जसको मन नेपालमा छ
माइकल हट आफ्नो एक साथीसँग काठमाडौंको सीतापाइलाबाट बतासे डाँडा उक्लिँदै थिए।
उनीहरूले बाटोमा १२-१३ वर्षकी एक बालिका भेटे। ती बालिकालाई ठाडो उकालो चढ्न झर्को लागिरहेको थियो। उनी आफ्ना आमाबासँग भनिरहेकी थिइन्, 'आई हेट हाइकिङ!'
केही बेर हिँडेपछि माइकलका साथीले बालिकालाई आफ्नो हात दिए। उकालोका उबडखाबड छिचोल्न उनलाई सजिलो भयो। त्यसपछि बालिकाले भनिन्, 'थ्यांक यू स्ट्रेन्जर!'
बालिकाले आफूहरूलाई 'स्ट्रेन्जर' अर्थात् अपरिचित भनेको सुन्दा माइकल आश्चर्यमा परे।
उनले चिनेका नेपालीहरूले अपरिचितलाई पनि आत्मीय व्यवहार गर्थे। कसैलाई भेट्नेबित्तिकै दाइभाइ, दिदीबहिनीको नाता लगाइहाल्थे। नयाँ पुस्तामा त्यो आत्मीयता हस्तान्तरण नभएको देख्दा माइकल दुःखी भए।
'उसले किन हामीलाई स्ट्रेन्जर भनेकी होला! दाइ भन्नुपर्थ्यो नि!' त्यो घटना सम्झिँदा माइकल अझै खल्लो मान्छन्।
केही दिनअघि सेतोपाटीसँगको कुराकानीमा उनै बालिका सम्झिँदै माइकलले भने, 'उसले हामीलाई अपरिचित भन्नु ठिकै होला। तर दाइ भन्दाको निकटता र आत्मीयता हरायो। अहिलेका पुस्तालाई त्यो 'कुल' लाग्ला तर हामीलाई न्यानो आतिथ्य लाग्दैन। चिसोपना महसुस हुन्छ।'
बेलायतमा जन्मिएका माइकल हटले नेपाली भाषा र साहित्यको इतिहासमा विद्यावारिधि गरेका छन्। उनी नेपाली साहित्य अनुसन्धाता एवं अनुवादक हुन्। करिब चार दशक नेपाली साहित्यमा योगदान पुर्याएका उनी यसपटक दलित साहित्य अध्ययन गर्न नेपाल आएका छन्।
आजभन्दा साढे चार दशकअघि पहिलोपटक नेपाल आउँदा भने माइकलको उद्देश्य फरक थियो। उनी नेपाली कागज (लोक्ता) खोज्न आएका थिए।
उनलाई किन नेपाली कागजको खाँचो भयो होला?
बेलायतको सुदूरपश्चिम गाउँ कोल्मामा सन् १९५७ मा जन्मिएका हुन्, माइकल। उनी आफ्नो परिवारबाट विद्यावारिधि गर्ने पहिलो सदस्य मात्र होइनन्, विश्वविद्यालय नै टेकेका पहिलो व्यक्ति हुन्। विश्वविद्यालय पढ्न उनले आफ्नो गाउँ छाडे र लन्डनजस्तो ठूलो सहरमा आए। आफ्नै देशको फरक भूगोलमा पहिलोपटक पाइला टेक्दा उनी आश्चर्य र अनौठो अनुभवले भरिएका थिए।
त्यहाँको प्रतिस्पर्धात्मक पढाइमा टिक्न सकूँला कि नसकूँला भन्ने उनलाई डर थियो।
माइकलको चासो धर्म र संस्कृतिमा थियो। त्यही भएर 'सोआस' (द स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज) मा स्नातक पढ्दा उनले हिन्दी भाषा छनोट गरे। हिन्दीका कखरा सिक्न थाले।
गाउँबाट सहरमा आएर होला, माइकल पढाइमा कमजोर थिए। उनलाई शिक्षकले एउटै कुरा बारम्बार भन्नुपर्थ्यो। तै राम्ररी टिप्न सके पो!
शिक्षकहरू हत्तुहैरान भए।
करिब एक वर्षपछि उनीहरूले निर्णय गरे, 'यो केटालाई केही आउँदैन। भारत र त्यहाँको सन्दर्भबारे केही थाहा छैन। यसलाई भारत भ्रमणमा पठाइदिनुपर्यो।'
त्यो बेला विश्वविद्यालय पढ्ने विद्यार्थीहरूको शिक्षादिक्षा र बसाइको बन्दोबस्त सरकारले नै गरिदिन्थ्यो। त्यसैले माइकल सरकारी पैसामै भारत आए। त्यो उनको जीवनकै पहिलो हवाई यात्रा थियो।
यो सन् १९७७ को कुरा हो। माइकल २० वर्षका थिए। उनी हवाईजहाजबाट दिल्ली ओर्लिए र त्यहाँबाट वृन्दावन गए।
उनकै कलेजका एक प्राध्यापक वृन्दावनमा काम गर्थे। उनले पुराना हस्तलिखित ग्रन्थको संरक्षण र सूचीकरण गरेका थिए। ती ग्रन्थमध्ये धेरै कीराले खाएका थिए; केही बिग्रिएका थिए। त्यसलाई सुरक्षित राख्न विशेष कागजको खाँचो पर्यो। त्यस्तो कागज कहाँ पाइन्छ भनेर खोजी गर्दा ती प्राध्यापकले थाहा पाए, त्यो नेपालमा पाइँदो रहेछ!
बेलायतको सोआसमै स्नातकोत्तर गरिरहेका एक विद्यार्थीले भने, 'म नेपाल जान्छु र कागज लिएर आउँछु।'
माइकललाई पनि नेपालबारे चासो थियो। उनले हिमाली भूभाग र सगरमाथा आरोहीहरूका कथा पढेका थिए। यहाँको सभ्यता, समाज र धर्मबारे थोरबहुत जानकार थिए। कुनै दिन तिब्बतको ल्हासा पुगौंला भन्ने त उनको सपनै थियो।
आफ्नै कलेजका विद्यार्थी नेपाल जाँदैछन् भन्ने सूचनाले माइकललाई कुत्कुत्यायो।
उनले तत्कालै रूचि देखाए, 'मलाई पनि नेपाल जान मन छ। म पनि जाऊँ?'
माइकलले नेपाल जाने स्वीकृति त पाए, तर खर्च आफै व्यहोर्नुपर्ने भयो।
उनी तयार भए।
वृन्दावनमा तीन महिना बसेर परम्परागत ठाउँहरू घुमेपछि उनी नेपाल आए।

माइकल पहिलोपटक नेपाल आउँदा रेल र बसमा आएका थिए। मथुरादेखि दिल्ली हुँदै रक्सौलसम्म रेलमा आए, अनि रक्सौलबाट बस चढेर दुई रात, तीन दिनमा काठमाडौं आइपुगे।
उनको कलेजका साथी भने हवाईजहाजबाट पहिले नै काठमाडौं आइसकेका थिए र पारस होटलमा बस्न थालेका थिए। माइकल पनि त्यही होटलमा बसे।
नेपाली कागजको खोजीमा लाग्नुअघि साथीले उनलाई काठमाडौंका विभिन्न ठाउँ घुमाए। उनले वसन्तपुर र मरूहिति घुमे। विष्णुमति हुँदै स्वयम्भू पनि पुगे।
काठमाडौंको पहिलो पदयात्रामा माइकलले देखे — बाटोभरि खेतैखेत, थुम्काहरूमा गुजमुज्ज बस्ती र बस्तीमा परम्परागत शैलीका घर!
माइकल यहाँको संस्कृतिक र सभ्यता देखेर छक्क परे।
'मलाई वृन्दावन प्यारो थियो, काठमाडौं त्योभन्दा प्यारो लाग्यो,' उनले हामीसँग भने।
केही दिनपछि माइकल र उनका साथी नेपाली कागज खोज्न बाह्रबिसे गए। बाह्रबिसेका चारै कुना धाए तर खोजेको चिज कतै फेला पारेनन्।
काठमाडौं फर्किएपछि थाहा पाए, नेपाली कागज त उनीहरू बसेको होटलभन्दा अलिकति पर असनमै पाइँदो रहेछ।
कस्तुरी मृगले आफ्नै नाभीको सुगन्ध थाहा नपाएजस्तो उनीहरूले पनि काठमाडौंको विशेषता थाहा पाइसकेका थिएनन्!
नेपाली कागज किनेलगत्तै साथी वृन्दावन फर्किए, माइकललाई भने फर्किन मन लागेन। उनी केही समय काठमाडौं बसेर पोखरा घुम्न गए। बेलायतमा हिन्दी भाषा पढेकाले उनलाई नेपाल यात्रा सहज भयो। स्थानीयलाई केही कुरा बुझाउनुपर्दा उनी हिन्दी बोल्थे। नेपालीहरू थोरबहुत हिन्दी बुझिहाल्थे। विदेशी अनुहारले हिन्दी बोलेको सुन्दा भने ट्वाल्ल पर्थे।
सन् १९७८ मा पहिलोपटक नेपाल आएका माइकललाई यहाँको भाषा र संस्कृतिले यस्तरी तान्यो, उनले आफ्नो जीवन नै नेपाली भाषाको अध्ययनमा समर्पित गरे।
उनलाई नेपाली भाषाको कतिसम्म टक बस्यो भने बेलायत फर्केपछि पनि नेपाली नै सिक्न थाले।
'चारवर्षे पढाइको तेस्रो वर्षमा मैले वैकल्पिक भाषाका रूपमा नेपाली लिएँ र दुई वर्ष पढेँ। हिन्दी र नेपाली मिल्दोजुल्दो भएकाले मलाई गाह्रो भएन,' माइकलले भने, 'सुरूमा मेरो नेपालीमाथि हिन्दीको प्रभाव बढी थियो। कुनै शब्द थाहा भएन भने म हिन्दीमा भन्थेँ। अहिले राम्ररी बोल्न सक्छु।'
'बेलायतले नेपाली, हिन्दी लगायत दक्षिण एसियाली भाषाहरूलाई किन त्यस्तो चासो दिएर सिकाएको?'
हाम्रो यो प्रश्नमा माइकलले भने, 'ब्रिटिस साम्राज्यको इतिहास जान्न।'
माइकलले पढेको विश्वविद्यालय सोआस सन् १९१६ मा स्थापना भएको हो। त्यति बेला ब्रिटिस साम्राज्यको दबदबा थियो। भारत पनि त्यही साम्राज्यको हिस्सा थियो। उक्त विश्वविद्यालयले गैरयुरोपेली भाषाहरू पढाउँथ्यो। हिन्दी, उर्दु, बंगाली, संस्कृत, सोमाली, जुलु, थाइ, इन्डोनेसियन, बर्मिस, भियतनामिज, चिनियाँ, जापानी, कोरियन, नेपाली लगायत अफ्रिका, एसिया र दक्षिण एसियाका विभिन्न भाषाको पढाइ हुन्थ्यो।
'पछिल्लो १० वर्षमा यो धेरै कम भइसक्यो। अहिले नेपाली पढाइँदैन। हिन्दी र उर्दु पढाइन्छ। बंगाली र संस्कृत पनि पढाइन्छ। भाषाका विभाग विघटन भएर एउटामा सीमित भएको छ,' उनले भने, 'अहिलेको सरकारले भाषाको पढाइमा खासै लगानी गरेको छैन। अहिलेजस्तो भइदिएको भए मलाई नेपाली सिक्न धेरै गाह्रो हुन्थ्यो होला!'
नेपालबाट फर्किएको एक वर्ष नपुग्दै सन् १९७९ मा माइकल आफ्नी आमालाई लिएर फेरि नेपाल आए। भ्रमण खर्च जुटाउन राति राति फलाम खानीमा काम गरेको उनी सम्झन्छन्।
आमासँग आउँदा पनि माइकल काठमाडौंको पारस होटलमै बसेका थिए। त्यो होटल भूगोल पार्क नजिकै थियो। त्यस बेला भूगोल पार्क बौद्धिक तथा राजनीतिक बहसको केन्द्र मानिन्थ्यो। मानिसहरू पत्रपत्रिका पढ्न साँझ-बिहान त्यहाँ भेला हुन्थे।
त्यो समय पञ्चायती व्यवस्थाको चौतर्फी विरोध भइरहेको थियो। राजा वीरेन्द्रले जनमत संग्रह घोषणा गरेका थिए। मानिसहरू सडकमा उभिएर कविता भन्दै प्रजातन्त्रको वकालत गर्थे। पत्रपत्रिकामा पनि त्यस्तै खालका कविता प्रकाशन गर्थे। त्यतिञ्जेल माइकललाई अहिलेजस्तो फर्रर नेपाली बोल्न आउँदैनथ्यो, पढ्न भने सक्थे। ती कविताको राजनीतिकभन्दा साहित्यिक पक्षले उनलाई आकर्षित गर्यो। यही आकर्षणले त्यति बेलाका थुप्रै पत्रपत्रिका उनले किने। आफ्नो संकलनमा रहेका ती पत्रपत्रिका उनले हालै मदन पुरस्कार पुस्तकालयलाई बुझाएका छन्।
विश्वविद्यालयको सुरूआती सेमेस्टरमा कमजोर देखिएका माइकललाई भारत र नेपाल बसाइले निकै सहायता गर्यो। चार वर्ष विश्वविद्यालय पढिसक्दा उनमा निकै सुधार देखियो। पढाइ सक्नेबित्तिकै विद्यावारिधि निम्ति अनुदान पाए। त्यही अनुदानबाट नेपाली भाषा र साहित्यको इतिहासमा विद्यावारिधि गरे।
'मुख्य कुरा त मलाई नेपाल फर्किनु थियो,' माइकलले मुसुक्क हाँस्दै नेपालीमा विद्यावारिधि गर्नुको कारण बताए, 'नेपालले मलाई मोहनी लगाएको थियो।'
सुरूका दिनमा माइकलले नेपालको राम्रा पक्ष मात्र देखेका थिएनन्। उनलाई नेपाल मनोरम तर दुर्गम गाउँजस्तो लागेको थियो।
'वसन्तपुर सहरको केन्द्रमा भए पनि गाउँजस्तै थियो। मानिसहरू गरिब थिए। टालेको झुत्रा लुगा लगाउँथे। जुत्ता-चप्पल बिरलै लगाएका हुन्थे। दुब्ला, पातला थिए। बच्चाहरू प्रायः नांगै हिँड्थे। त्यति बेला हात्तीपाइले रोग एकदमै व्यापक थियो,' उनले सर्सर्ती त्यस बेलाको समाज चित्रण गर्दै भने, 'काठमाडौं वरपर निकै फोहोर थियो। तर त्यो फोहोर अर्गानिक थियो — जनावरका मलमूत्रको। अहिलेजस्तो प्लास्टिकजन्य फोहोर थिएन। कंक्रिट प्रयोग पनि निकै कम थियो।'
यति हुँदाहुँदै भारतको दाँजोमा यहाँका धेरै कुराले माइकललाई मोहित पार्यो। खासगरी यहाँका मानिसले अपरिचितलाई गर्ने सहृदयी व्यवहार उनलाई खुब मन पर्यो।
'नेपालको गरिबी यथार्थ हो। तर अरूलाई गर्ने व्यवहारमा यहाँका मानिस धनी छन्। उनीहरू धेरै हाँस्छन्। अपरिचितलाई देखेर मुस्कुराउँछन्। भारतको दाँजोमा महिलाहरू स्वतन्त्र छन्। उनीहरू तपाईंका आँखामा हेरेर कुरा गर्न सक्छन्। यिनै कारणले होला, एक विदेशीका रूपमा मलाई नेपाल सुरक्षित र आरामदायी लाग्यो,' उनले भने।
इन्द्रबहादुर राईसँग माइकल हट। तस्बिर स्रोत: माइकल हट
मोहन कोइरालासँग माइकल हट। तस्बिर स्रोत: माइकल हट
सन् १९८१ मा माइकल तेस्रोपटक विद्यावारिधिकै दौरान नेपाल आए। त्यति बेला उनी आफ्नी प्रेमिका (हाल श्रीमती) सँग आएका थिए। नेपाली साहित्यको इतिहास बुझ्न दार्जिलिङ गए।
दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन सुरू हुन लागेकाले माहोल तनावपूर्ण थियो। विदेशीलाई एक साताभन्दा बढी बस्न दिइन्थेन। माइकललाई भने अलि धेरै समय बसेर नेपाली साहित्यको अध्ययन-अनुसन्धान गर्नु थियो।
उनले दार्जिलिङमै एक जना साथी बनाए। ती साथीका काका प्रहरी प्रमुख भएकाले थप तीन साता बस्ने अनुमति पाए। त्यस क्रममा उनले दार्जिलिङ, सिक्किम र कालिङपोङतिरका प्रख्यात साहित्यकारहरू इन्द्रबहादुर राई, रामलाल अधिकारी, पारसमणि प्रधान, लक्कीदेवी सुन्दास लगायतलाई भेटे।
'राणाकालमा नेपाली साहित्यकारहरू स्वतन्त्र थिएनन्। त्यसैले साहित्य इतिहासको सुरूआत काठमाडौंभन्दा दार्जिलिङबाट भएको थियो,' नेपालको साहित्य इतिहास बुझ्न दार्जिलिङ जानुको कारण खुलाउँदै माइकलले भने, 'बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा लगायत लेखकहरू पनि काठमाडौं-दार्जिलिङ आउजाउ गरिरहन्थे। मलाई लाग्छ त्यहाँ काठमाडौंमा भन्दा बढ्ता वाक स्वतन्त्रता थियो।'
साहित्यमा रमाउने माइकललाई भाषाको काम झर्कोलाग्दो र निरस लाग्थ्यो। हलन्त प्रयोग गर्ने कि नगर्ने? उच्चारण कसरी गर्ने? हिन्दी र नेपाली शब्दहरूमा के-कस्ता फरक छन्? के प्रयोग गर्ने? के नगर्ने? यस्ता विषयमा पारसमणि प्रधानसँग उनको लामै वार्ता चल्थ्यो।
साहित्यतर्फ माइकलको चासो खासगरी कविता विधामा थियो। उनी आफै पनि कविता लेख्थे। नेपाली कविता र साहित्यका किताब किनेर पढ्न थालेका थिए। तीन साता दार्जिलिङ बसेपछि उनी काठमाडौं आए र त्रिभुवन विश्वविद्यालय गएर अध्ययन सामग्रीहरू जुटाए।
यसरी आफूलाई पुग्दो खुराक जम्मा गरेपछि माइकल बेलायत फर्किए र नेपाली भाषा र साहित्यमा शोधपत्र लेखे।
'मलाई यहाँको साहित्य र भाषाको राजनीतिमा चासो थियो। सामाजिक भाषिक कुरामा मेरो रूचि थियो। नेपाली कसरी राष्ट्रिय भाषा भयो? त्यसको प्रक्रिया के थियो? अरू भाषाको अवस्था के छ? यस्ता विविध विषय समेट्दा मेरो थेसिस पूरापूर खिचडीजस्तै थियो,' उनले हाँस्दै भने, 'त्यो समय थेसिस लेख्न अलि स्वतन्त्रता भएकाले वर्णनात्मक भएर लेख्न सकिन्थ्यो। आजकल सैद्धान्तिक ढाँचाले लेख्नुपर्छ। त्यसैले विद्यार्थीहरू तनाव लिन्छन्। तर म भन्छु, सिद्धान्त आफ्नो ठाउँमा छ, त्यसैलाई मालिक बनाउन भने हुन्न।'
विद्यावारिधि गर्दा माइकललाई सबभन्दा आकर्षित गरेका नेपाली लेखक हुन्, महाकवि लक्ष्मीप्रसाद देवकोटा। उनले देवकोटाको प्रसिद्ध कृति 'मुनामदन' को अंग्रेजी अनुवादसमेत गरेका छन्। कुनै दिन तिब्बत पुग्ने सपना देखेका माइकललाई किताबमा उल्लिखित तिब्बत र ल्हासाको प्रसंगले लोभ्याएको थियो।
'मुनामदन कृति धेरै लोकप्रिय छ भन्ने बुझेको थिएँ। कुनै एउटा किताब अनुवाद गर्नुपर्यो भने मुनामदन किन नगर्ने त भनेर सुरू गरेँ,' उनले भने, 'पढ्दै जाँदा नबुझिएका कुरा एक जना साथीले सिकाए। ती साथीको जन्म तिब्बतमै भएको थियो। उनी लन्डनमा बसोबास गर्थे। उनले मुनामदनमा प्रयोग भएका शब्द मात्र होइन, त्यसको विषय सन्दर्भ पनि मलाई राम्ररी बुझाए। त्यही सिकाइले मलाई मुनामदन अनुवाद गर्न सजिलो भयो।'
माइकलले आफूलाई मनपर्ने नेपाली साहित्यकार देवकोटासँग त कहिल्यै भेट्न पाएनन्, तर त्यस बेलाका चर्चित लेखकहरू पारिजात, सिद्धिचरण श्रेष्ठ, मोहन कोइराला, बानिरा गिरी लगायतलाई धेरैचोटि भेटे।
सन् १९८६ मा विद्यावारिधि सकेर अनुसन्धाताका रूपमा नेपाल आउँदा समालोचक अभि सुवेदीले 'साहित्यिक गाइड' भनेर धेरै लेखकसँग भेट गराएको उनी सम्झन्छन्। थुप्रै लेखकसँग उनी निकट पनि भए। तिनैमध्ये एक हुन्, पारिजात।
पारिजातलाई उनी 'युनिक' लेखकका रूपमा वर्णन गर्छन्।
'उहाँ म्हेपीस्थित बहिनीको स्कुलमा बस्नुहुन्थ्यो। म उहाँसँग स्कुलको चउरमा बसेर घन्टौं कुराकानी गर्थेँ। उहाँ सानो स्वरमा एकदमै छिटो बोल्नुहुन्थ्यो। अलिकति दार्जिलिङको लवज पनि थियो। त्यसैले उहाँको कुरा बुझ्न कहिलेकाहीँ गाह्रो हुन्थ्यो,' माइकलले भने, 'म बेलायत हुँदा हामी चिठीमा समेत कुराकानी गर्थ्यौं। उहाँ नेपालभन्दा बाहिरको राजनीति र साहित्यमा पनि चासो राख्नुहुन्थ्यो। उहाँको अंग्रेजी एकदमै राम्रो थियो। नेपाल आउँदा म उहाँलाई विदेशी किताबहरू किनेर ल्याइदिन्थेँ।'
माइकलले पारिजातको 'मैले नजन्माएको छोरा' कथा अनुवाद गरेका छन्। उनको उपन्यास 'शिरिषको फूल' पनि अनुवाद गर्न थालेका थिए। बीचमा अर्कैको अनुवाद बजारमा आएपछि त्यो काम त्यसै छाडे।
कवि मोहन कोइरालासँग माइकलको निकट सम्बन्ध थियो। उनले मोहनका केही कविता अनुवाद गरेका छन्। पारिजातलाई भने मोहनसँग माइकलको निकटता मन पर्थेन।
'मोहन कोइराला कांग्रेसीका रूपमा परिचित थिए। पारिजात वामपन्थी हुनुहुन्थ्यो। त्यही भएर उहाँलाई मोहनको नाम पनि सुन्न मन लाग्दैनथ्यो। मलाई भने उनी खुब मन पर्थ्यो,' माइकलले भने।
पारिजातपछि माइकलसँग निकट भएकी अर्की महिला लेखक बानिरा गिरी हुन्। पारिजातजस्तै उनी बानिराको घर जान्थे, घन्टौं कुराकानी गर्थे। सन् १९९१ मा माइकलले प्रकाशित गरेको 'हिमालयन भोइसेसः एन इन्ट्रोडक्सन टु मोडर्न नेपाली लिटरेचर' मा यी दुई महिला लेखकका रचना पढ्न पाइन्छ।
माइकललाई पछि कवि भूपि शेरचनका कृति पनि मन परे। तर उनीसँग भेट भएन।
'भूपिसँग भेट्ने मौका जुर्न सक्थ्यो, तर उहाँ जीवित छउञ्जेल मैले उहाँका कविता पढेकै थिइनँ,' उनले भने, 'चिनेको पनि थिइनँ।'
भूपिसँग भेट्न नपाउँदाको थकथकी उनी यसरी वर्णन गर्छन्, 'एकपटक झुक्किएर भेट भयो कि जस्तो लाग्छ। सन् १९७९ तिर एउटा भारतीय रेस्टुरेन्टमा म नेपाली साहित्यका किताब पढ्दै थिएँ। एक जना छोटो कद भएका, सुट र टाई लगाएका मानिस त्यहाँ आएका थिए। मैले नेपाली साहित्य पढ्दै गरेको देखेर खुसी भएका थिए। त्यो मान्छे मलाई भूपि थिए कि जस्तो लाग्छ। किनभने, त्यति बेला सुट, टाई लगाएर हिँड्ने र अंग्रेजी पनि बोल्ने भूपि नै थिए।'
सन् २०१० मा माइकलले भूपिको जीवनलाई लिएर 'द लाइफ अफ भूपि शेरचन' नामक किताब लेखे। उक्त किताबको 'फुटनोट' मा उनले भूपिसँग त्यसरी भेटेको हुनसक्ने प्रसंग वर्णन गरेका छन्।
माइकलले सन् १९८८ मा भूपिको प्रसिद्ध कृति 'घुम्ने मेचमाथि अन्धो मान्छे' पढेका थिए। त्यसको 'मेरो चोक' शीर्षक कविता उनलाई यति मनपर्यो, काठमाडौं गेस्ट हाउसको बगैंचामा बसेर अनुवाद नै गरे।
'भूपिको कविता अनुवाद गर्न मलाई कुनै शब्दकोष चाहिएन। उनको भाषा यति सरल र मीठो थियो, त्यसलाई अनुवाद गर्न एकदमै सजिलो भयो,' माइकलले भने, 'भूपिको अंग्रेजीमा राम्रो पकड थियो। अंग्रेजी राम्रो भएकाले नेपाली सिन्ट्याक्स (वाक्य रचना) मा अंग्रेजी प्रभाव देखिन्छ। यसले मलाई अनुवाद गर्न सजिलो भयो।'
माइकललाई सिन्ट्याक्स भएका कविता अनुवाद गर्न सजिलो लाग्छ। लामा लामा वाक्य भएका लेख अनुवाद गर्न झर्को मान्छन्।
'कवितामा कहिलेकाहीँ एक-एक लाइनको अर्थ हुन्छ। कहिले चाहिँ अर्थ घुमेर आउँछ। लाइनहरू अनुवाद गर्दा तलमाथि गर्नुपर्छ। जोड्ने, घटाउने निकै हुन्छ। यो भनेको बुन्ने सीपजस्तै हो,' उनले भने, 'लेखकहरूले कहिलेकाहीँ एकदम जटिल तरिकाले लामा वाक्य लेख्छन्। त्यसलाई छोटो बनाउने काम पट्यारलाग्दो हुन्छ।'
यति हुँदाहुँदै कति कुरा अनुवाद गर्नै सकिन्न। जस्तो — मानवीय भावना कसरी अनुवाद गर्ने?
यस्तो अवस्थामा माइकल कतिपय नेपाली शब्दलाई लेखककै शैलीमा छाडिदिन्छन्। हालै उनले बुद्धिसागरको उपन्यास 'कर्नाली ब्लुज' अनुवाद गरे। त्यसमा ठेट लवज र जुम्ली भाषाको निकै प्रयोग गरिएको छ। लेखकीय शैली र स्वाद नमरोस् भनेर उनले कति शब्द त्यत्तिकै छाडेका छन्।
कतिपय अंग्रेजी शब्दलाई उनले नेपालीकरण पनि गरेका छन्। जस्तो — बस्नुस् न, जानुस् न लगायत 'न' भएका शब्दलाई अंग्रेजीमा उल्था गर्दा उनले 'सिट न, गो न' लेखेका छन्।
लेखक बुद्धिसागरसँग माइकल हट। तस्बिर स्रोत: बुद्धिसागरको फेसबुक
'मलाई नेपालीहरूले प्रयोग गर्ने न को स्वाद र टोन जोगाउनु थियो। त्यसलाई वन्ट यू? स्याल आई? क्यान आई? लगायत शब्दले न्याय गर्न सकिन्न भन्ने लाग्यो। मैले त्यसलाई 'न' नै राख्छु भन्ने निश्चय गरेँ,' उनले भने।
माइकलले आमाबालाई पनि अंग्रेजीमा 'मदर, फादर' भन्नुको साटो नेपालीमै लेखेका छन्। वर्णन गर्दा अंग्रेजीमा लेखे पनि कुराकानीको सन्दर्भमा नेपाली शब्द नै अगाडि ल्याएका छन्।
'अनुवादमा यो गलत र त्यो सही भन्ने हुन्न। त्यो अनुवादकको छनोट हो। तपाईंलाई के ठिक लाग्छ, त्यहीअनुसार निर्णय गर्ने हो। बुद्धिसागरको आफ्नै शैली छ। त्यो शैली कसरी जोगाउने र न्याय दिने भन्नेमा म सजग थिएँ,' उनले भने।
कतिपयले अनुवाद गर्दा लेखाइको आत्मा मर्छ भन्छन्। यसबारे माइकलको धारणा छ, 'केही हदसम्म मर्नै पर्छ। तपाईंले सबै कुरा जोगाउनै सक्नुहुन्न।'
'नेपाली साहित्यलाई विश्वस्तरमा पुर्याउन यो काम जरूरी पनि छ,' उनले भने, 'कतिपय अनुवादले ती लेखाइमा प्राण भरिदिएका हुन्छन्।'
माइकलले अनुवाद अभ्यासमा धेरै कुरा परिमार्जन पनि गरेका छन्। जस्तो, 'हिमालय भोइसेस' किताब आउँदा इन्टरनेट थिएन। नेपाली शब्द विदेशी मूलका मानिसले बुझ्दैनथे। हरेक कुरा फुटनोटमा व्याख्या गर्नुपर्थ्यो। पृश्वीनारायण शाह भन्ने प्रसंग आयो भने उनी को हुन् भनेर चिनाउनुपर्थ्यो। अहिले केही बुझिएन भने इन्टरनेटमा सजिलै खोज्न सकिन्छ।
'पहिले त फुटनोटै फुटनोटले किताब भरिन्थ्यो। अहिले एकदम कम राख्छु। त्यसरी राख्दा अहिले पुरानो अभ्यासजस्तो पनि हुन्छ,' उनले भने।
अहिलेका नयाँ पुस्ताले के पढिरहेका छन् र कसरी कुराकानी गरिरहेका छन् भन्नेमा पनि माइकलको चासो छ। नयाँ पुस्ताले खर्रर अंग्रेजी बोलेको र नेपाली प्रस्ट बोल्न नसकेको भने उनलाई मन परेको छैन। झन् नेपाली साहित्य र प्रतिभालाई नयाँ पुस्ताले सम्मान नगरेकोमा उनको खेद छ।
'हिजोआज धेरै जना अंग्रेजी मिसिएको नेपाली बोल्छन्। किताब पनि अंग्रेजी पढ्छन्। कतिलाई नेपाली भाषा एकदमै पुरानो जमानाको र 'कुल' छैन भन्ने लाग्ला। तर यो लज्जास्पद कुरा हो,' उनले भने, 'तपाईंको भाषा यति सम्पन्न छ, जुन कुरा नेपालीमा भन्न सक्नुहुन्छ, त्यो अंग्रेजीमा भन्नै सक्नुहुन्न।'
माइकल हट नेपालमा अनुवादककै रूपमा बढी प्रसिद्ध छन्। तर उनको पहिलो परिचय अनुसन्धाता हो।
बेलायतको नीतिअनुसार विद्यावारिधिपछि तीनवटा काम गर्नुपर्छ — वर्षको ३० साता पढाउने, प्रशासनिक काम गर्ने र अनुसन्धान गर्ने। अनुवाद अनुसन्धानमा पर्दैन। त्यो माइकलले आफ्नै रूचिका लागि गरेका हुन्।
'बेलायतमा तपाईंको पदोन्नति नै तपाईंले गर्नुभएको अनुसन्धानको संख्या र गुणस्तरमा भर पर्छ। त्यो अनुसन्धान कुन जर्नलमा प्रकाशित छ भन्नेले ठूलो महत्त्व राख्छ। सबभन्दा गाह्रो त विद्यार्थी पढाउँदै, प्रशासन सम्हाल्दै अनुसन्धानलाई समय निकाल्न हुन्छ,' उनले भने, 'तर त्यसमा पनि बेग्लै आनन्द छ।'
यी समस्याका बाबजुद माइकल विश्वविद्यालयले दिने छुट्टी मिलाएर नेपाल आइरहन्थे। मान्छेहरू भेट्थे। कुराकानी गर्थे। नोट टिप्थे। र, अनुसन्धान सामग्री बटुल्थे। त्यसपछि आफ्नो देश फर्किएर ती विषयमा लेख्थे।
यसरी उनले नेपाली साहित्यसहित भुटानी शरणार्थी, योगमाया, भूकम्प, राष्ट्रिय गान लगायत विभिन्न विषयमा अध्ययन-अनुसन्धान गरेका छन्।
'मेरो खास काम नै अनुसन्धान हो। अनुसन्धान गर्दा गर्दै अनुवादमा चासो बढेको हो। अनुवाद मैले आफ्नै लागि गरेको हुँ,' उनले भने, 'अनुसन्धान गर्दा म धेरैजसो खुराक नेपाली साहित्य र नेपाली पाठबाट लिन्छु। त्यसरी लिँदा अनुवाद जरूरी हुन्छ।'
'विदेशीहरू नेपाल आएर अनुसन्धान त गर्छन्, तर भाषाको जटिलताले नेपालको भित्री आवाज जति सुन्नुपर्ने हो, त्यति सुन्न सक्दैनन्,' उनले अगाडि भने, 'उनीहरूलाई पनि सजिलो होस् भनेर मैले अंग्रेजी अनुवाद थालेको हुँ।'
सिकारू अनुवादक र सिकारू अनुसन्धाताका रूपमा गरेका सुरूआती काम हेर्दा माइकललाई अनुसन्धानको काम नै बढी राम्रो लाग्छ। हिमालयन भोइसेसमा आफूले गरेको अनुवाद हेर्दा उनलाई चित्त बुझ्दैन। अनुसन्धाताका रूपमा गोर्खाली सिपाहीबारे गरेको काम भने आज पनि उत्तिकै राम्रो लाग्छ।
'अनुवादकका रूपमा समस्या के थियो भने, मसँग कोही नेपाली थिएनन् जोसँग सल्लाह लिन सकूँ। एक्लै काम गर्दा मैले धेरै गल्ती गरेँ। त्यसलाई कुनै दिन सच्याउनुपर्ला कि!' उनले भने, 'बरू सिकारू भए पनि आफ्नो अनुसन्धानको काम मलाई राम्रो लाग्छ। लाहुरेहरूको नेपाली साहित्यमा भएको चित्रण कसैले पनि गरेको थिएन। त्यो एकदमै महत्त्वपूर्ण काम थियो।'
कामको सिलसिलामा माइकल झापा, खाँदबारी, धनकुटा, विराटनगर, वीरगन्ज, बुटवल, लुम्बिनी, पोखरा, बेनी, कुस्मा, बागलुङ, सुर्खेत, नेपालगन्ज, धनगढी, टीकापुर, महेन्द्रनगर लगायत ठाउँ पुगेका छन्। पदयात्रा क्रममा हेलम्बु, लाप्राक लगायत ठाउँ गएका छन्।
नेपाल नदेख्दै देखेको तिब्बत जाने सपना भने माइकललाई अब कहिल्यै पूरा हुन्न जस्तो लाग्छ।
'मलाई लाग्छ मेरो नाम चिनियाँहरूको सूचीमा छ। अब तिब्बत चाहेर पनि जान पाउँदिन होला,' यो विषय भने उनले विस्तृतमा खोल्न चाहेनन्।
संसारका धेरै ठाउँ घुमे पनि, कुनाकाप्चा पुगे पनि माइकललाई सबभन्दा मनपर्ने काठमाडौंका गल्ली नै हो। उनी यो ठाउँलाई साहित्यको केन्द्र मान्छन्।
'म यहाँ आउँदा प्रायः अनुसन्धाताहरू हिमाली क्षेत्र र सीमान्तकृत समुदायमाथि काम गरिरहेका थिए। मैले भने राज्यको केन्द्रमा बसेर, राज्यसँग नजिक भएर, नेपाली साहित्यिक र शैक्षिक उत्पादनमा काम गर्न जरूरी भएको ठानेँ,' उनले भने, 'त्यति बेला नेपाली साहित्य काठमाडौं केन्द्रित थियो। धेरैजसो लेखक बाहुन र नेवार समुदायका थिए। तपाईंले मेरो हिमालयन भोइसेस हेर्नुभयो भने पनि नेवार, बाहुन, बीचबीचमा पारिजात, बानिरा अनि फेरि नेवार र बाहुनहरू नै भेट्नुहुन्छ।'
अहिले मुकारूङ, लिम्बू, वादी समुदाय, तराई केन्द्रित किताबहरू पनि बजारमा आउँदै गरेको माइकलले देखेका छन्। ती किताब पढिरहेका छन्। उनी आफै पनि अहिले दलित साहित्यमा काम गरिरहेका छन्। तीन वर्षदेखि दलित साहित्य मात्र पढिरहेका छन्। झन्डै २५-३० जना दलित लेखक भेटिसकेका छन्। उनीहरूको लेख संकलन गर्दै अनुवाद गरिरहेका छन्।
सन् २०२० तिर माइकलले दलित साहित्यमा काम गर्ने सोच बनाएका हुन्। लकडाउन बेला घरमा थुनिएर बस्नुपर्दा उनले दलित समुदायका लेख खोजे, पढे। अनि अनुसन्धान अनुदानका लागि आवेदन दिए। दलित साहित्यको प्रोजेक्टअन्तर्गत नै उनी चारपटक नेपाल आइसकेका छन्।
यसपटक उनी आफूले गरेका अनुवाद लेखकहरूलाई देखाउने, प्रश्न सोध्ने, स्पष्टीकरण माग्ने, अनुमति लिने लगायत कामका लागि नेपाल आएका हुन्।
'मैले नेवार र बाहुनहरूको प्रभुत्व भएको साहित्यमा मात्र काम गरेँ कि भनेर मनमा खटपट भइरहन्थ्यो। महिलामा पनि पारिजात र बानिरा दुई जना मात्र थिए। त्यति बेला पञ्चायतको समयमा जे उपलब्ध थियो, त्यसैमा काम गरेँ। अहिले साहित्यको समुदाय बृहत भएको छ। उनीहरूमा किन काम नगर्ने त? यही सोचेर मैले आफ्नै निम्ति यी काम गरेको हुँ,' माइकलले भने।
यसबाहेक भूकम्प परियोजनाअन्तर्गत उनी र उनका एक साथी मिलेर कार्यपत्र लेखिरहेका छन्। काठमाडौंको भूगोलपार्क र पाटन दरबार स्क्वायरमा जुद्धशमशेरले बनाएको शिलालेखलाई उनीहरू विश्लेषण गर्दैछन्।
'ती शिलालेखमा जुद्धशमशेरले मैले यस्तो गरेको छु भनेर आफ्नो महिमा लेखाएका छन्। मेरो साथीले सन् १९३४ र त्यसपछिका भूकम्पका प्राप्तिहरू के–के भए भनेर दाँज्ने काम गर्दैछन्। म उनलाई शिलापत्रको मूलपाठ अनुवाद गर्न सहयोग गर्दैछु,' उनले भने।
माइकल अहिले ६६ वर्षका भए। उनले बेलायतको सोआसबाट प्राध्यापकका रूपमा अवकाश लिइसकेका छन्। उनी ट्रिंग भन्ने सहरमा आफ्नी श्रीमतीसँग ३२ वर्षदेखि बसोबास गरिरहेका छन्। त्यहाँ बस्दा पनि नेपालबारे सोचिरहेका हुन्छन्। नेपालकै काम गरिरहेका हुन्छन्।
कहिलेकाहीँ उनी आफ्नी श्रीमतीलाई नेपाल लिएर आउँछन्। आफू वर्षमा एक-दुईपटक आइरहने भएकाले नेपालमा भएको परिवर्तन खासै महसुस गर्दैनन्। चार-पाँच वर्ष अन्तरालमा नेपाल आउने उनकी श्रीमतीले भने परिवर्तन प्रस्टै देख्छिन्। भन्छिन्, 'ओहो! नेपालीहरू त ठूला भएछन्। मोटा भएछन्। स्वस्थ भएछन्। उनीहरूको गरिबी पनि कम भएछ।'
माइकललाई काठमाडौं आउँदा आफूले सुरूमा देखेको परम्परागत बस्ती खुब 'मिस' हुन्छ। नेपालीहरूको बढ्दै गएको आधुनिकता र कंक्रिट मोह उनलाई पटक्कै मन परेको छैन। काठमाडौंभन्दा पाटनमा ती कुरा अझै केही बचेको उनले महसुस गरेका छन्। त्यसैले उनको बसाइ अचेल पाटनमै हुन्छ।
'पाटन बस्दा मलाई पुरानो काठमाडौंको सम्झना आउँछ,' उनले भने, 'मैले पहिलोपटक देखेको काठमाडौंको झलक यहाँ अलिकति भए पनि बचेको छ।'
***