साधारण-असाधारण
प्रसूति गृह थापाथलीको सुत्केरी वार्डबाट आवाज आउँदै थियो —
'ऐय्या, म मरेँ!'
'सक्दिनँ, ऐय्या! ऐय्या!'
'म मरेँ आमा!'
२९ वर्षीया श्रीदेवी योञ्जन सुत्केरी बेथाले चिच्याउँदै थिइन्।
छिनमै चिच्याउँथिन्, छिनमै सासले मात्र बोल्थिन्।
छिनमै बेस्सरी रून्थिन्, छिनमै शान्त हुन्थिन्।
घरि आफ्नो शरीर जोडले दायाँ-बायाँ हल्लाउन खोज्थिन्, घरि हल न चल शिथिल हुन्थिन्।
श्रीदेवीलाई तीन फिट अग्लो खाटमा दायाँ-बायाँ कपडा बेरेर राखिएको थियो। उनले आफ्नो खुट्टाका औंला खाटको डन्डीमा अड्काएकी थिइन्। टाउकोतर्फ खाटको डन्डीलाई दुई हातले बेस्कन समातेकी थिइन्। अनुहार बेथाले राप्पिएर रातोपिरो भएको थियो।
अगाडि उभिएकी नर्स उनलाई भन्दै थिइन्, 'अझै बल गर्नुहोस्, बच्चा निस्कनै लाग्यो।'
नर्सको कुरा सुनेर श्रीदेवीले भएभरको बल लगाइन्। अलि बेरमा फेरि शिथिल भइन्।
नर्सले हौसला बढाउँदै भनिन्, 'भेरी गुड। ल फेरि एकचोटि बल गर्नुहोस् त।'
उनले त्यसै गरिन्।
यो सिलसिला १५-२० मिनेटसम्मै चल्यो।
त्यतिञ्जेल दिउँसो १२ बजेर ४५ मिनेट गएको थियो। श्रीदेवीको बेथा कम हुने नामनिसान थिएन। उनी बेस्सरी चिच्याइरहेकै थिइन्। वरपरि उभिएका नर्स र सहयोगीहरूले 'अझै बल गर्नुहोस्' भन्दै उनको हौसला बढाइरहेकै थिए।
श्रीदेवीले फेरि एकचोटि भएभरको बल लगाएर दुवै हातले खाटको डन्डी अँठ्याइन्। अनि जोडसँग चिच्याइन्।
उनको शरीर पसिनाले लुछुप्पै भिज्यो।
त्यत्तिकैमा बच्चाको टाउको फुत्त बाहिर निस्कियो।
अस्पतालकी नर्स ललिता श्रेष्ठले बिस्तारै बच्चालाई दायाँ-बायाँ हल्लाएर दुई हातले तानिन्।
अर्की नर्सले श्रीदेवीको ढाडमा हल्का थिच्दै सुम्सुम्याउन थालिन्।
त्यति बेला १२ बजेर ५० मिनेट गएको थियो।
श्रीदेवी आमा भएकी थिइन्।
बच्चा शरीरबाट निस्किनासाथ नर्सले पेट थप्थपाइन्। बच्चा रोयो। रूँदारूँदैको बच्चा नर्सले कपडामा पोको पारेर आमाको पेटमाथि राखिदिइन्।
अर्की नर्सले दुई हातले बच्चा उचालिन् र श्रीदेवीको अनुहार नजिक लग्दै भनिन्, 'हेर्नुस् त, तपाईंले के पाउनुभएको छ?'
त्यसपछि उनले बच्चालाई श्रीदेवीको खाटनजिकै एउटा टेबलमाथि राखेर बाफ दिँदै भनिन्, 'देख्नुभयो, तपाईंले छोरी पाउनुभएको छ।'
श्रीदेवीको प्रसव पीडा अझै कम भएको थिएन। उनी जोडले रून थालिन्। रूँदा पनि उनका आँखा धपक्कै बलेका थिए।
नर्स र दुई सहयोगी बच्चा स्याहार्न थाले। ललिता र अर्का दुई सहयोगी श्रीदेवीको हेरचाहमा लागे।
ललिताले आफ्ना दुई हातले बच्चाको लामो नाल समातेर बटारिन्। सहयोगीले श्रीदेवीको दायाँ तिघ्रामा सुई लगाइदिइन्।
ललिताले पाँच-सात मिनेटसम्म नाल बटारेपछि साल निस्कियो। त्यसलाई उनले एउटा भाँडोमा राखिन् र श्रीदेवीको पेटमा थिचेर दायाँ-बायाँ हल्लाइन्। अनि उनलाई आफ्नो पेट छाम्न लगाउँदै भनिन्, 'यो पाठेघर हो। यहाँ छामिरहनू है। यो डल्लो महसुस गर्नुहोस् त!'
श्रीदेवीले टाउको हल्लाउँदै उनले भनेजस्तै गरिन्।
उनी बोल्न भने सकिरहेकी थिइनन्।
ललिताले पेट थिचेर थोरै रगत बाहिर निकालिन्। त्यसपछि बच्चा जन्माउँदा घाउ भएको छ कि छैन भनेर हेर्न थालिन्।
ललिताले छुँदा श्रीदेवी निक्कै डराएकी थिइन्। जसै ललिताले घाउ छोइन्, उनी 'ऐय्या-ऐय्या' भन्दै चिच्याउन थालिन्।
ललिताले घाउ भएका ठाउँमा नरम कपडाले थिचेर ओल्टाइपल्टाइ हेरिन्। सिलाउनुपर्छ कि पर्दैन भनेर सुत्केरी महिलालाई नै सोधिन्।
उनले केही जबाफ दिन सकिनन्।
-1716803609.jpg)
-1716804375.jpg)
यो दृश्य जेठ २ गते बुधबारको हो। त्यस दिन प्रसूति गृहको लेबर रूम (प्रसव कक्ष) मा श्रीदेवीबाहेक अरू सुत्केरी थिएनन्। त्यसैले उनको हेरचाह गर्न नर्स र सहयोगीहरूको बाक्लो उपस्थिति थियो।
हामीलाई यो दृश्य नौलो लाग्न सक्छ, तर ४८ वर्षीया ललिता श्रेष्ठको निम्ति यो दैनिकी हो।
उनी २१ वर्षदेखि प्रसूति गृहमा काम गरिरहेकी छन्। त्यसमध्ये १९ वर्ष सुत्केरी गराउने काममै बिताइसकिन्। यसबीच आफ्नै हातले करिब २१ हजार बच्चा जन्माइसकेको उनी बताउँछिन्।
उनै ललिताको दुई दशकको अनुभव साट्न हामी त्यस दिन प्रसूति गृह पुगेका थियौं। उनले आफ्नोबारे बताउनुअघि हामीलाई श्रीदेवीको अवस्था, समस्या र अनुभव बिस्तारमा सुनाइन्।
श्रीदेवी जेठ १ गते मंगलबार प्रसूति गृह आइपुगेकी थिइन्। हल्का बेथा लागेकाले तत्काल इमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो। स्वास्थ्य परीक्षणपछि त्यसै दिन 'एन्टिनेटल वार्ड' (बेथा लाग्दा राखिने कोठा) मा राखियो। त्यहाँ राख्दा प्रत्येक दुई घन्टामा बच्चाको धड्कन र आमाको पाठेघरको मुख कति खुल्यो भनेर हेरिन्छ। पाठेघरको सबै मुख खुलेर बच्चा निस्किने बेला भएपछि लेबर रूममा लगिन्छ।
ललिताका अनुसार १०-१२ घन्टासम्म सुत्केरी बेथा लाग्नुलाई सामान्य मानिन्छ। त्यही भएर मंगलबार दिउँसो भर्ना भएकी श्रीदेवीलाई बुधबार १२ बजेपछि लेबर रूम लगिएको थियो।
'महिलाको दस घर खुलेपछि हामी लेबर रूममा ल्याउँछौं। यहाँ ल्याएको एक घन्टाभित्र सुत्केरी गराइन्छ,' ललिताले भनिन्, 'श्रीदेवीलाई १२ बजे ल्याइएको थियो, उनले त्यसको ५० मिनेटमा बच्चा जन्माइन्।'
सामान्यतया लेबर रूममा ल्याइएको एक घन्टाभित्र बच्चा जन्मिन्छ। श्रीदेवीलाई पनि सरदर एक घन्टा नै लाग्यो। त्योभन्दा धेरै समय लाग्यो भने किन बच्चा निस्किन सकेन भनेर परीक्षण हुन्छ। बच्चा निस्किने बाटोमा रोकावट छैन; र आमा र बच्चाको स्वास्थ्य ठिक छ भने कहिलेकाहीँ डेढ घन्टासम्म पर्खिनुपर्छ। सुत्केरीको अवस्था हेरेर कहिलेकाहीँ अपरेसन गर्नुपर्ने पनि हुनसक्छ। नभए नर्मल डेलिभरीबाटै बच्चा जन्माइन्छ।
'धेरैजसो आमाले सुरूमै धेरै बल प्रयोग गर्छन्। त्यसैले अन्तिममा बल लगाउन सक्दैनन्। श्रीदेवीको केसमा त्यस्तै भयो,' ललिताले भनिन्, 'जब आवश्यक पर्यो, उनी थाकिन्। त्यसैले बच्चाको टाउको सुन्निएको छ। लामो समय बेथा लाग्दा निस्किन गाह्रो भएर बच्चाले भित्रै दिसा गरेछ। त्यसैले बच्चालाई बाफ दिएर राख्नुपरेको छ।'
बच्चाले आमाको पेटभित्र अक्सिजन कम भयो वा गाह्रो भयो भने दिसा गरिदिन्छ। दिसा नगरेको भए एक घन्टासम्म आमाको छातीमा टाँसेर राखिन्छ, ललिताले भनिन्, 'पेटभित्र दिसा गर्यो भने बच्चाको नाक-मुख टालिन सक्छ। त्यस्तो बच्चालाई बाफ दिनुपर्छ। बाफ दिएपछि सास फेर्न सजिलो हुन्छ।'
यसरी नर्मल सुत्केरी भएका आमालाई एक-डेढ घन्टापछि 'पोस्ट-नेटल वार्ड' (सुत्केरी भइसकेका आमा र बच्चालाई राख्ने कोठा) वार्डमा सारिन्छ।
ललिताका अनुसार नर्मल सुत्केरी भएको पाँचदेखि दस दिनसम्म रातो रगत बग्नु सामान्य हो। त्यसपछि गुलाबी हुँदै सेतो पानी बगेपछि आमाको अवस्थामा सुधार आउँछ।
ललिता नर्मल सुत्केरी गराउने काम मात्र गर्छिन्। सुत्केरी गराउँदा कुनै समस्या आयो भने डाक्टरहरूलाई बोलाउँछिन्।
दैनिक तीन-चार जना सुत्केरी गराउने उनलाई यो काम सहज भने छैन। आफ्नो नेतृत्वमा करिब २१ हजार सुत्केरी गराइसकेकी उनलाई आज पनि आफूले हेर्ने प्रत्येक केस नौलो र चुनौतीपूर्ण लाग्छ।
ललिता श्रेष्ठ
उनले हामीलाई पाँच-छ महिनाअघिको एउटा दुखद घटना सुनाइन् –
ललिताको समूहले एक महिलालाई नर्मल सुत्केरी गराएको थियो। बच्चा जन्मिनेबित्तिकै रोएको थियो। उनीहरूले सधैंझै बच्चालाई कपडामा गुटुमुटु पारेर आमाको छातीमा टाँसिदिए। बच्चा सकुशल भएकाले आमाको छातीमा टाँसेर साल निकाल्न थाले।
तर एकैछिनमा बच्चा हल न चल भएको उनीहरूले थाहा पाए।
ललिताले तुरून्तै बच्चालाई हेरिन्। पूरै निलो भइसकेको थियो। उनले हतार हतार डाक्टर बोलाइन्। बच्चालाई शिशुहरूको उपचार कक्षमा लगियो। कृत्रिम सास दिइयो। एक घन्टा नबित्दै बच्चाको मृत्यु भयो।
'त्यो बच्चा ती महिलाको पहिलो सन्तान थियो। उनका आफन्त छोरा पाएको भन्दै खुसी साट्न व्यस्त थिए। हामीले ती महिलालाई बच्चाको मृत्यु भयो भनेर भन्नै सकेनौं। आफन्तलाई पनि भन्न गाह्रो भयो,' ललिताले भनिन्, 'पछि निकै धक मान्दै आफन्तलाई त भन्यौं, तैपनि ती महिलालाई बताउन सकेनौं। हामी आफै शोकको अवस्थामा पुगेका थियौं।'
बच्चाको मुटुमा केही समस्या भएको डाक्टरहरूले अनुमान गरेका थिए। आफूहरूले सुत्केरी मात्र गराउने भएकाले बच्चाको शरीरभित्र कुनै रोग छ कि छैन थाहा नहुने उनी बताउँछिन्।
'गर्भवती महिलाले नै १८ देखि २० साताको बीचमा एकपल्ट भिडिओ एक्सरे गरेर हेर्नुपर्छ। बच्चाको शारीरिक बनावटदेखि कुनै रोग भए-नभएको त्यसबाट थाहा हुन्छ,' ललिताले भनिन्, 'सहरका शिक्षित महिला आफै बुझेर आउँछन्। ग्रामीण महिलामा यस्तो ज्ञान कम देखिन्छ। लापरबाही र अज्ञानताका कारण शिशु मृत्युदर घट्न सकेको छैन।'
नेपालमा नवजात शिशुको मृत्युदर २१ प्रतिशत हाराहारी रहेको सरकारी तथ्यांक छ। सन् २०१६ देखि अहिलेसम्म यसमा सुधार आएको छैन। प्रसूति गृहमै १८ प्रतिशत नवजात शिशुको मृत्यु हुने ललिता बताउँछिन्। उनका अनुसार सुत्केरी गराउँदा आउने जटिलता र चुनौतीले शिशुको मृत्यु हुन्छ।
'सुत्केरी गराउँदा कहिलेकाहीँ लामो समय बेथा लाग्छ। आमाहरूलाई जतिसक्दो छिटो बच्चा निकाल्न पाए हुन्थ्यो भन्ने हुन्छ, तर निश्चित समय नभई बच्चा निस्किँदैन। त्यस्तो बेला आमाले धेरै बल प्रयोग गर्छिन्,' ललिताले भनिन्, 'आमाले धेरै बल प्रयोग गर्दा बच्चाले पनि बल गरेको हुन्छ। त्यस्तो हुँदा बच्चा जबर्जस्ती निस्किन खोज्छ, तर पाठेघरको मुख खुलिनसकेकाले बाटो हुँदैन। यसले बच्चाको टाउको सुन्निन्छ। उसलाई गाह्रो हुन्छ। यसरी बच्चा निस्किने प्रक्रिया नपुगी धेरै बल गर्दा पनि बच्चाको मृत्यु हुने सम्भावना बढ्छ।'
यस्तो अवस्थामा नर्सले बच्चा र आमाको स्वास्थ्य परीक्षण गरिरहनुपर्छ। लामो समय आमाको पाठेघर खुलेन वा बच्चा निस्किने बाटो भएन भने अपरेसन गर्नुपर्छ। आमा र बच्चाको अवस्था हेरेर अपरेसन वा नर्मल सुत्केरी गराउने निर्णय हुन्छ। त्यसपछि अपरेसन गर्नुपर्ने महिलालाई डाक्टरहरूले हेर्छन् भने नर्मल सुत्केरी ललिताको समूहले गर्छ।
'हामी बच्चा रूँदा खुसी हुन्छौं,' ललिताले भनिन्, 'बच्चा रोएन भने हामी रून्छौं।'
सामान्यतया बच्चा जन्मिँदा टाउको पहिला निस्किन्छ। तर कहिलेकाहीँ टाउकोभन्दा खुट्टा पहिला निस्किन सक्छ। त्यस्तो हुँदा पनि जोगाउन गाह्रो हुन्छ। सुत्केरी गराउने क्रममा यस्ता दुखद अनुभव ललिताले धेरै भोगेकी छन्।
यो काममा दु:ख मात्र छैन। संसारमा अन्त कतै नपाइने सुखको अनुभूति पनि उनले प्रशस्तै गरेकी छन्।
-1716803771.jpg)
-1716803642.jpg)
ललितालाई खुसी लाग्ने क्षणमध्ये एक हो, जुम्ल्याहा बच्चाको जन्म।
धेरैजसो आमाले जुम्ल्याहा बच्चा छ भनेर थाहा पाएका हुँदैनन्। कतिपय अवस्थामा त डाक्टरलाई पनि थाहा हुन्न। सुत्केरी गराउने क्रममा एउटा बच्चालाई जन्म दिएर पेट छाम्दा अर्को बच्चा भेटिन्छ। त्यस्तो अवस्थामा आमा र नर्स छक्क पर्छन्।
'दुवै बच्चा सकुशल जन्माउँदा हामीलाई संसारकै सबभन्दा खुसी प्राप्त गरेको अनुभव हुन्छ,' ललिताले भनिन्, 'धेरैजसो आमाले भिडिओ एक्सरे गराएका हुँदैनन्। त्यही भएर उनीहरूलाई दुइटा बच्चा छ भन्ने थाहा हुन्न।'
'मैले धेरैपटक जुम्ल्याहा बच्चाको नर्मल सुत्केरी गराएको छु,' ललिताले खुसी हुँदै भनिन्, 'एउटा बच्चा जन्मिएको आधा घन्टाभित्र अर्को बच्चा निकाल्नुपर्छ, नत्र पाठेघरको मुख साँघुरिन्छ।'
उनका अनुसार जुम्ल्याहा बच्चा पेटमा कसरी बसेका छन् भन्ने आधारमा नर्मल वा अपरेसन गर्ने निधो हुन्छ। कहिलेकाहीँ बच्चा पेटभित्र एकअर्कासँग लक भएर बसेका हुन्छन्। एउटालाई तान्दा अर्कोको घाँटी च्यापिने वा अड्किने सम्भावना हुन्छ। त्यस्तो हुँदा अपरेसन गरिन्छ।
सुत्केरी गराउने क्रममा एकपल्ट ललिताले अचम्मको बच्चा भेटेकी छन् –
दुई-तीन वर्षअघिको कुरा हो। ललिताको समूहले एक महिलालाई नर्मल सुत्केरी गराएको थियो। सुत्केरी गराउनेबित्तिकै बच्चाको शारीरिक बनावट नहेरी उनीहरूले कपडामा लुटुपुटु पारेर आमाको छातीमा टाँसिदिए।
करिब २० सेकेन्डसम्म बच्चा नरोएपछि ललिताले किन रोएन भनेर उचालेर हेरिन्।
त्यति बेला उनी आफै छक्क परिन्। बच्चाको अनुहार अगाडि र पछाडि (दुईतर्फी अनुहार) थियो।
त्यो बच्चा बचाउन सकिन्छ कि भनेर हतार हतार कृत्रिम सास दिइयो। तर सकिएन। त्यसयता उनले फेरि त्यस्तो बच्चा भेटेकी छैनन्।
डेढ वर्षअघिको अर्को नमिठो अनुभव पनि ललिताले हामीसँग बाँडिन्।
बच्चा र आमाको स्वास्थ्य परीक्षण गरेर इमर्जेन्सी वार्डबाट नर्मल डेलिभरीका लागि लेबर रूममा पठाइएको थियो। लेबर रूममा ल्याएको एक घन्टापछि बच्चाको टाउको निस्कियो। तर कुम निस्किएन।
बच्चाको कुम नआउँदा उनले हातै हालेर बेस्सरी तान्नुपर्यो। तान्ने क्रममा बच्चाको हड्डी भाँचियो। त्यो बच्चा झन्डै पाँच किलो थियो। शरीरका विभिन्न भागका हड्डी भाँचिदा आठ-नौ दिनको उपचारपछि बच्चाको मृत्यु भयो।
'यो घटना सम्झिँदा अहिले पनि मेरो मन चिसो हुन्छ,' उनले भनिन्।
उनका अनुसार पाँच केजीको बच्चालाई नर्मल जन्म दिन नसकिने होइन। बच्चा निस्किने बाटो कस्तो छ भन्नेमा यो भर पर्छ।
छ-सात वर्षअघि एक सुत्केरी आमालाई देखेर ललितालाई मनमनै डर लागेको थियो। बच्चाभन्दा पहिला साल आउने हो कि भनेर उनी सशंकित थिइन्। नभन्दै त्यही भयो। उनले तत्काल डाक्टर बोलाइन्। अपरेसन गरेपछि बच्चा बाँच्यो।
'यस्तो घटनामा प्रायः बच्चालाई बचाउन सकिँदैन। तर समयमै थाहा पाएकाले बचाउन सफल भयौं,' उनले भनिन्, 'छ महिनाअघि पनि यस्तै घटना दोहोरियो। त्यति बेला भने हामीले बच्चा बचाउन सकेनौं।'
'आमाको पेटभित्र हुँदा नालको माध्यमबाट बच्चाको शरीरमा रगत सञ्चार भइरहेको हुन्छ। बच्चा बाहिर निस्किनासाथ ऊ आफैले सास फेर्नुपर्छ। नाल पहिला आउँदा बच्चाले सास फेर्न सक्दैन। बच्चा आफैले सास फेरेन भने एक मिनेटभित्र कृत्रिम सास दिनुपर्छ। एक मिनेटभित्र कृत्रिम सास दिन सकियो भने बच्चा बचाउने सम्भावना हुन्छ,' ललिताले अगाडि भनिन्, 'कुनै कुनै केसमा भने पेटभित्र बच्चाले सास फेरे पनि बाहिर निस्किँदा फेर्दैन। त्यस्तो बच्चालाई पनि कृत्रिम सास दिएर बचाउन सकिन्छ। तर एक मिनेटभित्रै कृत्रिम सास दिइसक्नुपर्छ।'
-1716803916.jpg)
पहिला पहिला भर्खर जन्मेको बच्चालाई उल्टो पारेर झुन्ड्याउने र पाटपुट्ट पिट्ने गरिन्थ्यो। अहिले विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले त्यस्तो नगर्न भनेको छ। त्यसैले अस्पतालहरूमा त्यस्ता गतिविधि हुँदैनन्। त्यसको बदला कृत्रिम सास दिइन्छ।
केही अवस्थामा बच्चाको टाउको निस्किन लागेको हुन्छ, तर आमाले बल लगाउन सक्दिनन्। त्यस्तो अवस्थामा भ्याकुम लगाएर तान्ने विकल्प छ। तर बच्चा आउने बाटो सफा छ भने मात्र भ्याकुम प्रयोग गरिन्छ। महिलाले पहिलो सन्तान जन्माउन अपरेसन गरेकी छन् भने धेरै बल प्रयोग गर्न लगाइँदैन। बेथा लम्बिनासाथ अपरेसन गरिन्छ।
पहिला अपरेसन गर्नेहरूका हकमा दोस्रो सन्तान नर्मल जन्माउन खोज्दा पुरानो घाउ भएको ठाउँमा साल अड्किने सम्भावना हुन्छ। त्यसैले अघिल्लो सन्तान अपरेसन गरेर निकालिएको छ भने दोस्रो पनि प्रायः अपरेसन नै गरिन्छ।
पहिलो सन्तान अपरेसन गरेर जन्माएको तीन वर्षपछि दोस्रो सन्तान जन्माउने तयारी गरे नर्मल सुत्केरी हुने सम्भावना हुन्छ। तर सबैका हकमा यो लागू हुँदैन, ललिताले भनिन्, 'तीन पटकसम्म अपरेसन गरेर बच्चा निकाल्न सकिन्छ। त्यसपछि अपरेसन गरेर पनि निकाल्न गाह्रो हुन्छ।'
कतिपय महिलालाई बच्चा सकुशल जन्माइसकेपछि अस्पतालमै छाडेर गएको अनुभव पनि उनले बटुलेकी छन्।
दुई-तीन साताअघि मात्र यस्तो घटना भोग्नुपरेको उनले बताइन्।
त्यति बेला सुत्केरी बेथा लागेकी महिलालाई उनकी सासूले प्रसूति गृह ल्याएकी थिइन्। ललिताको समूहले उनलाई नर्मल सुत्केरी गराएको थियो। छोरी पाएको भन्ने थाहा भएपछि सासूले अस्पतालमै छाडेर हिँडिन्।
'तीन घन्टासम्म सासू सम्पर्कमा नआएपछि हामीले उनका श्रीमानलाई फोन गरेर बोलाउनुपरेको थियो,' उनले भनिन्, 'पछि थाहा भयो, तेस्रोपटक पनि छोरी जन्माएपछि सासू रिसाएर हिँडेकी रहिछन्।'
परिवारले मात्र होइन, कहिलेकाहीँ आमाले पनि बच्चा छाडेर भाग्ने गरेका छन्।
करिब १५ वर्षअघि नर्मल सुत्केरी गराएर पोस्ट-नेटल वार्डमा पुर्याइएकी एक आमा बच्चा छाडेर भागेकी थिइन्। त्यस्तो अवस्थामा प्रहरीलाई खबर गरेर बच्चा बाल मन्दिर पठाउने गरेको उनले बताइन्।
'यस्ता घटना अचेल धेरै हुँदैनन्,' उनले भनिन्।
लेबर रूममा पछिल्लो समय अर्को परिवर्तन पनि आएको छ। पहिले श्रीमतीलाई सुत्केरी बेथा लाग्दा श्रीमान लेबर रूममा बस्न रूचाउँदैन थिए। २०६४ अघिसम्म श्रीमानलाई बस्न पनि दिइँदैन थियो। तर अहिले उनीहरू आफै बस्न रूचाउँछन्।
'परिवारका अरू सदस्यभन्दा श्रीमान नै कुरूवा बस्न रूचाउँछन्,' ललिताले भनिन्, 'लेबर रूममा पनि श्रीमतीसँगै बस्न खोज्छन्।'
यति मात्र होइन, नर्स र सहयोगीहरूले सुत्केरी आमालाई प्रयोग गर्ने भाषा र व्यवहारमा पनि सुधार आएको उनी बताउँछिन्।
'पहिले आमाहरू चिच्याएको देख्दा झर्को लागेर वा भनेको नमान्दा गाली गर्थ्यौं। बिस्तारै उनीहरू दुखाइ सहन नसकेर कराएका हुन् भन्ने बुझ्दै गएँ। नयाँ नर्स र सहयोगीहरूलाई पनि गाली गर्न हुँदैन भनेर सिकाउन थालेका छौं,' उनले भनिन्, 'अचेल उनीहरू कराउँदा काउन्सिलिङ गरिन्छ। सम्झाउने-बुझाउने काम हुन्छ।'
कहिलेकाहीँ बच्चा जन्माउने बाटो सफा गर्न खोज्दा सुत्केरीले छुन दिइनन् भने त्यस्तो अवस्थामा अलि ठूलो स्वरमा भन्नुपर्ने उनको अनुभव छ।
-1716803952.jpg)
-1716804015.jpg)
ललितालाई यो क्षेत्रमा आउन उनकै दिदीले प्रोत्साहन गरेकी थिइन्। काठमाडौं नक्सालमा जन्मिएकी उनी पाँच सन्तानमध्ये कान्छी हुन्। उनका एक दिदी र तीन दाजु छन्। उनले पिके क्याम्पसबाट प्लस-टू गरेकी हुन्। प्लस-टू पढेर बसिरहँदा उनकी दिदीले नर्स पढ्न सल्लाह दिएकी थिइन्।
ललिताले २०५६/५७ सालतिर महाराजगन्ज क्याम्पसमा नर्सिङ पढिन्। दोस्रो वर्ष अध्ययन गर्दा प्राक्टिकलका लागि प्रसूति गृह आइपुगेकी थिइन्। त्यस क्रममा एन्टिनेटल वार्ड, बर्थिङ वार्ड र लेबर वार्ड मा छ-छ साता बिताउनुपर्थ्यो। एउटा वार्डमा ६ साता बिताउँदा न्यूनतम २५ वटा केस लिनुपर्ने नियम थियो। त्यसमा उनीहरूलाई सिनियर नर्सले सघाउँथे।
'सुरूआती दिनमा सुत्केरी गराउँदा आमाहरू चिच्याएको देखेर, रगत र मोटो-मोटो सालनाल देखेर डर लाग्थ्यो। बच्चा जन्माइसकेपछि घाउ सिलाउन हात समातेर सिकाइदिनुपर्थ्यो,' उनले भनिन्, 'बच्चा तान्दा पनि निकै डर लाग्थ्यो। मान्छेले मान्छेलाई तान्नुपर्ने कस्तो काम हो भन्ने लाग्थ्यो।'
नर्सिङ पढ्ने क्रममा ११४ दिनको प्राक्टिकल सकेर फर्किने बेला ललिताले साथीहरूलाई भनेकी थिइन्, 'यस्तो काम गर्न हामी नआउने है!'
साथीहरू उनको कुरामा सहमत भएका थिए। तर सोचेजस्तो भएन।
२०५९ सालमा उनी साथीहरूकै लहै लहैमा प्रसूति गृह थापाथलीमा काम गर्न आइन्।
सुरूमा उनको ड्युटी एन्टिनेटल वार्डमा थियो। उनले त्यहाँ सहयोगीका रूपमा काम गरिन्। त्यति बेलासम्म उनी आमाहरू चिच्याउँदा डराउँथिन्। सिनियर नर्स नहुँदा बच्चा जन्मिहाल्यो भने के गर्ने, कसरी गर्ने भनेर मनमनै आत्तिन्थिन्। तर त्यस्तो अवस्था उनले कहिल्यै सामना गर्नुपरेन।
एन्टिनेटल वार्डमा दुई वर्ष काम गरेपछि ललितालाई लेबर रूम पठाइयो। त्यहाँ पनि सुरूमा सिनियर नर्सकै रेखदेखमा काम गरिन्। नयाँ नर्सहरूले सुत्केरीको केस लिन थालिसक्दा पनि उनले लेबर रूममा खटाइएको पाँच-छ महिनासम्म केस लिएकी थिइनन्।
'त्यसपछि चाहिँ सिनियर नर्सले तिमी आफै हेर, केही भयो भने बोलाऊ भनेर मजस्तै जुनियरहरूको साथमा छाडिदिन थाल्नुभयो। त्यसपछि बिस्तारै हिम्मत बढ्दै गयो,' उनले भनिन्।
ललिता अहिले एक्लै पनि सुत्केरी गराउँछिन्। सुत्केरी गराउनुका साथै कुपन्डोलमा पिसिएल नर्सिङका विद्यार्थीलाई पढाउँछिन्।
उनले आफै भने सुत्केरी अनुभव भोगेकी छैनन्। अविवाहित ललिता आफूलाई बच्चा जन्माउने रहर पनि नभएको बताउँछिन्।
'सुत्केरी आमाहरूको पीडा देखेर विवाह र बच्चा जन्माउन मन नगरेको भनेर परिवारले आरोप लगाउनुहुन्छ,' उनले हाँस्दै भनिन्, 'तर त्यस्तो होइन।'
(सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी)
***