उनको नाउँ बिबिसी कसरी रह्यो, यो उनैलाई थाहा छैन।
सुन्नेहरू हाँस्छन्। हाँसोको जबाफ उनी हाँसोले नै दिन्छिन्।
सुरू सुरूमा त उनलाई त्यो हाँसोको कारण थाहा थिएन। जब थाहा पाइन्, उनलाई आफ्नो नाउँको अर्थ अन्दाज लगाउन सजिलो भयो। सायद उनका बा बिबिसी रेडियो खुब सुन्थे होलान्! त्यही चाखले छोरीको नाउँ नै बिबिसी राखे कि!
तर रोल्पाको थबाङ गाउँपालिका-२ की ३७ वर्षीया बिबिसी घर्ती खबर भन्दिनन्। तैपनि गाउँमा उनको लोकप्रियता खबर भन्ने बिबिसीभन्दा कम छैन।
गाउँमा उनी लोकप्रिय छिन्, एक सफल होटल व्यवसायीका रूपमा। थबाङमा सिमेन्टको चारतले घरमा करोडभन्दा बढी लगानी गरेर बनाइएको पहिलो होटल उनकै हो।
होटल व्यवसायमा बिबिसीको प्रवेश २०६९ सालतिर भयो।
त्यति बेला थबाङका १६ घरपरिवार मिलेर 'सामुदायिक होमस्टे' चलाएका थिए। तीमध्ये ५ नम्बरको होमस्टे बिबिसीको थियो।
बिबिसी घर्ती। तस्बिर: नारायण खड्का/सेतोपाटी
बिबिसीले होमस्टेमा हात हाल्दा उनका श्रीमान सुगन्ध रोका खच्चडमा मालसामान ढुवानी गर्थे। थबाङवासीका लागि दालचामलदेखि नुनतेल, लत्ताकपडा लगायतका उपभोग्य वस्तु ओसार्न भ्याइनभ्याइ हुन्थ्यो। उनी सुलिचौर, लिबाङ, सिमलबाङ लगायत ठाउँबाट सामान ल्याउँथे र ती सामान बेच्न रूकुमकोटसम्म पुग्थे।
त्यसैबीच २०७२ सालमा थबाङमा बाटो पुग्यो। बाटोको बुई चढेर गाडीहरू पुगे। गाडीको बुई चढेर मान्छेको आवागमन बढ्यो। सुगन्धका खच्चड बेरोजगार भए।
हो, ठ्याक्कै त्यही बेला; गाडीको लस्करसँगै थबाङमा मान्छेको लस्कर बढेका बेला, बिबिसीको मनमा होमस्टेलाई होटलको रूप दिने झिल्का पस्यो।
जसै यो झिल्का मनमा पस्यो, उनले दुइटा महत्त्वपूर्ण निर्णय लिइन् — परम्परागत डिजाइनको आफ्नो घरलाई आधुनिक रूप दिने र बाहिरबाट आउने पाहुनालाई थरीथरीका रैथाने परिकार पकाएर खुवाउने।
उनले यस्तो निर्णय गर्नुका पछाडि कारण थिए।
त्यति बेला थबाङका प्राय: घरमा ढुंगा र माटोको गारो हुन्थ्यो। काठ र ढुंगाका छाना हुन्थे। झट्ट हेर्दा आकर्षक भए पनि ती घरमा कोठाहरू साना हुन्थे। शौचालय वा बाथरूम जान घरबाहिर निस्कनुपर्थ्यो। पाहुनाहरू बाहिर निस्कन असजिलो मान्थे। रातको समय त झनै अप्ठ्यारो हुन्थ्यो। थोरै समयका लागि आउने पाहुनालाई जति बढी सुविधा दियो, उति मन फुकाएर खर्च गर्छन् भन्ने बिबिसीले भाँपेकी थिइन्।
अर्को कारण, त्यस्ता पाहुना थबाङ आउँदा स्थानीय परिकार चाखेर जिब्रोको स्वाद फेर्न चाहन्थे। भान्सा सफासुग्घर राखेर थरीथरीका रैथाने स्वाद चखाउन सके झन् बढी आम्दानी हुन्छ भन्ने पनि बिबिसीले बुझेकी थिइन्।
'मलाई किन किन बदलिँदो समयअनुसार नचले होमस्टे पनि श्रीमानको खच्चडजस्तै बेकारको हुन्छ भन्ने लाग्यो,' त्यति बेला १२ कक्षा पढेकी बिबिसीले जीवनकै सबभन्दा महत्त्वपूर्ण निर्णय सम्झिँदै भनिन्, 'मैले सामुदायिक होमस्टेबाट पर्यटन व्यवसायको थोरै अनुभव लिइसकेकी थिएँ। त्यही अनुभवलाई व्यावसायिक रूपमा प्रयोग गर्ने निधो गरेँ।'
बिबिसीको निधोमा उनको घरपरिवारले नाइँनास्ती गरेन।
उनका श्रीमान् सुगन्ध त बेरोजगार बसेका आफ्ना १० वटा खच्चड बेचेर श्रीमतीलाई होटल व्यवसायमा सघाउन पनि तयार भए।
यसरी आजभन्दा सात वर्षअघि छोराको नाममा खोलेको 'सुवास होटल' मा बिबिसीले डेढ करोड रूपैयाँभन्दा बढी लगानी गरेकी छन्। करिब २४ लाख रूपैयाँ बैंकको ऋण छ।
उनले होटलको माथिल्लो तलाका आठवटा कोठा गाउँपालिका कर्मचारीलाई भाडामा दिएकी छन्। बाँकी सबै तलामा पाहुनाहरू बस्ने सुविधासम्पन्न कोठा छन्। शौचालय र बाथरूमसहितको कोठामा एक रात बसेको हजार रूपैयाँ लाग्छ भने सामान्य कोठाको पाँच सय पर्छ।
भुइँतलाको रेस्टुरेन्टमा लोकल कुखुरा वा खसीको मासुसहित चार सय रूपैयाँमा खाना पाइन्छ। बंगुर, राँगो वा ब्रोइलर कुखुराको मासुभात तीन सय पर्छ। सादा खाना दुई सयमा पाइन्छ। यसबाहेक ग्राहकको मागबमोजिमका परिकार बिबिसी आफै पकाएर खुवाउँछिन्।
पहिलोचोटि थबाङ आउनेलाई यहाँ सुविधासम्पन्न होटल छैन कि भन्ने लाग्न सक्छ। कुनै बेला माओवादीको उर्वर भूमिका रूपमा चिनिएकाले पनि थबाङ भन्नेबित्तिकै दुर्गम गाउँको झल्को मनमा आउँछ। तर दसवर्षे द्वन्द्वले आर्थिक र सामाजिक रूपमा थिलथिलो पारेको थबाङ अब पहिलेजस्तो छैन। माओवादीको उर्वर भूमि हिजोआज होटल व्यवसायको उर्वर भूमिमा परिणत भइसकेको छ।
यसको एउटा उदाहरण बिबिसी घर्तीले डेढ करोड लगानी गरेर खोलेको सुवास होटल हो भने यस्ता उदाहरण अरू पनि थुप्रै छन्।
एक वर्षअघि उद्घाटन गरिएको घाग्य होटललाई नै हेरौं।
सुवास होटलसँगै जोडिएको घाग्य करिब चार करोड लगानीमा बनेको सञ्चालक मनराखी रोका बताउँछिन्। छतमा स्वीमिङ पुल भएको यो होटलमा ५० जना पाहुनाका लागि थरीथरीका कोठा छन्।
होटलको रेखदेख ४० वर्षीया मनराखी आफै गर्छिन्। उनलाई श्रीमान वसन्त रोकाको पनि साथ छ। वसन्त थबाङ-२ का पूर्ववडाध्यक्ष हुन्।
मनराखी रोका। तस्बिर: नारायण खड्का/सेतोपाटी
लामो समयदेखि व्यापार-व्यवसायमा संलग्न रोका दम्पतीले खुब मिहिनेत गरेर यो होटल बनाएका छन्।
घरको बाहिरी गारो स्थानीय खोलामा पाइने ढुंगाले बनेको छ। ती ढुंगालाई ग्राइन्डिङ मेसिनले काटेर इँटाको आकार दिइएको छ। भित्री गारो बनाउन उनीहरूले दाङबाट इँटा ओसारेका थिए। भर्याङमा मार्बल र टायल बिछ्याइएको छ भने भर्याङको रेलिङ काठको छ। होटल बनाउँदा भारतबाट कालिगढहरू ल्याएको मनराखी बताउँछिन्।
उनका अनुसार होटलमा अधिकांश समय कोठा भरिभराउ हुन्छ। कोठाको शुल्क सुवास होटलसँग लगभग बराबर छ।
पाहुनालाई दूध, दही, घ्यू र दूधका अन्य परिकार खुवाउन उनीहरूले आफ्नै भैंसी फार्म खोलेका छन्, जहाँ २०-२२ वटा भैंसी पालिएका छन्। होटलमा खपत भएर बचेको दूध उनीहरू स्थानीय डेरीलाई बेच्छन्। कोदो र मकैको रक्सी, ढिडो, सिस्नो, लोकल भालेको मासु, लोकल मह यहाँका विशेष आकर्षण हुन्।
'हामीलाई होटल व्यवसाय गर्ने कुनै इच्छा थिएन। तर थबाङमा होटलको माग एकदमै बढ्यो। मान्छेहरू राम्रो होटल खोजिदिन घरि घरि हामीलाई आग्रह गर्थे,' मनराखीले भनिन्, 'त्यही देखेर हामी आफै होटल व्यवसायमा लाग्यौं।'
यो होटल बनाउन बैंकबाट एक करोड रूपैयाँ ऋण लिएको र केही रकम आफन्त र साथीभाइसँग सहयोग मागेको उनी बताउँछिन्।
बिबिसी र मनराखीजस्ता थबाङका होटल व्यवसायी पछिल्लो एक वर्षको व्यापारले उत्साहित छन्। यही क्रममा व्यापार बढ्दै गए लगानी थप्न पनि तयार रहेको उनीहरू बताउँछन्।
थबाङका होटल ६ महिना राम्रोसँग चल्छन्। सदाबहार 'चिसो मौसम' हुने थबाङमा वैशाखदेखि असारसम्म पर्यटक धेरै आउँछन्। त्यस अवधिमा महिनाको झन्डै तीन लाख रूपैयाँ कमाइ हुन्छ। वर्षा लागेपछि साउनदेखि कात्तिकसम्म पाहुना कम आउँछन्। यसको मुख्य कारण बाटोको समस्याले हो। बाँकी समय पनि पर्यटकको आउजाउ चलिरहन्छ। होटल खाली नै राख्नुपर्ने अवस्था भने विरलै आउँछ।
बिबिसीका अनुसार माओवादीले सशस्त्र युद्ध सुरू गरेको ठाउँ भएकाले पहिले धेरै मानिस माओवादीको उद्गम थलो कस्तो रहेछ भनेर हेर्न आउँथे। पछिल्लो समय भने जलजला हिमाल हेर्न आउने पर्यटक बढेका छन्। वैशाख पूर्णिमा, जेठ पूर्णिमा र साउन पूर्णिमा बेला जलजलामा पूजा हुन्छ। खासगरी त्यो बेला धेरै पर्यटक आउँछन्। प्राय: बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, पोखरा, चितवन लगायत ठाउँबाट धेरै आउने गरेको बिबिसीको भनाइ छ।
'देशको राजनीतिक परिवर्तनसँगै थबाङको पनि कायापलट भयो। अब यो पहिलेजस्तो द्वन्द्वग्रस्त भूमि रहेन, पर्यटकहरूको चहलपहल हुने ठाउँमा परिणत भइसक्यो,' उनले भनिन्, 'बाहिरका मान्छे जति धेरै आउन थाले, गाउँमा विकास र परिवर्तनको लहर उति बढ्दै गयो।'
यो लहरले ल्याएको व्यावसायिक अवसर छोप्न होटलहरू खुल्ने क्रम बढे पनि भौतिक प्रगतिमा थबाङ अझै पछाडि नै छ।


यहाँको मुख्य समस्या बिजुलीबत्ती हो। पहिले माङ्ग्रा खोलाको लघु जलविद्युतबाट बत्ती बालिन्थ्यो। त्यो बिग्रेपछि सोलार लाइनको भर छ। गोवाङ डाँडामा सोलार प्यानलहरू राखिएका छन्। रोल्पाकै माओवादी नेता वर्षमान पुन पहिलोपटक मन्त्री हुँदा सोलार जडान गरिएको हो। तर आज पनि बादल लागेको दिन गाउँ अँध्यारो हुन्छ। राति १०-११ बजेपछि सोलारको लाइन पनि काटिन्छ।
सोलारको उज्यालो बाल्न व्यवसायीहरूलाई निकै महँगो पर्छ। गर्मीमा २ हजार ४ सय रूपैयाँले करिब डेढ महिना बत्ती बाल्न पुग्छ। चिसो सुरू भएपछि त्यति नै पैसाले दुई साता पनि चल्दैन। चिसोमा होटलका पाहुनाले हिटर चलाउने र पानी तताउने हुँदा सोलारको लाइन नपुग हुने व्यवसायीहरू बताउँछन्।
पुस १३ गते दिउँसो १ बजे हामीले मनराखीलाई भेट्दा अघिल्लो रात साढे १० बजेतिर गएको लाइन आइसकेको थिएन। बादल लागेकाले सोलारले काम नगरेको उनले बताएकी थिइन्।
'यहाँ बिजुलीको खम्बा गाडेको तीन वर्ष बितिसक्दा पनि लाइन आएको छैन,' मनराखीले भनिन्, 'वर्षमान पुनले थबाङलाई छिट्टै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने आश्वासन दिनुभएको छ। हेरौं, कहिले पूरा होला!'
बिजुलीको समस्या हल भए पर्यटन व्यवसाय थप वृद्धि हुने उनको विश्वास छ।
यसबाहेक बर्खामा सहज आवागमन निम्ति बाटोको समस्या पनि छ। सरकारले यसमा ध्यान दिए थबाङमा बाह्रै महिना पर्यटक आउने मनराखी बताउँछिन्।
इन्टरनेट सुविधा भने राम्रै छ। स्थानीयले 'फाइबर नेट' प्रयोग गर्न थालेको दुई वर्ष भयो। त्यसबाहेक स्याटलाइटबाट 'एभरेस्ट नेट' चलाउनेहरू पनि छन्।
थबाङको पर्यटन व्यवसाय उकास्न पछिल्लो समय केही मनोरञ्जन स्थल निर्माणको क्रम बढेको छ। यसको एउटा उदाहरण निर्माणको अन्तिम चरणमा पुगेको जलजला स्केट पार्क हो।
स्थानीय ३३ वर्षीय व्यापक बुढाले दाङको घोराहीमा स्केट पार्क देखेपछि थबाङमा पनि राम्ररी चल्ने ठानेर निर्माण सुरू गरेका हुन्। माघ महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्य छ। यसमा झन्डै ३० लाख रूपैयाँ लगानी भएको उनले बताए।
दुई वर्ष दुबईमा काम गरेर आएका उनले त्यहाँ पनि यस्ता मनोरञ्जन पार्क थुप्रै देखेका थिए। थबाङ घुम्न आउनेका लागि यहाँको बसाइ अवधि लम्ब्याउन यस्ता ठाउँ बढीभन्दा बढी बन्नुपर्ने उनको भनाइ छ।
यी सबबीच कतिपय स्थानीयलाई भने थबाङको पहिचान बोकेका परम्परागत घर भत्काएर कंक्रिट संरचना बनाउने होडबाजी पटक्कै मनपरेको छैन।
वीर बलभद्र माविकी शिक्षिका सृष्टि बुढा तिनैमध्ये एक हुन्। कंक्रिटको होडबाजीले थबाङको पहिचान नै मेटिने खतरा बढेको उनको भनाइ छ।
'सुरूमा आधुनिकताका नाममा जस्तापाता भित्रियो। काठ र ढुंगाका छाना हराए। अहिले कंक्रिटको घर बनाउने होड छ,' उनले भनिन्, 'थबाङमै प्राकृतिक रूपले पाइने ढुंगा र काठको छाना छाउँदा हाम्रो पहिचान मात्र जोगिएको थिएन, स्थानीय पैसा पनि गाउँभित्रै रहन्थ्यो। अचेल सिमेन्ट, छड र इँटाजस्ता सामग्रीमा थबाङवासीको धेरै पैसा बाहिरिन थालेको छ। यो थबाङको दीगो आर्थिक विकासका लागि राम्रो होइन।'
घरको मौलिक शैली कायम राखेर सुविधाहरू मात्र थपेको भए पर्यटकको आकर्षण झनै बढ्थ्यो भन्ने सृष्टिको भनाइ छ।
सृष्टि बुढा। तस्बिर: नारायण खड्का/सेतोपाटी
सृष्टिको परिवारले पनि तीन वर्षदेखि होमस्टे चलाउँदै आएको छ। उनको १६ नम्बरको होमस्टे यहाँ राम्रो चल्नेमध्ये पर्छ। उनी विदाको दिन र साँझ-बिहान होमस्टेमा समय दिन्छिन्। परम्परागत शैलीकै घरमा चलाइएको होमस्टेमा पाहुनाहरूका लागि पाँचवटा कोठा छन्, जसमा २० जनासम्म बस्न मिल्छ। एक रात बास बसेको शुल्क पाँच सय रूपैयाँ हो।
आधुनिक शैलीका ठूला होटलको वृद्धिले होमस्टेको व्यवसायमा असर परेको उनी बताउँछिन्।
उनको भनाइ तथ्यांकले पनि पुष्टि गर्छ। थबाङमा पहिले १६ परिवारले होमस्टे चलाएकामा अहिले जम्मा ६ जना बाँकी छन्। तीमध्ये दुई जनाले मात्र परम्परागत घरमा होमस्टे चलाउँछन्। बाँकीले पक्की घर ठड्याइसके।
थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगर पनि कंक्रिट संरचना निर्माणको तीव्रताले मौलिक शैली मासिँदै गएको भन्दै दु:खमनाउ गर्छन्।
उनका अनुसार सात वर्षअघिसम्म यहाँ सिमेन्टको घर एउटै थिएन। त्यति बेला थबाङको अलग्गै पहिचान थियो। पछिल्लो समय निजी घर र त्यसमा पनि होटल तथा लजको निम्ति कंक्रिट संरचना बनाउने क्रम ह्वात्तै बढेको उनले बताए।
'द्वन्द्वकालमा हामीले थबाङमा कम्युनको अभ्यास गरेका थियौं,' उनले भने, 'त्यति बेलाको साझा घर, साझा काम, साझा थलो भन्ने अवधारणा थबाङले गुमाउँदै गएको साँचो हो।'
थबाङको पहिचान जोगाएर राख्न र भविष्यमा यहाँको पर्यटन व्यवसाय थप प्रवर्द्धन गर्न मौलिक शैलीका घर मात्र बनाउन पाउने गरी नगर विकास योजना प्रस्ताव गरेको उनले जानकारी दिए।
***