प्रारम्भ
आजभन्दा पाँच सय वर्षअघि उपल्लो मुस्ताङमा जाम्याङ रिन्छेन ग्येलत्सेन (सन् १४४५–१५५८) नामका लामागुरू थिए।
त्यो समय उत्तर–पश्चिम नेपालको मुस्ताङ क्षेत्रलाई ‘ग्लो बो’ भनिन्थ्यो। ग्लो बोदेखि समस्त तिब्बत र बौद्ध धर्मको प्रभाव रहेको काठमाडौं उपत्यकादेखि भारतको नालन्दा क्षेत्रमा समेत जाम्याङ रिन्छेनलाई ‘सिद्ध तान्त्रिक योगी’ का रूपमा चिनिन्थ्यो।
उनी तिब्बतको गुङ थाङ (ल्हासा) का सम्मानित बौद्धगुरू छोग्याल नोर्बुका छोरा हुन्। कतिपयले उनलाई तिब्बती बौद्ध धर्मका लामा मार्पा लोत्सावा छोकी लोद्रोको अवतारसमेत मान्छन्।
सन् १५०५, मार्च महिनातिरको कुरा हो।
एकदिन जाम्याङ रिन्छेन मुस्ताङका राजालाई भेट्न गए र आफ्नो राज्यमा प्रकृतिको कहर बर्सिन लागेको भविष्यवाणी गरे।
‘अबको तीन महिनामा हामीले प्रकृतिको भयानक कहर भोग्नुपर्नेछ,’ उनले राजालाई सतर्क गराउँदै भने, ‘कि यहाँ ठूलो भुइँचालो जान्छ, कि घनघोर असिना बर्सिन्छ, कि आकाशबाट उल्कापिण्डहरूको भीषण वर्षा हुन्छ। जे भए पनि त्यसले तिब्बतदेखि भारतमा समेत जनधनको ठूलो क्षति गर्न सक्छ। दसौं हजार मान्छे मारिन सक्छन्। हाम्रा यी घर र गुम्बा मात्र होइन, महाराजको दरबारसमेत बाँकी नरहला!’
मुस्ताङी राजाले जाम्याङ रिन्छेनका कुरा चुपचाप सुनिरहे।
‘पृथ्वीको गर्भमुनि अनिष्ट शक्तिहरू थुप्रिएर बसेका छन्। ती अनिष्ट शक्तिबीच घमासान लडाइँ चल्दैछ। कुनै पनि बेला, कुनै पनि रूपमा ती शक्तिहरू बाहिर निस्कन सक्छन्,’ जाम्याङ रिन्छेनले राजालाई सुझाव दिए, ‘हामीले तान्त्रिक अनुष्ठान गरेर ती अनिष्ट शक्तिलाई वशमा लिनुपर्छ। नभए क्रुद्ध शक्तिको प्रकोपबाट कोही बाँच्ने छैनन्।’
उनले अगाडि भने, ‘जुन घडी पृथ्वीको गर्भमुनि रहेका अनिष्ट शक्तिहरू बाहिर निस्केलान्, त्यो बेला हामी उभिरहेको धर्ती र हामी माथिको आकाश एक ढिक्का हुनेछ। हामीले अन्न उब्जाउने माटो र हामीले सास फेर्ने हावा आपसमा विलिन हुने छन्। मान्छेको अस्तित्व नै नासिनेछ। जो बाँच्लान्, तिनको पनि आनीबानी उस्तै रहने छैन। हावापानीले धरि आफ्नो रूप फेर्नेछ। मौसममा यति हेरफेर हुनेछ; कहिले घामको ताप बढेर पृथ्वी पट्पट्ती फुटनेछ, कहिले अविरल झरीले पृथ्वी नै बगाउनेछ। हिमालमा हिउँ पग्लेर काला चट्टानहरू देखापर्ने छन्। हिमतालहरू फुटेर बस्तीका बस्ती उजाडिने छन्। हाम्रा यी वनस्पतिहरूको रंग फुंग उड्नेछ। शीत, तुसारो, कुहिरो, असिना–पानी; कसैको कुनै टुंगो हुने छैन। सारा जीवन–जगत नै निष्प्राण हुनेछ।’
राजाले जाम्याङ रिन्छेनका कुरा गम्भीर भएर सुने — सुनिरहे।
बेला बेला शिर हल्लाए — हल्लाइरहे।
तर आखिरमा जाम्याङ रिन्छेनका सुझाव अमल गर्न राजाले कुनै चासो देखाएनन्।
जाम्याङ रिन्छेन दरबारबाट निराश फर्के।
सायद राजालाई रिन्छेनको भविष्यवाणीप्रति भर भएन!
वा, उनले सोचे होलान् — प्रकृतिको कहरलाई आजसम्म कसले थेग्न सकेको छ र!
वा, उनलाई यो पनि लागेको हुनसक्छ — कतै भविष्यवाणीको आडमा यी लामागुरू आफ्नो प्रभाव फैलाउने र अनुष्ठानका नाममा आफ्नो महिमागान गराउने चेष्टा त गर्दै छैनन्!
जाम्याङ रिन्छेनले भने आफ्नो तान्त्रिक शक्तिबाट भविष्यमा आइपर्ने संकट भाँपिसकेका थिए। त्यसैले पछि पछि पनि लगातार राजासमक्ष बिन्ती बिसाइरहे।
राजाबाट सुनुवाइ नभएपछि स्थानीय जनताको घरदैलोमा गएर आफ्नो भविष्यवाणी सुनाए र प्रकृतिको कहरबाट बच्न सुरक्षित बसोबास गर्न सल्लाह दिए।
उनले भने, ‘यो अनिष्टबाट बच्ने हो भने तिमीहरू दुई तलाभन्दा अग्लो घरमा बस्दै नबस्नू। ढुंगा, माटो र मोटा–मोटा काठले बनेको गह्रुंगो घरमा बस्दै नबस्नू। पहिरो जान सक्ने भिरालो जमिनमा बस्दै नबस्नू। नदी किनारको क्षेत्र, जहाँ जमिनमा बालुवाको मात्रा बढी छ, त्यहाँ पनि बस्दै नबस्नू। अजंग रूखहरू भएको वन–जंगलमा त सकभर जाँदै नजानू। हुनसक्छ भने खुला, समथर चउरमा हलुका छाप्रो बनाएर बस्नू। ताकि भोलि छाप्रो भत्किहाल्यो भने पनि त्यसको भारले थिचेर प्राण जाने नौबत नआओस्।’
यसरी स्थानीय जनतालाई सल्लाह र सुझाव दिने मात्र होइन, जाम्याङ रिन्छेन आफैं पनि घरबास त्यागेर खुला चउरमा बस्न आए।
उनले भिरालो जमिनभन्दा टाढा, अजंग रूखहरू भएको जंगलभन्दा टाढा, बालुवा भएको नदी किनारभन्दा टाढा, खुला र समथर चउरमा आफ्नो निम्ति नयाँ झुप्रो बनाए।
त्यो झुप्रो बाँस र खरले बनेको एकदमै हलुको थियो।
केही गाउँलेहरू, जसले जाम्याङ रिन्छेनको भविष्यवाणी पत्याए, उनीहरू पनि आफ्नो घरबास छाडेर त्यही खुला चउरमा आए।
र, जाम्याङ रिन्छेन सँगसँगै तान्त्रिक अनुष्ठानमा संलग्न हुन थाले।
सन् १५०५, जुन ७
भविष्यवाणी गरेको ठ्याक्कै तीन महिनापछि घामको पहिलो किरणले जसै पूर्वी हिमालको शिखर सुनौलो भएर आयो, जाम्याङ रिन्छेन ग्येलत्सेन आफ्नो बिछ्यौनाबाट जर्याकजुरूक उठे र झुप्रोबाट बाहिर निस्के।
खुला चउरमा उभिएर ठुल्ठूलो स्वरले कराउँदै वरिपरिका गाउँलेहरूलाई झुप्रोबाट निस्कन आग्रह गरे।
जो–जो उनको कुरा अविश्वास गर्दै पहिलेकै घर वा गुम्बामा बसिरहेका थिए, तिनलाई पनि जतिसक्दो छिटो चउरमा आउन सन्देश पठाए। तीमध्ये कतिपयले आखिरी समयमा भए पनि जाम्याङ रिन्छेनप्रति थोरै विश्वास देखाए। कोही भने उनको खिसी गर्दै बिहानको चिसोमा तातो ओछ्यानभित्रै गुटुमुटु बसिरहे।
घाम हिमालको कापबाट पुलुक्क उदायो र बिस्तारै आकाशतिर बढ्दै गयो।
आकाशमा घामको गुलाबी लाली पोखियो।
गाउँलेहरू जाडोले सिउसिउ गर्दै शीतले भिजेको चउरमा डल्लो परे।
कोही घामको गति हेर्दै थिए, कोही उल्कापिण्ड बर्सिएला कि भनेर आकाशतिर मुख बाएर बसेका थिए।
कोही भुइँचालोको कम्पन छुट्ला भनेर बूढीऔंलाले धर्ती थिच्दै थिए, कोही असिनापानीले सोत्तर पार्ला कि भनेर कामेका थिए।
मृत्युको भयले सबैको अनुहारको रंग यस्तरी उडेको थियो, जसरी घाम टल्किँदै जाँदा शीतको ओस उड्छ।
मरे पनि एकै ठाउँमा प्राण जाओस् भनेर परिवारहरू आपसमा हात समात्दै कक्रकिएका थिए। आमाहरू दूधे–शिशुलाई छातीमा च्यापेर ममता ओखाइपोखाइ पार्दै थिए। वृद्ध आमाबालाई तन्नेरी छोराछोरीको भर थियो। तन्नेरी छोराछोरीलाई आमाबाको आड थियो।
एकैछिनमा गाउँभरका कुकुर एकैचोटि जोड–जोडले भुक्न थाले, मानौं उनीहरूले धर्ती चिरेर आउँदै गरेको राक्षसी छाया चाल पाए!
आकाशमा चराहरू पखेटा फड्फडाउँदै भुर्रर भुर्रर उड्न थाले, मानौं उनीहरूले धर्ती चिरेर आकाश निल्न आउँदै गरेको राक्षसको गति भाँपे!
चउरमा जम्मा भएका त्रसित मानिसहरूले के भयो वा के हुँदैछ भन्ने अड्कलधरि गर्न पाएनन् — निमेषभरमै धर्ती यस्तरी काम्यो, मानौं भुइँमुनि लुकेको राक्षसी शक्तिले आफ्नो भएभरको बल लगाएर पृथ्वी जोड–जोडसँग हल्लाउँदैछ।
चउरमा कोलाहल मच्चियो।
उभिएकाहरू उभिन सकेनन्। लगलग कामेका गोडा थाम्न नसकेर भुइँमा थुचुक्कै बसे।
बसेकाहरू पनि भुइँमा डल्लो परे।
कोही डरले भाग्न खोज्थे। खुट्टा लडबडाएर माटो खान पुग्थे।
एक डल्लो भएर बसेको परिवारलाई आफ्नो हातेगाँठो थाम्न मुश्किल पर्यो।
आमाहरूलाई आफ्नो दूधे–शिशु छातीमा टाँसेर राख्न धरमर भयो।
वृद्धहरू सुक्सुकाउन थाले।
बालखाहरूको क्रन्धनले आकाशको बादल नै च्यात्तिएलाझैं भयो।
यसबीच एकदमै कम समयको अन्तरमा थप पाँचवटा कम्पनले धर्ती बेस्सरी हल्लायो।
आकाश र पृथ्वी नै उलटफेर होलाजस्तो कम्पनले अत्तालिएका गाउँलेहरूमाझ लामागुरू जाम्याङ रिन्छेन भने धीर मुद्रामा थिए। उनको मुखबाट एकनासले तान्त्रिक मन्त्र फुट्दै थियो।
उनको देखासिकी गाउँलेहरू पनि आफ्नो उफ्रिरहेको मुटु बाँधेर मन्त्र उच्चारण गर्न थाले।
त्यही बेला डाँडामाथिको बस्तीबाट धुलोको मुस्लो उड्यो।
मानिसहरूको चित्कार छुट्यो।
पहिले जाम्याङ रिन्छेनलाई नपत्याएर घरैमा बसेका गाउँलेहरू ज्यान बचाएर लडदै–पड्दै दौडादौड चउरतिर आउन थाले।
त्यसैबीच जाम्याङ रिन्छेनले दुई हात जोडेर आकाशतिर हेरे र ठुल्ठूलो स्वरमा प्रार्थना गरे, ‘हे ईश्वर, यदि मैले आजसम्म गरेको तपजपमा शुद्धता छ भने; मेरो आजसम्मको तान्त्रिक अनुष्ठानमा इमानदारी छ भने; मेरो ध्यान, साधना र विद्यामा अलिकति पनि पवित्रता छ भने धर्तीको यो कम्पनबाट मेरो राज्यलाई मुक्त गरिदिनू।’
‘मेरो गुम्बा, मेरा अनुयायी, मेरो राज्यका जनता, मेरो राजा र मेरो राजपरिवारलाई प्रकृतिको यो कहरबाट सकुशल राख्नोस् प्रभु। मेरो धर्तीलाई यो कहरले निल्न नसकोस्। मेरो हावापानीलाई यो कहरले धमिल्याउन नपाओस्। मेरा यी वनस्पतिहरूको रंग यो कहरले नखोसोस्। मेरा पशुपन्छीहरूको प्राण यो कहरले नहरोस्। मेरो तपजप, मेरो ध्यान र मेरो अनुष्ठानप्रति यति अनुकम्पा देखाइदेऊ हे ईश्वर!’
जाम्याङ रिन्छेनले जसै आफ्नो प्रार्थना पूरा गरे, आकाशमा बिजुली चम्केझैं भयो।
बादलका थुंगाहरू एकाएक अलप भए।
आकाश छ्यांग सफा भयो।
धर्ती हल्लिन बिस्तारै कम हुन थाल्यो।
जाम्याङ रिन्छेनको गाउँमा केही गुम्बा र घर भत्किए, बाली नासिए, केही पशु–चौपाया मरे; मान्छे चाहिँ सकुशल रहे।
तर जाम्याङ रिन्छेनले सतर्क गराउन नसकेका गाउँ र त्यहाँका बासिन्दालाई प्रकृतिको कहरबाट कसैले बचाउन सकेन।
वरपरका धेरै राज्य माटो भए। राजाका दरबारदेखि जनताका घरबारसम्म खण्डहर बने। धर्तीमा धाँजा फाट्यो। कहीँ नदीको बाटो मोडियो, कहीँ नदी थुनिएर ताल बन्यो। पहाडहरू पहिरोले मैदान बने। कहीँ सुख्खा लाग्यो, कहीँ बाढीले बबन्डर मच्चायो।
दसौं हजारको ज्यान गयो। लाखौं पशु–चौपाया मरे।
आजभन्दा पाँच सय वर्षअघि — सन् १५०५ जुन ७ — को त्यो भुइँचालोले पश्चिम नेपालदेखि तिब्बत र भारतदेखि अफगानिस्तानका धेरै ठाउँमा भीषण क्षति पुर्यायो।
२०८० कात्तिक १७ को जाजरकोट भुइँचालोले क्षतिग्रस्त घर। तस्बिर: दिपकजंग शाही/सेतोपाटी
सन्दर्भ
तपाईंहरूलाई पाँच सय वर्ष पुरानो भुइँचालो इतिहासतिर फर्काउने हाम्रो यो स्टोरी खासगरी पश्चिम नेपालको भूकम्पीय जोखिमसँग सम्बन्धित छ। केही समययता पश्चिम नेपालका जाजरकोट, रूकुम लगायत स्थानलाई केन्द्रविन्दु बनाएर भुइँचालो गइरहेका छन्।
आजभन्दा ९ महिनाअघि कात्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भुइँचालो गएको थियो। भुइँचालोको धक्का काठमाडौंदेखि भारतको नयाँदिल्लीसम्म महसुस गरियो। त्यसलगत्तै पाँच सयभन्दा बढी परकम्पन गए। सबभन्दा ठूलो परकम्पन कात्तिक २० गते ५.८ म्याग्निच्युडको थियो।
सरकारी आँकडाअनुसार उक्त भुइँचालोले कम्तिमा १५३ जनाको ज्यान लियो भने ३६४ जना घाइते भए। त्यस्तै, साढे २६ हजार घर पूर्ण रूपमा क्षतिग्रस्त भयो भने साढे ३५ हजार घरमा आंशिक क्षति पुग्यो।
अब हामी पश्चिम नेपालको भुइँचालोसँग ऐतिहासिक सम्बन्ध जोडिएको १५०५ को महाभूकम्पबारे विस्तृत चर्चा गरौं।
सन् १५०५ को भुइँचालोबारे धेरै कुरा हामीलाई थाहा छैन। किनभने, विज्ञानले भुइँचालोको शक्ति र त्यसले उत्पन्न गर्ने कम्पनको दायरा नाप्न थालेको इतिहास नै सय वर्षभन्दा कम छ। भुइँचालो जानुको प्रमुख कारण मानिएको ‘प्लेट थ्योरी’ अर्थात् इन्डियन र युरेसियन प्लेटको अवधारणा सर्वमान्य भएको त सन् सत्तरी दशकपछि मात्र हो। यस्तोमा पाँच सय वर्ष पुरानो भुइँचालोको वैज्ञानिक आँकडा उपलब्ध हुनु असम्भव कुरा हो।
भूगर्भ वैज्ञानिकहरूले अहिलेसम्म यति मात्र अनुमान गरेका छन् — उक्त भुइँचालोको केन्द्रविन्दु तल्लो मुस्ताङ थियो। त्यही आधारमा यसलाई ‘लो–मुस्ताङ भुइँचालो’ भनिन्छ। यसले नेपालदेखि तिब्बत र भारतको दिल्लीदेखि अफगानिस्तानको काबुलसम्म ठूलो क्षति पुर्याएको पनि भनिँदै आएको छ।
यसबाहेक भूगर्भ विज्ञानले १५०५ को भुइँचालोबारे अन्य कुनै प्रमाणित विवरण हामीलाई दिँदैन।
जुन विवरण विज्ञानले दिँदैन, त्यसलाई इतिहासमा खोज्नुपर्ने हुन्छ। तर हाम्रो इतिहासमा त्यसको वर्णन छैन।
उन्नाइसौं शताब्दीको प्रारम्भतिर दक्षिण नेपाल वा भारतको उत्तरी भेगमा आएका साना–ठूला भुइँचालाको रेकर्ड तत्कालीन अंग्रेज शासकहरूले राखेका छन्। उनीहरूको रेकर्डमा पनि अठारौं शताब्दी वा त्योभन्दा पुरानो भुइँचालोको विस्तृत विवरण भने भेटिँदैन।
त्यसो भए १५०५ को भुइँचालो इतिहास कहाँ खोज्ने त?
यसबारे अध्ययन गर्न सघाउने विश्वासिलो ऐतिहासिक दस्तावेज कहाँ फेला पर्ला त?
भूक्षय लगायतका प्राकृतिक प्रकोप नियन्त्रणमा लामो समयदेखि काम गर्दै आएका भूगर्भविद् श्रीकमल द्विवेदीले हामीलाई बाटो सुझाए, ‘वैज्ञानिक रेकर्डहरूबाट मात्र ऐतिहासिक भुइँचालोको पूर्ण तस्बिर हेर्न सकिँदैन। भुइँचालो इतिहास अध्ययन गर्ने हो भने प्राचीन गुम्बाका लामागुरू र प्राचीन मन्दिरका पुजारीहरूले विगतमा लेखेर राखेका टिपोटहरू खोज्नुपर्छ। उनीहरूले धेरै कुरा नलेखे पनि कम्तिमा आफ्नो मन्दिर/गुम्बामा कति क्षति पुग्यो वा आफ्ना छिमेकी राज्यहरूमा रहेका अन्य मन्दिर/गुम्बामा कति क्षति पुग्यो, त्यसको लगत पक्कै राखेको हुनुपर्छ।’
‘खासगरी उत्तर–पश्चिम नेपाल र तिब्बती भू–भागमा क्षति पुर्याएको १५०५ को भुइँचालोबारे जान्न मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा वा तिब्बतका प्राचीन गुम्बाहरूमा संकलित टिपोटहरू अध्ययन गर्नुपर्छ। त्यो भुइँचालो कति ठूलो थियो र त्यसले पुर्याएको क्षति कहाँ–कहाँसम्म फैलिएको थियो भन्नेबारे तिब्बती गुम्बाका लामागुरूहरूले पक्कै केही न केही विवरण लेखेको हुनुपर्छ।’
श्रीकमल द्विवेदीको यही भनाइ पछ्याउँदै हामीले यसपालि पश्चिम नेपालको भूकम्पीय इतिहास जोडिएको १५०५ को महाभूकम्पलाई तिब्बती अभिलेखहरूमा खोज्ने प्रयास गर्यौं।
यही क्रममा जर्मनीको ह्यामबर्ग विश्वविद्यालयमा तिब्बती अध्ययनका प्राध्यापक रहेका डेभिड ज्याक्सनको एउटा शोधपत्र फेला पर्यो।
‘द ग्रेट वेस्टर्न–हिमालयन अर्थक्वेक अफ १५०५: अ रप्चर अफ दी सेन्ट्रल हिमालयन ग्याप’ शीर्षकको उक्त शोधपत्रमा प्राध्यापक ज्याक्सनले विभिन्न तिब्बती गुम्बामा प्राप्त टिपोट, लामागुरूका संस्मरण र केही भारतीय ऐतिहासिक रेकर्डहरूबाट १५०५ को कथा उधिनेका छन्। प्राध्यापक ज्याक्सनले हिन्दुस्तानका पहिलो मुगल बादशाह बाबर र मुगल इतिहासका अध्येताहरूको संस्मरणबाट पनि त्यो भयावह भुइँचालोको कथा भनेका छन्। यो स्टोरीमा हामीले ती सबै प्रमुख संस्मरणहरू समेटेका छौं।
सबभन्दा पहिला कुरा गरौं, तिब्बती अभिलेखको।
तिब्बती अभिलेख
भुइँचालो अध्ययनमा तिब्बतका ऐतिहासिक रेकर्डहरू विरलै प्रयोगमा आएको प्राध्यापक डेभिड ज्याक्सनको भनाइ छ, ‘जबकि तिब्बती आत्मकथा तथा अन्य ऐतिहासिक अभिलेखहरूले भुइँचालो र त्यसले ल्याएका परिणामको अत्यन्तै मिहिन विवरण दिएका हुन्छन्,’ उनी लेख्छन्।
उनका अनुसार तिब्बतका केही विद्वान र वैज्ञानिकहरूले तिब्बती भू–भाग र समस्त हिमाली क्षेत्रमा गएका भुइँचालाको रेकर्ड राख्ने उद्देश्यले सन् सत्तरी दशकमा गहिरो खोजबीन गरेका थिए। उनीहरूले विभिन्न वैज्ञानिक रिपोर्ट, तिब्बती भाषाका इतिहास सामग्री र संस्मरणहरूबाट छ सय पृष्ठभन्दा बढी टिपोट संकलन गरे। यसका लागि सय जनाको समूहले पुराना तिब्बती दस्तावेज र किताबका दसौं हजार पृष्ठ पल्टाएका थिए। यो काम गर्न दुई वर्षभन्दा बढी समय लागेको थियो।
यति गहन खोजबीनपछि सन् १९८२ मा तिब्बत र हिमाली क्षेत्रका ऐतिहासिक भुइँचालासँग सम्बन्धित दुई भागको किताब प्रकाशित भयो, जसमा सन् ६४२ देखि १९८२ सम्मका ६१२ वटा भुइँचालाको कथा समेटिएको छ। ती भुइँचालाहरू अनुमानित ४.७ देखि ८ म्याग्निच्युड वा त्योभन्दा ठूला छन्।
‘तिब्बती अभिलेखले सन् १५०५ जुन ७ वा ८ तारिखमा ठूलो भुइँचालो गएको विवरण राखेको छ,’ प्राध्यापक डेभिड ज्याक्सन लेख्छन्, ‘त्यो भुइँचालोले पुर्याएको भीषण क्षतिका आधारमा आकलन गर्दा ८ म्याग्निच्युड वा त्योभन्दा शक्तिशाली थियो भन्नेमा कुनै शंका छैन।’
उनले आफ्नो शोधपत्रमा मुख्यतः चारवटा तिब्बती अभिलेख उद्धृत गरेका छन्। ती चार अभिलेखको अध्ययनबाट हामीलाई १५०५ को भुइँचालो कति ठूलो थियो र त्यसको प्रभाव कहाँ–कहाँसम्म फैलिएको थियो भन्नेबारे केही जानकारी हुन्छ।
अभिलेख १ : गुङ थाङ (पश्चिमी तिब्बत) का धर्मगुरू सुन्पा छोलेगको आत्मवृत्तान्त
पश्चिम तिब्बतको माङ युल गुङ थाङका धर्मगुरू सुन्पा छोलेगको जन्म सन् १४३७ मा भएको थियो भने उनको मृत्यु १५२१ मा भयो।
छोलेगको आत्मवृत्तान्तअनुसार १५०५ जुन ८ को बिहानै ठूलो भुइँचालो आएको थियो। त्योभन्दा अगाडि अघिल्लो रातभरि नै चौध–पन्ध्रवटा साना धक्का महसुस गरिएका थिए।
ठूलो धक्का आउनुभन्दा अगाडिका साना धक्कालाई भूगर्भ वैज्ञानिकहरू भुइँचालोको ‘पूर्वकम्पन’ भन्छन्। यस्ता पूर्वकम्पनले मान्छेलाई सतर्क गराउँछ। उनीहरू आफ्नो घरबास छाडेर खुला ठाउँमा जम्मा हुन सक्छन्। यसले मानवीय क्षति कम हुनसक्छ। १५०५ को पूर्वकम्पनले पनि मानवीय क्षति कम गर्न मद्दत गरेको हुनसक्छ, तर यसबारे छोलेगले प्रस्ट केही भनेका छैनन्।
उनले यतिसम्म भनेका छन्, ‘यो भुइँचालो पश्चिम तिब्बतको माङ रिस प्रान्तदेखि माङ युल गुङ थाङसम्म र त्यहाँबाट कम्तिमा पु राङदेखि गु गेसम्म करिब ५५० किलोमिटर दुरीमा फैलिएको थियो।’
‘माङ युल गुङ थाङमा त्यति क्षति भएन, जति ग्लो बो (उत्तर-पश्चिम नेपालको मुस्ताङ) क्षेत्र प्रभावित भयो,’ सुन्पा छोलेग लेख्छन्, ‘तिब्बत र भारतको बीचमा रहेको पश्चिम नेपालका पहाडी भू–भागमा भुइँचालोले धेरै नै क्षति पुग्यो। ग्लो बोभन्दा ठ्याक्कै दक्षिणस्थित काली गण्डकी उपत्यकामा रहेको थकालीहरूको बसोबास क्षेत्र पनि तहसनहस भयो। यी क्षेत्रमा घरहरू भत्किएर थुप्रै मान्छेको ज्यान गयो।’
यही भुइँचालोपछि माङ युल गुङ थाङका राजाको घरको छतले थिचेर मृत्यु भएको छोलेगले लेखेका छन्। माङ युल गुङ थाङको दक्षिण र पश्चिम भेगमा भने थुप्रै घर भत्किए पनि मानवीय क्षति कम भएको आत्मवृत्तान्तमा छ।
‘मुख्य धक्कापछि पनि साना–ठूला परकम्पन धेरै दिनसम्म आइरहे,’ भुइँचालोसम्बन्धी वैज्ञानिक ज्ञान नभएको त्यो समय यस्ता परकम्पनलाई धर्मगुरू छोलेगले ‘मृतक राजाको आत्माले पारेको प्रभाव’ भनेका छन्।
अभिलेख २ : ग्लो बो (उत्तर–पश्चिम नेपालको मुस्ताङ) का लामागुरू जाम्याङ रिन्छेन ग्येलत्सेनको जीवनी
हामीले यो स्टोरीको प्रारम्भमा उल्लेख गरेको विवरण यही अभिलेखमा आधारित छ।
प्राध्यापक डेभिड ज्याक्सनका अनुसार जाम्याङ रिन्छेन ग्येलत्सेनको जीवनीले १५०५ को भुइँचालोबाट उपल्लो मुस्ताङमा परेको प्रभावबारे मिहिन वर्णन गर्छ।
‘तिब्बतको गुङ थाङका धर्मगुरू छोग्याल नोर्बुका छोरा जाम्याङ रिन्छेनमा भविष्य देख्ने सिद्धि थियो। उनले ग्लो बोमाथि टर्क वा मंगोलहरूको हमला हुँदैछ भनेर भविष्यवाणी गरेका थिए,’ ज्याक्सन आफ्नो शोधपत्रमा लेख्छन्, ‘१५०५ मा ठूलो भुइँचालो वा कुनै किसिमको प्राकृतिक विपत्ति आउँदैछ भनेर पनि उनले राजासमक्ष भविष्यवाणी गरेका थिए। त्यो भुइँचालोको प्रभावले मानिसको आनीबानीमा परिवर्तन आउनसक्छ, हावापानी बदलिन सक्छ, मौसमहरू फेरिन सक्छन् भनेर उनले राजालाई सूचित गरेका थिए। यस्तो विपत्तिबाट बच्न धार्मिक तथा तान्त्रिक अनुष्ठान गर्नुपर्ने उनको सुझाव थियो।’
‘जाम्याङले बारम्बार यस्तो चेतावनी दिए पनि उनको भविष्यवाणीलाई राजा वा अरू कसैले गम्भीर रूपमा लिएनन्। धेरैले उनी आफ्नो मानमर्यादा बढाउन भविष्यवाणी गरिरहेका छन् कि भन्ने शंका गरे।’
आखिरमा जाम्याङ रिन्छेनको भविष्यवाणी सही साबित भयो।
उनको जीवनीमा भुइँचालोको मिति भने एक दिन फरक छ। अघिल्लो अभिलेखले १५०५ जुन ८ मा भुइँचालो गयो भन्छ। जबकि, जाम्याङको जीवनीमा जुन ७ मा भुइँचालो गएको उल्लेख छ। यी दुईमध्ये कुनै एउटा अभिलेख तयार पार्दा तिथिमिथि झुक्किएको हुनसक्ने प्राध्यापक ज्याक्सनले अनुमान गरेका छन्।
जाम्याङ रिन्छेनको जीवनीले उनलाई तिलस्मी नायकका रूपमा चित्रण गर्न खोजेको देखिन्छ। राजा र स्थानीय जनताले आफ्नो भविष्यवाणी विश्वास नगरे पनि रिन्छेनले भुइँचालो जानुभन्दा अगाडिदेखि नै सबैलाई खुला र समथर चउरमा झुप्रो बनाएर बस्न सल्लाह दिएको जीवनीमा उल्लेख छ। उनी आफैं पनि गुम्बा छाडेर खुला चउरमा बस्न थालेको जीवनीकारले लेखेका छन्।
भुइँचालो गएपछि उनले तान्त्रिक अनुष्ठान र प्रार्थनाको शक्तिबाट आफ्नो गुम्बा, आफ्ना अनुयायी, आफ्नो राज्य, राजा र जनतालाई क्षति पुग्नबाट जोगाएको बयान जीवनीमा छ।
अघिल्लो अभिलेखसँग दाँजेर हेर्ने हो भने यो बयान केही अतिरञ्जित देखिन्छ। किनभने, अघिल्लो अभिलेखमा धर्मगुरू सुन्पा छोलेगले ग्लो बो क्षेत्र निकै प्रभावित भएको लेखेका छन्।
जाम्याङ रिन्छेनलाई तिलस्मी नायक देखाउन अतिरञ्जित बयान गरिएको भए पनि उनको जीवनीमा तीनवटा महत्वपूर्ण कुरा उल्लेख छ —
पहिलो, यो भुइँचालो बिहान सूर्योदयलगत्तै सुरू भएको थियो।
दोस्रो, एकदमै कम समयको अन्तरमा पाँचचोटि ठुल्ठूलो भुइँचालो गएको थियो, जसको शक्ति धर्तीले धान्नै नसक्ने थियो।
र तेस्रो, भुइँचालो यति शक्तिशाली थियो, मानौं आकाश र पृथ्वी नै उलटफेर भएको होस्!
जीवनीमा उल्लिखित यी तीन वर्णनले हामीलाई १५०५ को भुइँचालो कुन समयमा गएको थियो र कति शक्तिशाली थियो भन्ने छर्लंग बुझाउँछ। यस आधारमा जीवनीकारले भनेझैं ‘आकाश र पृथ्वी नै उलटफेर गर्लाजस्तो’ शक्तिशाली भुइँचालो थेग्ने तान्त्रिक शक्ति जाम्याङ रिन्छेनसँग थियो कि थिएन, त्यो चाहिँ भन्न सकिन्न।
जाम्याङ रिन्छेनको जीवनीकै आधारमा त्यो ठाउँमा मानवीय क्षति कम भएकै थियो भने पनि तीन कारणले हुन सक्छ —
एक, त्यहाँका मान्छे बाँस र खरले छाएका साना र हलुका झुप्राहरूमा बस्थे।
दुई, त्यहाँ खुला र समथर चउर थियो।
तीन, भुइँचालोको कम्पन छुट्नेबित्तिकै सबै जना आ–आफ्नो झुप्रो छाडेर चउरमा निस्के।
यी तीनैवटा तथ्य जाम्याङ रिन्छेनका जीवनीकारले नै उल्लेख गरेका छन्। त्यसैले पात्रको अतिरञ्जनापूर्ण तिलस्मी वर्णनलाई पन्छाएर यी तीन तथ्य मात्र मान्ने हो भने ग्लो बोका अन्य ठाउँमा ठूलो क्षति भए पनि जाम्याङ रिन्छेनको गाउँमा खासै मानवीय क्षति नभएको विवरण सही हुनसक्छ।
अभिलेख ३ : ग्लो बो (मुस्ताङ) का भिक्षु सोनाम ल्हुनरूबको संस्मरण
ग्लो बो (मुस्ताङ) का विद्वान भिक्षु सोनाम ल्हुनरूबको जन्म सन् १४५६ मा भएको थियो। उनको मृत्यु १५३२ मा भयो।
उनले आफ्नो समयका युवा राजकुमारहरूलाई पढाउन भनेर आफूले भोगेको समयकालको संस्मरण लेखेका थिए, जसले १५०५ को भुइँचालोले उपल्लो मुस्ताङ क्षेत्रमा पुर्याएको भीषण क्षतिको प्रस्ट तस्बिर देखाउँछ।
यो संस्मरणले पनि माथिको पहिलो अभिलेखमा उल्लेख भएझैं उपल्लो मुस्ताङ क्षेत्र भुइँचालोबाट निकै प्रभावित भएको बयान गर्छ।
भिक्षु सोनाम ल्हुनरूबले जाम्याङ रिन्छेनका जीवनीकारले झैं भुइँचालोको अतिरञ्जनापूर्ण बयान गरेका छैनन्। उनी आफ्नो संस्मरणमा लेख्छन् —
‘भुइँचालोले जंगलका रूखहरू ढलेर सखाप भए। वरपर अधिकांश क्षेत्रका गुम्बा र मन्दिरहरू ध्वस्त भए। भगवानका मूर्तिहरू क्षतविक्षत भए। असंख्य मान्छेको प्राण गयो। सिंगो राज्य नै उजाड र रित्तो भयो। भुइँचालोपछिका दिनमा धेरै मान्छेमा धार्मिक आस्था बढेको पाइयो।’
प्राध्यापक डेभिड ज्याक्सनले यो अभिलेखबारे त्यति लामो वर्णन गरेका छैनन्। भुइँचालोको मिति र समयबारे उल्लेख छैन। तर जति वर्णन गरेका छन्, त्यसले भुइँचालोको क्षतिबारे पर्याप्त सूचना दिन्छ।
यहाँ भिक्षु सोनामले गुम्बा र मन्दिरहरू ध्वस्त भएको विवरण जसरी लेखेका छन्, त्यस आधारमा स्थानीयका घरगोठ पनि कुनै बाँकी नरहेको सहजै अनुमान लगाउन सकिन्छ। जंगलका रूखहरू समेत ढलेर सखाप भएको बयानले जमिन चिरा पर्नुका साथै भीषण पहिरो गएको संकेत गर्छ। उनले ‘असंख्य’ मान्छेको प्राण गयो भन्नु र सिंगो राज्य नै ‘उजाड र रित्तो’ भयो भन्नुले मानवीय क्षतिको हद हामी अड्कल गर्न सक्छौं।
भुइँचालोपछि धार्मिक आस्था बढेको वर्णनले पनि १५०५ को भूकम्पीय शक्तिले तत्कालीन सभ्यताको जरा कतिसम्म हल्लाएको थियो भन्ने झलक दिन्छ।
अभिलेख ४ : ग्लो बो (मुस्ताङ) का भिक्षु कुन्गा रोमछोगको जीवनी
सोह्रौं शताब्दीको प्रारम्भमा ग्लो बो, अर्थात् मुस्ताङ क्षेत्रमा कुन्गा रोमछोग (सन् १५०७–१५६६) नामका अर्का विद्वान भिक्षु थिए। उनी पछि स्थानीय गुम्बाका प्रमुख लामासमेत भए।
भिक्षु कुन्गा रोमछोगको जीवनीमा उनी जन्मनुभन्दा दुई वर्षअघि अर्थात् १५०५ को महाभूकम्पको चर्चा गरिएको छ।
जीवनीमा भनिएको छ —
‘भुइँचालोले दसौं हजार मान्छेको ज्यान गयो। स्थानीय बासिन्दा बसोबास गर्ने घर र गुम्बाहरू उजाड खण्डहरमा परिणत भए। मान्छेका अनुहारमा चरम निराशा र भय मडारिएको थियो। यो स्थिति धेरै वर्षसम्म कायम रह्यो। भिक्षु कुन्गा रोमछोगले भुइँचालोबाट आहत मानिसहरूको उद्धार र पुनर्स्थापनामा आफ्नो जीवन समर्पित गरे। उनले भुइँचालोमा भत्किएका धार्मिक स्थलहरूको जीर्णोद्धार र टुटे–फुटेका मूर्तिहरूको मर्मतसम्भार र प्राण प्रतिस्थापनमा ठूलो सहयोग गरे।’
...
यी त भए तिब्बती भिक्षु र लामाहरूको आत्मवृत्तान्त र संस्मरणमा उल्लिखित महाभूकम्पका झलक, अब कुरा गरौं मुगलकालीन भारतीय ऐतिहासिक अभिलेखको।
भारतीय अभिलेख
सन् १५०५ को महाभूकम्प यति भीषण थियो, त्यसका केही चिह्न सोह्रौं र सत्रौं शताब्दीका मुगलकालीन भारतीय ऐतिहासिक रेकर्डहरूमा पनि भेटिन्छन्। त्यसमध्ये केही अभिलेख प्राध्यापक डेभिड ज्याक्सनले आफ्नो शोधपत्रमा उद्धृत गरेका छन्।
ती अभिलेखअनुसार १५०५ को भुइँचालोले भारतको दिल्ली, आगरा लगायत सम्पूर्ण उत्तरी क्षेत्र र अफगानिस्तानको काबुलसम्म प्रभावित भएको थियो। काबुलस्थित तत्कालीन मुगल बादशाह बाबरको राज्यमा ठूलो क्षति पुगेको ऐतिहासिक रेकर्ड छ।
अब हामी प्राध्यापक ज्याक्सनले उद्धृत गरेका भारतीय अभिलेखहरूमा के वर्णन गरिएको छ, त्यो हेरौं —
अभिलेख १ : मुगल बादशाह बाबरको संस्मरण
मुगल साम्राज्यका संस्थापक जहिर उद्दिन मुहम्मद बाबर (१४८३–१५३०) को संस्मरणमा १५०५ को भुइँचालोबारे विस्तृत बयान गरिएको छ।
भुइँचालोले काबुलका किल्लादेखि पहाड–पर्वत र साना–ठूला गाउँ–नगरका अधिकांश घर धराशायी भएको उनले लेखेका छन्।
‘अनगिन्ती मान्छेको ज्यान गयो। कतिपय गाउँमा त एउटा पनि घर बचेन, सबै ढलेर माटो भए,’ बाबर लेख्छन्, ‘हाम्रो राज्यका सत्तरीदेखि असी जना सम्मानित जमिन्दारहरू आफ्नै घरको भग्नावशेषमा पुरिए।’
उनले भुइँचालोका कारण जमिन फाटेको घटनालाई अत्यन्तै सजीव ढंगले वर्णन गरेका छन्।
बाबर लेख्छन् —
‘पेम्घान र बेक्तोब गाउँको बीचमा जमिनको ठूलो हिस्सा फाटेर चिरा पर्यो। त्यो चिरा यति फराकिलो थियो, एउटा छेउबाट ढुंगा हुत्याएर अर्को छेउमा पुर्याउन राम्रै बल लगाउनुपर्थ्यो। भुइँचालोको त्यस्तो चिराबाट पानीको फोहोरा छुटेको थियो। कतिपय ठाउँमा त इनार नै बनेको थियो।’
‘केही ठाउँमा जमिनको सतह माथि उठेर हात्तीको उचाइ बराबर ढिस्को बनेको थियो। केही ठाउँमा जमिन आफ्नो पुरानो सतहबाट तल धस्सिएको थियो, जहाँ मान्छे हाम्फालेर लुक्न मिल्थ्यो।’
यति मात्र होइन, भुइँचालोको समय पहाडको टुप्पोबाट धुलोको मुस्लो उडेको र कतिपय साना पहाडहरू मैदान बनेको बयान बाबरले गरेका छन्।
‘एकै दिन ३३ चोटि धर्ती हल्लिएको थियो,’ बाबर लेख्छन्, ‘महिनादिनसम्म भुइँचालो आउने क्रम जारी रह्यो। लगभग हरेक दिन र हरेक रात दुईदेखि तीनचोटि भुइँचालोको ठूलो धक्का महसुस हुन्थ्यो।’
अभिलेख २ : बदायुनीको विवरण
अब्दुल कादिर बदायुनी (सन् १५४०–१६१५) मुगलकालीन इतिहासकार तथा अनुवादक हुन्।
उनले बाबर, हुमायुँ, अकबर लगायतका मुगल बादशाहहरूको जीवनी लेख्नुका साथै हिन्दु धर्मग्रन्थ रामायण र महाभारतको उर्दु अनुवादसमेत गरेका थिए।
उनले राखेको एक ऐतिहासिक अभिलेखमा ‘१५०५ को भुइँचालोले समस्त हिन्दुस्तानलाई ठूलो क्षति पुर्याएको’ उल्लेख छ।
बदायुनी लेख्छन् —
‘त्यो भुइँचालो यति ठूलो थियो, त्यसले पहाड–पर्वतहरूमा अनगिन्ती पहिरो ल्यायो, बलिया–बलिया घरहरू पनि धराशायी भए। धेरै ठाउँमा धर्ती फाटेर गहिरो खाडल बनेको थियो। कहीँ धर्ती आफ्नो सतहबाट माथि उठेर समथर भूमिमा नयाँ ढिस्काहरू उत्पन्न भएका थिए।’
कतिपय ठाउँमा गाउँ र वन–जंगल नै आफ्नो स्थानबाट यताउति सरेको उनले उल्लेख गरेका छन्।
अभिलेख ३ : मिरअत–उल अलाम (उर्दु अभिलेख)
यो अभिलेखले मुख्यगरी अफगानिस्तानको काबुलमा भुइँचालोले पारेको क्षति देखाउँछ।
‘भुइँचालोले काबुल र वरपरका क्षेत्रमा ठूलो क्षति पुर्यायो,’ अभिलेखमा भनिएको छ, ‘काबुलको दक्षिण भागमा पर्ने बाला हिसारको प्राचीन किल्लाका पर्खालहरू जम्मै भत्किए र अधिकांश घर क्षतिग्रस्त भए।’
त्यो समय एकै दिन ३३ चोटि भुइँचालोको धक्का महसुस गरिएको थियो। यसले जमिन चिरा पर्नुका साथै ठूलो संख्यामा मानिसहरूको ज्यान गयो। कतिपय ठाउँमा जमिन धस्सिएर पानीको मूल फुटेको र कतिपय ठाउँमा हात्तीको उचाइ बराबरको जमिन माथि उठेको अभिलेखमा छ।
‘यो भुइँचालोको धक्का हिन्दुस्तान (भारत) मा पनि महसुस गरिएको थियो,’ अभिलेखकर्ताले लेखेका छन्।
भुइँचालो एउटै थियो कि दुइटा?
तिब्बती र भारतीय अभिलेखहरूको अध्ययनबाट सन् १५०५ को भुइँचालो कति भीषण थियो र त्यसले कति ठूलो क्षेत्रफलमा कति धेरै जनधनको क्षति पुर्यायो भन्ने त छर्लंग हुन्छ, सँगसँगै एउटा प्रश्न पनि उठ्छ —
के एउटै भुइँचालोले नेपालको मुस्ताङदेखि अफगानिस्तानको काबुलसम्म क्षति पुर्याउन सम्भव होला?
मुस्ताङलाई केन्द्रविन्दु मान्ने हो भने दिल्लीदेखि अफगानिस्तानसम्म क्षति पुग्नु भनेको भुइँचालो कम्पनले १५ सय किलोमिटरभन्दा लामो यात्रा गर्नु हो। मुस्ताङबाट दिल्लीको दुरी लगभग सात सय किलोमिटर छ भने काबुल १५ सय किलोमिटर टाढा पर्छ।
त्यसैले पश्चिम नेपालदेखि तिब्बत र भारतदेखि अफगानिस्तानसम्म क्षति पुर्याउने १५०५ को भुइँचालोलाई अहिलेसम्म एउटै मानिए पनि कतै त्यो दुइटा छुट्टाछुट्टै भुइँचालोको असर त होइन?
कतै त्यो वर्ष एकै समयतिर दुइटा ठूलो भुइँचालो त गएको थिएन?
यसको जवाफ हामी तिब्बती र भारतीय अभिलेखमै भेट्छौं।
अभिलेखकर्ताहरूले १५०५ को भुइँचालो बयान गर्दा एउटा तथ्य फरक उल्लेख गरेका छन् — तिब्बती अभिलेखले भुइँचालो जुन ७ वा ८ मा गएको थियो भन्छ, जबकि भारतीय अभिलेख हेर्ने हो भने त्यसको ठ्याक्कै एक महिनापछि, अर्थात् जुलाई ६ मा भुइँचालो गएको देखिन्छ।
यसको मतलब, पश्चिम नेपाल र पश्चिम तिब्बत क्षेत्रमा भुइँचालोको कहर जारी रहँदा रहँदै भारतको दिल्ली, आगरासहित अफगानिस्तानको काबुलसमेत अर्को भुइँचालोको लपेटमा परेको हुन सक्छ। र, समयक्रममा यो एकमहिने अन्तरको स्मरण धमिलो हुँदै जाँदा त्यसलाई एउटै भुइँचालो मान्न थालिएको हुन सक्छ।
भुइँचालोको केन्द्रविन्दु फरक परे पनि ती आफैंमा अलग भने होइनन्।
यसलाई सजिलो गरी बुझ्न हामी दुइटा उदाहरण लिऊँ —
पहिलो, कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भुइँचालो जाँदा त्यसको धक्का काठमाडौंदेखि भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो।
त्यस्तै, गत वर्ष चैत ७ गते अफगानिस्तानको कालफगान भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ६.८ म्याग्निच्युडको भुइँचालो जाँदा त्यसको कम्पन भारतको नयाँदिल्ली र उत्तर भारतका विभिन्न ठाउँसम्म आइपुगेको थियो। यसले राजनीतिक रूपमा अलग यी मुलुकहरू भौगोलिक रूपले र खासगरी भूकम्पीय जोखिमका हिसाबले एकै क्षेत्रमा पर्छन् भन्ने देखाउँछ।
दोस्रो, २०७२ वैशाख १२ गते गोरखाको बारपाकबाट सुरू भएको भुइँचालो काठमाडौं हुँदै दोलखासम्म पुगेको थियो। त्यति बेला बारपाक केन्द्रविन्दु बनाएर भुइँचालो गएको १७ दिनपछि वैशाख २९ गते दोलखालाई केन्द्रविन्दु बनाएर अर्को ठूलो भुइँचालो गयो, जसले त्यहाँ अघिल्लोभन्दा बढी क्षति गरायो।
यस आधारमा १५०५ को भुइँचालो विश्लेषण गर्ने हो भने त्यति बेला पनि पश्चिम नेपाल/पश्चिम तिब्बतबाट सुरू भएको भुइँचालोले एक महिनापछि उत्तर भारत/अफगानिस्तानमा अर्को ठूलो परकम्प ल्याएको हुनसक्छ। त्यही परकम्पले त्यहाँ अघिल्लोभन्दा बढी क्षति गराएको हो कि!
त्यसैले ऐतिहासिक अभिलेखबाट एक महिना फरकमा दुइटा भुइँचालो गएको देखिए पनि त्यसलाई हामीले एउटै घटनाका रूपमा बुझ्नुपर्छ।
जसरी दोलखा भुइँचालोको स्रोत गोरखाको बारपाकलाई मानिन्छ, त्यसैगरी अफगानिस्तान भुइँचालोको स्रोत पनि पश्चिम नेपालको मुस्ताङ नै हुनसक्छ।
निष्कर्ष
प्राध्यापक डेभिड ज्याक्सनको शोधपत्रका आधारमा तिब्बती र भारतीय अभिलेखहरूको अध्ययनबाट हामी के निष्कर्षमा पुग्न सक्छौं भने, पाँच सय वर्षअघि पश्चिम नेपालको मुस्ताङबाट सुरू भएको भुइँचालोको असर भारत हुँदै अफगानिस्तानसम्म पुगेको थियो।
त्यसले दसौं हजार मान्छे मारिए। राजाका किल्लादेखि जनताका घरसम्म उजाडिए। पहाड–पर्वतहरू भासिएर मैदान बने। कहीँ जमिनको सतह उठेर हात्तीको उचाइ बराबरका ढिस्काहरू बने, कहीँ जमिन धस्सिएर मान्छेको उचाइ बराबरका खाडल परे। कहीँ पानीको मूल फुटेर इनार बने, कहीँ जमिनमा धाँजा फाटेर सुख्खा लागे।
इतिहास भनेको अतीत मात्र होइन, वर्तमान र भविष्य पनि हो। वर्तमानमा हुने घटनाको सम्बन्ध इतिहाससँग जोडिएको हुन्छ। इतिहास अध्ययनले हामीलाई घटनाको गर्भसम्म पुगेर आफ्नो वर्तमान सम्हाल्ने र भविष्यका लागि पाठ सिक्ने बाटो देखाउँछ।
सन् १५०५ को महाभूकम्प पनि अहिले पश्चिम नेपालमा गइरहेको भुइँचालोसँग सम्बन्धित छ। भूगर्भविद्हरूले पश्चिम नेपालमा १५०५ यता त्यति नै ठूलो भुइँचालो गएको छैन भनिरहेका छन्। त्यो बेलादेखि अहिलेसम्म पृथ्वीको सतहमुनि जम्मा भएको अथाह भूकम्पीय शक्ति एकैचोटि बाहिर निस्क्यो भने त्यसले ८ म्याग्निच्युडभन्दा ठूलो भुइँचालो ल्याउन सक्छ भन्ने उनीहरूको आकलन छ। त्यो भनेको १५०५ कै पुनरावृत्ति हो, जसको असर तिब्बती र भारतीय अभिलेखहरूबाट हामीले थाहा पायौं।
केही समययता जाजरकोट, डोटी, बाजुरा, बझाङ, दार्चुला, अछाम, डोल्पा लगायतका जिल्लालाई केन्द्रविन्दु बनाएर लगातार भुइँचालो कम्पन महसुस गरिनुले पनि पश्चिम नेपालको ठूलो भूकम्पीय जोखिमतर्फ संकेत गरिरहेको छ।
पश्चिम नेपाल किन भुइँचालोको जोखिममा छ त? अब हामी यसबारे चर्चा गरौं।
नेपालको भूसतहमुनि इन्डियन र युरेसियन प्लेटबीच भइरहेको घर्षण। यहाँ इन्डियन प्लेट युरेसियन प्लेटमुनि घुस्रिँदैछ। तस्बिर स्रोत: वाल स्ट्रिट जर्नल
हाम्रो भूसतहमुनि इन्डियन र युरेसियन प्लेटको निरन्तर घर्षणले ठूलो परिमाणको शक्ति उत्पन्न भइरहेको छ। त्यो शक्ति जमिनमुनि थुप्रिएर बस्छ। ठूलो भुइँचालो जाँदा जमिनमुनि थुप्रिएर बसेको शक्ति एकैचोटि बाहिर निस्कन्छ। त्यसपछि फेरि त्यति नै शक्ति जम्मा हुन लामो समय लाग्छ। तर सानो सानो भुइँचालो जाँदा जमिनमुनि थुप्रिएको शक्ति सबै बाहिर निस्कन पाउँदैन। त्यो शक्ति कतिखेर बाहिर निस्कन्छ भन्ने हामी पूर्वानुमान गर्न सक्दैनौं। सानो भुइँचालोले हामीलाई सतर्क चाहिँ गराउँछ। त्यो ठाउँमा भूकम्पीय शक्ति जम्मा भइरहेको छ र कुनै पनि बेला ठूलो भुइँचालो जानसक्छ भन्ने संकेत गर्छ।
भूगर्भविद्हरूका अनुसार इन्डियन प्लेट वार्षिक दुई सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि घुस्रिँदै जानुपर्छ। सय वर्षमा त्यो दुई मिटर हुन्छ। भन्नुको मतलब, विगत पाँच सय वर्षमा १० मिटर घुस्रिसक्नुपर्ने थियो। तर पाँच सय वर्षदेखि पश्चिम नेपाल क्षेत्रमा ८ म्याग्निच्युड हाराहारीको भुइँचालो नगएकाले इन्डियन प्लेटको त्यहाँको खण्ड आफ्नो नियमित गतिमा युरेसियन प्लेटमुनि घुस्रिन पाएको छैन।
यसले के संकेत गर्छ भने, पश्चिम नेपालको भूसतहमुनि त्यति नै भूकम्पीय शक्ति थुप्रिएर बसेको छ, जति शक्तिले इन्डियन प्लेटको यो खण्डलाई १० मिटर युरेसियन प्लेटमुनि धकेल्छ। पाँच सय वर्षदेखि अड्किएर बसेको इन्डियन प्लेटको यो खण्डमा गोरखाभन्दा पश्चिमतर्फको भू-भाग पर्छ, जुन भारत, पाकिस्तान हुँदै अफगानिस्तानसम्म फैलिएको छ। भौगर्भिक सर्वेक्षणबाट पनि यो क्षेत्रमा ठूलो भूकम्पीय शक्ति थुप्रिएर बसेको पुष्टि भइसकेको छ।
२०७२ सालमा ७.८ म्याग्निच्युडको भुइँचालो जाँदा मध्य–नेपालमा इन्डियन प्लेट करिब साढे तीन मिटर सरेको थियो। यस हिसाबले पश्चिम नेपालमा एकैचोटि १० मिटर सर्यो भने त्यसले लगभग ९ म्याग्निच्युडको भुइँचालो ल्याउन सक्ने भूगर्भविद्हरूले बताएका छन्। तर भूसतहमुनि रहेका चट्टानी खण्डहरू (टेक्टोनिक प्लेट) कसरी र कति सर्छन् भन्ने पूर्वानुमान गर्न सकिँदैन। पश्चिम नेपालका हकमा पनि इन्डियन प्लेट एकैचोटि १० मिटर सर्न सक्छ वा नसर्न पनि सक्छ।
एकैचोटि १० मिटर सर्यो भने त भूगर्भविद्हरूले भनेजस्तो ९ म्याग्निच्युड भुइँचालो गएर सर्वनाश हुने भइहाल्यो, तर आधा मात्र सर्यो भने पनि त्यसले ल्याउने कम्पन ८ म्याग्निच्युड हाराहारीकै हुनेछ। त्यसबाट हुने मानवीय तथा भौतिक क्षति निकै ठूलो हुनसक्छ।
कल्पना गर्नुस् त, तिब्बती तथा भारतीय अभिलेखमा उल्लेख भएजस्तै १५०५ कै हाराहारीको क्षति आजको दिनमा पश्चिम नेपालले भोग्नुपर्यो भने के होला!
जुन ठाउँमा ६.४ म्याग्निच्युडको भुइँचालो जाँदा १५३ जनाको ज्यान जान्छ र २६ हजारभन्दा बढी घर क्षतिग्रस्त हुन्छन्, त्यहाँ ८ वा ९ म्याग्निच्युडको भुइँचालो गए के होला?
झट्ट हेर्दा हामीलाई ६.४ र ९ म्याग्निच्युडबीच जम्मा साढे २ अंकको फरक त हो नि भन्ने लाग्न सक्छ, तर एक अंकको अन्तर हुँदा पनि भुइँचालोले निष्कासन गर्ने शक्तिमा ३२ गुणा फरक पर्छ। भन्नुको मतलब, ६ म्याग्निच्युडभन्दा ७ म्याग्निच्युड भुइँचालोको शक्ति ३२ गुणा ठूलो हुन्छ। त्यस्तै, ७ म्याग्निच्युडभन्दा ८ म्याग्निच्युड भुइँचालोले निष्कासन गर्ने शक्ति अर्को ३२ गुणा शक्तिशाली हुन्छ।
यस आधारमा पश्चिम नेपालको भूसतहमुनि थुप्रिएको ९ म्याग्निच्युड बराबरको शक्ति निष्कासन हुन ८ म्याग्निच्युडको भुइँचालो ३२ चोटि जानुपर्छ। त्यस्तै, ७ म्याग्निच्युडको भुइँचालो हजारचोटि गएपछि बल्ल ९ म्याग्निच्युड बराबरको शक्ति निष्कासन हुन्छ।
यसलाई अझ सानो रूपमा हेर्ने हो भने ६ म्याग्निच्युडका भुइँचाला ३२ हजारचोटि र ५ म्याग्निच्युडका भुइँचाला साढे १० लाखचोटि जानुपर्छ।
सोच्नुस् त, के पश्चिम नेपालले आजकै अवस्थामा यति ठूलो भुइँचालोको शक्ति थेग्न सक्छ?
जाजरकोट भुइँचालोलगत्तै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी आफ्नो टिमसँग त्यहाँको भौगोलिक स्थिति, जमिनको अवस्था र भुइँचालोको क्षति अध्ययन गर्न गएका थिए। नदीको दायाँबायाँ बसेका बस्तीमा बढी क्षति पुगेको र खासगरी साना–साना ढुंगा र माटोले बनेका घरहरू गर्ल्यामगुर्लुम ढलेको उनको प्रारम्भिक निष्कर्ष छ।
‘अलि बलियो गरी बनाइएका घरमा असर परेको देखिँदैन, कमजोर घरहरूले भने भुइँचालो थेग्नै सकेन,’ उनले हामीसँग भने, ‘यो ठाउँमा भुइँचालो जाने डर छ र घर बलियो बनाउनुपर्छ भन्ने जनचेतना पनि धेरैमा हामीले पाएनौं।’
सरकारी अनुसन्धान केन्द्रमा रहेर पश्चिम नेपालको भूकम्पीय जोखिमबारे अध्ययन गर्दै आएका र सरकारलाई बारम्बार सचेत गराएका भूकम्पविद् अधिकारी जम्मा ६.४ म्याग्निच्युडको भुइँचालो थेग्ने तयारी पनि नभएकोमा थकथकी मान्छन् र भन्छन्, ‘हामी पश्चिम नेपालमा ८ म्याग्निच्युडभन्दा ठूलो भुइँचालो जान्छ भनिरहेका छौं। त्यसको दाँजोमा अहिलेको भुइँचालो त केही पनि होइन।’
‘कुनै दिन ८ म्याग्निच्युडको भुइँचालो आयो भने त्यो अहिलेको भन्दा हजार गुणा शक्तिशाली हुनेछ,’ उनले भने, ‘हामीले अहिले नै यति ठूलो क्षति भोग्नुपर्यो भने भोलि योभन्दा हजार गुणा ठूलो भुइँचालो आउँदा के हाल होला?’
धेरैलाई लाग्न सक्छ, जहाँ ८ वा ९ म्याग्निच्युडको भुइँचालो जाने खतरा छ, त्यहाँ ४, ५ वा ६ म्याग्निच्युडका भुइँचालाले जमिनमुनि थुप्रिएको शक्ति बिस्तारै बाहिर निकाल्छ होला। यही आधारमा पश्चिम नेपालमा ठूलो भुइँचालो जाने खतरा अहिलेलाई टर्यो कि भन्ने धेरैको अड्कल हुनसक्छ।
तर भौगर्भिक रूपमा साना–साना भुइँचाला धेरै गएर ठूलो भुइँचालोको शक्ति निष्कासन हुन सम्भवै नभएको अधिकारी बताउँछन्।
उनका अनुसार पश्चिम नेपालमा ८ वा ९ म्याग्निच्युड बराबरको ठूलो भुइँचालो जानु अवश्यम्भावी छ, उनले भने, ‘त्यो आज जान्छ कि भोलि वा पर्सि, वा केही वर्षपछि भन्ने मात्र हामीलाई थाहा छैन।’
भूकम्पीय जोखिमका हिसाबले ‘सधैं तरबारको धारमा उभिएको’ नेपालजस्तो मुलुकले सम्भावित क्षति आकलन गरेर बलियो संरचना, सुरक्षित बसोबास र उद्धारको पर्याप्त बन्दोबस्त गर्नुको विकल्प नरहेको अधिकारीको भनाइ छ।
‘हामी सधैं तयारी अवस्थामा बस्नुपर्छ,’ उनले भने, ‘लरतरो तयारीले काम चल्नेवाला छैन, हाम्रो तयारी ८ वा ९ म्याग्निच्युडको भुइँचालो आयो भने कसरी धान्ने भन्नेमा केन्द्रित हुनुपर्छ। विगतको भुइँचालोबाट पाठ सिकेर भौगर्भिक तथा सुरक्षित बसोबाससम्बन्धी अध्ययन–अनुसन्धानको दायरा पनि बढाउनुपर्छ।’
तिब्बती र भारतीय अभिलेखहरूको वर्णनबाट पाठ सिक्ने हो भने एउटा कुरा छर्लंग छ — पश्चिम नेपाललाई आज राहत र सहानुभूति मात्र होइन, सम्भावित ठूलो भुइँचालो सामना गर्ने निर्माण मापदण्ड र बसोबास नीतिको पनि खाँचो छ।
जसरी आजभन्दा पाँच सय वर्षअघि उपल्लो मुस्ताङका ‘सिद्ध तान्त्रिक योगी’ जाम्याङ रिन्छेन ग्येलत्सेनले ठूलो भुइँचालोको भविष्यवाणी गर्दै राजालाई सतर्क गराएका थिए, त्यसरी नै आजका भूगर्भ वैज्ञानिक र भूकम्पविद्हरूले त्यही ठाउँमा अर्को ठूलो भुइँचालोको भविष्यवाणी गरिरहेका छन्। क्षतिको पूर्वानुमान गरेर राज्यलाई सतर्क पनि गराइरहेकै छन्।
आजको लोकतान्त्रिक राज्यले पनि पाँच सय वर्षअघिका राजाले जस्तै टाउको हल्लाउँदै भविष्यवाणी सुन्ने काम मात्र नगरोस्! त्यसमा अमल पनि गरोस्!
ताकि, १५०५ को पुनरावृत्ति फेरि कहिल्यै नहोस्!
***