ष्मीको जिन्दगीमा तीन वर्षपछि त्यो दिन आयो, जब उनलाई अपमान गरेर गएका व्यक्ति उनकै हातबाट कपाल कटाउन आए।
'मैले त्यो व्यक्तिलाई जानी-जानी दुई घन्टा कुराइदिएँ,' आफ्नो त्यस दिनको व्यवहार सम्झेर थोरै पछुतो मान्दै लक्ष्मीले भने, 'जे भए पनि खोज्दै कपाल काट्न आएको ग्राहकलाई मैले त्यस्तो व्यवहार चाहिँ नगरेको भए हुन्थ्यो!'
'पछि ऊ हरेकचोटि कपाल काट्न मैकहाँ आउन थाल्यो,' उनले गर्वसाथ भने।
लक्ष्मीको लगन, मिहिनेत र इमानदारीबाट खुसी भएका सैलुनका साहुले बिस्तारै उनलाई सम्पूर्ण जिम्मेवारी नै सुम्पे।
'त्यहाँका साहुले मलाई आफ्नै छोराजस्तो व्यवहार गर्न थाल्नुभयो। म उहाँको परिवारसँग पनि नजिक भएँ,' उनले भने, 'हाम्रो सम्बन्ध यति घनिष्ठ भयो, मैले साहुकी छोरीको हातबाट राखी पनि बाँधेँ।'
-1710952299.jpg)
लक्ष्मीले चार वर्ष मुम्बईमा बिताए। त्यसपछि नाना-नानी भेट्न दुई महिनाको बिदा लिएर जनकपुर फर्किए।
जनकपुर आएपछि थाहा पाए — उनका केही गाउँले साथीहरू काठमाडौंका विभिन्न होटलमा सैलुन सेवा दिँदै रहेछन्।
ती साथीहरूले लक्ष्मीलाई पनि काठमाडौं बोलाए।
साथीहरूसँग भेटघाट हुने र घुम्न पनि पाइने सोचेर उनी काठमाडौं आए।
यहाँ आएपछि एक जना साथीसँग उनको भेट भयो, जो दुबईको एउटा होटलमा हेयर ड्रेसर काम गर्न जाने तयारी गर्दै थिए। मासिक तलब ५५ हजार रूपैयाँ थियो। तर स्वास्थ्य परीक्षणमा अयोग्य भएपछि उनी जान पाएनन्।
ती साथीले आफ्नो सट्टा लक्ष्मीलाई जान सल्लाह दिए।
लक्ष्मीले सुरूमा त आनाकानी गरे। मुम्बईकै कामबाट सन्तुष्ट रहेको बताए। तर साथीले कर गरेपछि उनी तयार भए।
म्यानपावर कम्पनीले पाँच जना हेयर ड्रेसरलाई दुबई पठाउने भनेको थियो। त्यसका लागि उनले २० हजार रूपैयाँ बुझाए। स्वास्थ्य परीक्षणमा पास पनि भए।
उनी दुबई उड्न तयार भएर भिसाको प्रतिक्षामा थिए। म्यानपावरले सातादिनमै पठाउने भने पनि एक महिनासम्म भिसा आएन। पछि त म्यानपावर कम्पनीसँग सम्पर्क नै हुन छाड्यो।
त्यो कम्पनी २५६ जनाको पैसा खाएर फरार भइसकेको रहेछ।
लक्ष्मीसहित ठगिएका व्यक्तिहरूले पैसा फिर्ता पाउने आशामा जुलुस निकाले। यता लक्ष्मी जुलुसमा हिँड्दै थिए, उता उनको दुई महिने बिदा सकिँदै थियो। बिदा सकिनेबित्तिकै उनलाई मुम्बई फर्किनुपर्ने थियो।
लक्ष्मीले उताका साहुसँग कुराकानी गरे, आफ्नो समस्या सुनाए र बिदा लम्ब्याए।
त्यसैबीच एक जना साथीले उनलाई काठमाडौं बसुञ्जेल सैलुनकै काम गर्न सल्लाह दिए। पुतलीसडकमा रहेको 'एक्सक्लुसिभ सैलुन' मा जागिर पनि मिलाइदिए। लक्ष्मीले पैसा फिर्ता नआउञ्जेल काम गर्छु भन्ने सोचेका थिए। तर छ महिना बित्दा पनि पैसा फिर्ता आउने छाँट नदेखेपछि उनले मुम्बईको जागिर माया मारिदिए। र, यतै बसेर आफ्नै सैलुन चलाउने निधो गरे।
उनीसँग लगानी गर्न पैसा थिएन। आफ्नै लगानीमा व्यवसाय सुरू गर्छु भन्ने उनले सोचेका पनि थिएनन्। तर ठमेलको सोनिका होटलका सञ्चालकले उनलाई सैलुनको पूर्वाधार निर्माणमा आर्थिक मद्दत गर्ने प्रस्ताव राखे।
'एक्सक्लुसिभ सैलुनमा काम गर्दा उहाँ नियमित मसँग कपाल काट्न आउनु हुन्थ्यो। मेरो काम मन परेरै उहाँले त्यस्तो प्रस्ताव राख्नुभएको थियो,' लक्ष्मीले भने, 'मैले यो कुरा आफ्नो एक जना साथीलाई सुनाएँ। उनले यस्तो मौका नगुमाउन सल्लाह दिए।'
काठमाडौंमै सैलुन खोल्ने निधो गरेपछि लक्ष्मी उपयुक्त ठाउँ हेर्न थाले। धेरै साथीभाइले ठमेल रोजे। विदेशी पर्यटकले भरिभराउ रहने ठमेलमा सैलुन खोल्दा आम्दानी राम्रो हुने र 'एक्सपोजर' पनि पाइने धेरैको भनाइ थियो।
लक्ष्मीलाई यो कुरा चित्त बुझ्यो।
उनले केही साथीसँग एक लाख रूपैयाँ सापटी लिए र ठमेलको सोनिका होटलभित्र 'लक्क्षसोनिका सैलुन' सञ्चालन गरे।
सैलुनमा आउने प्रायः ग्राहक विदेशी थिए। नेपालीहरू फाट्टफुट्ट आउँथे। उनीहरूले लक्ष्मीको काम मन पराए।
उनी सैलुन भनेको कपाल काट्ने ठाउँ मात्र होइन, कपाल स्टाइलिङ गर्ने ठाउँ हो भनेर चिनाउन चाहन्थे। यसको निम्ति ग्राहकको उचाइ, शारीरिक बनावट र व्यक्तित्वसँग मिल्दो स्टाइल तयार पार्थे र त्यसैअनुसार कपाल काट्थे।
उनको यो खुबी बिस्तारै लोकप्रिय हुँदै गयो।
ठमेलमा सैलुन चलाएको वर्षदिनमै उनलाई चण्डोलको 'कुण्डलिनी क्लब' बाट सैलुन खोल्ने प्रस्ताव आयो। कुण्डलिनी क्लब निकै प्रख्यात थियो। उनले हातमा आएको मौका सदुपयोग गरे।
कुण्डलिनी क्लब आएपछि उनको सैलुनको दायरा मात्र होइन, बजार पनि फराकिलो भयो।
ठमेलमा डेढ सय वर्गफुटको सैलुन चलाएका उनी कुण्डलिनीमा साढे सात सय वर्गफुटमा काम गर्न थाले। उता विदेशी ग्राहक धेरै थिए भने यता आएपछि नेपालीहरू बढ्न थाले। यसले उनलाई हेयर ड्रेसरका रूपमा परिचित गरायो।
आफ्नो बजार विस्तार गर्न लक्ष्मीले व्यक्तिगत रूपमा पनि कम्ता मिहिनेत गरेनन्।
उनी कुण्डलिनी क्लबमा आउने हरेक व्यक्तिसँग समय लिएर भेट्न जान्थे र कम्तिमा एकचोटि आफ्नो सैलुन आएर कपाल काटिदिन आग्रह गर्थे। करिब छ महिना लगातार प्रयास गरेपछि कुण्डलिनी क्लबका केही ग्राहक कपाल काट्न उनीकहाँ आउन थाले।
र, जो जो आए, ती नियमित ग्राहक बने।
यसबीच लक्ष्मी ठमेलबाट चण्डोल सरेका त थिए, तर ठमेल छाडेका थिएनन्। सुरूका केही वर्ष उनले दुवै ठाउँमा सैलुन चलाए। पछि ठमेलको सैलुन छाडेर चण्डोलको कुण्डलिनी क्लबमा मात्र केन्द्रित भए।
'कुण्डलिनी क्लबमा भएको चिनजानले नै मलाई आजको अवस्थामा ल्याएको हो,' उनले भने, 'त्यहाँ काम गर्दा मैले काठमाडौंका धनाढ्यदेखि सिनेमा, मिडिया र राजनीतिक क्षेत्रका धेरै व्यक्तिसँग सम्पर्क बढाएँ। त्यही सम्पर्कका आधारमा उनीहरूलाई आफ्नो ग्राहक बनाएँ।'
यसले हेयर ड्रेसिङमा लक्ष्मीको नाम र प्रतिष्ठा बढ्दै गयो।
उनी सबभन्दा खुसी चाहिँ काठमाडौंमा घर किन्दा भए। किनभने, लक्ष्मीकी नानीको दुइटा सपना थियो — लक्ष्मीले काठमाडौंमा घर बनाएको हेर्ने र उनको विवाह गराइदिने।
नानीका दुवै सपना पूरा भए।
लक्ष्मीले २०६४ सालमा काठमाडौंको धापासीमा घर किने। त्यसको तीन वर्षमा शान्ति पुरीसँग विवाह गरे। शान्ति र लक्ष्मीको करिब सात वर्षदेखि प्रेम सम्बन्ध थियो।
लक्ष्मी लाजिम्पाटको रानीबारीमा डेरा बस्दा शान्ति छिमेकी थिइन्। उनको किराना पसल थियो। ब्युटीपार्लरको तालिम पनि लिँदै थिइन्। लक्ष्मी सैलुन सञ्चालक हुन् भन्ने थाहा पाएपछि शान्ति जिस्किँदै भन्थिन्, 'तपाईंसँग सिक्न आउनुपर्ला कि क्या हो!'
जिस्किँदा जिस्किँदै उनीहरू प्रेममा परे।
'मलाई भाग्यले साथ दिएको भनूँ या के भनूँ? चिताएको पुग्यो,' लक्ष्मीले मुसुक्क हाँस्दै भने, 'शान्तिको साथ र हौसलाले मलाई यहाँसम्म आइपुग्न ठूलो सहयोग गर्यो। मेरो सफलताको पछाडि कसैको हात छ भने शान्तिकै छ।'
लक्ष्मीको यो खुसी धेरै समय टिकेन।
विवाह भएकै वर्ष नानी यो संसारबाट बिदा भइन्। नातिले किनेको घरमा उनी धेरै समय बस्न पाइनन्। अहिले लक्ष्मी आफ्नी श्रीमती र दुई छोरीसँग बस्छन्।
उता सात वर्ष कुण्डलिनी क्लबमा सैलुन चलाएपछि उनले त्यो पनि बन्द गर्नुपर्ने अवस्था आयो।
त्यही बेला भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरूङसँग लक्ष्मीको भेट भयो। यो २०६५ सालको कुरा हो। मीनबहादुरले लक्ष्मीलाई भाटभटेनीकै प्रांगणमा सैलुन चलाउन प्रस्ताव राखे।
कुण्डलिनी क्लबबाट बाहिरिएपछि नयाँ ठाउँ खोजिरहेका लक्ष्मीलाई यो प्रस्ताव उपयुक्त लाग्यो।
भाटभटेनीमा सैलुन सञ्चालन गर्ने निधो भएपछि लक्ष्मीले पहिलोपटक आफूले इच्छ्याएको नाममा दर्ता गराए — लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो।
यसका लागि सुरूमा करिब १६ लाख रूपैयाँ लगानी पर्यो। घरको ऋण तिर्न बाँकी रहेकै बेला यति ठूलो लगानी गर्नुपर्दा उनी आत्तिएका थिए।
आत्तिए पनि हिम्मत भने हारेनन्।
-1710952643.jpg)
'मनमा डर थियो, तर डरले हात बाँधेर बस्नेवाला म थिइनँ,' उनले भने, 'म शून्यबाट सुरू गरेर यहाँसम्म आइपुगेको मान्छे थिएँ। यहाँबाट पछाडि हट्ने मसँग विकल्पै थिएन। मलाई जीवनमा केही बन्नु नै थियो।'
उनले भाटभटेनीमा पहिलेभन्दा अझ ठूलो एक हजार वर्गफुट क्षेत्रफलको स्टुडियो खोले र २०६५ माघदेखि सेवा दिन थाले।
लक्ष्मीका लागि भाटभटेनीको सैलुन व्यक्तिगत दायरा विस्तार गर्ने सहज मुकाम बन्यो। यहाँ आएपछि उनले मध्यम आर्थिक हैसियतका धेरै नयाँ ग्राहक बनाए। कुण्डलिनी क्लबमा कमाएका नियमित ग्राहक त उनीसँग छँदै थिए। उनीहरू लक्ष्मीको सैलुन खोजी खोजी भाटभटेनी आउन थाले। अहिले पनि लक्ष्मीसँग बीसौं वर्ष पुराना नियमित ग्राहक छन्।
सुरूआततिर भाटभटेनी सैलुनमा लक्ष्मीले पहिलेजसरी नै काम गरेका थिए — कपाल काट्ने, स्टाइलिङ गर्ने, फेसिअल र मेकअप गर्ने। यसमा सघाउन उनले १० जना कर्मचारी पनि राखे।
पछि एकदिन लक्ष्मीको दिमागमा एउटा सोच आयो — कपाल काट्नुअघि र पछि सैलुनमै धोइपखाली गरिदिने।
'त्यति बेलासम्म यस्तो सेवा काठमाडौंमा कतै दिइन्थेन,' उनले भने, 'यस्तो सेवा दिनु खर्चिलो थियो। नुहाउन प्रयोग हुने सामग्रीदेखि तौलियासम्म गुणस्तरीय र सफा राख्नुपर्थ्यो। सरसफाइमा कुनै सम्झौता गर्न मिल्थेन। कपाल काटेकै पैसामा यस्तो अतिरिक्त सेवा दिए व्यवसाय टिकाउन मुस्किल पर्थ्यो। त्यसैले मैले कपाल काटेको शुल्क थोरै बढाएँ।'
शुल्क बढाएपछि सुरूमा त उनलाई ग्राहक टिकाउनै गाह्रो पर्यो। कपाल काट्न आएका ग्राहकलाई धोइपखाली गरेर पठाउँछु भन्दा कतिपयले आनाकानी पनि गरे। सेवाको मूल्य बढाएको करिब छ महिनासम्म नयाँ ग्राहक एउटै नआएको उनी सम्झन्छन्।
तर लक्ष्मीले हरेस खाएनन्।
ग्राहकहरूले पनि सुरू सुरूमा अप्ठ्यारो माने, पछि अभ्यस्त हुँदै गए।
हुँदाहुँदा धेरैले कपाल काटेपछि धोएर पठाउने उनको सेवा मन पराउन थाले। यसले घर गएर नुवाइधुवाइ गर्ने समय बच्थ्यो। कामकाजी मान्छे अफिसकै बीचमा केही समय छुट्टी लिएर कपाल काट्न आउन सक्थे।
लक्ष्मीको यो आइडिया अहिले काठमाडौंका धेरै सैलुनले पछ्याइरहेका छन्।
यति मात्र होइन, कपाल काट्दा शरीरमा रौं नलागोस् भनेर लक्ष्मीले ग्राहकको घाँटीमा 'नेक पेपर' भन्ने टेप प्रयोगमा ल्याए। कपडामा लाग्ने कपाल हटाउन हरेक टेबलमा 'ब्लो ड्रायर' राखे। यो शैली पनि अहिले धेरै सैलुनमा देखिन्छ।
चार वर्षपछि २०६९ माघमा कोटेश्वरको भाटभटेनीमा पनि लक्ष्मीले शाखा बिस्तार गरे। त्यसपछि २०७८ सालमा कलंकी र पुल्चोक भाटभटेनीमा विस्तार भयो। गत वर्ष काठमाडौं महानगरपालिकाले अन्डरग्राउन्ड तल्लामा सञ्चालित सबै व्यवसायमा रोक लगाएपछि कोटेश्वरको स्टुडियो बन्द छ। त्यसले करिब ४० लाख रूपैयाँ नोक्सान भएको लक्ष्मी बताउँछन्।
हाल तीन ठाउँमा सञ्चालित लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियोले कपाल काट्नेदेखि हेयर स्पा, हेयर कलरिङ, केराटिन ट्रिटमेन्ट, मेकअप, थ्रेडिङ, जुरो, फेसियल, नेल आर्ट, व्याक्सिङ, माइक्रोब्लेन्डिङ लगायत हेयर स्टाइलिङ र मेकअपसम्बन्धी सबै किसिमका सेवा दिन्छ। प्रत्येक शाखामा दैनिक करिब सयदेखि डेढ सय जना ग्राहक आउँछन्। हरेक शाखामा १२ देखि १६ जना तालिमप्राप्त कर्मचारी छन्।
'हाम्रा ६५ प्रतिशत ग्राहक महिला हुन्। उहाँहरूकै मागअनुसार कलंकी शाखामा छुट्टै स्पा सुरू गरेका छौं। पुल्चोक शाखामा पनि अहिले यो सेवा उपलब्ध छ। यसका लागि महिला र पुरूषका कोठा भिन्नाभिन्नै छन्,' लक्ष्मीले भने।
लक्ष्मी स्टुडियोको बजार विस्तार हुनुको एउटा मुख्य कारण फिल्म क्षेत्रसँगको सम्पर्क हो। यो सम्पर्क बढाउन कुण्डलिनी क्लबले निकै सहयोग गरेको उनी बताउँछन्। उनले केही उदाहरण दिए —
'फिल्म निर्माता तथा गोपीकृष्ण हलका संस्थापक उद्धव पौडेलसँग कुण्डलिनी क्लबमै मेरो चिनजान भयो। उहाँ र उहाँको परिवारका सदस्य मकहाँ नियमित आउन थाल्नुभयो,' उनले भने, 'उहाँकै माध्यमबाट अरू निर्माता, निर्देशकसँग चिनजान बढ्यो। यसले मलाई फिल्ममा मेकअप डिजाइन गर्न सहयोग पुग्यो।'
कुण्डलिनी क्लबमै आउने कतिपय 'सेलेब्रेटी' लाई आफ्नो ग्राहक बनाउन उनले व्यक्तिगत पहल पनि गरेका छन्। यसका एक उदाहरण भुवन केसी हुन्।
भुवन कुण्डलिनी आइरहन्थे। एकदिन लक्ष्मीले मौका छोपे र आफ्नो सैलुनमा आएर कपाल काट्न प्रस्ताव राखे।
भुवनले पनि 'ल हेरौं न त!' भनेर लक्ष्मीको हातबाट कपाल कटाए।
'उहाँले मेरो शैली मन पराउनुभयो। त्यसपछि केही समय नियमित आउन थाल्नुभयो,' लक्ष्मीले भने, 'पछिल्लो समय भने आउन छाड्नुभएको छ।'
यसरी व्यक्तिगत पहलबाट सम्बन्ध विस्तार गर्दै नेपालका थुप्रै लोकप्रिय अभिनेताको मेकअप उनले गरेका छन्। थुप्रै फिल्ममा पात्रको चरित्रअनुसार मेकअप डिजाइन पनि गरेका छन्। फिल्मका लागि मेकअप गर्दा उनी आफैं सुटिङ स्थल जाँदैनन्। बरू कलाकार नै उनको स्टुडियो पुगेर तयार हुन्छन्, वा उनले तयार पारेको डिजाइनमा मेकअप गर्न उनका सहायकहरू सेटमा जान्छन्।
व्यवसाय विस्तारसँगै लक्ष्मीले जनशक्ति विकासमा जोड दिएका छन्। कलंकी स्टुडियोमा उनले हेयर स्टाइलिङ र मेकअप तालिम सुरू गरेका छन्।
लक्ष्मीले हेयर स्टाइलिङ र मेकअपमा प्रयोग हुने सौन्दर्य सामग्रीको व्यापारमा पनि हात हालेका छन्। यसका लागि करिब आठ वर्षअघि मावलीघर नजिकै एक बिघा खेत भाडामा लिएर अर्गानिक मेहन्दी खेती सुरू गरेका थिए। खेती सम्हाल्न बाल्यकालदेखिका एक साथीले मद्दत गरिरहेका छन्। अहिले बजारमा 'लक्ष्मी हर्बल ब्रान्ड' नामबाट अर्गानिक मेहन्दी उपलब्ध छ।
यसबाहेक लक्ष्मी ब्रान्डको हेयर सिरम, फेस सिरम र स्टाइलिङ पाउडर पनि उपलब्ध छन्। भविष्यमा थप सामग्री बजारमा ल्याउने उनको योजना छ। यसले लक्ष्मीको उद्यमशीलता झल्काउँछ।
यति मात्र होइन, लक्ष्मी स्टुडियोले ग्राहकलाई कपालको स्वास्थ्य र सौन्दर्यसम्बन्धी सुझाव पनि दिन्छ। यो सेवा ग्राहकहरूले रूचाएको लक्ष्मी बताउँछन्।
उनले आफ्नो स्टुडियोको शाखा विस्तारमा पनि जोड दिएका छन्। वैशाखदेखि कमलादीको स्काई वाक टावरमा लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियोको नयाँ शाखा खोल्ने तयारी भइरहेको छ। काठमाडौं उपत्यकाबाहिर पनि शाखा विस्तार गर्ने योजना बनाएका छन्।
'अचेल म बजार विस्तार र स्टुडियो व्यवस्थापनमै बढी सक्रिय छु,' लक्ष्मीले भने, 'पहिला दिनको १२ देखि १४ घन्टा उभिएर काम गर्नुपर्थ्यो। त्यति बेला शरीर मात्र दुख्थ्यो, अहिले चाहिँ शरीरभन्दा दिमाग बढी दुख्छ।'
'कहिलेकाहीँ त दिमागभन्दा शरीर दुखेकै ठिक जस्तो लाग्छ,' उनले हाँस्दै अगाडि भने, 'शरीरको दुखाइ भोलिपल्ट निको हुन्छ, दिमागको दुखाइ त न आँखाले देखिने, न सजिलै निको हुने!'
पहिलेको दाँजोमा आफ्नै हातले कपाल काट्न कम गरे पनि उनलाई यो काम उत्तिकै प्रिय छ। उनी कपाल काट्दा थेरापी गरेजस्तो महसुस गर्छन्।
भन्छन्, 'मलाई जिन्दगीमा सबभन्दा खुसी र सुख यही कामले दिन्छ। कहिलेकाहीँ त म जन्मेकै कपाल काट्न हो जस्तो लाग्छ।'
-1710952424.jpg)
जीवनको करिब पाँच दशक पूरा गरिसकेका लक्ष्मी आफ्नो कर्मले कमाएको इज्जत र प्रतिष्ठालाई नै सबथोक मान्छन्।
आफ्नो नामलाई नै ब्रान्ड बनाउनुपर्छ भन्ने उनको सोच छ, जसमा केही हदसम्म सफल भएको अनुभूति गर्छन्। र, आफ्नो सफलताबाट सन्तुष्ट पनि छन्।
'मैले जीवनमा धेरै हेपाइ र तिरस्कार सहेको छु। धेरै विभेद भोगेको छु। तर जस्तोसुकै प्रतिकूल अवस्थामा पनि नकारात्मक ऊर्जालाई आफूमाथि हाबी हुन दिनुहुन्न भन्ने शिक्षा मैले नाना-नानीबाट पाएको थिएँ,' लक्ष्मीले भने, 'त्यही शिक्षालाई मैले आफ्नो जीवनको मन्त्र बनाएँ। सधैं सकारात्मक सोचेँ र लक्ष्यतर्फ निरन्तर अघि बढिरहेँ।'
'त्यही सकारात्मक सोचको बलमा म यहाँसम्म आइपुगेको हुँ,' उनले भने।
सफलताको सिँढी उक्लँदै गर्दा लक्ष्मीले आफ्नो जरा भने भुलेका छैनन्। उनी आज पनि मुम्बईका ती सैलुन सञ्चालक र उनको परिवारलाई भेट्न गइरहन्छन्, जसले उनलाई हेयर स्टाइलिङको दुनियाँमा प्रवेश गराए र हातको सीप तिखार्ने मौका दिए।
'त्यो सैलुन अहिले बन्द भइसक्यो। तर साहुजी र उहाँको परिवारसँग आज पनि मेरो आत्मीय सम्बन्ध छ,' लक्ष्मीले भने, 'उहाँहरू बेलाबेला काठमाडौं आइरहनुहुन्छ। तीन वर्षअघि आउँदा मेरै घरमा बस्नुभएको थियो।'
मुम्बई मात्र होइन, उनी आफू जन्मे-हुर्केको जनकपुर पनि गइरहन्छन्। लक्ष्मीलाई सानोमा रेखदेख गरेका र उनले जीवनकै आदर्श ठानेका नाना-नानी अहिले बितिसके। तर गाउँ घुम्दा आज पनि बालापनमै फर्केझैं आनन्द लाग्ने उनी बताउँछन्।
सानोमा टुहुरा भनेर हेप्ने टोल-छिमेकले अहिले लक्ष्मीको प्रगतिको प्रशंसा गर्दै मैथली भाषामा भन्छन् — यहर नाति चाहिए, लक्ष्मी जैसी!
अर्थात्, नाति होस् त लक्ष्मी जस्तो!
***