कास्कीको मर्दी खोला तरेर केही बेर साँघुरो कच्ची सडक उकालो चढेपछि माछापुच्छ्रे गाउँपालिकाको लाहाचोक, अर्मला डाँडा पुगिन्छ।
हामी जाँदा बाटो सुनसान थियो। बेला बेला हिमालको चिसो स्याँठले हान्थ्यो।
निकै बेर उकालो चढेपछि रमणीय डाँडामा चिटिक्क परेको सानो घर देखियो।
ढकमक्क फूलेको सयपत्रीले घरको सौन्दर्य बढाएको थियो। घरनजिकै बाख्राको ठूलो खोर थियो। बारीमा टनेलभित्र गोलभेँडाका बिरूवा चिचिलाले भरिएका थिए। रायोभन्दा केही फरक देखिने साग लहलहाउँदो थियो।
यो घर र खेती भोजबहादुर तामाङ र उनकी पत्नी शान्ति भट्टराईको हो।
हामीले यी दम्पतीको कृषि कर्मबारे पहिले नै थोरै थाहा पाएका थियौं। त्यही आधारमा उनीहरूको मिहिनेत हेर्न र परिश्रमको कथा सुन्न अर्मला डाँडा पुगेका थियौं।
भोजबहादुर र शान्तिले १०४ रोपनी जमिनमा खेती गरेका छन्। जमिनको करिब ६० प्रतिशत भागमा घाँस रोपेका छन्। बाँकीमा तरकारी खेती गरेका छन्। बाख्रा पनि पालेका छन्।
उनीहरूले २०७६ पुसमा 'हाम्रो घर अर्गानिक कृषि तथा पशुपन्छी फार्म' दर्ता गराएर कृषि कर्म सुरू गरेका हुन्।
कृषि कर्मको प्रेरणा र ज्ञान इसराइल बसाइले दिएको उनीहरू बताउँछन्।

भोजबहादुर २०७५ सालमा 'लर्न एन्ड अर्न' (सिक्दै र कमाउँदै) कार्यक्रमअन्तर्गत इसराइल गएका थिए। उनले त्यहाँ ११ महिना काम गरे। श्रम र समयको महत्त्व थाहा पाए। केही आम्दानी पनि गरे।
त्यही बेला शान्ति पनि इसराइलमा थिइन्। भोजबहादुर र शान्तिको चिनजान उतै भएको हो।
त्यहाँबाट फर्केपछि उनीहरूले बिहे गरे र सँगसँगै व्यावसायिक खेती सुरू गर्ने सपना देखे।
इसराइलबाट फर्किंदा भोजबहादुरको साथमा १० लाख रूपैयाँ थियो। त्यही पैसा र इसराइलमा सिकेको सीपबाट आफ्नै गाउँमा उन्नति गर्ने उनको सपना थियो। तर आफूसँग भएको पैसाले मात्र कृषि कर्म सुरू गर्न पुग्दैनथ्यो।
उनले विभिन्न बैंक र सहकारी संस्थाहरूमा गएर प्रस्ताव बुझाए, ऋण मागे। जहाँ गए पनि धितो खोजी भयो, ऋण पाएनन्।
'कृषकलाई ऋण दिने कृषि विकास बैंकले पनि पत्याएन। जुन बैंकमा गए पनि धितो मूल्यांकन गरेर ऋण दिन्छौं भने। अन्तिममा साना किसान सहकारीले पत्यायो,' उनले भने, 'ऋणधन गरेर काम सुरू गरेका थियौं। अहिलेसम्म राम्रै भएको छ।'
त्यसो त इसराइल जानुअघि पनि भोजबहादुर कृषि पेसामै थिए। आफ्नै बारीमा एउटा टनेल बनाएर गोलभेँडा र अकबरे खुर्सानीको खेती गरेका थिए। अकबरेले राम्रो आम्दानी दिएको थियो। त्यही समय उनकी आमा बिरामी भइन्। उपचार सिलसिलामा परिवारजन बजार क्षेत्रमा बस्न थाले।
एकदिन दिदीले गोलभेँडा खेती गर्ने प्रस्ताव राखिन्।
भोजबहादुरलाई प्रस्ताव मन पर्यो।
त्यसपछि दिदीभाइ मिलेर आठवटा टनेलमा गोलभेँडा खेती सुरू गरे।
'त्यो बेला गाउँलेहरूले एकदमै निरूत्साहित गरेका थिए। खेती गरेर कमाइ हुँदैन, उन्नति हुँदैन भन्थे। तिमीहरूले विदेश जान तयार भएका हाम्रा छोराहरू पनि बिगार्ने भयौ भनेर विरोध गरे,' भोजबहादुरले सम्झे, 'जसले जे भने पनि हामी पछि हटेनौं।'
दिदीभाइले दोस्रो वर्ष १५ वटा टनेल बनाए।
दोस्रो वर्षसम्म आइपुग्दा गाउँलेहरूले कतिसम्म रिसिइबी साँध्न थालिसकेका रहेछन् भने, उनीहरूले भौतिक रूपमै अवरोध गर्न थाले।
एकरात गाउँलेहरूले गोलभेँडा टनेलमा भैंसी छाडिदिए। भैंसीले सबै टनेलमा क्षति पुर्यायो। भोजबहादुर वडा कार्यालयमा उजुरी गर्न गए। वडाले क्षतिपूर्ति त दियो, तर त्यो घटनापछि उनले दिदीको गाउँ छाडे। अलिक तल्लो गाउँमा गएर २३ वटा टनेलमा खेती सुरू गरे।
ठिक त्यही समय उनलाई इसराइल जाने अवसर आयो।
'म त्यसअघि कुवेतमा काम गरेर आएको थिएँ। फेरि विदेश जान मन थिएन। तर कृषिका लागि इसराइल राम्रो छ, त्यहाँ सिकेर आफ्नै ठाउँमा काम गर्न सकिन्छ भन्ने सल्लाह पाएपछि जाने निर्णय गरेँ,' भोजबहादुरले भने।

नभन्दै भोजबहादुर र शान्तिले इसराइलबाट फर्केपछि कृषि कर्मबाट राम्रो आम्दानी गरिरहेका छन्।
उनीहरूको कृषि फार्ममा खसीबोका र बाख्रा ५८ वटा छन्। टनेलमा साग, गोलभेँडा, सिमी, काउली, प्याज, लसुन लगाएका छन्। तरकारी र खसीबोकाको बजार निकै राम्रो छ।
'यो साग हामी आफैले बीउ क्रस गरेर बनाएका हौं। काँचै खाँदा पनि गुलियो छ,' टनेलको साग देखाउँदै भोजबहादुरले भने, 'तरकारीका लागि बजारको समस्या छैन। बेमौसमी तरकारी उत्पादन हुने भएकाले माग धेरै हुन्छ।'
उनीहरू दैनिक पाँच सय किलोसम्म साग बेच्छन्। सिजनमा किलोको ६० रूपैयाँ र अफसिजनमा १२० रूपैयाँसम्ममा बिक्छ। सबै गरेर दैनिक तीन हजार किलोसम्म तरकारी बिक्री हुन्छ। सामान्यतया असारदेखि कात्तिकसम्म तरकारी उत्पादन धेरै हुन्छ। बर्खाको समय भने बिक्री घट्छ।
गोलभेँडाको भाउ भने दिनैपिच्छे फेरबदल भइरहन्छ। बजारमा अन्यत्रबाट पनि गोलभेँडा आउने भएकाले सामान्यतया सस्तोमा बेच्नुपर्ने हुन्छ।
'परार (दुई वर्षअघि) १२ क्रेट गोलभेँडा फाल्नुपर्यो। भाउ एक क्रेटको चार सय रूपैयाँ थियो, आफ्नो लागत भने ६ सय,' उनले भने, 'अहिले हामीले गोलभेँडाको केचअप बनाउने काम गरेका छैनौं। हिउँदमा त सुकाएर पनि बेच्छौं। बर्खामा भने ढुसी पर्ने समस्या हुन्छ।'
भोजबहादुर र शान्ति तरकारीमा बाख्रा र गाईको मल प्रयोग गर्छन्। जंगलको पत्करबाट पनि मल बनाउँछन्। रासायनिक मल भने प्रयोग गर्दैनन्।
करिब १७ सय मिटर उचाइमा रहेको अर्मला डाँडामा हिमालको हावाले हानिरहने हुँदा कीराले दुःख दिने समस्या छैन। यहाँ चैत लागेपछि नै हिमालको तेज हावाले हान्न थाल्छ। त्यसैले फागुनमै टनेलको प्लास्टिक खोल्छन् र जाली मात्र राख्छन्। जेठमा फेरि प्लास्टिक राख्छन्। जालीले असिनाबाट खेती जोगाउँछ।
'गर्मी याममा अलिअलि कीरा आउँछन्। केही रोग देखा पर्छ तर जालीले रोक्छ,' उनले भने, 'तरकारीमा धेरै असर पर्दैन।'
उनीहरू बाख्रालाई दाना निकै कम र घाँस बढी खुवाउँछन्। दानाभन्दा बढी घाँस दिएपछि मल धेरै हुन्छ। दानामा खर्च गर्नुको साटो श्रमिकहरूमा बढ्ता खर्च गर्ने भोजबहादुरको भनाइ छ।
'घाँस खाएको खसीबोकाको मासु राम्रो हुन्छ। तरकारीलाई मल पनि हुन्छ,' उनले भने।
उनीहरू तरकारी, खसीबोका र बाख्रा गरी वार्षिक ५५ लाख रूपैयाँसम्मको व्यापार गर्छन्। पछिल्लो एक वर्षमा २० लाख रूपैयाँका खसीबोका, बाख्रा र ३५ लाख रूपैयाँका तरकारी बेचे। सबै खर्च कटाएर वर्षमा १८ लाख रूपैयाँसम्म चोखो आम्दानी हुने उनी बताउँछन्।
भोजबहादुर र शान्तिको कृषि फार्ममा मासिक पारिश्रमिक पाउने चार जना कर्मचारी छन्। आवश्यकताअनुसार दैनिक ज्यालादारीमा श्रमिक लगाउँछन्।
उनीहरूले कषि फार्म चलाउन 'लाहाचोक साना किसान कृषि सहकारी संस्था' बाट ३२ लाख रूपैयाँ ऋण लिएका छन्। यो ऋण एसियाली विकास बैंक (एडिबी) को ग्रामीण उद्यम कर्जा परियोजनाअन्तर्गतको हो। कमाउँदै थप्दै गर्दा कुल लगानी एक करोड २० लाख रूपैयाँ पुगेको उनले बताए।
उनीहरूले जालीसहितको टनेल बनाउन करिब ४० लाख रूपैयाँ लगानी गरेका छन्। बाख्राका लागि खनिउँ र बडहरजस्ता बहुवर्षीय डाले घाँस लगाएका छन्। कोसे घाँस पनि लगाउँछन्।

कृषिका लागि प्रयोग गरेको सबै जग्गा उनीहरूको होइन। सात रोपनी आफ्नो हो, थप जमिन १० वर्षका लागि भाडामा लिएका हुन्। जमिनको भाडा वार्षिक दुई लाख तिर्छन्।
यी सबका बाबजुद समस्या हुँदै नभएको होइन। उनीहरूलाई बिजुली र पानीको समस्या छ। बजार टाढा छ। तैपनि उत्साहित र दृढ छन्। भोजबहादुर बजार व्यवस्थापन र अन्य काममा हिँडिरहन्छन्। शान्ति खेती रेखदेख गर्छिन्, हिसाबकिताब सम्हाल्छिन्।
उनीहरूले अब टनेल थपेर तरकारी खेती विस्तार गर्ने योजना बुनेका छन्। सागको माग धेरै भएकाले यसको खेती बढाउने उनीहरूको सोच छ। यसमा खर्च थोरै हुन्छ, आम्दानी राम्रो छ।
'आफू जन्मे-हुर्केको ठाउँमा परिवारसँगै बसेर काम गर्न पाउनु सबभन्दा खुसीको कुरा हो। सबैतिरबाट हौसला पाएका छौं। काम गर्ने जाँगर बढेको छ,' भोजबहादुरले भने, 'आफ्नै गाउँ-ठाउँमा बसेर राम्रो प्रतिफल पाउँदाको खुसी अमूल्य छ।'
उनले अगाडि भने, 'इसराइलले समयको महत्त्व सिकायो। बिरूवा के हो र मानिसको जीवनमा यसको के महत्त्व छ भन्ने सिकायो। मानिसको जन्मदेखि मृत्युसम्मको प्रक्रियाजस्तै बिरूवाको पनि प्रक्रिया हुन्छ भन्ने थाहा भयो। प्रविधिमा आधारित कृषि उत्पादन गर्ने तरिका जानियो। शून्यबाट मान्छे कसरी व्यावसायिक खेतीमा जान सक्छ भन्ने पनि सिकियो।'
'हामीले दिनरात मिहिनेत गरेर आफ्नो ज्ञान, सीप र परिश्रम सबै लगाएका छौं। एक हदसम्म सफल नै भएका छौं भन्ने लागेको छ।'
***