भुइँचालोमा कत्रा घरहरू भत्कने जोखिम सबभन्दा बढी हुन्छ? अग्ला कि होचा घर?
धेरैलाई अग्ला घर भन्ने लाग्छ, तर यो गलत हो।
सबै भुइँचालोले अग्ला घर मात्र ढाल्छ भन्ने जरूरी छैन।
एउटै भुइँचालोले सहरको एक ठाउँमा अग्ला घरहरू गर्ल्यामगुर्लुम ढल्छन्, होचा घरहरू सग्लै रहन्छन्। त्यही भुइँचालोले सहरको अर्को ठाउँमा होचा घरहरू सखाप पारेर अग्ला घरहरू मात्र ठिंग उभिइरहेका हुन सक्छन्।
२०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भुइँचालोको प्रभाव यस्तै थियो।
उक्त भुइँचालोको तरंग गोरखाबाट ७८ किलोमिटर दुरी पार गर्दै काठमाडौं उपत्यका प्रवेश गरेको थियो। व्यावहारिक रूपमा हेर्दा यति टाढादेखि आएको भुइँचालोको शक्ति काठमाडौं छिर्दासम्म कमजोर भइसक्नुपर्ने थियो। तर त्यस्तो भएन। भुइँचालोले सबभन्दा बढी क्षति काठमाडौंमै पुर्यायो।
काठमाडौंमा पनि सबै ठाउँमा बराबर क्षति भएन। बालाजु, सुन्धारा, कालिमाटी लगायत समथर भूभागका अग्ला घरहरू प्रायः कुनै पनि क्षतिबाट बचेनन् भने भक्तपुर, साँखु, बुंगमती, खोकना जस्ता अग्ला ठाँउमा होचा घरहरू सखाप भए।
अर्कातिर, अग्लो डाँडामै बसेको कीर्तिपुरमा एकदमै कम क्षति पुग्यो, स्वयम्भू डाँडामा भने बढी क्षति भयो।
यस्तो किन हुन्छ?
त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक तथा भुइँचालोविद डा. दीपक चम्लागाईं र उनको टिमले हेटौंडा उपत्यकामा ४८ ठाउँको भौगर्भिक अनुसन्धान गरेर एउटै भुइँचालोले कसरी ठाउँअनुसार कहीँ अग्ला र कहीँ होचा घरमा क्षति पुर्याउँछ भन्ने अध्ययन गरेका छन्। उनीहरूको अनुसन्धान लेख युरोपबाट छापिने अन्तर्राष्ट्रिय जर्नल 'नेचुरल हाजार्ड' मा हालै प्रकाशित भएको छ। चम्लागाईंको नेतृत्वमा सिजन आचार्य, प्रज्ज्वल न्यौपाने र नवराज ढकालले यो अध्ययन गरेका हुन्।
२०७२ को भुइँचालोमा पनि काठमाडौं उपत्यकाका सबै ठाउँमा किन बराबर क्षति पुगेन त?
चम्लागाईंका अनुसार गोरखाको बारपाकबाट सुरू भएको भुइँचालो तरंग ककनीको बाटो हुँदै जसै काठमाडौं उपत्यकाको लेदो माटोमा प्रवेश गर्यो, त्यो तरंगले ल्याउने कम्पनको अवधि ह्वात्तै बढ्यो।
त्यति बेला काठमाडौंको लेदो माटोयुक्त समथर भूमिमा भुइँचालोको कम्पन अवधि ३ देखि ५ सेकेन्ड थियो।
यसको अर्थ के त?
यसका लागि हामीले कम्पन अवधि भनेको के हो बुझ्नुपर्छ।
माइक्रो-ट्रेमर परीक्षणबाट जमिनमुनिको कम्पन अवधि मापन गर्दै भुइँचालोविद दीपक चम्लागाईं र उनका विद्यार्थीहरू। तस्बिर स्रोत: अनुसन्धान टिम
एकछिनलाई मानौं, एउटा मान्छे गोरखाबाट हिँडेर काठमाडौं आउँदै छ। उसको हिँडाइ कस्तो हुन्छ? ऊ पक्कै पनि फटाफट हिँड्छ। थाकेर लोथ परेको छ भने सुस्तरी हिँड्ला, तर उसको चाल बदलिँदैन।
भुइँचालो तरंगको हिँडाइ यस्तो हुँदैन।
त्यो तरंग यस्तरी हिँड्छ, मानौं रक्सीको नसाले धुत्त मान्छे घरि दायाँ, घरि बायाँ लड्खडाउँदै हिँड्दैछ। उसलाई दायाँबाट बायाँ र बायाँबाट दायाँ हल्लिन जति समय लाग्छ, त्यो नै कम्पन अवधि हो।
यसलाई हामी घडीको पेन्डुलमसँग पनि दाँज्न सक्छौं।
जसरी घडीको पेन्डुलम दायाँबाट बायाँ र बायाँबाट दायाँ निरन्तर हल्लिरहन्छ, त्यसरी नै भुइँचालो तरंग पनि दायाँ–बायाँ हल्लिँदै अगाडि बढ्छ। यसरी हल्लिन जति समय लाग्छ, त्यो नै भुइँचालोको कम्पन अवधि हो।
भन्नुको मतलब — काठमाडौं खाल्डोको लेदो माटोयुक्त समथर भूमिमा भुइँचालो तरंगलाई हरेकचोटि दायाँबाट बायाँ र बायाँबाट दायाँ हल्लिन ३ देखि ५ सेकेन्ड लाग्यो। यो भनेको निकै लामो अवधि हो।
'जब भुइँचालोको कम्पन अवधि लामो हुन्छ, त्यस्तो बेला घरहरू घटटटट गर्दै लामो समय हल्लिरहन्छन्,' चम्लागाईंले भने, 'लामो समय हल्लिँदा अग्ला घरहरूलाई बढी क्षति पुग्छ।'
'कम्पन अवधि छोटो छ भने त्यस्तो बेला घरहरू घटघट, घटघट गर्दै छोटो समयका लागि हल्लिन्छन्। यस्तो हल्लाइले होचा घरहरूलाई बढी क्षति पुर्याउँछ, अग्ला घरहरूलाई खासै केही हुँदैन,' उनले भने।
यसलाई अझ सरल रूपमा बुझाउन चम्लागाईंले पिङको उदाहरण दिए।
'लामो डोरीको पिङ छ भने लामो समय मच्चिन्छ। डोरी जति छोटो भयो, पिङ उति कम मच्चिन्छ,' उनले भने, 'यहाँ लामो डोरीलाई अग्लो घरका रूपमा र छोटो डोरीलाई होचो घरका रूपमा बुझ्न सकिन्छ।'
२०७२ को भुइँचालोमा धरहरा लगायत अग्ला अग्ला अपार्टमेन्ट र टावरहरूमा एकदमै धेरै क्षति पुग्नुको कारण यही हो। जबकि, त्यही कम्पनले होचा घरहरूलाई खासै क्षति पुर्याएन।
तर यही अवस्था काठमाडौंका सबै ठाउँमा देखिएन।
उदाहरणका लागि — कीर्तिपुर डाँडामा खासै ठूलो क्षति भएन। भक्तपुर, साँखु, बुंगमती, खोकना लगायत डाँडाको टुप्पोमा रहेका बस्तीमा भने होचा घरहरू सखाप भए।
किन त?
किनभने, कीर्तिपुरको बस्ती एउटै प्रकारको ठूलो चट्टानमाथि बसेको छ। जब भुइँचालो तरंग समथर भूमि छिचोल्दै कीर्तिपुर डाँडा उक्लियो, त्यसको कम्पन अवधि निकै घटिसकेको थियो। कीर्तिपुरको कम्पन अवधि आधा सेकेन्डभन्दा छोटो रहेको चम्लागाईं बताउँछन्।
'त्यसले एकतले वा त्योभन्दा होचा घरहरूलाई मात्र असर गर्न सक्थ्यो,' उनले भने, 'तर कीर्तिपुर बस्ती एउटा सिंगो चट्टानमाथि बसेकाले होचा घरहरू पनि खासै धेरै हल्लिएनन्। केही पुराना र थोत्रा घरहरू मात्र भत्किए।'
भक्तपुर, साँखु, बुंगमती, खोकना जस्ता अग्लो ढिस्कोमा रहेका बस्तीमा भने छोटो अवधिको कम्पनले होचा घरहरू सखाप भए। ती बस्तीमा कम्पन अवधि घटेको थियो, भुइँचालोको शक्ति बढेको थियो। यसले क्षति पनि बढी नै भयो।
अर्कातिर, स्वयम्भू डाँडा कीर्तिपुरजस्तै चट्टानमाथि बसेको भए पनि त्यहाँको प्रकृति फरक छ। स्वयम्भू डाँडा चुच्चो परेको छ। माथिल्लो भाग एकदमै साँघुरो छ, चम्लागाईंले भने, 'यस्तो ठाउँमा उकालो लागेका भुइँचालो तरंगहरू चुचुरोमा पुगेपछि फैलिन पाउँदैनन्। एकै ठाउँमा गुजमुज्ज परेर बस्छन्, जसले ठूलो शक्ति निर्माण गर्छ र बढी क्षति पुर्याउँछ।'
काठमाडौं उपत्यकाको यस्तो भौगर्भिक स्वभाव २०७२ को भुइँचालोमा मात्र देखिएको होइन। नब्बे सालको भुइँचालो केन्द्रविन्दु भारतको बिहारमा थियो। तर त्यो भुइँचालोले काठमाडौं उपत्यकामै बढी क्षति पुर्यायो। धरहरा पनि ढल्यो। त्योभन्दा अगाडिका ऐतिहासिक भुइँचालामा पनि लगभग यस्तै स्थिति देखिन्छ।
अन्य मुलुकको उदाहरण हेर्ने हो भने सन् १९८५ को मेक्सिको भुइँचालो एकदमै रोचक छ। साढे ८ म्याग्निच्युडको उक्त भुइँचालोले मेक्सिको सिटीका ६ देखि १५ तल्ले घरहरू ठूलो संख्यामा क्षतिग्रस्त भए। जबकि, त्यही भुइँचालोले त्यही ठाउँका एक–दुई तल्ले घरमा खासै केही क्षति भएन। त्यहाँका १५ तल्ल्लाभन्दा अग्ला गगनचुम्बी टावरहरूमा पनि अति सामान्य क्षति मात्र भए। त्यस्ता टावरका सिसा मात्र फुटेका थिए।
लामो र छोटो अवधिको भुइँचालो कम्पनले अग्ला र होचा घरहरूलाई कसरी फरक फरक असर पार्छ भनेर अझ स्पष्टसँग बुझ्न तलको भिडिओ हेर्नुहोस् —
यो भिडिओमा हामीले देख्यौं —
भुइँचालोको कम्पन अवधि छोटो हुँदा होचो सुइरो जोडसँग हल्लियो, जबकि त्यही बेला मध्यम र अग्लो सुइरोमा खासै असर परेन। कम्पन अवधि अलिकति बढेपछि मध्यम उचाइको सुइरो जोडसँग हल्लिन थाल्यो भने होचो र अग्लो सुइरोमा खासै असर परेन। जब कम्पन अवधि धेरै नै लम्बियो, तब अग्लो सुइरो एकदमै जोडसँग हल्लियो, त्यही बेला होचो र मध्यम सुइरोलाई भने खासै असर परेन।
यसबाट हामी के बुझ्न सक्छौं भने, भुइँचालो जोखिममा रहेका काठमाडौं लगायत सबै ठाउँमा स्थान–विशेषअनुसार क्षति फरक फरक हुन्छ। एउटै भुइँचालोले कुनै ठाउँमा अग्ला घरहरू भत्काउँछ, कहीँ होचा घरहरू ध्वस्त पार्छ।
नेपालमा अहिलेसम्म स्थान–विशेषको भूगर्भले भुइँचालो तरंगसँग कसरी प्रतिक्रिया गर्छ भनेर छुट्टाछुट्टै अनुसन्धान गर्ने र छुट्टाछुट्टै तथ्यांक निकाल्ने चलन छैन। भवन निर्माण संहिताले पनि राष्ट्रिय स्तरको तथ्यांकलाई नै आधार मानेको छ, जसले इलामदेखि बझाङसम्मलाई एउटै डालोमा हालेर विश्लेषण गर्छ।
तर माथि भनेजस्तो भुइँचालोले कहिल्यै एकनासे प्रतिक्रिया देखाउँदैन। काठमाडौं उपत्यकाभित्रै ठाउँअनुसार कम्पन अवधि फरक पर्छ र ठाउँपिच्छे अग्ला वा होचा घरहरू भत्किने जोखिम बढी हुन्छ भने इलाम र बझाङको कम्पन अवधि एउटै त हुनै सक्दैन।
'यस्तो तथ्यांकका भरमा हामी सुरक्षित बस्ती बसाल्न सक्दैनौं। त्यसैले कुन ठाउँमा कस्तो ढाँचाको घर बनाउने निर्क्यौल गर्न हामीसँग स्थान–विशेषको भौगर्भिक तथा भूकम्पीय तथ्यांक हुनु जरूरी छ,' चम्लागाईंले भने, 'त्यही तथ्यांकका आधारमा प्रत्येक क्षेत्रपिच्छे छुट्टाछुट्टै भवन निर्माण संहिता बनाउन सक्यौं भने मात्र भुइँचालो जोखिम कम गर्न सकिन्छ।'

चम्लागाईं र उनको टिमले हेटौंडा उपत्यकामा गरेको अनुसन्धानले स्थान–विशेषको भौगर्भिक तथा भूकम्पीय कम्पनसम्बन्धी तथ्यांक निकालेको छ। यसले काठमाडौंमा जस्तै हेटौंडा उपत्यकाभित्र पनि भुइँचालो तरंगले ल्याउने प्रतिक्रिया ठाउँअनुसार फरक फरक हुने देखाएको छ।
अनुसन्धानले भन्छ —
हेटौंडाको मुख्य बजारमा भुइँचालोको कम्पन अवधि लामो छ। त्यसैले मुख्य बजारमा होचाभन्दा अग्ला घरहरूलाई बढी क्षति पुग्न सक्छ।
'यसको मतलब अग्ला घरहरू बनाउनै हुन्न भन्ने होइन,' चम्लागाईंले भने, 'बनाउन सकिन्छ, तर त्यसका लागि भुइँचालो प्रतिरोधक इञ्जिनियरिङ मापदण्ड पालनामा हेलचेक्र्याइँ गर्नुहुन्न। नभए भविष्यमा ठूलो जोखिम हुन सक्छ।'
यस्तै अवस्था कर्रा खोला वरिपरिका भूभाग, चिसापानी, चौघडा, नागस्वती चोक, चित्रेपानी, एक्लेखेत, फुर्केचौर लगायत ठाउँमा छ। यी क्षेत्रमा पनि भुइँचालोले लामो अवधिको कम्पन ल्याउने अनुसन्धानले देखाएको छ। यहाँ पनि होचाभन्दा अग्ला घरहरू नै जोखिमपूर्ण हुन सक्छन्।
भुइँचालो तरंगले लामो अवधिको कम्पन ल्याउने हेटौंडाको अर्को भाग शिवम् सिमेन्ट कारखाना रहेको क्षेत्र हो। यहाँ पनि अग्ला घरहरू बनाउँदा सावधानी अपनाउनुपर्ने देखिन्छ। सबभन्दा ठूलो कुरा त, सिमेन्ट कारखानामा एकै समय धेरै श्रमिकहरू काम गरिरहेका हुन्छन्। त्यसैले कारखानाका भौतिक संरचना भुइँचालो प्रतिरोधक बनाउनुपर्नेमा चम्लागाईं जोड दिन्छन्।
हेटौंडाका यी ठाउँमा भुइँचालो तरंगले ल्याउने कम्पन अवधि अधिकतम १.५ सेकेन्डको छ। काठमाडौं उपत्यकाको दाँजोमा यो निकै कम हो। तर हेटौंडा उपत्यका काठमाडौंभन्दा धेरै नै कम गहिरोमा छ। त्यसैले यहाँको भौगर्भिक बनोटमा १.५ सेकेन्डको कम्पन अवधि पनि धेरै नै लामो हुने चम्लागाईं बताउँछन्।
हामीले हेटौंडाका यी ठाउँमा कति उचाइका घर बढी जोखिममा छन् भनेर पनि चम्लागाईंलाई सोधेका थियौं।
उनले 'जुन घरको कम्पन अवधि १.५ सेकेन्डसँग बराबर छ, त्यस्ता अग्ला घरलाई बढी जोखिम हुनसक्ने' बताए। यकिन तथ्यांक भने भवन इञ्जिनियरहरूले निकाल्न सक्ने उनको भनाइ छ।
यहाँ भुइँचालोको कम्पन अवधि लामो हुनुको कारण के त?
हाम्रो यो प्रश्नमा चम्लागाईंले भने, 'यी ठाउँमा कालो माटो र बालुवाको तह एकदमै बाक्लो छ। अर्थात्, यहाँ जमिनको सतहभन्दा धेरै तल गएपछि मात्र चट्टान भेटिन्छ। माटो र बालुवाको तह जति बाक्लो भयो, कम्पन अवधि उति लामो हुन्छ।'
'काठमाडौंमा पनि समथर भूभागमा लेदो माटोको तह बाक्लो भएकाले नै कम्पन अवधि लम्बिएको हो,' उनले प्रस्ट्याए।
अनुसन्धानले अगाडि भन्छ —
हेटौंडा औद्योगिक क्षेत्र भएको ठाउँमा कम्पन अवधि छोटो छ। त्यसैले यहाँ अग्लाभन्दा होचा घरहरूलाई बढी क्षति पुग्न सक्छ। भन्नुको मतलब, अग्ला घरहरूमा एकदमै कम क्षति पुग्दा होचा घरहरू भने सोत्तर भइसकेका हुनसक्छन्।
रातमाटे र कमानेको अवस्था पनि यस्तै छ। यी क्षेत्रमा पनि भुइँचालोले छोटो अवधिको झट्का ल्याउँछ, जसले होचा घरहरूलाई बढी असर गर्छ।
'यी ठाउँमा माटोको तह एकदमै पातलो छ। जमिनको सतह खन्ने हो भने चाँडै नै चट्टान भेटिन्छ,' उनले भने, 'यहाँको भूसतहमा गेग्रानहरू जमेर बसेका छन्। त्यसैले भारवहन क्षमता पनि बढी छ।'
यी ठाउँहरूमा भुइँचालो तरंगले ल्याउने कम्पन अवधि औसत ०.३ सेकेन्ड भएको चम्लागाईं बताउँछन्।
चम्लागाईं र उनको टिमको अनुसन्धानले यो पनि भन्छ —
हेटौंडा उपत्यकाभित्र जुन जुन ठाउँमा कम्पन अवधि लामो छ, त्यहाँ भुइँचालोको शक्ति पनि बढेको पाइएको छ।
भन्नुको मतलब — हेटौंडाको मुख्य बजार, कर्रा खोला वरिपरिको क्षेत्र, चिसापानी, चौघडा, नागस्वती चोक, चित्रेपानी, शिवम् सिमेन्ट कारखाना भएको ठाउँ, एक्लेखेत, फुर्केचौर लगायत ठाउँमा भुइँचालो तरंगले ल्याउने शक्ति लगभग ६ देखि ११ गुणासम्म बढी छ।
शक्ति जति बढी भयो, त्यसले गर्ने क्षति उति बढ्छ। त्यसैले यी ठाउँमा अग्ला घरहरू भूकम्पीय हिसाबले बढी नै जोखिममा छन्।
लामो र छोटो अवधिको कम्पन मापन गरिएका ठाउँहरूमा एउटा समानता छ। चम्लागाईंका अनुसार लामो अवधिको कम्पन बढीजसो हेटौंडाको पूर्वी भेगका ठाउँमा पाइएको छ भने छोटो अवधिको कम्पन पश्चिमी भेगमा।
अनुसन्धान क्रममा चम्लागाईंको टिमले हेटौंडा उपत्यकाका करिब सयवटा ठाउँको तथ्यांक निकालेको थियो। तीमध्ये पहिलो चरणमा मुख्य बजारसहित ४८ वटा ठाउँबाट लिइएका तथ्यांकको विश्लेषण जर्नल लेखमा गरिएको छ। विश्लेषण गर्न बाँकी तथ्यांक बढीजसो पश्चिम हेटौंडाका छन्।
पश्चिम भेगबाट लिइएका धेरै तथ्यांक विश्लेषण गर्न बाँकी भए पनि अहिलेसम्मको निष्कर्षअनुसार पश्चिममा होचा घर र पूर्वमा अग्ला घरहरू जोखिमपूर्ण देखिएको चम्लागाईं बताउँछन्।
'भुइँचालो तरंग हेटौंडाको जति पूर्वतिर लाग्यो, कम्पन अवधि उति बढेको पाइयो,' उनले भने, 'पश्चिमतिर भने छोटो हुँदै गयो।'
हामीले 'किन तपाईंले हेटौंडाको मुख्य बजार र पूर्वको तथ्यांक मात्र सुरूमा विश्लेषण गर्नुभयो?' भनेर चम्लागाईंलाई सोधेका थियौं।
जबाफमा उनले भने, 'हेटौंडाको सबभन्दा ठूलो बस्ती मुख्य बजारमै छ। त्यसबाहेक पछिल्लो समय पूर्वतिर बाक्लो बस्ती फैलिँदै गएको छ। मदन भण्डारी राजमार्ग, कान्ति लोकपथ, शिवम् सिमेन्ट लगायतले पूर्वी भेगमा सहरीकरण विस्तार हुँदैछ। धेरैभन्दा धेरै नयाँ घर त्यतै बन्दै छन्। त्यसैले जोखिमका हिसाबले पनि बढी जनघनत्व भएका ठाउँलाई नै सुरूमा रोज्यौं।'
त्यसो त हेटौंडामा अहिलेसम्म भुइँचालोले ठूलो क्षति पुर्याएको छैन। तर यो काठमाडौं जत्तिकै उच्च जोखिममा रहेको ठाउँ हो। २०७२ को भुइँचालो तरंग काठमाडौंको भूसतहमुनि अड्किएर बसेको छ भन्ने विभिन्न भौगर्भिक अनुसन्धानले देखाएका छन्। त्यो अड्किएको भुइँचालो शक्ति कुनै पनि बेला फुत्किन सक्छ। फुत्केको अवस्थामा त्यसले सिधै असर पार्ने चुरे फेदमा हो, जहाँ हेटौंडा उपत्यका पनि पर्छ।
भुइँचालो जोखिम मापन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने यस्तो अनुसन्धान कसरी गरिन्छ त?
माइक्रो-ट्रेमर परीक्षण गरिँदै। तस्बिर स्रोत: अनुसन्धान टिम
यो अनुसन्धानलाई 'माइक्रो–ट्रेमर' मापन भनिन्छ। यसमा जमिनभित्र प्राकृतिक रूपमा उत्पन्न भइरहने सूक्ष्म कम्पनहरू मापन गरिन्छ।
उदाहरणका लागि — जब हावा आउँदा रूख हल्लिन्छ, त्यसले जमिनको भित्री तहसम्म कम्पन ल्याइरहेको हुन्छ। जब सडकमा गाडीहरू गुड्छन्, त्यसले पनि जमिनमुनि कम्पन ल्याउँछ। समुद्री किनारका ठाउँमा त छालले हान्दा पनि जमिनमुनि कम्पन छुटिरहेको हुन्छ।
'यसरी प्राकृतिक रूपमा उत्पन्न हुने कम्पन र भुइँचालोले ल्याउने कम्पनको प्रकृति वा गुण एउटै हुन्छ,' सह-प्राध्यापक चम्लागाईंले भने, 'त्यसैले प्राकृतिक कम्पन नाप्नु भनेको पनि भविष्यमा भुइँचालो तरंगले कस्तो कम्पन ल्याउँछ भनेर नाप्नुजस्तै हो।'
'भुइँचालोको म्याग्निच्युड तलमाथि हुँदा कम्पनको शक्ति तलमाथि हुन सक्छ, तर भुइँचालो तरंगहरूको प्रकृतिमा धेरै समानता पाइन्छ,' उनले भने।
यो अनुसन्धान गर्न जमिन खन्नुपर्दैन। 'सिस्मोग्राफ' भन्ने सानो यन्त्रलाई सतहमा राखेर नै मुनिको कम्पन पत्ता लगाउन सकिन्छ। चम्लागाईं र उनको टिमले प्रयोग गरेको यन्त्रले हजार मिटर गहिराइसम्मको कम्पन नाप्छ। सबै ठाउँमा यति नै गहिरो नाप्नु पर्दैन।
कति बेरसम्म कम्पन नाप्ने भन्ने माटोको तहमा भर पर्छ। माटोको तह बाक्लो भएको ठाउँमा लामो समयको कम्पन नाप्नुपर्छ। हेटौंडाका केही ठाउँमा तीन–चार घन्टासम्म मापन गरिएको चम्लागाईंले बताए। सामान्यतया एक घन्टा नापे पुग्छ।
चम्लागाईंले यस्तो अनुसन्धानको सुरूआत काठमाडौं उपत्यकाबाटै गरेका थिए। उनले अहिलेसम्म उपत्यकाका लगभग २५० ठाउँमा माइक्रो–ट्रेमर अनुसन्धान गरेर तथ्यांक संकलन गरिसकेका छन्। विश्लेषण गर्न भने बाँकी छ।
यसबीच उनले विज्ञान तथा प्रविधि अध्ययन संस्थान र त्रिभुवन विश्वविद्यालयबाट अनुदान सहायता पाएपछि हेटौंडा उपत्यकामा अनुसन्धान सुरू गरेका थिए।
'यो अनुसन्धानबाट हामीले हेटौंडाका कुन कुन ठाउँमा भुइँचालो तरंगले कस्तो प्रतिक्रिया देखाउँछ भनेर स्थान–विशेषको तथ्यांक निकालेका छौं,' उनले भने, 'कुन ठाउँमा कम्पन अवधि लामो हुन्छ? कहाँ छोटो हुन्छ? कुन ठाउँमा पुग्दा भुइँचालोको शक्ति बढ्छ र कहाँ घट्छ भन्ने तथ्यांक पनि पत्ता लगायौं।'
'यी तथ्यांकका आधारमा अग्ला घरहरू कहाँ जोखिमपूर्ण छन् र होचा घरहरू कहाँ जोखिमपूर्ण छन् भनेर हामीले व्याख्या गरेका छौं,' उनले अगाडि भने, 'हेटौंडाका लागि स्थान–विशेषको भवन निर्माण संहिता बनाउन यी तथ्यांक निकै उपयोगी हुन सक्छन् भन्ने हाम्रो विश्वास छ।'
भुइँचालोविद् दीपक चम्लागाईं 'माइक्रो–ट्रेमर' अनुसन्धानलाई स्थान-विशेषको भुइँचालो जोखिम मापन गर्ने सबभन्दा उत्कृष्ट विधि मान्छन्। उनका अनुसार अमेरिका, जापान लगायत युरोपका धेरै मुलुकले यही विधि प्रयोग गरिरहेका छन्।
'जमिनको प्रकृति र स्वभाव परिवर्तन हुँदैन। त्यसैले भुइँचालो तरंगले ल्याउने प्रतिक्रिया पनि परिवर्तन हुँदैन। आजको तथ्यांकले सय वर्षपछि पनि काम गर्छ,' उनले भने, 'तर सय वर्षपछि भन्दा आज अनुसन्धान गर्न निकै सजिलो हुन्छ। बस्ती जति घना हुँदै गयो, जमिनभित्रको कम्पन मापन गर्न उति कठिन हुँदै जान्छ।'
'हेटौंडामा यो तथ्यांक निकाल्न हामीलाई जति सजिलो भयो, काठमाडौंमा त्यति नै गाह्रो भएको थियो,' उनले भने।
काठमाडौं र हेटौंडा मात्र होइन; पोखरा, सुर्खेत, दाङ, चितवन र पूर्वमा त्रियुगा क्षेत्रमा यस्तो अनुसन्धान जतिसक्दो छिटो गराउनुपर्ने चम्लागाईंको भनाइ छ। यी ठाउँमा आन्तरिक बसाइँसराइ र आर्थिक गतिविधि बढ्दो रहेकाले सुरक्षित सहरीकरण गर्न भूकम्पीय जोखिम मापन गर्ने तथ्यांकको खाँचो उनी देख्छन्।
'सरकारले यस्तै अध्ययन देशव्यापी गराउने हो भने हामी स्थान–विशेषका आधारमा भूकम्पीय जोखिम नक्सांकन गर्न सक्छौं। र, त्यसै आधारमा सुरक्षित घर निर्माणको मापदण्ड बनाउन सक्छौं,' उनले भने।
***