समाजको स्त्रीद्वेषी चिन्तनका कारण महिलाहरूको बोलीचाली, लवाइखवाइ र चालचलनका आधारमा टीकाटिप्पणी गरिएको हामीले सुन्दै आएका छौं। तर झापामा एउटा यस्तो घटना भयो, जहाँ स्त्रीद्वेषी चिन्तनले ठाउँको नाम नै परिवर्तन गराइदियो।
बिना लिम्बू ढुंगानाको स्थायी थातथलो झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ हो। तर यति मात्र भन्दा नजिकका छरछिमेकीबाहेक अरूले ठेगाना ठम्याउन सक्दैनन्।
यी कुनै पनि ठाउँ-ठेगाना नभनी सिधै 'हापेन चोक' भनियो भने ठ्याक्कै उनकै घरआँगन हो भनेर बुझिन्छ।
खासगरी झापाको चारआली हुँदै मेची राजमार्ग यात्रा गर्नेहरूका लागि हापेन चोक चिरपरिचित नाम हो। यसले 'हाफ प्यान्ट चोक' भन्ने बुझाउँछ।
हापेन चोक र बिना लिम्बू ढुंगानाबीच अन्योन्याश्रित सम्बन्ध छ। सम्बन्ध मात्र होइन, यो ठाउँको नाम 'हापेन चोक' रहनुको एक मात्र कारण नै बिना हुन्।
कुनै बेला उनले लगाउने हाफ प्यान्ट नै अन्ततः ठाउँको नाममा परिणत भएको हो। त्यसैले यो कथा हापेन चोकको नाम कसरी रह्यो भन्ने वृत्तान्त मात्र होइन, बिना लिम्बू ढुंगानाको जीवनकथा पनि हो।
यो कथा ३० वर्षअघि सुरू हुन्छ, जब बिना र उनका पति शंकर ढुंगाना भर्खरै बिहे गरेर घरजम गर्ने लक्ष्यसहित यो ठाउँ आइपुगेका थिए।
गरिखाने इलम खोज्ने क्रममा चियाखाजाको पसल चलाउने निधो गर्दै उनीहरूले त्यस बेलाको 'तारा चोक' मा व्यवसाय सुरू गरे।
पसलमा काम गर्दा बिना दिनभरिजसो एक्लै हुन्थिन्। गर्मीमा शितल हुने र काम गर्न पनि सजिलो हुने भएकाले उनी हाफ प्यान्ट लगाउँथिन्।
उनी त आफ्नो सजिलोका लागि छोटो कपडा हाफ प्यान्ट लगाउने भइन्, तर देख्नेहरू चाहिँ भयंकर दृश्य देखेझैं असजिलो मान्थे। कुनै आश्चर्यजनक घटना देखेझैं फर्की फर्की हेर्थे। हुँदा हुँदा बिनाको पसल जानुपर्यो भने मान्छेहरू 'हापेन्नी दिदीको पसलमा भेटौं' भन्न थाले। उनलाई 'हापेन्नी दिदी' भन्नेहरूको संख्या बढ्दै गयो।
र, आखिरमा बिनालाई चिन्न मात्र होइन, यो ठाउँको नाम नै हापेन चोकमा परिणत भयो।
झापाको हापेन चोक। तस्बिर: राजु अधिकारी/सेतोपाटी
बिनाका बुबा भारतीय सेनाका जागिरे थिए। तीन-तीन वर्षमा बुबाको सरूवा भइरहन्थ्यो। जसै बुबाको पल्टन एक ठाउँबाट अर्को ठाउँ सर्थ्यो, उनको पारिवारिक पल्टन पनि कुम्लोकुटुरो बोकेर त्यतै लाग्थ्यो। चार जना दिदीबहिनी, एक जना भाइ र आमाबुबासहितको ठूलो परिवार थियो उनको।
बुबाको जागिरका कारण बिनाको बाल्यकाल झन्डै झन्डै फिरन्ताझैं बित्यो। उनी कहिले भारतको महाराष्ट्र पुगि्न, कहिले पुना। कहिले आसाममा हुर्किइन्, कहिले पश्चिम बंगाल, बिहार त कहिले भारतकै अर्को कुनै राज्य।
'मेरो जन्म पुनामा भएको हो। म भारतका विभिन्न राज्यको पानी खाँदै हुर्केको हुँ,' ६३ वर्षीया बिनाले आफ्नो विगत सम्झिँदै भनिन्, 'बुबाको जागिरका कारण एकै ठाउँमा बसिरहन पाइएन। तीन-तीन वर्षमा नयाँ ठाउँमा पोस्टिङ हुन्थ्यो र बुबासँगै हामी पनि नयाँ ठाउँमा सरूवा हुन्थ्यौं।'
यसरी हरेक तीन वर्षमा उनको हावापानी, खानपिन र रहनसहन बदलियो। ठाउँपिच्छे उनले सुन्ने भाषा फरक हुन्थ्यो। खानाको स्वाद फेरिन्थ्यो। लगाउने लुगा फेरिन्थ्यो। हाफ प्यान्ट पनि त्यसैको उपज हो।
'इन्डियामा हुँदा हामी जाडोमा बाहेक अरू बेला हाफ प्यान्ट नै धेरै लगाउँथ्यौं। त्यही सजिलो लाग्थ्यो,' उनले भनिन्, 'त्यहाँ हाफ प्यान्ट लगाउनुलाई सबैले स्वाभाविक रूपमा लिन्थे। कसैले असहज मान्दैनथे।'
२०४५ सालको कुरा हो। उनका बुबाको पोस्टिङ पश्चिम बंगालको बागडोगरामा भयो। बागडोगरा नेपाली सीमा नजिकको सानो सहर हो, जहाँ रहँदा-बस्दा बिनाको चिनजान शंकर ढुंगानासँग भयो। उनको परिवारसँग निकटता पनि बढ्यो। र, त्यही निकटता एकदिन प्रेम विवाहमा परिणत भयो।
'खासमा ऊ (शंकर) मभन्दा १० वर्ष कान्छो हो,' बिनाले हाँस्दै सुनाइन्, 'माया बसेपछि उमेरले नछेक्ने रहेछ। २०४९ सालतिर हामी बागडोगराबाट भागेर नेपाल आयौं।'
नेपाल आएपछि उनीहरू सबभन्दा पहिला झापा चारआलीबाट उत्तरमा रहेको र मेची राजमार्ग दायाँबायाँ फैलिएको बुधबारे बजार पुगे। त्यहाँ शंकरकी दिदीको घर थियो।
बुधबारे आएको केही दिनमै बिनाका लाहुरे बुबा छोरी खोज्दै त्यहीँ आइपुगे र उनीहरू दुवैलाई लिएर गए।
यहाँबाट जाँदा बिना परिवारको सहमतिमा विवाह हुने भयो भनेर खुसी भएकी थिइन्। तर उनले सोचेजस्तो भएन।
'घर पुगेपछि बुबाले 'अहिले तिमीहरूको बिहे गर्ने बेला भएको छैन' भन्दै हाम्रो जोडी छुटाइदिनुभयो,' उनले भनिन्, 'हामी पनि त्यति सजिलै हार मान्नेवाला कहाँ थियौं र! बुबाले जोडी छुटाइदिएको महिनादिन नबित्दै हामी फेरि 'हमने घर छोडा है' भन्ने शैलीमा भागेर नेपालै आयौं।'
दोस्रोचोटि पनि घरबाट भागेपछि बुबाले खोजबीन गर्न छाडिदिए।
बिना र शंकर बुधबारेमै बस्न थाले।
करिब ६ महिना बुधबारेमा बस्दा बिना र शंकरको जोडी बेला बेला काली खोलाको उकालो उक्लेर 'तारा चोक' सम्म घुम्न जान्थे। बुधबारे बजारबाट अढाई किलोमिटर उत्तरमा रहेको यो ठाउँलाई मेची राजमार्गले बीचमा चिरेको थियो। दायाँबायाँ सयौं शिरिषका बोट थिए।
'अहिले तीन-चारवटा शिरिषको बोट फुल्दा त राम्रो देखिएर यो ठाउँ भाइरल हुन्छ, झन् त्यति बेला सयौं शिरिषको रूख एकैचोटि फूल्दा कति राम्रो देखिन्थ्यो होला!' बिनाले भनिन्, 'त्यही रमाइलो दृश्य र बुधबारेभन्दा शितल पनि भएकाले हामीले यही चोकतिर पसल खोल्ने योजना बनायौं।'
अहिले चोकमा जहाँ उनीहरूको घर छ, त्यही ठाउँमा एक पाका व्यक्तिको सानो पसलसहितको घुम्ती थियो। त्यो घुम्ती र जमिन उनीहरूले ३ हजार २ सय रूपैयाँमा किने। र, त्यहीँ चियाखाजा पसल सुरू गरे।
संयोग कस्तो भयो भने, त्यही समय मेची राजमार्गमा कालोपत्रे सुरू भयो। तारा चोक राजमार्गको दायाँबायाँ छरिएका बस्तीहरूको संगमस्थल थियो। झापाबाट इलाम उक्लिनेहरू हुन् वा इलामबाट झापा झर्नेहरू; ती सबैका लागि चियाखाजा खाने एउटै स्टेसन तारा चोक नै थियो।
यहाँ उनीहरू बसेको ठाउँ वरिपरि बर्ने चिया कमान थियो। नेपाल चिया विकास निगम मातहतको यो बगान अहिले त्रिवेणी समूहले सरकारबाट भाडामा लिएर चलाइरहेको छ। बिस्तारै यही बगान छेउछाउका जंगल र झोडा फाँडेर बस्ती बाक्लिँदै गयो। पक्की बाटो बनेपछि गाडीको चहलपहल बाक्लियो। त्यही बेला बिजुलीबत्ती गाउँ छिर्यो।
बस्ती थपिँदै गएपछि बिनाको चियाखाजा पसल राम्रै चल्न थाल्यो। चक्लेट, बिस्कुट, चिया र अरू खिद्रीमिद्री सामानबाट सुरू भएको पसलमा बिस्तारै मदिरा र अन्य पेय पदार्थका बोतल थपिँदै गए।
'पसल राम्ररी चल्न थालेपछि म बिहानदेखि बेलुकीसम्म काममा जोतिनुपर्ने भयो,' बिनाले सम्झिइन्, 'त्यही काममा सजिलो होस्, शितल पनि होस् भनेर मैले हाफ प्यान्ट लगाउन थालेँ।'
उनले त आफ्नो सहजताका लागि हाफ प्यान्ट लगाएकी थिइन्, तर उनलाई थाहा थिएन — उनी हुर्केबढेको भारतका सहरहरूमा सहजै लिइने हाफ प्यान्टलाई सुदूरपूर्वको सानो नेपाली गाउँमा ज्यादै असहज मानिन्थ्यो!
'मलाई हाफ प्यान्ट लगाएको देखेर पसलमा आउनेहरू अजीब नजरले हेर्थे। छक्क परेजस्तो गर्थे,' बिनाले भनिन्, 'त्यति बेलासम्म यताका कोही पनि लेडिजले त्यस्तो छोटो कपडा लगाउँदैन रहेछन्।'

त्यो समय बिना धेरैजसो हिन्दी बोल्थिन्। नेपाली बोल्दा पनि हिन्दी लवज मिसिएको हुन्थ्यो। अहिले पनि उनी कुराकानी गर्दा हिन्दी शब्दहरू मिसाउँछिन्। हिन्दी लवजमा बोल्ने भएकैले एक जना छिमेकी भाइले 'हिन्दी दिदी' भनेर बोलाउँथे। पछि जब हाफ प्यान्ट लगाएर पसलमा बस्न थालिन्, तिनै भाइले 'हापेन्नी दिदी' भनेर जिस्क्याउन थाले।
छिमेकी भाइले पहिलोचोटि 'हापेन्नी दिदी' भन्दा बिनाले रिसाउँदै उनलाई लखेटेकी थिइन्।
पछि पछि पनि जब ती छिमेकी भाइ 'हापेन्नी दिदी' भन्थे, बिना रिसाउँदै उनलाई लखेट्थिन्। अलि पर पुगेर उनी झन् चर्को स्वरमा 'हापेन्नी दिदी' भन्दै चिच्याउँथे।
'एक-दुईपटक खेदेपछि केटाकेटी मान्छेलाई के गर्नु भनेर छाडिदिएँ,' उनले भनिन्, 'त्यो भाइले हापेन्नी दिदी भनेपछि अरूले पनि त्यसै भन्न थालेछन्। मैले चाहिँ अलि पछि मात्र थाहा पाएँ।'
२०५० साल हिउँदको कुरा हो। बिना पसलको काममा व्यस्त थिइन्। पहाडतिरबाट हुइँकिएर आएको एउटा यात्रुवाहक ट्याक्सी उनको पसलअगाडि घ्याच्च रोकियो। गाडीका स्टाफ जोड जोडसँग कराए, 'ल हापेन चोक आयो। ओर्लिम् त!'
छिमेकी भाइ र अरू गाउँलेहरूले 'हापेन्नी दिदी' भनेको सुन्दा सुन्दा बानी परिसकेकी बिनाका लागि गाडीका कर्मचारीले 'हापेन चोक' भनेर ठाउँको नाम नै राख्नु अनपेक्षित थियो। उनी ती कर्मचारीलाई थर्काउनुपर्यो भनेर बाहिर निस्कँदै थिइन्, त्यति बेलासम्म गाडी दक्षिणतिर लागिसकेको थियो।
बिनाले त्यसै रात आफ्ना श्रीमान शंकरलाई भनिन्, 'हापेन्नी दिदी भनेको त सहेकै थिएँ, अब त गाडीवालाले पनि हापेन चोक भन्न थालेछ।'
शंकरले कुनै जबाफ दिएनन्।
'मैले यो कुरा धेरै दिनअघि नै थाहा पाइसकेको थिएँ, बिनालाई भनेको थिइनँ,' शंकरले हामीसँगको कुराकानीमा भने, 'त्यो दिन उनले पहिलोपटक सुनिछन्। उखुमै रिसाइन्।'
'किन रिसाउनुभयो त तपाईं?'
हाम्रो यो प्रश्न सुनेर बिना एकछिन मज्जाले हाँसिन्, अनि भनिन्, 'मलाई नै जिस्क्याएको होलाजस्तो लाग्थ्यो। म जेसुकै लाऊँ, मैले लगाएको लुगाकै आधारमा ठाउँको नाम राख्नु त ठिक होइन नि! पछि पछि त गाडीका स्टाफदेखि अरू मान्छेसम्मले दिनहुँ हापेन चोक भनेको सुन्न थालेँ। अनि रिसाउन छाडिदिएँ। रिसाएर पनि के गर्नू! कति जनासँग रिसाऊँ, कति दिन रिसाऊँ!'
'मान्छेहरू तपाईंसँग बोल्दा कसरी बोल्छन्? तपाईंको आँखामा हेरेर बोल्छन्। मसँग बोल्दा खुट्टातिर हेरेर बोल्थे। उनीहरू छक्क पर्दै मेरो खुट्टातिर आँखा घुमाइरहेका हुन्थे। तपाईंलाई त्यस्तो भयो भने कस्तो लाग्छ?' उनले अगाडि भनिन्, 'मलाई सुरू सुरूमा धेरै गाह्रो भयो। तैपनि हाफ प्यान्ट लगाउन छाडिनँ।'
'मैले लगाएको लुगामा खिसी गरेर, त्यसको नाम राखेर अरूलाई रमाइलो हुन्छ भने ठिकै छ भनेर मन बुझाएँ,' उनले भनिन्।
हुन पनि स्त्रीद्वेषी चिन्तनले आजसम्म महिलाको लवाइखवाइ, बोलीचाली र चालचलनबारे टीकाटिप्पणी गर्ने प्रवृत्ति हराइसकेको छैन। समाजका गन्यमान्य व्यक्तिहरू नै यस्ता टीकाटिप्पणी गर्छन् र सुन्नेहरू रमाइलो मानेर ताली पिट्छन्। झन् आजभन्दा ३० वर्षअघि त समाजमा यस्तो चिन्तन नराम्रो हो भन्ने स्थापित नै थिएन। महिला होस् वा अरू कोही; उनीहरूको लवाइखवाइ र बोलीचालीका आधारमा टीकाटिप्पणी गर्नुहुन्न भन्ने मान्यता नै थिएन।
त्यस्तो परिवेशमा बिनाले आफ्नो हाफ प्यान्टलाई लिएर उपहास गरिएको हो भन्ने जान्दाजान्दै बुझ पचाइदिइन्।
उनले उजुरबाजुर वा प्रतिवाद गर्न चाहेकी भए पनि उनको कुरा सुन्ने ठाउँ नै कहाँ थियो र!
बिस्तारै नयाँ खुलेका पसल र होटलहरूले आफ्नो बोर्डमा 'हापेन चोक' लेख्न थाले।
लामो समयदेखि स्थापित 'तारा चोक' हापेन चोकमा परिणत भयो।

स्थानीयका अनुसार तारा चोक पनि एक महिलाकै नामबाट रहेको थियो। यो ठाउँको नाम पटक पटक परिवर्तन भएको स्थानीय मेघराज लिम्बू बताउँछन्।
'पहिले यो ठाउँलाई तारा चोक भनियो। पछि गाविस जाने बाटो, शिविरे चोक (टिमाईस्थित भुटानी शरणार्थी शिविर) पनि भनियो,' लिम्बूले भने, 'जेसुकै नामको बोर्ड राखे पनि हापेन चोकलाई कसैले जित्न सकेन। हुँदाहुँदा काठमाडौंबाट काटिने बसको टिकट पनि हापेन चोक भनेरै काटिन थाल्यो।'
बिनाकै छिमेकी तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य मुनाराज शेर्मा पनि सबैले हापेन चोक भन्न थालेपछि ठाउँको नाम नै त्यही स्थापित भएको बताउँछन्।
'हामीले काठमाडौंको बसपार्कमा बर्ने वा शान्तिनगर भन्यो भने टिकट काट्ने कर्मचारीहरू अलमलमा पर्थे। हापेन चोक भनेपछि बल्ल उनीहरू प्रस्ट हुन्थे,' शेर्माले भने, 'बिना दिदीले लगाएको पोसाकबाटै यो ठाउँको नाम हापेन चोक रहेको हो।'
शेर्माका अनुसार यहाँको पुरानो बस्ती राणाकालीन हो। पुरानो सुकुम्बासी बस्ती भने २०१७ सालमा बसेको थियो।
शेर्माले 'हापेन चोकको महिमा' शीर्षकको आफ्नो निबन्धमा लेखेका छन्, 'यो चोकमा बिना दिदी आएर बसिन्। व्यापार गरिन्। उनको व्यापार खुब चल्यो। उनी सायद भारतबाट आएकी थिइन्। इन्टरकास्ट म्यारिज (अन्तरजातीय विवाह) थियो उनको। फेसनेबल थिइन्। हटपेन्ट लाउँथिन्। सोमबहादुर मगरले तारा चोकमा हाफ प्यान्ट लगाउने दिदी बस्छन्, हापेन चोक जाऊँ भन्दै गाउँ पिट्यो। ऊ यो गाउँको बिबिसी नै थियो। कुरालाई घोलेर हँसाउने राम्रो हास्य कलाकार थियो। एक कान, दुई कान हुँदै रातारात हापेन चोक भयो। तारा चोक, गाविस चोक, शान्ति चोकजस्ता कुनै नामले लछारपाटो लाएन।'
शेर्माले लेखेजस्तै ती कुनै नामले 'लछारपाटो' नलगाएको बिनालाई पनि राम्रोसित थाहा छ।
'मान्छेहरूले कतिपटक अरू नै नामको बोर्ड टाँगे,' उनले भनिन्, 'तर हापेन चोक नाम मान्छेको मुखमै झुन्डिरह्यो। अहिलेसम्म सबैले त्यही भन्छन्।'
भन्ने मात्र होइन, गाउँपालिकादेखि अन्य सरकारी निकायले पनि यो ठाउँलाई 'हापेन चोक' भनेरै लेख्ने गरेका छन्। अरू त अरू, बिनाको परिवारकै सदस्यहरू पनि धक नमानी हापेन चोक भन्छन्।
'हाम्री छोरी अहिले सिलिगुढी बस्छिन्। उनलाई पनि कसैले घर कहाँ भनेर सोधे 'हापेन चोक' भन्ने गरेकी छन्,' बिनाले हाँस्दै सुनाइन्।
उनले यो नाम कसरी रह्यो भन्ने कथा पनि छोरीलाई सुनाएकी छन्। कथा सुन्दा छोरी हाँसेकी थिइन्।
'पहिला पहिला रिस उठे पनि अहिले रमाइलो लाग्छ,' बिनाले भनिन्, 'मलाई अब कसैसँग केही गुनासो बाँकी छैन।'
गुनासो हुन छाडेको चाहिँ यताका महिलाले पनि हाफ प्यान्ट लगाउन थालेपछि हो। समयक्रममा अन्य महिलाले पनि हाफ प्यान्ट लगाउन थालेपछि ठाउँको नामले आफ्नो मात्र उपहास गरेको हो भन्ने लाग्न छाडेको उनी बताउँछिन्।
'पहिला पो हाफ प्यान्ट लगाउने मै मात्र थिएँ, अलि पछि त सबैले लगाउन थाले,' उनले भनिन्, 'गाउँमा धेरै थोक बदलियो। बाटो आयो। बिजुली आयो। गाडी आयो। फेसन पनि आयो। त्यसैले कुनै कुरा स्थायी हुँदैन। हिजोको उपहास आजको प्रशंसा बनेको छ जस्तो लाग्छ।'
उनका पति शंकर पनि ठाउँको नामले गर्व लाग्ने बताउँछन्।
'धेरैजसो ठाउँ असल मान्छेको राम्रो कामले वा फटाहाहरूको नराम्रो कामले चिनिएको हुन्छ,' उनले भने, 'मेरी श्रीमतीले हाफ प्यान्ट लगाएकै कारण ठाउँको नाम बन्यो त के बिग्रियो? ठिकै छ।'
'हामी मरेपछि पनि सम्झना त रहिरहने भयो नि,' बिना र शंकरले एक स्वरमा भने।
***