साउन २ गते, दिउँसो २ बजेर १८ मिनेट गएको थियो।
हामी कीर्तिपुर अस्पतालको मुख्य ढोकाबाट भित्र छिर्दै गर्दा एक ५५-६० वर्षीय वृद्ध सिँढीबाट तल झर्दै थिए।
हाम्रो साथमा रहेका डाक्टर किरण नकर्मीलाई देख्नासाथ ती वृद्ध टक्क अडिए र हातमा बोकेको कागज देखाउँदै भने, 'रगत लिन हिँडेको।'
'ल ठिक छ, बिस्तारै जानुस्,' डाक्टरको जबाफले वृद्ध मुसुक्क हाँसे।
हामी डा. नकर्मीलाई पछ्याउँदै बर्न वार्डतिर गयौं।
वार्डको दायाँतर्फ पहिलो बेडमा एक युवक मोबाइल चलाउँदै थिए। उनको अनुहारबाहेक कानदेखि गर्दनसम्मै राताम्मे थियो।
'कसरी यति धेरै जलेको?'
बाग्लुङका ती युवक चार महिनाअघि बिहे गरेर श्रीमतीसहित रोजगारीका लागि भारतको पन्जाब गएका रहेछन्। त्यहाँ कुनै कुरामा दम्पतीको झगडा भएछ। रिसको झोँकमा श्रीमतीले पेट्रोल खन्याएर आगो लगाइदिछन्।
श्रीमती पन्जाब प्रहरीको नियन्त्रणमा छिन् रे। युवकलाई थप उपचार निम्ति असार तेस्रो साता कीर्तिपुर अस्पताल ल्याइएको रहेछ।
'अघि रगत लिन हिँड्नुभएको वृद्ध उहाँकै बुबा हो,' डा. नकर्मीले भने।
उनका अनुसार ती युवकको शरीर ४०-४५ प्रतिशत जलेको थियो। अस्पताल ल्याइपुर्याउँदा रगतै चुहिएलाजस्तो देखिन्थ्यो। अहिले धेरै बिसेक भइसक्यो। घर फर्किन चाहिँ अझै केही समय लाग्छ।
त्यस दिन बर्न वार्डमा २० जना बिरामी थिए। कोही आगोले जलेका, कोही करेन्ट लागेका। यो संख्या अरू दिनभन्दा आधा कम हो, नकर्मी भन्दै थिए, 'पानी पर्ने मौसममा यस्ता बिरामी कम हुन्छन्।'
'आगोको असर तिघ्रापछाडि, ढाड र हातखुट्टामा बढी देखिन्छ। करेन्टको असर हातमा बढी हुन्छ,' उनले अगाडि भने, 'तेजाबले अनुहार र गर्दनको भाग धेरै जलेको पाइन्छ।'
डा. नकर्मी प्लास्टिक तथा बर्न सर्जन हुन्। उनले जलेका बिरामी उपचार गर्न थालेको २५ वर्ष भयो। सन् २०१७ देखि २०२४ सम्म कीर्तिपुर अस्पतालमा जलेका बिरामीहरूको विभागीय प्रमुख थिए। अहिले वरिष्ठ विशेषज्ञ रूपमा कार्यरत छन्। उनलाई नेपालको पहिलो 'ह्यान्ड सर्जन' पनि भनिन्छ।
यो स्टोरीमा हामी डा. नकर्मीका अनुभवी आँखाबाट जलेका बिरामीको उपचारमा भएका प्रगति र प्लास्टिक सर्जरीको अवस्था केलाउने छौं।
सबभन्दा पहिला जलनको कुरा गरौं।

जलेका बिरामीलाई तीन तहमा बाँडिन्छ — सतही, मध्यम र गहिरो जलन।
सतही जलन केही दिनको उपचारमै निको हुन्छ, अपरेसन गर्नुपर्दैन। जलेको भाग रातो हुनु सामान्य हो। कहिलेकाहीँ फोका उठ्छ। फोका उठेको घाउ आफै निको हुन्छ, आत्तिनुपर्दैन।
मध्यम जलनमा संक्रमणको अवस्थाले थप उपचार निर्क्योल गर्छ।
तर शरीरको १५ प्रतिशतभन्दा बढी भाग जलेको छ, छाला जलेर चिल्लो भएको छ वा रगतै चुहिएजस्तो देखिएको छ भने गम्भीर जलन हो। यस्तो अवस्थामा शरीरका नसा र कोषसमेत जलेका हुनसक्छन्। समयमै उपचार नपाए बिरामीको मृत्यु हुनसक्छ।
'आगोले पोलेर मरेका कोष फेरि जीवित गराउन सकिँदैन,' डा. नकर्मीले भने, 'कोषहरू मर्दै गएपछि मुटु र फोक्सोले काम गर्न छाड्छन्, अनि बिरामीको मृत्यु हुन्छ।'
आगोमा जल्दा धुवाँ फोक्सोसम्म पुगेको छ भने खतरनाक मानिन्छ। त्यसले शरीरका बाहिरी भाग मात्र होइन, भित्री भागसम्म असर गरेको हुन्छ।
करेन्ट लाग्दा मुटु र कलेजोमा असर पर्छ। कहिलेकाहीँ करेन्टले खाएका हातखुट्टा काट्नुपर्ने पनि हुनसक्छ, उनले भने, 'करेन्ट लागेका बिरामीलाई बचाउने एउटै तरिका हो, बढीभन्दा बढी पानी पिलाएर पिसाब फेर्न लगाउने र जतिसक्दो छिटो अस्पताल पुर्याउने।'
यी घटनाको दाँजोमा तेजाब जलनको चर्चा बढी हुन्छ। यो आपराधिक क्रियाकलापसँग जोडिएकाले सामाजिक सञ्जालहरूमा धेरै बहस भएको पाइन्छ। डा. नकर्मीको अनुभवमा यस्ता बिरामी कम आउँछन्। तेजाबले पोल्दा शरीरका धेरै भाग जलेको हुँदैन। अनुहार वा शरीरको स्वरूप भने परिवर्तन हुन सक्छ।
जलेका बिरामीको संक्षिप्त वर्गीकरणपछि डा. नकर्मीले प्राथमिक उपचारको कुरा गरे।
यस्ता बिरामीलाई समयमै सही प्राथमिक उपचार दिन सकियो र घाउ फैलिन वा गहिरो हुनबाट बचाउन सकियो भने अस्पताललाई धेरै सहज हुन्छ।
प्राथमिक उपचारको उपाय सिकाउँदै डा. नकर्मीले भने, 'आगो, तेजाब वा तातोपानीले जल्दा मान्छेहरू पानी हाल्न डराउँछन्। तर सबभन्दा पहिला गर्नुपर्ने प्राथमिक उपचार नै पानी हो।'
'आगोले पोल्नासाथ हातखुट्टा वा पूरै शरीर पानीले पखाल्नुपर्छ,' उनले अगाडि भने, 'जमेको पानी वा बाल्टिनको पानीमा डुबाउनु भने हुँदैन। धारा, बगिरहेको खोलाको पानी प्रयोग गर्नुपर्छ, वा दोस्रो व्यक्तिलाई निरन्तर पानी हाल्न लगाउनुपर्छ।'
करिब आधा घन्टा यसरी पानी हालिरहनू भन्ने उनको सुझाव छ।
बगिरहेको पानीले पोलेको ठाउँबाट तातो बाफ बगाउँछ। यसो गर्दा घाउ गहिरिन र फैलिन पाउँदैन। शरीरका कोषिकाहरू मर्न पाउँदैनन्। कोषिका मरेन भने हातखुट्टा काट्नुपर्ने अवस्था आउँदैन।
'जलेका बिरामीको उपचारमा पानीले महत्त्वपूर्ण भूमिका खेल्छ, तर धेरैले यस्तो गर्दैनन्,' उनले भने, 'धेरैजसो बिरामी पानीमा राख्न मन त थियो, तर घाउ बिग्रिएला भनेर राखिनँ भन्ने जबाफ दिन्छन्।'
पानी धेरै नभएको बेला भिजेको कपडाले घाउ बेर्न सकिन्छ। कपडा निरन्तर फेरिरहनुपर्छ। कपडा तात्तियो भने घाउ गहिरो हुन बेर लाग्दैन।
पानी उपलब्ध नभएको अवस्थामा जलेका भागमा राम्ररी पर्ने गरी धुलोमा लडिबुडी गर्न सकिन्छ। यसले पनि घाउ फैलिन दिँदैन।
बिरामीलाई एकदमै धेरै पानी खुवाउनु पनि प्राथमिक उपचारमै पर्छ। जलनले शरीरको पानी नष्ट गरिदिने हुँदा निरन्तर पानी खुवाइरहे राहत हुन्छ। पानी नखुवाउँदा ज्यानै जान पनि सक्छ।
दुई महिनाअघि आगलागीमा परेर जलेका चार र साढे दुई वर्षका दाजुभाइलाई दोलखाबाट कीर्तिपुर ल्याइएको थियो। गोठमा बसेर सलाई खेलाइरहँदा खरको छानोसहित जलेर थिचेको रहेछ। एक जनाको ४५ र अर्कोको २५ प्रतिशत भाग जलेको थियो। त्यो भनेको बच्चाहरूका निम्ति खतरनाक अवस्था हो।
'अस्पताल ल्याइपुर्याउँदा शरीरमा पानीको मात्रा कम भएर नसाधरि सुकिसकेका थिए, बोल्न नसक्ने अवस्थामा थिए,' डा. नकर्मीले भने, 'हामीले सलाइन पानी चढाउँदा नसा नभेटेर हड्डीमा चढाउनुपरेको थियो।'
हड्डीमा सय एमएलजति सलाइन पानी दिनासाथ ती बच्चाहरू बोल्नसक्ने भएको उनी सम्झन्छन्। उनीहरू यही असार अन्तिम साता डिस्चार्ज भए।
अब उपचार विधिको कुरा गरौं।

पहिले पहिले ४० प्रतिशतभन्दा धेरै जलेकालाई बचाउन सकिँदैन भन्ने थियो। सन् २०१३ बाट सञ्चालनमा आएको कीर्तिपुर अस्पतालको तथ्यांकले पनि यही देखाउँथ्यो।
पहिलो वर्ष ९० जना बिरामी भर्ना हुँदा ४० प्रतिशतभन्दा बढी जलेका १८ जनालाई डा. नकर्मी र उनको टिमले बचाउन सकेनन्। मृत्युदर २० प्रतिशत पुग्यो।
मृत्युदर यति धेरै भएपछि नकर्मीको टिमले अध्ययन गरे।
सन् २०१४ मा उनीहरूले थाहा पाए — धेरै बिरामीको मृत्यु संक्रमण फैलिएर हुने रहेछ।
समाधान खोज्ने क्रममा सन् २०१५ बाट छाला बैंक सञ्चालनमा ल्याइयो।
'यो योजनाले काम गर्यो,' डा. नकर्मीले तथ्यांक दिए, 'मृत्युदर ९ प्रतिशतमा झरेको छ। ४० प्रतिशतभन्दा बढी जलेका आधाभन्दा धेरैलाई बचाउन सफल भएका छौं।'
छाला बैंक प्रभावकारी बनाउन केही वर्षदेखि कीर्तिपुर र तिलगंगा आँखा अस्पतालले सहकार्य गरिरहेका छन्। तिलगंगामा उपचार गर्न आउनेलाई मृत्युपछि छाला दान दिन चाहे फारम भराइन्छ। यता कीर्तिपुर आउने बिरामीलाई पनि आँखा दान गर्नुहुन्छ भनेर सोधिन्छ र फारम भराइन्छ।
धेरैलाई छाला दान भन्नासाथ शरीरको बाहिरी छाला सबै निकाल्ने हो कि भन्ने लाग्छ। तर त्यस्तो हुँदैन। छालाको बाहिरी भागको एक पत्र मात्र निकालिन्छ। मृत्यु भएको २४ घन्टाभित्र छाला निकाले ५ वर्षसम्म सुरक्षित राख्न मिल्छ। तर छाला दानले व्यापकता पाइसकेको छैन। अहिलेसम्म ३५ जनाले मात्र दान गरेका छन्।
'मागको तुलनामा अत्यन्तै कम हो,' डा. नकर्मीले भने, 'उपलब्ध छाला लामो समय राख्नुपरेकै छैन। निकाल्नासाथ जलेका बिरामीमा प्रयोग भइहाल्छ।'
यस्तो छाला कसरी प्रयोग गरिन्छ त?
हाम्रो यो प्रश्नमा नकर्मीले भने, 'बिरामीको घाउ पुर्न प्रयोग गरिन्छ, यसले घाउ र संक्रमण फैलिन दिँदैन। संक्रमण फैलिन नपाएपछि बिरामीको ज्यान बच्छ।'
उनले एक बिरामीको उदाहरण दिए।
२०८० साल लक्ष्मीपूजाको दिन मोरङ उर्लाबारी-७ मा आगलागीको ठूलो घटना भयो। २५ जना घाइते भए। उनीहरूलाई रातारात कीर्तिपुर ल्याइयो। तीमध्ये एक जनाको शरीर ६० प्रतिशत जलेको थियो। उनको ज्यान जोगाएर कीर्तिपुर अस्पतालले पहिलो रेकर्ड राख्यो। दुई महिनाअघि मात्र उनी निको भएर घर फर्किएको डा. नकर्मीले बताए।
'पाँच-सात वर्षअघि हुन्थ्यो भने त्यति धेरै जलेको बिरामीलाई कुनै हालतमा बचाउन सकिँदैनथ्यो,' उनले भने, 'कीर्तिपुर अस्पतालमा जलेका बिरामीको उपचार विधि र जनशक्तिमा निकै सुधार आइसकेको छ।'
कृत्रिम रूपमा हालेको छालाले सधैंभरि काम भने गर्दैन। आफ्नै अन्य भागको छाला वा एउटै 'जीन' को छाला मात्र शरीरले स्विकार्छ। मिलेन भने उक्किन थाल्छ।
डा. नकर्मीका अनुसार कृत्रिम रूपले राखिएको छालामा बिस्तारै फोका आउन थाल्छ। फोका आएका ठाउँमा बिरामीकै शरीरको छाला हाल्दै जानुपर्छ।
'बैंकमा किस्ता तिरेजस्तो थोरै-थोरै उक्किँदै जान्छ, अनि त्यही दरमा थप्दै जानुपर्छ,' उनले भने, 'धेरैजसो तिघ्रा र पेटको छाला प्रयोग गर्छौं।'
स्थायी नभए पनि दानमा उपलब्ध छालाले जलेका बिरामीको ज्यान बचाउन ठूलो मद्दत गर्छ, उनले भने, 'घाउ फैलिन नदिने मात्र होइन, पूरै बन्द गरिदिन्छ। संक्रमण घटेर दुखाइ कम हुन्छ। अहिले जलेका धेरैभन्दा धेरै बिरामी बचाउन सक्नुको मुख्य कारण नै छाला दान हो।'

कहिलेकाहीँ जीवित आफन्तले पनि छाला दान दिने गरेका छन्। परीक्षण गर्दा आमाबुबाको छाला मिले आफै दिन इच्छुक हुन्छन्। यस्तोमा शल्यक्रिया गरेर जीवित मान्छेको छाला निकालिन्छ। तर यो जोखिमपूर्ण हुँदा डाक्टरहरूले प्रोत्साहन गर्दैनन्।
सन् २०१५ तिरको कुरा हो। एक ६ वर्षकी बालिकाको ४० प्रतिशतभन्दा धेरै भाग जलेको थियो। परीक्षण गर्दा उनको बुबाको छाला मिल्यो। उनी दिन तयार भए।
'छोरीलाई छाला दिएर त्यसको १० दिनमै उनी वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए,' डा. नकर्मीले भने, 'समयमै छाला पाएर बालिकाको ज्यान पनि बच्यो।'
ती बिरामी अहिले काठमाडौंमै बसेर पढ्दै छिन्। फलोअपमा आइरहन्छिन्। एक महिनाअघि बाबुछोरी नै आएका थिए।
जलनको उपचारमा कहिलेकाहीँ बिरामी वा आफन्तको डरले पनि समस्या हुन्छ। खासगरी हातखुट्टा काट्नुपर्छ भनेपछि कतिपय त्यसै फर्किन्छन्।
करिब ६ महिनाअघि एक दम्पती आफ्नो बच्चाको उपचार निम्ति अछामदेखि आएका थिए। बच्चाको आगोमा परेर दाहिने खुट्टा पूरै जलेको थियो। जाँच्दा संक्रमण फैलिएकाले खुट्टा काट्नुपर्ने देखियो।
आमाबुबा दुवैले बच्चाको खुट्टा काट्न मानेनन्।
'डाँडाकाँडा हिँड्नुपर्ने मान्छेको खुट्टा नै काटिदिएपछि पहाडमा कसरी बाँच्ला? भोलिका दिनमा के गरी खाला? यस्तै भनेर उहाँहरू खुट्टा काट्न मान्नुभएन,' नकर्मीले भने, 'भर्ना भइसकेको बिरामी उपचार नै नगरी फर्किनुभयो।'
'हामीले कृत्रिम खुट्टा हाल्न सकिन्छ भनेर सम्झाएका पनि थियौं,' उनले भने।
त्यसयता ती आमाबुबा फर्किएर आएका छैनन्।
'जुनसुकै अस्पताल लगेको भए पनि खुट्टा नकाटी बचाउनसक्ने अवस्था थिएन। संक्रमण फैलिएर बिस्तारै ज्यानै जाने जोखिम थियो,' उनले भने, 'त्यो बच्चाको अवस्था के भयो होला भनेर अहिले पनि म झल्झली सम्झिन्छु।'
उनले यस्तै अर्को घटना पनि सुनाए।
हात जलेर संक्रमण फैलिसकेकी एक महिला ओखलढुंगाबाट आएकी थिइन्।
छोप्ने रोग भएकाले अर्धबेहोस अवस्थामा हात पोलेको रहेछ। केही दिन भर्ना भएपछि हात काटनुपर्ने देखियो। तर मानिनन्।
'उहाँहरू केही नभनी फुत्त जानुभयो,' नकर्मीले भने, 'समयमै अस्पताल आउनुभएको थियो। हात काटेको भए बचाउन सकिन्थ्यो। संक्रमण शरीरभरि फैलिएपछि बचाउन गाह्रो हुन्छ।'
कीर्तिपुर आउने ९२ प्रतिशत बिरामी काठमाडौं बाहिरका हुन्छन्। तिनमा आर्थिक अवस्था कमजोर भएकाहरू थुप्रै आउँछन्। उनीहरूको उपचारमा रोकावट नआओस् भनेर अस्पतालले विभिन्न संघ-संस्था र दातासँग सहकार्य गरिरहेको डा. नकर्मीले जानकारी दिए।
'कम्तिमा पैसा छैन भनेर फर्किनु पर्दैन,' उनले भने, 'कतिपयले पैसा नभएको कुरा भन्न नसकेर आफै छाडेर भने गएका छन्।'
बिरामीको वर्गीकरण, प्राथमिक उपचार र थप उपचार विधिपछि अब कुरा गरौं प्लास्टिक सर्जरीको।

नकर्मीलाई सानैदेखि डाक्टर बन्ने इच्छा त थियो, तर प्लास्टिक सर्जन बन्छु भन्ने सोचेका थिएनन्।
उनी गाउँगाउँ डुलेर दु:खी-गरिबहरूको अपरेसन गर्न चाहन्थे। प्युठानमा जन्मिएका उनको एसएलसी दिने बेलासम्म यही सपना थियो।
सन् १९९७/९८ को कुरा हो। उनी एसएलसी दिएर गाउँमै बसिरहेका थिए। त्यही बेला जन्मजात तालु फाटेका, ओठ काटेकाहरूको अपरेसन गर्न डा. शंकर राई उनको गाउँ पुगे।
डा. राईसँगको भेटपछि नकर्मीको रूचि बदलियो।
शिक्षण अस्पताल महाराजगन्जबाट एमबिबिएस गरेपछि उनी तालु फाटेका र ओठ काटिएकाहरूको अपरेसनमा संलग्न हुन थाले। सन् २००४ मा औंला जोडिएकाहरूको अपरेसन गर्न गाउँ-गाउँ पुगेको उनी सम्झन्छन्।
यसै क्रममा 'ह्यान्ड सर्जरी' को तालिम लिन अमेरिका पुगे। पछि अस्ट्रेलियाबाट प्लास्टिक सर्जरीको तालिम लिए र आधिकारिक 'प्लास्टिक सर्जन' बने।
यति मात्र होइन, सन् २००५/०६ तिर महाराजगन्ज शिक्षण अस्पतालमा प्लास्टिक सर्जरी कक्षा सुरू भएपछि त्यहाँ पनि अध्ययन गरे। उनी पहिलो ब्याचका विद्यार्थी हुन्।
यसबीच आफ्ना 'गुरू' तथा 'मार्गदर्शक' डा. शंकर राई र वीर अस्पतालका डा. केडी जोशीसँगको निरन्तर काम र प्रेरणाले यहाँसम्म आइपुगेको नकर्मी बताउँछन्।
नेपालमा प्लास्टिक सर्जरीको इतिहास त्यति लामो छैन। सुरू कहिले र कसरी भयो ठ्याक्कै भन्न सकिँदैन। आजभन्दा २५/३० वर्षअघि 'गोरखापत्र' मा छापिएको एउटा समाचारअनुसार एक बंगाली डाक्टरबाट आगोले पोलेर जोडिएका औंला शल्यक्रिया गरेर छुट्याइयो भन्ने छ। शरीरका अन्य भागको छाला काटेर औंलामा राखियो भन्ने पनि उल्लेख छ।
डा. नकर्मीले उक्त समाचारको कटिङ सुरक्षित राखेका छन्। त्योभन्दा अघिका यस्ता कुनै घटना नभेटेको उनी बताउँछन्।
उनका अनुसार नेपालमा प्लास्टिक सर्जरीको औपचारिक सुरूआत तालु र ओठ फाटेकाहरूको उपचारबाटै भएको हो।
'बच्चा मात्र होइन, बूढाबूढी पनि फाटेको ओठ लिएर हिँडेको देखिन्थ्यो,' उनले भने, 'अहिले जन्मिनासाथ सिलाइन्छ।'
पहिले यसलाई नै प्लास्टिक सर्जरी भन्ने गरिएकोमा अचेल दायरा विस्तार भएको छ। धेरैलाई प्लास्टिक सर्जरी भनेको 'कस्मेटिक सर्जरी' मात्र हो भन्ने भ्रम पनि छ। जबकि, डा. नकर्मीका अनुसार कस्मेटिक सर्जरी एउटा विधा मात्र हो। बर्न सर्जरी, ह्यान्ड सर्जरी, माइक्रो सर्जरी लगायत सबै प्लास्टिक सर्जरीमै पर्छन्।
पछिल्लो समय विश्वव्यापी रूपमै यसको प्रयोग बढ्दै छ। अन्य देशमा कस्मेटिक सर्जरीलाई बढी प्राथमिकता दिएको पाइन्छ। नेपालमा त्यति प्रभाव देखिँदैन।
नेपालमा गरिने प्लास्टिक सर्जरीमा जन्मजात फाटेको तालु वा ओठ सिलाउने, जोडिएका औंला छुट्याउने, जलनमा परेका बिरामीमा एक ठाउँको छाला वा मासु अर्को ठाउँबाट झिकेर राख्ने, दुर्घटनामा परेर हातखुट्टा गुमाएका बिरामीलाई कृत्रिम हातखुट्टा लगाइदिने, क्यान्सरको अपरेसनपछि शरीरको स्वरूपमा काम गर्ने लगायत पर्छन्। यसका लागि कीर्तिपुर अस्पतालमा मात्र विभिन्न विधामा १२ जना वरिष्ठ सर्जन छन्।
डा. नकर्मीले प्लास्टिक सर्जरी र त्यसमा भइरहेका केही महत्त्वपूर्ण कामबारे पनि हामीसँग चर्चा गरे।
सबभन्दा पहिला आउँछ, माइक्रो सर्जरी। यो भनेको एक ठाउँको मासु वा हड्डी अर्को ठाउँमा सार्नु हो। ठुल्ठूलो दुर्घटनामा परेर अंगभंग भएका घाइतेमा शरीरको एक ठाउँको मासु वा कोष झिकेर अर्को ठाउँमा जोडिन्छ। यो विधिले धेरै घाइतेको ज्यान जोगाएको नकर्मी बताउँछन्।
'दुर्घटनामा परेर हड्डी मात्र देखिएको छ भने हामी शरीरको अर्को भागबाट केही मासु झिकेर हाल्छौं र ह्वांग देखिएको हड्डी छोप्छौं,' उनले भने, 'क्यान्सरका बिरामीलाई पनि शरीरको कुनै भाग काटेर फाल्दा अर्को ठाउँको हाल्नुपर्छ।'
'यसरी मासु हालेपछि रक्तसञ्चार सहज गराउन मसिना नसाहरू पनि जडान गर्नुपर्छ,' उनले थपे।
'स्किन ग्राफ्टिङ' अर्को महत्त्वपूर्ण प्लास्टिक सर्जरीमा पर्छ।
यो भनेको एक ठाउँको छालालाई अर्कोमा लगेर छोप्ने हो। बर्न सर्जरीमा धेरै प्रयोग हुन्छ। ठुल्ठूला घाउ भएका भागमा अन्य भागको छाला काटेर हाल्नुपर्छ।
ह्यान्ड र जोइन्ट सर्जरी भने उस्तै-उस्तै हो। यसमा प्राय: हातखुट्टाका औंला जोडिएका छन् भने अपरेसन गरेर छुट्याइन्छ। हातखुट्टा काट्नुपरेको अवस्थामा नक्कली राख्ने काम पनि हुन्छ।

प्लास्टिक सर्जरीको क्षेत्र फैलिँदै गए पनि नेपालमा बर्न सर्जरी नै पहिलो प्राथमिकतामा रहेको डा. नकर्मी बताउँछन्।
'प्लास्टिक सर्जरी भन्नासाथ शारीरिक सौन्दर्य बढाउने अपरेसन हो भन्ने धेरैको बुझाइ छ। तर हाम्रो निम्ति बिरामीको सौन्दर्यभन्दा ज्यान बचाउनु पहिलो प्राथमिकता हो,' डा. नकर्मीले भने, 'सौन्दर्य बढाउने खालका केही कस्मेटिक सर्जरी पनि गर्छौं, तर पहिलो प्राथमिकतामा पर्दैन।'
कस्मेटिक सर्जरीमा आँखा, नाक, कान लगायत शरीरका विभिन्न अंगलाई फरक आकार दिने गरी शल्यक्रिया गरिन्छ। हलिउड र बलिउडका अभिनेताले यस्तो शल्यक्रिया गरेर सौन्दर्य बढाएको चर्चा धेरै सुनिन्छ। त्यसले पनि कतिपयलाई कस्मेटिक सर्जरीतर्फ चासो बढाएको छ। डा. नकर्मी भने फिल्ममा देखिनेजस्तो अनुहारको बनोट नै परिवर्तन हुने वा अरू कुनै व्यक्तिको जस्तो बनाउन नमिल्ने बताउँछन्।
'फिल्ममा देखाएजस्तो बनाउन सकिँदैन, यो असम्भव कुरा हो,' उनले भने, 'हामीकहाँ अहिलेसम्म फलानो मान्छेजस्तो देखिने गरी अपरेसन गरिदिनुस् भनेर फोटो लिएर कोही आएका पनि छैनन्।'
उनले हाँस्दै भने, 'भोलिका दिनमा कोही आए हेरम्ला!'
जलेका बिरामीको अनुहार वा शरीरका अन्य अंग पनि प्लास्टिक सर्जरी गरेर हुबहु पुरानै अवस्थामा फर्काउन नसकिने उनको भनाइ छ।
'करिब ६० प्रतिशतजति निको पार्न सकिन्छ, दागहरू चाहिँ बस्छन्,' उनले भने, 'दाग हटाउन लेजर वा अन्य औषधि प्रयोग गर्न थालिएको छ। यसले पनि पूरै कम भने हुँदैन। त्यो पनि धेरै पैसा हुनेहरूले मात्र गर्ने हुन्। जति पैसा खर्च गरे पनि पुरानै अवस्थामा फर्काउन त सकिँदै सकिँदैन।'
उनका अनुसार २० प्रतिशत जलेका बिरामीलाई करिब एक महिना उपचार गर्नुपर्छ। दुई लाख रूपैयाँभन्दा बढी खर्च लाग्छ। ४० प्रतिशत वा त्योभन्दा बढी जलेको छ भने उपचारमा धेरै समय लाग्छ। पैसा ४-५ लाख रूपैयाँ खर्च हुन्छ।
प्लास्टिक सर्जनको अर्को महत्त्वपूर्ण काम बिरामीको गुमेको आत्मबल फर्काउनु हो। एउटा दुर्घटनाले बिरामीको दैनिकी नै फेरिदिएको हुन्छ। कतिपय व्यक्ति मानसिक रूपमा विक्षिप्त हुन्छन्। त्यस्तो अवस्थामा प्लास्टिक सर्जरी गरेर शारीरिक घाउ सक्दो ठिक पार्ने र निरन्तर परामर्शद्वारा मानसिक रूपमा सहज बनाउनुपर्ने उनी बताउँछन्।
'धेरै बिरामीका हकमा प्लास्टिक सर्जरीपछि आत्मविश्वास बढेको र समाजमा सहजै घुलमिल हुन थालेको मेरो व्यक्तिगत अनुभव छ,' उनले भने।
अनुहारको स्वरूपमै असर परेका बिरामी भने अरूभन्दा मानसिक रूपले कमजोर भएका हुन्छन्। उनीहरूलाई सहज बनाउन छुट्टै मनोपरामर्शको खाँचो पर्छ। यसमा धेरै समय लाग्छ।
'यस्ता बिरामीको निम्ति सबभन्दा ठूलो उपचार मान्छेको हेराइ हो,' उनले भने, 'हामीकहाँ सामान्यभन्दा फरक अनुहार देख्नासाथ उसलाई अप्ठ्यारो महसुस हुने गरी फर्की फर्की हेर्ने चलन छ। कानेखुसी गर्ने चलन छ। यसले बिरामीको आत्मविश्वास चकनाचुर हुन्छ।'
'त्यसैले समाजले जति सहज रूपमा स्वीकार गर्यो, बिरामीलाई उति सहज हुन्छ। उनीहरू उति सजिलै सामान्य जीवनमा फर्किन सक्छन्,' डा. नकर्मीले भने।
***