साधारण-असाधारण
हेमचन्द्र दाहाल वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा गाडी चलाउँछन्।
गत शुक्रबारको कुरा हो। विभागका अधिकारीहरू बजार अनुगमनमा निस्केका थिए।
अनुगमन टोली बबरमहल कार्यालयबाट चापागाउँ पुग्यो। गन्तव्य थियो, चापागाउँ दोबाटोको एउटा फर्निचर कम्पनी। र, गाडी हाँकेका थिए हेमचन्द्रले।
टोलीले उक्त कम्पनीका फर्निचरमा मूल्य नटाँसिएको फेला पार्यो। कानुनअनुसार यस्ता वस्तुको मूल्य उपभोक्ताले देख्ने गरी राखेको हुनुपर्छ। पालना नगर्नेलाई वाणिज्य विभागले कारबाही गर्न सक्छ; जरिवाना तिराउन सक्छ।
चापागाउँ दोबाटोको पसललाई भने अनुगमन टोलीले कारबाही गरेन; जरिवाना पनि तिराएन।
उनीहरूले कानुन उल्लंघन गरेकोमा कम्पनी सञ्चालकलाई सचेत गराए। उपभोक्ताले देख्ने गरी मूल्यसूची कसरी टाँस्ने भनेर सिकाए। र, चेतावनी दिँदै भने, 'आज हामी पहिलोपटक अनुगमनमा आएकाले सचेत गराएर जाँदैछौं, अर्कोचोटि आउँदा पनि मूल्यसूची फेला नपरे कारबाहीमा पर्नुहुन्छ।'
यति भनेर टोली त्यहाँबाट फर्कियो र अनुगमन निम्ति अर्को पसलमा छिर्यो।
यसबीच हेमचन्द्र विभागका हाकिमहरूलाई गाडीमा कुरेर बसेका थिएनन्। उनी सरकारी टोली सँगसँगै हिँडिरहेका थिए। टोलीका सदस्यले गर्ने हरेक काममा बराबर सरिक हुँदै थिए। धेरै ठाउँमा त कसले कुन नियम उल्लंघन गर्यो भनेर सम्झाउने र त्यसबापत् जरिवाना तोक्ने काम नै हेमचन्द्रले गरेका थिए।
'म पदले भन्नुपर्दा वाणिज्य विभागको हलुका सवारी चालक हुँ, तर अनुगमनमा जाँदाजाँदा यति अभ्यस्त भइसकेँ, मलाई सरहरूले टोलीकै अंग ठान्नुहुन्छ,' हेमचन्द्रले भने, 'मलाई पनि आफूले जानेको, बुझेको कुरा भन्न पाउँदा रमाइलो लाग्छ।'
'त्यो फर्निचर कम्पनीलाई ५० हजारदेखि १ लाख रूपैयाँसम्म जरिवाना हुनसक्थ्यो। विभागको टोली पहिलोपटक त्यहाँ पुगेकाले जानकारी नहोला भनेर सचेत मात्र गराएका हौं,' उनले अगाडि भने, 'तर सधैं यस्तो गर्दैनौं। अटेर गरेको वा कमसल सामान बेचेको फेला परे ठाउँको ठाउँ कारबाही हुन्छ।'
विभागले दिनको दुईदेखि तीनवटा टोली अनुगमनमा पठाउँछ। दसैं-तिहारमा बजार चापाचाप हुँदा टोली संख्या बढेर ८-१० वटा पुग्छ। त्यस्तो बेला विभागका अन्य अधिकारीलाई जस्तै चालक हेमचन्द्रलाई पनि भ्याइनभ्याइ हुन्छ। अनुगमनमा जाने हरेक टोली उनी आफूसँगै परिदिए हुन्थ्यो भन्ने चाहन्छ।
हामीले नियमित अनुगमनमा जाने विभागका तीन जना अधिकारीसँग हेमचन्द्रबारे कुरा गर्यौं। ती सबैले उनको अनुभव र दक्षताको मुक्तकन्ठले प्रशंसा गरे।
शाखा अधिकृत राजन कँडेल भन्छन् —
वाणिज्य विभागमा सात जना हलुका सवारी चालक काम गर्छन्, जसमध्ये हेमचन्द्रजी हरेक निरीक्षण अधिकृतले आफूसँग लैजान खोज्ने चालकमा पर्नुहुन्छ। उहाँ एकदमै विनम्र र अनुशासित हुनुहुन्छ। कार्यालयमा सधैं समयमा उपस्थित हुनुहुन्छ। बजारको अनियमितता र कमजोरीबारे उहाँसँग मिहिन जानकारी छ। त्यसैले उहाँको साथमा गएको अनुगमन टोलीले प्रायः दुईदेखि तीन लाख रूपैयाँ जरिवाना गराएकै हुन्छ।
बजारमा जाँदा सूक्ष्म ढंगले खोजबिन गर्नु हेमचन्द्रजीको विशेषता हो। उहाँ आफ्नो टोलीमा सामेल निरीक्षण अधिकृतहरूलाई जरिवाना गर्ने आधार देखाउनुहुन्छ, जसले हामीलाई कारबाही गर्न सजिलो हुन्छ।
निरीक्षण अधिकृत विजय भट्टराईको पनि हेमचन्द्रबारे यस्तै राय छ। उनी भन्छन् —
हेमचन्द्रजीसँग जाँदा काम सहज हुन्छ। त्यसैले सबै निरीक्षण अधिकृतहरू उहाँ आफ्नो टोलीमा परिदिए हुन्थ्यो भन्ने आस गर्छन्। अनुगमनमा जाँदा उहाँ सामान र कारोबार स्थलको गहिरिएर अध्ययन गर्नुहुन्छ। कतिपयले यो सामान ठिकै होला भनेर सतही रूपमा हेर्छन्। उहाँको भने भित्री तहसम्म पुगेर केलाउने बानी छ।
उहाँको खास ड्युटी गाडी चलाउने हो। हामी सँगसँगै अनुगमनमा हिँड्दा उहाँले थप प्रोत्साहन वा अतिरिक्त भत्ता पाउने होइन। तर यो काममा उहाँको आफ्नै रूचि छ र दख्खल पनि छ। इमानदार भएर काम गर्नु उहाँको स्वभाव हो। उहाँको यही स्वभावले बजार अनुगमन चुस्त बनाउँछ।
विभागका निरीक्षण अधिकृत उमा श्रेष्ठ पनि हेमचन्द्रलाई वफादार र समर्पित भएर काम गर्ने कर्मचारी मान्छिन्। भन्छिन् —
हलुका सवारी चालक भएकाले मेरो काम अरूलाई गन्तव्यसम्म पुर्याउने मात्र हो भन्ने भावना उहाँमा छैन। कोही मान्छे यो काम त मेरो होइन भनेर पन्छिने स्वभावका हुन्छन्। हेमचन्द्रजी भने जुनसुकै काममा सामेल भएर लागिपर्नुहुन्छ। हाम्रा अरू चालक राम्रा छैनन् भन्ने होइन, तर हेमचन्द्रजीसँग जाँदा केही सहज अवश्य हुन्छ।
यी तीन कर्मचारीले हेमचन्द्र दाहालबारे राखेको धारणा सुनेपछि हामी के निष्कर्ष निकाल्न सक्छौं भने — हेमचन्द्र भलै सरकारी गाडी हाँक्ने 'साधारण' काम गर्छन्, तर उनी आफैमा असाधारण छन्। जीवनप्रति उनको उत्साह, कामप्रति उनको जाँगर, आफ्नो कार्यालयका कर्मचारीप्रति उनको सद्भाव र कार्यालयको उद्देश्यप्रति उनको समर्पण सबै असाधारण छन्।
यिनै असाधारण गुणका कारण विभागदेखि मन्त्रालयसम्म उनको नाम चम्किएको छ; उनको जिन्दगीले गति समातेको छ।

हेमचन्द्रको पेसागत जीवनयात्रा २०५१ सालबाट सुरू हुन्छ, जब उनी आफ्नो गाउँ भोजपुरबाट काठमाडौं आएका थिए।
गाउँमा ९ कक्षासम्म पढेका उनले काठमाडौं आएर कामसँगै पढाइलाई निरन्तरता दिऊँला भन्ने सोचेका थिए। तर उनी पढाइभन्दा काममै बढ्ता अल्झिए।
'गाउँमा दुःखै दुःखमा हुर्किएको थिएँ। त्यही भएर पहिले कमाउनैपर्ने बाध्यता थियो,' जीवनका सुरूआती दिनहरू सम्झँदै हेमचन्द्रले भने, 'पढेरभन्दा बढेर ठूलो भइन्छ भन्ने सोच आउन थाल्यो।'
यो सोचले उनको पढाइ त छुटायो, तर आफ्नो कामलाई माया गर्न र आफ्नो जिम्मेवारीमा इमानदार बन्न सिकायो।
काठमाडौं आएपछिका दिनमा उनले जे-जे काममा हात हाले, ती सबै काम प्रेमपूर्वक गरे। हरेक काम समात्दा उनी 'मेरो जिन्दगी नै यही हो' भन्ने सोच्थे र आफ्नो तन-मन त्यसैमा समर्पण गर्थे।
उनले सुरूमा भद्रकालीको एउटा बिजुली कम्पनीमा वायरिङको काम गरे। त्यहाँ दुई वर्ष बिताउँदा कसैलाई पनि गुनासोको मौका दिएनन्।
त्यसपछि बग्गीखाना नजिक आफ्नै दिदीहरूको होटलमा काम गरे। त्यहाँ महिनाको करिब १५ सय रूपैयाँ तलब थियो। त्यति पैसाले काठमाडौंको महँगीमा कोठा भाडा तिरेर जीवन धान्न मुस्किल हुन्थ्यो।
त्यही मुस्किलको घडीमा उनले विदेश जाने सोच बनाए।
'त्यति बेला मैले चिनेका साथीहरू विदेश जाने–आउने गर्न थालेका थिए। यहाँ मैले १५ सय तलब खाँदा उनीहरू दुबईमा १४ हजार तलब खान्थे। मेरो तलब र उनीहरूको तलबमा आकाश–जमिनको अन्तर थियो। त्यही देखेर मैले पनि विदेश जाने निर्णय गरेँ,' उनले भने।
दुबई जानुअघि नै हेमचन्द्रले गाडी सिकेर लाइसेन्स निकालिसकेका थिए। केही समय काठमाडौं वरपर रात्रिकालीन ट्याक्सी पनि चलाए। दुबई गएर त्यही काम गर्नुपर्ला भन्ने उनको योजना थियो। तर त्यहाँ नेपाली सवारी लाइसेन्स काम लागेन। दुबईमा गाडी हाँक्न उनले उताकै लाइसेन्स निकाल्नुपर्ने भयो।
लाइसेन्स नहुन्जेल उनले गाडीमा सहायकको काम गरे। जब लाइसन्स आयो, उनी पूर्णकालीन चालक भए।
त्यो कम्पनीमा उनले दुई वर्ष काम गरे। त्यसपछि नेपाल फर्किएर बिहेबारी गरे र फेरि दुबई उडे।
यसपटक उनले त्यहाँको नगरपालिकामा काम पाए। नगरपालिकामा रहँदा उनी दुबईका अधिकारीहरूसँग बजार अनुगमनमा जानुपर्थ्यो। यसका लागि केही आधारभूत तालिम पनि दिइएको थियो।
सवारी चालक सँगसँगै दुबईको सरकारी सिस्टमभित्र रहेर काम गर्न पाउँदा उनी निकै उत्साहित भए। त्यो उत्साहले उनमा नयाँ कुरा सिक्ने प्रेरणा भर्यो।
'दुबईको नियम यति कडा थियो, उपभोग्य मिति सकिएको सामान बिक्रीमा रहेको फेला परे ५०–६० हजार दिराम (दुबईको पैसा) जरिवाना तिराइन्थ्यो। सामान जफत पनि हुन्थ्यो,' दुबईमा बजार अनुगमन गर्दाको अनुभव सुनाउँदै हेमचन्द्रले भने, 'कुनै होटलको भित्तामा थोरै मात्र धुलो देख्यो भने पनि जरिवाना गराइहाल्थ्यो। स्वास्थ्य र सरसफाइमा उनीहरू कुनै सम्झौता गर्थेनन्।'
दुबईको नगरपालिकामा पाँच वर्ष काम गरेपछि हेमचन्द्र नेपाल फर्किए। यसबीच महिनाको ५०–६० हजार रूपैयाँ जोगाएर नेपाल पठाउँथे।
दुबईबाट फर्केपछि उनले कतारको एउटा क्याटरिङ कम्पनीमा काम पाए। त्यहाँ उनको ड्युटी 'हाइजेनिक' शाखामा थियो। कम्पनीअन्तर्गतका होटल र रेस्टुरेन्टमा सरसफाइ कस्तो छ, गुणस्तरीय सामान प्रयोग भइरहेका छन् कि छैनन्, पकाउने शैली स्वस्थकर छ कि छैन लगायत विषयमा अनुगमन गर्न गइरहनुपर्थ्यो।
त्यसै क्रममा एकदिन हेमचन्द्रको टोली नेपालीले खोलेको होटल अनुगमन गर्न गएको थियो। त्यहाँ एउटा पेय पदार्थमा उपभोग्य मिति सकिएको फेला पर्यो। ती नेपालीलाई ४० हजार रियाल जरिवाना तिराइयो। र, सामान जफत गरेर होटल नै बन्द गराइयो।
'नेपालीलाई नै समस्यामा परेको देखेपछि नमीठो लाग्दो रहेछ। उनले एउटा सामानका कारण यति ठूलो सजाय नगर्नूस् भनेर याचना गरेको थियो। तपाईंको मुदिर (हाकिम) लाई भनिदिनुस् न भनेर मसँग पनि सहयोग माग्यो। तर मैले उनीहरूको कानुनी मामिलामा केही बोल्नै मिलेन,' हेमचन्द्रले भने।
कतारमा काम गर्दा हेमचन्द्रले आफ्नो खर्च कटाएर महिनाको एक लाख रूपैयाँ नेपाल पठाउँथे। त्यही पैसाबाट उनले भक्तपुरको निकोसेरामा घडेरी जोडे।
उता आम्दानी राम्रो थियो, तर सधैं घरपरिवार र देशको झझल्कोले पाँच वर्षभन्दा बढी बस्न सकेनन्।
'मेरी श्रीमती गर्भवती थिइन्। डेलिभरीको समय भएको थियो। उनलाई स्याहार गर्ने कोही थिएन। त्यसैले छुट्टी लिएर घर आएको थिएँ,' हेमचन्द्रले भने, 'चार-पाँच महिना श्रीमती र बच्चासँग बसेपछि कतार नै फर्किन्छु भन्ने सोचेको थिएँ। तर घरपरिवारले कति विदेश गइरहने भन्न थाले। मलाई पनि हो जस्तो लाग्यो। हुर्किँदो उमेरको बच्चा छाडेर विदेश गएँ भने पैसा त कमाउँला तर ऊ हुर्केको मेरो आँखाले देख्न पाउने भएन नि भनेर यतै बस्ने सोच बनाएँ।'
उनले नेपालमै बस्ने निधो त गरे, तर यहाँ गर्ने के?

हेमचन्द्रका एक चिनजानका दाइ थिए, जो दूध बेच्ने बुथ चलाउँथे। उनले केही समय त्यहीँ काम गरेँ।
त्यसैबीच पहिले गाडी चलाउँदा चिनेका साथीसँग अचानक भेट भयो। उनले नै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा हलुका सवारी चालकको जागिर खुलेको जानकारी दिँदै भने, 'करारको काम भए पनि सरकारी अफिस हो, राम्रो हुन्छ।'
हेमचन्द्रको मनले पनि त्यसै भन्यो।
उनले आवेदन दिए र छनौट भए।
वाणिज्यको कमाइ दुबईको तुलनामा एकचौथाइ मात्र थियो। त्यसले घरखर्च धान्न गाह्रो भएपछि उनले दूध बुथ किने। एक लाख रूपैयाँ खर्च गरेर किनेको बुथले उनलाई आर्थिक राहत दियो। त्यसबाट महिनाको करिब ३०–३५ हजार रूपैयाँ कमाइ हुने उनी बताउँछन्।
'सुरू सुरूमा त यहाँको कमाइ देखेर विदेश नै जानुपर्छ कि क्या हो भन्ने लागिरहन्थ्यो,' उनले भने, 'बुथ किनेपछि भने अब चाहिँ टिकिन्छ कि भन्ने भयो।'
दुइटा काममा लाग्दा हेमचन्द्रको दैनिकी भने व्यस्त छ। पहिले उनी घट्टेकुलो बस्थे। दुई वर्षअघि भक्तपुरमा घर बनाएर सरेका छन्। दूधको बुथ पुतलीसडकमा छ। बिहान ४ बजे नै गाडीले दूध झारिसक्छ। त्यो संकलन गर्न उनी सबेरै भक्तपुरबाट बाइकमा पुतलीसडक आउँछन्।
त्यसपछि कहिले साइकल त कहिले बाइकमा दूध लोड गरेर पसल–पसल पुर्याउन जान्छन्। पैसा उठाउन त्यसरी नै पसल–पसल चहार्छन्। यो कामका लागि उनले चिनजानका एक भाइलाई सहयोगी पनि राखेका छन्।
उनी हरेक दिन बिहानभरि बुथमा खटिन्छन्। त्यसपछि खाना खान भक्तपुर जान्छन् र ९ बजेतिर बबरमहलको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पुग्छन्। आफ्नो बाइक कार्यालयमा राख्छन् र विभागको गाडी लिएर हाकिम लिन जान्छन्। दिउँसो चाहिँ विभागका निरीक्षण अधिकृतहरूलाई लिएर बजार अनुगमनमा हिँडछन्।
उनका अनुसार धेरैजसो होटल र रेस्टुरेन्टमा पाइने सामानमा उपभोग्य मिति हुँदैन। त्यसैले खानेकुरा बासी हो कि ताजा हो भन्ने थाहा हुन्न। यही आधारमा काठमाडौंका चर्चित होटल र रेस्टुरेन्टलाई पनि धेरैपटक कारबाही गरिएको उनले बताए।
'कतिपयले मिति सकिएको सामानमा नयाँ मिति राखेर रिप्याकेजिङ गरेको फेला पारेका छौं,' उनले भने, 'बिक्रेताले झुक्याउन खोजे पनि त्यस्ता सामान त हामी खोल र बारकोड हेरेरै थाहा पाउँछौं। रिप्याकेजिङ गरिएका सामान गुणस्तर मापनका लागि पठाइन्छन्। यस्ता सामान बेच्नेलाई दुईदेखि तीन लाख रूपैयाँसम्म जरिवाना तिराइन्छ। त्योभन्दा ठूलो कसुर भए मुद्दा पनि लाग्छ।'
'हामी सबै उपभोक्ता हौं। अनुगमनमा जाँदा उपभोक्ता भएर सोच्ने हो भने निरीक्षण प्रभावकारी हुन्छ,' उनले अगाडि भने, 'मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको काममा खटिन पाउँदा राम्रो काम गरिरहेको छु भनेर सन्तुष्टि हुन्छ।'
आफ्नो काममा दक्ष भए पनि हेमचन्द्रले विभागका हाकिमको आदेश र अनुमतिबिना कुनै कारखाना, होटल लगायतमा छिर्न पाउँदैनन्। तर आफ्नो अनुभवका आधारमा निरीक्षण अधिकृतहरूलाई गुणस्तरहिन सामान कसरी चिन्ने र कुन ठाउँ कसरी अनुगमन गर्ने भनेर सिकाउन पछि पर्दैनन्।
'उहाँहरू त लोकसेवा पास भएर आउनुभएको हो। बजार अनुगमन कसरी गर्नुपर्छ भनेर फिल्डमा गएर काम गरेको अनुभव हुन्न। त्यस्तो बेला उहाँहरूले हामीबाट सिक्नुहुन्छ। कतिले त 'तपाईंहरूबाटै सिकेको हो नि' भनेर जस दिनुहुन्छ। त्यस्तो बेला निकै खुसी लाग्छ। कतिले भने आजको गुन भोलि बिर्सनुहुन्छ,' उनले भने।
हेमचन्द्रकै सल्लाहमा हालै एक नाम चलेको रंग कम्पनीलाई वाणिज्य विभागले कारबाही गरेको छ। नाम चलेका होटल र रेस्टुरेन्ट पनि उनकै कारण कारबाहीमा परेको शाखा अधिकृत राजन कँडेल बताउँछन्।
उनी भन्छन् —
उहाँको स्वभाव जासुसजस्तै छ। ड्राइभरका रूपमा विभिन्न ठाउँ पुगेको र विभिन्न क्षेत्रका मानिससँग संगत गरेकाले उहाँलाई धेरै कुराको जानकारी पनि छ। उहाँले आफ्नै निगरानीबाट फेला पारेका तथ्यल हामीलाई जरिवाना गर्न धेरै सहज भएको छ। यो वर्ष विभागले करिब ३ करोड ६३ लाख रूपैयाँ जरिवाना तिराएको छ, जसमध्ये धेरै जरिवाना हेमचन्द्र गएको टोलीले असुलेको हो।

कतिपय निरीक्षण अधिकृत भने हेमचन्द्रको सल्लाह मान्दैनन्। हप्काउँदै भन्छन्, 'ड्राइभर भएर धेरै जान्ने नहो!'
यस्तो बेला उनलाई दु:ख त लाग्छ, तर मन सानो पार्दैनन्।
आफूसँग जति नै अनुभव भए पनि पढाइ नभएकाले ड्राइभर पदबाट माथि उकासिन्नँ भन्ने उनले बुझेका छन्।
'अहिले मभन्दा कम उमेरका हाकिम हुनुहुन्छ। मैले पनि पढेको भए त्यस्तै हुन्थेँ होला। पहिला आर्थिक अभावले पढ्न सकिनँ। अब जिम्मेवारीले सम्भव छैन। उमेर भएपछि दिमागमा पनि बोधो हुँदै जाँदो रहेछ,' ४४ वर्षीय हेमचन्द्रले भने, 'पढाइमा दक्ष नभए पनि काममा दक्ष भएको प्रमाणपत्र दिएको भए कतै अनुगमनमा जाँदा दबाब आउँदैनथ्यो भन्ने लाग्छ।'
हेमचन्द्रले आफ्नो काममा भोगेका केही अनुभव पनि सुनाए।
उनको पद हलुका सवारी चालक भए पनि कार्यालयका अरू धेरै काम गर्नुपर्छ।
'करार सम्झौताअनुसार मैले अफिसले लगाएका सबै काम गर्नुपर्छ,' उनले भने, 'बढार्ने, टेबल–कुर्सी सार्ने, झार उखेल्ने; सबै काम।'
उनको खास दक्षता भने अनुगमनमा हो। निरीक्षण अधिकृतहरूको पहिलो रोजाइ उनै हुन्। अनुगमनमा जान पाउँदा उनी खुसी पनि हुन्छन्। त्यही क्रममा कतिपयले ड्राइभर भनेर हेप्दा दु:खी हुन्छन्। कतिले अरूको अगाडि 'सर' भनेर सम्मान गरे पनि पछाडि अपशब्द बोल्छन्। मानिसले कसैलाई पनि पेसाका आधारमा अपहेलना गर्न नहुने उनको धारणा छ।
हेमचन्द्रका दुई छोरी छन्। उनीहरूलाई राम्रो शिक्षा दिनु र असल मान्छे बनाउनु नै आफ्नो एक मात्र धोको भएको उनी बताउँछन्।
'उनीहरू भविष्यमा केही न केही बनिहाल्छन्। जे बने पनि राम्रो मान्छे बनून्, जे काम गरे पनि मिहिनेतसाथ, इमानदारीपूर्वक गरून् भन्ने चाहन्छु,' हेमचन्द्रले भने, 'जसले आफ्नो कामलाई सबथोक ठान्छ, काममै आफ्नो ईश्वर देख्छ, उसलाई जीवनभर सुख हुन्छ। बेलाबेला मन त दुख्ला, तर खुसी हराउँदैन।'
***
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी