म अचेल क्लबमा निर्धक्क नाच्न सक्छु।
कोही अपरिचित नजिक आएर छेडछाड गर्ला भन्ने मलाई डर छैन। मेरो शरीरमा गलत तरिकाले छोइछाइ होला भन्ने मलाई डर छैन। भिडभाडको ठेलठाल र इच्छाविपरीत कसैसँग नाच्नुपर्ला भन्ने पनि मलाई डर छैन।
म आफ्ना साथीहरूसँग नाचिरहँदा अर्को मान्छे घुस्रिन आए उसलाई तानेर पन्छाइन्छ। मैले नाइँ भन्दाभन्दै कसैले जबर्जस्ती तान्न खोजे उसलाई नै बाहिर पठाइन्छ। कोही मात्तिएको व्यक्ति मलाई जबर्जस्ती रक्सी खुवाउन खोज्छ भने उसलाई पनि सरक्क बाटो लगाइन्छ।
त्यसैले, म अचेल क्लबमा निर्धक्क रमाउन सक्छु। साथीहरूसँग खुलेर कम्मर मर्काउन सक्छु।
गएको शुक्रबारकै कुरा गरौं न — एक युवती चर्को संगीतमा चाल मिलाउँदै झुमिरहेकी थिइन्। अन्दाजी ३५/४० वर्षीय एक पुरूष ढलपल गर्दै ती युवती नजिक आए। उनीसँग टाँस्सिएर नाच्न थाले र मौका छोपेर युवतीको पुठ्ठा छोए।
म त्यो घटनाको प्रत्यक्षदर्शी थिएँ। ती युवतीले फरक्क फर्किएर पुरूषको सर्ट समातिन् र 'के गरेको' भन्दै बेस्कन थर्काउन थालिन्।
युवतीले प्रतिरोध गर्नासाथ नजिकै उभिएकी महिला बाउन्सर अघि सरिन् र ती पुरूषलाई तानेर कुनामा लगिन्। एकछिन सम्झाइबुझाइ गरिन्।
एक्ली युवतीसँग छेडछाड गर्ने पुरूषले माफी मागे र आइन्दा त्यसो नगर्ने कबुल गरे।
मैले देखेँ — ती युवती अझै पनि निर्धक्क नाचिरहेकी थिइन्; फेरि कसैले छेडछाड गर्ला भन्ने डरबाट दूर!
उनी ढुक्क देखिन्थिन् — फेरि कोही छेडछाड गर्न आए बाउन्सर छन् नि आफ्नो आत्मसम्मानको प्रतिरक्षा गर्ने!
यो स्टोरी तिनै महिला बाउन्सरहरूको हो, जसले खासगरी हामी केटीहरूलाई रात्रिकालीन डान्स, डिस्को र बारको रमझममा रमाउने माहोल बनाइरहेका छन्। रातको अन्धकार र अन्यौलको फाइदा उठाउँदै हुनसक्ने शारीरिक दुर्व्यवहारबाट हामीलाई जोगाइरहेका छन्।
र, हाम्रो आत्मसम्मानको पहरेदारी गरिरहेका छन्।

अनुमा तामाङ ठमेलको एलओडी क्लबमा बाउन्सर छिन्। २४ वर्षीया अनुमाले यो काम थालेको तीन वर्ष भयो।
रात छिप्पिँदै जाँदा जसै क्लबले आफ्नो रौनक समात्छ, अनुमाका आँखा चनाखा हुन थाल्छन्। क्लबको जुनसुकै कुनामा भए पनि डान्स फ्लोरमा नाचिरहेका वा छेउ लागेर मदिरा पिइरहेका युवतीहरूलाई उनी नियालिरहेकी हुन्छिन्। झिलिमिली बत्तीको झल्याकझुलुकमा आँखा तीखा पार्दै, चर्को संगीतको डाङडुङमा कान ठाडा पार्दै आफ्नो ड्युटी अवधिभर उनी हरपल सतर्क रहन्छिन्।
कतै झगडाको संकेत पाउनासाथ, फ्लोरमा नाचिरहेका कुनै युवतीले असहज मानेको देख्नासाथ; वा एउटा समूहको मान्छे अर्को समूहमा छिरेर छेडछाड गरेको चाल पाउनासाथ उनी सुरक्षा निम्ति खडा भइहाल्छिन्।
सुरूमा सम्झाइबुझाइ गर्छिन्। नराम्रो हरकत गर्नेलाई माफी मगाउँछिन्। तैपनि स्थिति सम्हालिएन भने डान्स फ्लोरबाट बाहिर निकाल्छिन्।
क्लबमा आएकाहरू नाच्दा नाच्दा थाकेर चुर भइसक्छन्, उनलाई भने थाक्ने छुट छैन। कोही कोही रक्सीले मदहोस हुन्छन्, उनलाई भने मदहोस हुने छुट छैन। सबै जना एकअर्कासँग हाँसिरहेका हुन्छन्, नयाँ साथी बनाइरहेका हुन्छन्; उनलाई भने हाँस्ने छुट छैन, साथी बनाउने छुट छैन।
'भिडभाडमा हुनसक्ने गलत छुवाइ, छेडछाड वा अरू किसिमका दुर्व्यवहारबाट केटी वा केटाहरूलाई बचाउनु नै हाम्रो जिम्मेवारी हो,' अनुमाले मसँगको कुराकानीमा भनिन्, 'हामी सकभर क्लबभित्र नराम्रो स्थिति नआओस् भन्ने चाहन्छौं। केटी होस् वा केटा, सबैले आफ्नो इच्छाअनुसार रमाइलो गरून् र समय सकिएपछि आनन्दपूर्वक फर्किऊन् भन्ने चाहन्छौं। कहिलेकाहीँ कोही आउँछन्, जो अरूसँग जोरजबर्जस्ती गर्न खोज्छन्, त्यस्तो बेला हामीले पनि उनीहरूसँग जोरजबर्जस्ती गर्नुपर्ने हुन्छ। त्यस्तो बेला क्लबको माहोल बिग्रन नदिन के गर्नुपर्छ, त्यो हेरेर कतिसम्म कडाइ गर्ने भन्ने निर्णय लिन्छौं।'
'ग्राहक भनेका भगवान हुन्, तर त्यो तबसम्म मात्र हुन्छ जब ग्राहकले भगवानजस्तो व्यवहार गर्छन्,' उनले अगाडि भनिन्, 'जब ग्राहकले भगवानको हैसियत छाडेर दानवको व्यवहार देखाउँछन्, हामीलाई पनि भक्त भइरहन कर लाग्दैन। हामीले प्रतिकार गर्नैपर्छ।'
तीन वर्षको करिअरमा अनुमाले यस्ता घटना पटक-पटक भोगेकी छन्। ती घटना र उनको पेसाबारे हामी पछि कुरा गरौंला, पहिला अनुमाकै कुरा गरौं।
उनी कसरी यो पेसामा आइन्? किन उनले बाउन्सरको काम रोजिन्?
धादिङको ज्वालामुखी गाउँपालिका-२ मा जन्मिएकी अनुमा चार बहिनी र एक भाइकी जेठी दिदी हुन्। परिवारको सबभन्दा ठूलो सन्तान भएकीले आमाबुबाको आर्थिक भार कम होस् भनेर १२ कक्षा पास गरेपछि उनी रोजगारको खोजीमा काठमाडौं आइन्।
यो आजभन्दा चार वर्षअघिको कुरा हो। यहाँ आएपछि सुरूमा उनले धागो कात्ने काम गरिन्। मासिक तलब ८ हजार रूपैयाँ थियो।
त्यसबीच उनी सामाजिक सञ्जालहरूमा सक्रिय थिइन्। टिकटक पनि खोलेकी थिइन्। त्यही टिकटक स्क्रोल गर्दा एकदिन लेडी बाउन्सर निमा लामाको भिडिओ देखिन्। निमाको व्यक्तित्व र खासगरी बाउन्सरहरूले लाउने कालो पोसाकबाट प्रभावित अनुमाले त्यसपछि लगातार उनका भिडिओ हेर्न थालिन्। बिस्तारै बाउन्सरको कामबारे बुझ्दै पनि गइन्।
जति बुझिन्, उति कायल भइन्।
उनलाई पनि निमाजस्तै बाउन्सर हुन मन लाग्यो। निमाजस्तै कालो पोसाकमा सजिएर सुरक्षा दिन मन लाग्यो। रात्रिकालीन व्यवसायमा रमाउन चाहने युवतीहरूको भर बन्न मन लाग्यो।
'मैले यो काम बाध्यताले गरेकी होइन, रहरले गरेकी हुँ,' अनुमा भन्छिन्, 'निमाको भिडिओ हेरेपछि मलाई भित्रैदेखि बाउन्सर हुने इच्छा जागेको थियो।'
त्यही इच्छा पूरा गर्ने रनाहामा उनी बाउन्सरको काम कहाँ पाइन्छ भनेर काठमाडौंका रोजगार केन्द्र धाउन थालिन्। दुई-तीनवटा केन्द्र धाएपछि उनले बाउन्सर तालिम दिने संस्थाबारे थाहा पाइन् र पाँच हजार रूपैयाँ तिरेर धुम्बाराहीको 'सेभेन स्टार बडीगार्ड बाउन्सर सप्लाई कम्पनी' मा भर्ना भइन्।
'पन्ध्र दिनको तालिम थियो,' उनले भनिन्, 'तालिममा बाउन्सरले के गर्नुपर्छ, झगडा पर्यो भने कसरी छुट्टयाउनुपर्छ, मात्तिएको मान्छेलाई कसरी सम्झाउने र मानेनन् भने कसरी बल प्रयोग गर्ने भनेर सिकाइयो।'
दैनिक एक घन्टाको तालिमकै क्रममा उनलाई प्रशिक्षणका लागि एलओडी क्लब लगियो।
उनलाई दिन ठ्याक्कै याद छैन। दसैं नजिकिँदै थियो र शुक्रबारको दिन थियो भन्ने चाहिँ सम्झन्छिन्।
अनुमा त्यस दिन पहिलोपटक डान्स क्लब छिरेकी थिइन्। सधैं उज्यालोमा काम गर्ने उनलाई रातको रंगीचंगीभित्र छिर्दा अचम्म लागेको थियो। एकछिन त हेरेको हेर्यै भइन्। सजिलो के भयो भने, उनको पहिलो दिनको ड्युटी नै फ्लोरमा उभिएर चारैतिर हेर्नु मात्र थियो।
सेभेन स्टारका इन्चार्ज गंगा लम्सालले उनलाई निश्चित ठाउँ तोकिएका दिए र त्यही ठाउँमा ठिंग उभिएर अनुमाले राति ७ बजेदेखि लगभग १० घन्टा काटिन्।
भोलिपल्ट बिहान ७ बजेतिर कोठा फर्कँदा उनी थाकेर लखतरान थिइन्।
जति थाके पनि पहिलो दिनको अनुभवले उनको ऊर्जा झनै बढायो।
दोस्रो दिन पनि उनी तोकिएको ठाउँमा हल न चल उभिइरहिन्। तर त्यो दिन एउटा नौला घटना भयो।
फ्लोरमा नाचिरहेका युवतीहरू आपसमा झगडा गर्न थाले। उनी के गर्ने, कसो गर्ने अलमलमा परिन्। ड्युटीअनुसार तत्काल एक्सनमा आउनुपर्थ्यो। बाझिरहेका युवतीहरूलाई पन्छाएर झगडा सामसुम पार्नुपर्थ्यो। तर अर्काको झगडामा छिर्न उनलाई हिम्मत आएन। सिनियर बाउन्सरहरूले लेजर लाइट बालेर झगडा छुट्टयाउन संकेत गरिरहेका थिए। यो डान्स फ्लोरको नियम नै हो। तर लेजर लाइटको संकेत बुझ्दा बुझ्दै अनुमाका पाइला डेग चलेनन्।
झगडा गर्ने युवतीहरूकै छेउमा उभिएकी उनी मूर्तिझैं स्थिर थिइन्। र, स्थिर नै रहिन्।
त्यति बेला एलओडीमा पाँच जना महिला बाउन्सर थिए। अनुमा डराएको वा अलमलिएको बुझेर तिनै महिला बाउन्सर अघि सरे, झगडा मिलाए र स्थिति सामान्य बनाए।
यस्तो बेला महिला बाउन्सरले पनि सकेनन् भने पुरूष बाउन्सर सहयोग गर्न आउँछन्। महिला र पुरूष बाउन्सरबीच यस्तो सहकार्य चलिरहन्छ।

'त्यो दिन के भयो के!' अनुमाले थोरै लाज र थोरै पछुतो मिश्रित लवजमा भनिन्, 'मलाई आफ्नो काम थाहा नभएको होइन। जुन बाउन्सरमाथि लेजर लाइट पर्छ, ऊ तुरून्तै एक्सनमा आएर झगडा मिलाउन जानुपर्छ भन्ने हामीलाई तालिममै सिकाइएको थियो। तर एक्कासि झगडा देखेर होला, म त बेहोसझैं भएँ।'
त्यही गल्ती पुराना बाउन्सरले गरेका भए, उनीहरूले गाली खानुपर्थ्यो वा जागिर नै गुमाउने अवस्था आउन सक्थ्यो। नयाँ भएकीले अनुमाले पहिलो गल्तीमा छुट पाइन्।
छुट त पाइन्, तर त्यो घटनाले अनुमाको आत्मसम्मान नराम्ररी गिँजोल्यो। भोलिपल्ट बिहान घर फर्केर ऐनामा आफ्नै आँखासँग आँखा जुधाउन सकिनन्। आफ्नो कर्तव्यबाट पछाडि परेकामा उनलाई आफैसँग लाज लाग्यो, आफैसँग रिस उठ्यो।
उनले आफैलाई धिक्कारिन्। यो काम सुहाउँदो हो कि होइन भनेर निकै सोचविचार गरिन्। आफूले आफूलाई तौलिइन्; परख गरिन्।
तेस्रो दिन साँझ ६ बजेतिर सेभेन स्टारको गाडी लिन आउनेवाला थियो। गाडी आउने बेलासम्म उनी बाउन्सरको काम गर्ने कि नगर्ने उधेडबूनमै थिइन्। अघिल्लो रातको असफलतापछि कुन मुख लिएर फेरि काममा जाने भन्ने दोधारमा थिइन्।
अनुमाको बाहिरी मनले हार खाइसकेको थियो; भित्री मनले भने हारलाई जितमा बदल्न हौसला दिँदै थियो।
आखिरमा जित भित्री मनको भयो।
'म परिवारलाई हजारौं सपना देखाएर सहर पसेकी थिएँ। वर्षदिन धागो कात्ने काममा अल्झेर बल्लतल्ल अलि राम्रो ठाउँमा अलि धेरै तलब पाइने जागिरको अवसर आएको थियो। मैले डरबाट हार खानु भनेको आफ्नो सपनाबाट हार खानु थियो, परिवारको जिम्मेवारीबाट हार खानु थियो,' अनुमाले भनिन्, 'म हार्न सक्ने अवस्थामा थिइनँ।'
यही सपना र जिम्मेवारीको रनाहाले अनुमालाई तेस्रो दिन एलओडी क्लब पुर्यायो।
र, त्यही रनाहाले उनी आजसम्म निरन्तर एलओडी धाइरहेकी छन्।
यसबीच धेरै त्यस्ता घटना भए, जहाँ अनुमा तत्काल एक्सनमा आउनुपर्थ्यो। आफ्नो डर पन्छाएर झगडा मिलाउनुपर्थ्यो। कतिपय झगडियालाई सम्झाउनुपर्थ्यो। कतिपयलाई चरप्प समातेर बाहिरको बाटो देखाउनुपर्थ्यो।
ती कुनै पनि घटनामा अनुमाले हार मानेकी छैनन्। कुनै पनि दिन घर फर्केर ऐना हेर्दा उनलाई आफ्नै आँखासँग आँखा जुधाउन लज्जाबोध भएको छैन।
अचेल साथीहरू उनको पेसा र साहसको तारिफ गर्छन् र जिस्क्याउँदै भन्छन्, 'तँ त लेडी डन भइसकिस् नि केटी!'
यो सुनेर अनुमा मख्ख पर्छिन्।
साथीहरूबाट तारिफ र 'लेडी डन' उपमा पाएर मख्ख परे पनि अनुमाले धेरै समय आफ्नो कामबारे परिवारलाई बताउन सकेकी थिइनन्। राति राति डिस्कोमा बाउन्सरको काम गर्छ भन्ने थाहा पाए आमाबुबाले गाली गर्लान् भन्ने उनलाई डर थियो।
तर घरको जिम्मेवारीमा काँध थाप्न एक्लै सहर हिँडेकी छोरीले कति दिन घरबाट कुरा लुकाउन सकून्!
आफूलाई एक्लै सहर पठाउन भर गरेका आमाबुबालाई कति दिन भ्रममा राखून्!
काम सुरू गरेको केही सातापछि नै उनले आमालाई फोन गरिन् र आफ्नो कामबारे खुलस्त पारिन्।
आमाले सुरूमा त रातको काम किन गरेको भनेर गाली गरिन्। उनी चुपचाप सुनिरहिन्। धागो कात्ने पुरानै काममा फर्किन दबाब पनि दिइन्। उनले केही बोलिनन्।
अनुमालाई आमासँग झगडा गर्नु थिएन। सँगसँगै, आमाको चित्त दुखाएर कहीँ काम गर्नु पनि थिएन।
उनी बाउन्सरको काममा खुसी थिइन् र आमालाई पनि खुसी पार्न चाहन्थिन्।
अनुमालाई बाउन्सर पेसाप्रति आमाबुबाको मन जित्न धेरै समय लाग्यो। करिब डेढ वर्षअघि उनले आमाको मन राख्न एलओडी घुमाउन लगेकी थिइन्। त्यहाँ हुने गतिविधि देखाएकी थिइन्। आफ्नो कामको प्रकृति बुझाएकी थिइन्। र, आफूसँगै काम गर्ने साथीहरू चिनाएकी थिइन्।
त्यसपछि भने आमाबुबाले उनलाई यो काम छाड्न भनेका छैनन्। उल्टै उनको चर्चा गाउँभरि फैलिएको छ। चाडपर्वमा घर जाँदा गाउँलेहरू उनलाई उल्याउँदै भन्छन्, 'यो त लेडी बाउन्सर हो है, यसलाई जिस्क्याउन हुन्न!'
गाउँलेहरूको मुखबाट तारिफ सुनेर अनुमा फुरूंग हुन्छिन्।
आफ्नो परिवार, आफ्ना छरछिमेक र गाउँलेहरू समेतको राजीखुसीमा बाउन्सर बन्न पाउँदा अनुमाको हौसला हलक्कै बढेको छ। निर्धक्क आफ्नो पेसा गर्न ऊर्जा थपिएको छ।
त्यो ऊर्जाले उनको मनलाई जिम्मेवारीबाट दायाँबायाँ भट्किन दिँदैन। उनी हरेक रात भिडमा हुन्छिन्, तर यस्तो लाग्छ उनी त्यो भिडको हिस्सा होइन, भिडमा उनी एक्ली छिन्। वरिपरि चर्को आवाज गुञ्जिरहन्छ, तर यस्तो लाग्छ उनी त्यो आवाजको हिस्सा होइन। आवाजबीच पनि उनी एक्ली छिन्।
'हामीलाई भिडको हिस्सा बन्ने छुट छैन। आवाजसँग बहकिने छुट छैन,' उनले भनिन्, 'भिडभाडमा पनि मन एक्लो राख्नु हाम्रो ड्युटी हो। यही नै हाम्रो अनुशासन पनि हो।'
उनी अचेल डान्स फ्लोरमा हुने झगडाहरूबीच घुस्न धक मान्दिनन्। केटी होस् वा केटा; फ्लोरको अनुशासन भंग गर्नेलाई नियममा बाँध्न कुनै कसर छाड्दिनन्।

अनुमाको दैनिकी साँझ ७ बजे सुरू हुन्छ। शुक्रबार एकदिन भने ६ बजे नै पुग्नुपर्छ।
उनका अनुसार एलओडीमा दुई प्रकारका बाउन्सर छन् — सिभिल बाउन्सर बाहिर ढोकामा बस्छन्। उनीहरूको काम क्लबमा आउनेहरूको जाँच गर्नु हो। सेभेन स्टारका बाउन्सर भने भित्र डान्स फ्लोरमा चारैतिर फैलिएका हुन्छन्। भिड नियन्त्रणदेखि झगडा पर्न नदिनु र झगडा परिहाले त्यसलाई रोक्नु उनीहरूको काम हो।
एलओडीमा पछिल्लो समय लेडी बाउन्सर थपिएका छन्। अहिले १० जना सेभेन स्टारका महिला बाउन्सर भित्र फ्लोरमा तैनाथ हुन्छन् भने बाहिर ढोकामा दुई जना सिभिल बाउन्सर बस्छन्। त्यसबाहेक भित्र र बाहिर गरी पुरूष बाउन्सरहरूको संख्या ३२ छ।
अनुमा सुरूदेखि नै फ्लोरमा तैनाथ भइन्। उनको रूचि पनि त्यही थियो।
'अनि झगडा मिलाउनुपर्दा डर लाग्दैन त?'
जबाफमा उनले भनिन्, 'सुरू सुरूमा त लागेकै हो, तर बिस्तारै म त्यस्तो घटनासँग अभ्यस्त हुँदै गएँ।'
उनलाई झगडासँग अभ्यस्त हुन सिकाएको बाल्यकालीन अनुभवले पनि हो।
उनी सानैदेखि केटीभन्दा केटा साथीहरूसँग बढी घुलमिल हुने स्वभावकी थिइन्। आफ्नो समूहका केटाहरूलाई उक्साएर झगडा पार्थिन्। कहिलेकाहीँ झगडा बढी नै चर्कियो भने मिलाउन अघि पनि सर्थिन्।
त्यही स्वभावका कारण उनकी आमाले सधैं एउटै कुरा भनिरहन्थिन्, 'तँ त छोरा भएर जन्मिनुपर्थ्यो, छोरी भइस्!'
आमाले त्यस्तो भन्दा उनी झर्किँदै जबाफ दिन्थिन्, 'छोरा-छोरी एउटै हो आमा। म छोरी भएर छोराभन्दा के कम छु र!'
त्यसरी जबाफ फर्काउँदा धेरैचोटि आमाको हातबाट कुटाइ खानुपरेको उनी सम्झन्छिन्।
यो त केही होइन, कक्षा ८ मा पढ्दा उनले जे हरकत गरिन्, त्यो सम्झेर उनी आज पनि एक्लै मुसुमुसु हाँस्छिन्।
भयो के भने, छिमेकी घरको एउटा कुखुराको भालेले अनुमाहरूको भान्सामा छिरेर निकै दु:ख दिन्थ्यो। एक दिन होइन, दुई दिन होइन; हरेक दिन भान्साका सामान उलटपालट पार्दा र भान्साभरि फोहोर छरिदिँदा अनुमा रिसले मुर्मुरिन्थिन्।
त्यही रिसमा एकदिन उनले कुखुराको भाले च्याप्प समातिन् र दुइटा किल्ला घाँटीमा रोपेर दाह्रा बनाइदिइन्।
त्यसो गर्दा कुखुराको भाले ठाउँको ठाउँ पुक्लुक्कै भयो।
त्यसपछि उनले कुखुराको भुत्ला जम्मै उखेलिन् र घरनजिकै खनायोको रूखमुनि बोराले छोपछाप पारेर स्कुल गइन्।
बेलुकी घर फर्किँदा छिमेकी हजुरआमा-हजुरबा र उनकै आमाबा पनि कुखुराको भाले धुइँपत्ताल खोज्दै थिए।
अनुमाले आफू पनि भाले खोजेझैं नाटक गरिन् र केही बेरमा रूखमुनि लुकाएको भाले बोकेर घर फर्किन्। भनिन्, 'हेर्नोस् न, स्यालले मारेछ!'
छिमेकीहरूले उनको कुरा पत्याइहाले।
'यो घटना अहिलेसम्म मैले कसैलाई भनेको थिइनँ,' अनुमाले हाँस्दै भनिन्, 'अब तपाईंहरूले लेखेपछि सबैले थाहा पाउने भए। गाली खाइन्छ होला!'
'केटाकेटी हुँदा यस्ता उट्पट्याङ काम खुब गरेकोले होला, मलाई यहाँ क्लबभित्रको घम्साघम्सी र बाझाबाझ अचेल खासै ठूलो लाग्दैन,' उनले थपिन्।
उनले क्लबमा बाउन्सरको काम गर्दा भोगेका केही यादगार घटना पनि मसँग बाँडिन् —
काम सुरू गरेको तीन महिनापछिको कुरा हो। क्लबको भिआइपी एरियामा केटा र केटी समूहबीच ठूलै झगडा पर्यो। झगडा हेर्दा आफू एक्लैले काबूमा लिने अवस्था नदेखेर उनले आफ्नो साथीतिर लेजर लाइट बालिन् र झगडियाहरूबीच घुस्रिन्। लेजर लाइटको संकेत बुझेर अर्की महिला बाउन्सर तुरून्तै आइपुगिन्। झगडा गर्नेमा केटाहरू पनि भएकाले पुरूष बाउन्सर पनि आए।
अनुमाले सुरूमा त कोसँग कसको झगडा परेको भन्नेधरि भेउ पाइनन्।
त्यहाँ एक जना ठूलो जीउढालकी महिला थिइन्। ती महिला नै सबभन्दा बढी झगडा गरिरहेकाले उनलाई कसरी पन्छाउने भनेर अनुमा अलमलिइन्।
एकछिन हेरिरहिन् र सबभन्दा बढी चर्काचर्की गरिरहेका दुई जनालाई च्याप्प समातेर 'लक' गर्दै बाहिर निकाल्न खोजिन्।
'उनीहरूलाई निकाल्न खोज्दा केटाहरूको भिडले हामीलाई नै थिच्यो,' उनले भनिन्, 'पछि अरू साथीहरू पनि थपिएपछि उनीहरूलाई सकुशल बाहिर निकाल्न सफल भयौं।'
यो घटनापछि नै आफूलाई झगडाभित्र छिर्न र नियन्त्रणमा लिन हिम्मत बढेको अनुमा बताउँछिन्।
कहिलेकाहीँ क्लबमा केटीहरूबीच नै हात हालाहाल हुन्छ। त्यस्तो बेला केही केटीहरू कराँते सिकेका पनि हुन्छन्; बाउन्सरभन्दा बलिया हुन्छन्। आफूभन्दा बलिया केटीहरूलाई नियन्त्रणमा लिन अनुमालाई गाह्रो पर्छ। यस्तो अवस्थामा उनी पुरूष बाउन्सरहरूसँग मद्दत माग्छिन्।
झगडा छुट्याउने क्रममा कयौंपटक उनले पिटाइ पनि खाएकी छन्।
एक वर्षअघिको कुरा हो। डान्स फ्लोरको बाथरूममा केटी-केटीबीच झगडा परेको थियो। चार जना केटीको झगडा परेको कुरा सरसफाइ गर्ने कर्मचारीले उनलाई सुनाएका थिए।
खबर सुनेलगत्तै उनी बाथरूमतिर दौडिइन्। चार जनाको झगडा परेको थाहा पाएकीले आफ्ना बाउन्सर साथीहरूलाई पनि बोलाइन्।
उनीहरूले जसै झगडा छुट्टयाउन खोजे, साथी-साथीको बीचमा आएको भन्दै ती केटीहरू उल्टो बाउन्सरमाथि नै खनिए।
'ती केटीहरूको नङ लामो थियो। उनीहरूले नङले हाम्रो अनुहार चिथोरे,' अनुमाले भनिन्, 'मेरो र मेरा साथीहरूको अनुहारभरि घाउ भयो।'
यति मात्र होइन, ती केटीहरूले अनुमा लगायत अन्य बाउन्सरविरूद्ध प्रहरीमा उजुरी पनि गरे।
प्रहरीले छानबिन गर्यो। दुई जना लेडी बाउन्सर सिसिटिभीमा देखिएकाले प्रहरीले पक्राउ गर्यो। अनुमाको अनुहार भने देखिएको थिएन। त्यसैले उनी बचिन्।
'त्यो घटनामा मेरा साथीहरूले दुई घन्टा थुनिनुपर्यो,' उनले भनिन्, 'सिसिटिभी फुटेजमा बाउन्सरले हात हालेको नदेखिएकाले उनीहरूमाथि मुद्दा चलेन। छोटो समयमै रिहा भए।'
'यस्तो झगडा पर्दा तपाईंहरूले पनि हात हाल्न मिल्छ कि मिल्दैन?'
'मिल्दैन नि,' अनुमाले तुरून्तै जबाफ फर्काइन्, 'ग्राहकहरू जाइलागे पनि उनीहरूमाथि हात हाल्ने छुट हामीलाई छैन। हाम्रो काम उनीहरूलाई समातेर लक गर्ने र बाहिर निकाल्ने हो। एक-दुई थप्पड हाने पनि चुपचाप सहनुपर्छ। जतिसुकै मुख छाडे हामीले गति छाड्न हुन्न।'
'हाम्रो हातबाट कसैलाई घाउ-चोटपटक लाग्ला भनेर हामीले नङ पाल्न त पाउँदैनौं,' अनुमाले चिटिक्क पारेर काटिएका आफ्ना नङ देखाइन्।
उनले अगाडि थपिन्, 'अचेल त बाउन्सरको कालो युनिफर्म लगाएपछि रिस आफै कन्ट्रोल हुन्छ। पोसाकले नै काँधमा जिम्मेवारी थपेको महसुस हुँदो रहेछ।'
अनुमाले बाउन्सरले पालना गर्नुपर्ने अन्य नियम पनि बताइन्।
जसरी बाउन्सरहरूले नङ काट्न पाउँदैनन्, त्यसरी नै कपाल खुला छाड्ने छुट पनि हुँदैन। झगडा पर्दा लामो कपाल देख्यो भने सबैले त्यही तान्न खोज्ने हुँदा बाउन्सरलाई कपाल खुला राख्न दिइँदैन। त्यस्तै, बाउन्सरहरू शारीरिक रूपमा स्वस्थ हुनुपर्छ। रक्सीले मात्तिएका र रिसले तात्तिएका मान्छेलाई सम्झाउन सक्ने सुझबुझ हुनुपर्छ। यसको निम्ति बाउन्सरहरू धैर्यवान स्वभावको हुनुपर्ने अनुमा बताउँछिन्।
'बाउन्सरको निम्ति सबभन्दा गाह्रो काम नै आफ्नो रिस कन्ट्रोल गर्नु हो,' उनले भनिन्, 'कहिलेकाहीँ रक्सीले मात्तिएका ग्राहकले जथाभाबी बोल्दा त्यहीँ ड्रेस खोलेर पिटुम् कि जस्तो लाग्छ। बाहिर निस्केपछि यसलाई ठिक पार्नुपर्छ भन्ने पनि मनमा आउँछ। तर रिस उठेको बेला ठाउँको ठाउँ पोख्न नपाएपछि अलि बेरमा मन शान्त भइहाल्छ।'
उनीहरू सकभर फ्लोरको झगडा फ्लोरमै शान्त पार्न खोज्छन्। बढीमा ग्राहकलाई तानेर बाहिर पठाउँछन्। तर केही ग्राहक साह्रै उदण्ड हुन्छन्। त्यस्तालाई तह लगाउन प्रहरीको सहयोग माग्ने उनी बताउँछिन्।
'प्रहरीको सहयोग लिँदा होसियार हुनुपर्छ। झगडियाहरूले हामीलाई बदला लिने धम्की दिन्छन्,' अनुमाले भनिन्, 'त्यस्तो धम्की सुनेर त डर पनि लाग्छ।'
दुई वर्षअघिको एउटा घटनाले अनुमा निकै दिन डराएकी थिइन्।
२०७९ असोज अन्तिम साताको कुरा हो। दरबारमार्गको प्लाटिनम क्लबका दुई जना बाउन्सरमाथि काम सकेर घर फर्किँदा सोह्रखुट्टेमा खुकुरी प्रहार भएको थियो। खुकुरी प्रहार गर्नेहरूलाई ती बाउन्सरले क्लबमा होहल्ला गरेकाले केही दिनअघि बाहिर धपाएका थिए।
'ग्राहकहरू कस्तो व्यवहार र कस्तो नियतका हुन्छन् भन्ने थाहा हुँदैन। त्यसैले सधैं होसियार हुनुपर्छ,' उनले भनिन्, 'फ्लोरको सुरक्षा गर्ने त हामी छौं, हाम्रो सुरक्षा चाहिँ हामी आफैले गर्नुपर्छ।'
'तपाईंलाई पनि कुनै धम्की आएको छ त?'
'धम्की त कति कति!' उनले आँखा ठुल्ठूला पार्दै भनिन्, 'पख् बाहिर निस्केपछि तँलाई ठिक पार्छु भनेर मुठ्ठी उजाउँदै जान्छन्। त्यस्तो बेला केही दिनसम्मै मन ढुकढुक भइरहन्छ। बाहिरतिर हिँड्दा हातपात होला कि भनेर सम्हालिनुपर्छ। तर अहिलेसम्म त्यस्तो भएको चाहिँ छैन।'
हुन त डान्स क्लबका बाउन्सरहरू हरेक रात व्यस्त नै हुन्छन्। शुक्रबार र शनिबारको दिन व्यस्तता बढी हुन्छ। त्योभन्दा भ्याइनभ्याइ नयाँ वर्ष, भ्यालेन्टाइन्स डे लगायतका उत्सवहरूमा हुन्छ। फ्लोरमा भिडभाड बढी हुने ती रातलाई जतिसक्दो शान्त राख्नु बाउन्सरहरूको चुनौती हो।
यो चुनौतीको राम्रो पक्ष चाहिँ थोरै भए पनि 'टिप्स' पाउनु हो। अनुमाले तीन वर्षदेखि तलब नबढेको गुनासो सँगसँगै सप्ताहन्त र विभिन्न उत्सव-समारोहमा टिप्स पाउँदाको खुसी पनि मसँग साटिन्।
'मैले एकदिनमा १५ हजार रूपैयाँसम्म टिप्स पाएकी छु,' उनले भनिन्।
साथीहरूमाझ 'लेडी डन' भनेर चिनिने अनुमाले बाउन्सरको कमाइबाट परिवारको आर्थिक आवश्यकता पूरा गर्न धेरै भरथेग गरेकी छन्। चार बहिनी र एउटा भाइको पढाइलेखाइ उनकै कमाइमा टिकेको छ। बेलाबेला चाडपर्व मनाउन र घरका अन्य काममा पैसा आवश्यक पर्दा पनि उनी पठाइरहन्छिन्।
'म आफ्नो कामबाट सन्तुष्ट छु,' उनले भनिन्, 'मैले आफ्नै रहरले यो पेसा छानेकी हुँ। यसलाई पछिसम्मै निरन्तरता दिन चाहन्छु।'

एलओडी क्लबमा अनुमा लगायतका बाउन्सरहरूबीच संयोजनको काम सेभेन स्टारका इन्चार्ज गंगा लम्सालले गर्दै आएका छन्।
उनी सात वर्षदेखि एलओडी आउने सेवाग्राहीहरूलाई सुरक्षा दिने काम गरिरहेका छन्। इन्चार्जको जिम्मा सम्हालेको भने पाँच वर्ष भयो।
स्याङ्जा घर भएका उनी वैदेशिक रोजगारीमा जाने प्रक्रिया मिलाउन काठमाडौं छिरेका थिए। प्रक्रिया नमिलेपछि बाउन्सर बनेर एलओडी आइपुगेको उनी बताउँछन्।
'बाध्यता र परिस्थितिले मलाई बाउन्सर बनायो,' उनले भने, 'अहिले चाहिँ यही काममा रमाइरहेको छु।'
गंगाले पनि बाउन्सरको तालिम सेभेन स्टारमै लिएका हुन्। सुरूमा पुरूष बाउन्सरको मात्र चलन थियो। केही वर्षयता क्लबमा महिलाहरू आउने क्रम बढेपछि उनीहरूको सुरक्षाका लागि महिला बाउन्सर नै खटाउन थालेको गंगा बताउँछन्।
'पुरूष बाउन्सर प्रयोग गर्दा महिला ग्राहकहरूले असहज महसुस गर्न सक्छन्। त्यसैले उनीहरूलाई हामी डान्स क्लबमा सुरक्षित छौं; हामी निर्धक्क नाच्न पाउँछौं, रमाउन पाउँछौं भन्ने अनुभूति गराउन महिला बाउन्सरको चलन सुरू भएको हो,' उनले भने।
'मेरो अनुभवमा महिला बाउन्सरहरू भएको ठाउँमा युवतीहरूले सुरक्षित महसुस गर्छन्,' उनले भने, 'महिला ग्राहकहरूको संख्या बढी हुन्छ।'
लगभग डेढ घन्टाको कुराकानीपछि विदावारी हुँदै गर्दा अनुमाले आफूलाई घत परेको एउटा क्षण मलाई सुनाइन्।
'जुन निमा लामाबाट प्रभावित भएर मैले बाउन्सर पेसा रोजेँ, उहाँसँग यही क्लबमा मेरो प्रत्यक्ष भेट भयो,' उनले भनिन्, 'दिदीले मसँग कुरा पनि गर्नुभयो। राम्रो रेस्पोन्स गर्नुभयो उहाँले।'
'तपाईंले के भन्नुभयो त निमालाई?'
मेरो यो प्रश्नमा अनुमाले उत्साहित हुँदै भनिन्, 'मेरो प्रेरणाको स्रोत हजुर नै हो भनिदिएँ।'
***