'काठमाडौंमा कोठा चाहिएको छ? हामीलाई सम्झनुहोस्!'
यस्तो सूचना लेखिएका पम्प्लेट सडक छेउको भित्ता र बत्तीका खम्बामा जताततै देखिन्छन्।
अचेल त सामाजिक सञ्जालका भित्तामा पनि यस्ता विज्ञापन भेटिन्छन्। यस्तै सूचनालाई आधार मानेर कोठा खोज्न जाँदा ठगिनुपरेका उदाहरण पनि प्रशस्तै छन्।
ठगहरूको कुरा आज नगरौं; आज कुरा गरौं काठमाडौं उपत्यकाभित्र डेरा खोजिरहेकाहरूलाई वास्तवमै सहयोग गर्दै आएका केशव बञ्जाडेको।
तपाईंलाई काठमाडौं, भक्तपुर र ललितपुरभित्र कोठा चाहिएको छ भने आफै दौडधुप गर्नुपर्दैन। सामाजिक सञ्जालमा राखिएका तस्बिर हेरेर छानी छानी कोठा लिन पाउनुहुन्छ। यो सुविधा कोठा खोज्नेलाई मात्र होइन, कोठा खाली भएर सूचना दिने घरधनीलाई पनि हो।
तपाईंले आफ्नो घरको कोठा खाली भएको सूचना सामाजिक सञ्जालमा राख्नुभयो भने 'मलाई चाहिएको छ' भनेर कमेन्ट गर्नेहरूको लर्को लाग्छ।
यति मात्र होइन, तपाईंलाई आवश्यक लोकेसनमा कोठा खोजिदिएर सहयोग गर्ने कार्यालय पनि धेरै खुलेका छन्। केशव बञ्जाडेले यसरी नै व्यावासायिक रूपमा कोठा खोज्ने काम गरिरहेका छन्।
उनले यो काम थालेको एक दशक भयो।
कार्यालय नै खोलेको भने ५-६ वर्ष भयो। हामीले यो स्टोरीमा उनको काम र अनुभवबारे कुरा गरेका छौं।
केशवले कुनै योजना बनाएर यो काम सुरू गरेका भने होइनन्। आफूले डेरा खोज्दा भोगेका समस्या अरूलाई नपरोस् भनेर सुरू गरेको कामले व्यावसायिक रूप लिएको उनी बताउँछन्।
अर्घखाँचीको छत्रदेव गाउँपालिका-६ का केशवको बाल्यकाल सामान्य रह्यो। उनी परिवारका एक्ला सन्तान हुन्। कक्षा ११ सम्म गाउँकै स्कुलमा पढे। त्यसपछि साथीहरूको लहैलहैमा काठमाडौं आइपुगे।
केही दिन साथीहरूसँगै बसे पनि एउटै कोठामा चार-पाँच जना बस्न गाह्रो भयो। त्यति बेला उनका साथीहरू माछापोखरी नजिकै बस्थे। उनले त्यहीँ छेउछाउ छुट्टै बस्ने योजना बनाए र कोठा खोज्न थाले। तर छेउछाउ मात्र होइन, सिंगो माछापोखरी, गोंगबु र सामखुसीसम्म पुग्दा पनि एउटै कोठा भेटेनन्। कति ठाउँमा केटाहरू मात्र बस्ने भनेपछि घरधनीले कोठा दिएनन्, कतै पानी वा शौचालयको सुविधा थिएन।
झन्डै एक महिना डुलेपछि बल्ल उनले माछापोखरी नजिकै एउटा कोठा फेला पारे।
त्यो उनका लागि डेरा मात्र थिएन, काठमाडौंमा आङ लुकाउने मेसो थियो!
यसरी महिनादिन कोठा खोज्दा उनले आफूजस्ता थुप्रै मान्छे भेटे। उनीहरूसँग कोठा खोज्दा पाएको दु:ख र हन्डर साटे। कतिपय बेफुर्सदीहरूले आफ्नो निम्ति पनि कोठा खोजिदिन केशवलाई काम लगाए। त्यसबापत थोरै पैसा दिन्छु भनेपछि उनले नाइँनास्ती गरेनन्।
'म आफूलाई थाहा भएको कोठाबारे उनीहरूलाई भनिदिन्थेँ, मनपर्नेहरू सर्थे,' केशवले भने, 'कोठा मनपराउने व्यक्तिले आफ्नो समय बचत गरिदिएकोमा धन्यवाद भन्दै मलाई दुई-चार सय रूपैयाँ दिन्थे।'
त्यही दुई-चार सय रूपैयाँ उनलाई काठमाडौंमा टिक्ने सहारा बन्यो।

स्थायी जागिर नभएकाले उनले दिनभर कोठा खोज्दै हिँड्न अल्छी मानेनन्। आफ्नो निम्ति कोठा फेला परिसकेपछि पनि साथीहरूका लागि खोज्न हिँडिरहे। साथीहरूसँगै नचिनेका व्यक्तिलाई पनि कोठा खोजिदिएर सघाए। त्यसैको आम्दानीले उनको गुजारा चल्न थाल्यो।
'म कुनै योजना बनाएर काठमाडौं आएको थिइनँ। जे पाइन्छ त्यही गर्छु भनेर आएको थिएँ,' उनले भने, 'पहिला बासको बन्दोबस्त गरेर काम खोज्ने विचार थियो। तर कोठा सँगसँगै काम पनि मिल्यो। कोठा खोजेर धेरै-थोरै पैसा पाउने भएपछि मैले त्यही काम गर्ने निधो गरेँ।'
केशवसँगै उनका दुई-तीन जना साथी पनि यो काममा सहभागी भए। उनीहरू हरेक दिन काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा खाली कोठा खोज्दै हिँड्थे। कुनै घरमा कोठा भेटिए घरधनीसँग फोन नम्बर मागेर ल्याउँथे। अनि डेरा खोजिरहेको व्यक्तिलाई घरधनीको नम्बर दिन्थे।
घरधनी र डेरामा बस्नेका लागि उनीहरू पुल बने।
'काम सुरू गरेको एक महिनामै मैले तीन-चार जना मान्छेका लागि कोठा खोजिदिएँ। प्रत्येकले ४-५ सय रूपैयाँ दिए,' उनले भने, 'मेरो सुरूआती कमाइ मासिक दुई-तीन हजार रूपैयाँ थियो। अरू काम नपाउञ्जेल त्यही पनि मेरो निम्ति लाख बराबर थियो। मैले यो कामलाई निरन्तरता दिइरहेँ।'
यसबीच साथीहरू अरू काम पाएर लाखापाखा लागे। कोही विदेश गए, कोही अरू जागिरमा लागे। केशवको निम्ति भने काठमाडौंमा टेक्ने-समाउने आधार नै यही भयो।
उनलाई जति धेरै सहरका गल्ली चहार्यो, त्यति धेरै कोठा भेटिन्छ भन्ने लाग्थ्यो। त्यही भएर दिनभरि नै कोठा खोज्न डुलिरहन्थे। हरेक दिन सहरको एउटा एउटा भागमा गएर कोठा छ कि छैन सोध्दै हिँड्थे।
यसले घरधनीहरूसँग उनको व्यक्तिगत सम्पर्क बढ्दै गयो। उनले धेरैलाई चिन्ने मौका पाए। काम सहज हुँदै गयो।
यसरी एक वर्ष बित्यो। उनी माछापोखरी, बालाजु, सामाखुसी र टोखाका धेरै घरधनीसँग परिचित भए। त्यति बेला उनी सानो टुकटुके फोन बोक्थे। कोठा चाहिएको र दिने मान्छेलाई आफ्नो नम्बर बाँड्दै हिँड्थे। साथीहरू र आसपासका पसलमा पनि नम्बर छाडेका थिए। तिनले कोठा खोज्दै हिँड्नेहरूलाई केशवकै नम्बर पठाइदिन्थे, केशवसँग सम्पर्क गराइदिन्थे।
बिस्तारै उनी 'कोठा खोजिदिने मान्छे' भनेर चिनिँदै गए।
उनको टुकटुके फोनमा तारन्तार घन्टी बज्न थाल्यो। उनले कोठा खोजिदिएबापत ५ सय रूपैयाँ कमिसन लिन थाले। महिनाको १० जनालाई कोठा खोजिदिए उनको खर्च पुग्थ्यो।
सुरूका दिनमा उनी आफ्नो आवश्यकताअनुसार मात्र खट्थे। ग्राहकको चाप बढ्दै गएपछि उनले कामको रफ्तार पनि बढाउँदै लगे। त्यो सँगसँगै कमिसन पनि बढ्दै गयो।
आम्दानी बढेसँगै यही काममा टिकिरहन हिम्मत बढ्यो।
र, त्यही हिम्मतले उनी आज कार्यालय नै खोलेर व्यावसायिक रूपमा कोठा खोज्ने अवस्थासम्म आइपुगेका छन्।

केशवले यो कार्यालय विष्णु केसीसँग मिलेर खोलेका हुन्। पहिले विष्णु पनि आफ्नो गुजारा चलाउन केशवजस्तै एक्लै कोठा खोज्ने काम गर्थिन्। एकदिन दुवैको भेट भयो। एउटै खालको काम भएकाले दुवैले मिलेर गर्ने सहमति गरे।
उनीहरूले आ-आफ्नो क्षेत्र छुट्टयाएका थिए। माछापोखरीदेखि बसुन्धारासम्म कोठा खोज्ने काम केशवको थियो। चाबहिल, गौशला र जोरपाटी क्षेत्रको जिम्मा विष्णुले लिइन्।
यही सहकार्यलाई निरन्तरता दिँदै केशव र विष्णुले पाँच वर्षअघि चाबहिलमा कोठा लिएर सेवा दिन थालेका हुन्।
उनीहरूले कोठा खोजिदिने भनेर कार्यालय दर्ता गराएका छन्। कोठा चाहिएको व्यक्तिले कार्यालयमै आएर वा फोनमार्फत् सम्पर्क गर्न सक्छन्। उनीहरूको धेरैजसो प्रसारप्रसार सेवाग्राहीले नै गर्छन्।
'कुनै एक व्यक्तिलाई कोठा मिलाइदियो भने उनीहरूले नै अर्को व्यक्ति लिएर आउँछन्, त्यसैले धेरै प्रचार गर्नुपर्दैन,' उनले भने, 'अहिले भने सामाजिक सञ्जालबाट प्रचार गर्ने चलन बढेको छ।'
कोठा खोज्ने काममा साथीहरूसँगको सम्पर्क बलियो हुनुपर्ने केशव बताउँछन्। यस्तै काम गर्नेहरूसँग पनि निकट सम्बन्ध राख्नुपर्ने उनको भनाइ छ।
'अहिले काठमाडौं उपत्यकामा यस्तो काम गर्ने मान्छेको संख्या बढेको छ। हामीबीच प्रतिस्पर्धाभन्दा बढी सहकार्य हुन्छ,' उनले भने, 'अरू क्षेत्रमा जस्तो एकअर्कासँग प्रतिस्पर्धा गरेर यो काम चल्दैन। यसमा सहकार्य चाहिन्छ। कसैलाई कुन ठाउँमा कोठा चाहिएको हुन्छ, कसैलाई कुन ठाउँमा। सबै ठाउँमा तपाईंको राम्रो सम्पर्क हुँदैन। यस्तोमा सञ्जाल बनाएर काम गर्दा सहज हुन्छ। व्यवसाय पनि फस्टाउँछ।'
आफ्नो एक दशकको अनुभवका आधारमा केशवले घरधनीका केही आमधारणा हामीसँग बाँडे।
उनका अनुसार सामान्यतया काठमाडौंमा केटाहरू मात्र बस्ने भनेपछि धेरै जना घरधनी कोठा दिन गाह्रो मान्छन्। भर्खर गाउँबाट आएको र जागिर नभएकाहरूलाई पनि कोठा दिन हच्किन्छन्। यस्तो प्रवृत्ति पहिले व्यापक भए पनि अचेल सुधार हुँदै आएको उनको अनुभव छ।
पहिले पहिले धेरैजसो घरधनीले अरूका लागि कोठा खोज्न आएको भन्दा पत्याउँदैनथे। कतिले त हप्काएरै पठाए। कतिले भने 'डेरा बस्ने मान्छे लिएर आऊ, अनि कुरा गरौंला' भनेर फर्काए। त्यति बेला अरूका लागि कोठा खोजिदिने चलन नभएकाले पनि यस्तो व्यवहार सहनुपरेको उनी बताउँछन्।
'अहिले भने धेरैले यो कामको प्रकृति बुझिसके। सामाजिक सञ्जालमा आउने सूचनाले पनि धेरै घरधनीहरू एजेन्टमार्फत् डेरावाला खोज्न सहज मान्न थालेका छन्,' उनले भने।
धर्म र जातिको कुरा पनि डेरा खोज्दा उठ्ने गरेको उनको भनाइ छ।
कसैले निश्चित धर्म, जाति र कामबारे आफ्नो धारणा प्रस्ट राख्छन्। कोही आसय मात्र दर्शाउँछन्। कोही भने पहिला जात र धर्म नहेरे पनि पछि विभिन्न बहाना बनाएर निकाल्ने खालका हुन्छन्।
'सयमध्ये २० जना घरधनीले दलित र मधेसीलाई आफ्नो घरमा राख्न नरूचाउने मेरो अनुभव छ,' उनले भने।
कतिपय घरधनीले डेरा बस्ने मान्छे रक्सी खान्छ कि खाँदैन, चुरोट खान्छ कि खाँदैन भनेर सोध्छन्। कतिपयलाई त्यसको वास्ता हुँदैन। तर रक्सी खाएर हल्ला गर्ने स्वभावको मान्छेलाई भने धेरैजसोले कोठा दिन नचाहने उनी बताउँछन्।
त्यस्तै, कतिपय साकाहारी घरधनीले माछामासु खाने व्यक्तिलाई कोठा दिन चाहँदैनन्। कतिको रूचि बिहेबारी गरेको र बालबच्चा भएको परिवारलाई मात्र कोठा दिऊँ भन्ने हुन्छ। कोही एक्लै बस्ने विद्यार्थीलाई मात्र कोठा दिन चाहन्छ। एक्लै बस्ने र बाहिर रेस्टुरेन्टतिरै खाना खानेलाई पनि धेरै जना कोठा दिन इच्छुक हुन्छन्। अविवाहित केटीहरू समूहमा बस्छन् भने प्राय: घरधनी कोठा दिन तयार हुन्छन्। एक्लै बस्ने अविवाहित केटीलाई भने कोठा दिन आनाकानी गर्छन्।
ठूलो परिवार भएका धेरै बालबच्चा भएकाहरूलाई पनि काठमाडौंका घरधनीले कोठा दिन रूचाउँदैनन्।
केशवले यो कामलाई व्यावसायिक रूपमा अंगालेकाले उनी घरधनीका यस्ता मागमा आनाकानी गर्दैनन्। भनेअनुसारकै मान्छे खोजिदिन्छन्। चित्त बुझे राख्छन्, नबुझे आफ्नो सम्पर्कमा भएको अर्को मान्छेलाई त्यही कोठा देखाउन लैजान्छन्।
'घरधनी पनि थरीथरीका हुन्छन्। कसैलाई महिनावारी भाडा पाए पुग्छ, अरू कुराको मतलब हुँदैन। कोही भने नानावली खोजीनीति गर्छन्। प्रहरीले जस्तै एक-एक कुरा केरकार गर्छन्, उनले भने, 'कसैलाई जात-धर्म र भूगोलको केही वास्ता हुँदैन, कोही भने सबभन्दा पहिले डेरामा बस्ने मान्छे कुन जातको हो, कुन धर्मको हो र कुन ठाउँबाट आएको हो भनेर उसको इतिहास नै केलाउँछन्।'

केशवका अनुसार अरू पेसा वा व्यवसायजस्तै कोठा खोज्ने कामलाई पनि कोभिड महामारीले नराम्रो प्रभाव पारेको थियो। पछिल्लो एक दशकमा सबभन्दा बढी कोभिड बेला कोठा खाली भएको थियो। त्यति बेला भाडामा बसेका धेरै मानिस घर गएर फर्केनन्। कतिले त भाडा पनि तिरेका थिएनन्। यसले घरधनीहरू बढी सजग भएको उनी बताउँछन्।
'कोभिडपछि केही महिनाको भाडा अग्रिम लिने र सबै कुरा सोधखोज गरेपछि मात्र भाडामा दिने चलन बढेको छ,' उनले भने।
महामारी बेला धेरै कोठा खाली भएकाले स्थिति सामान्य भएपछि भाडामा लगाउनेहरूको चाप ह्वात्तै बढेको उनी बताउँछन्। सेवाग्राहीको चाप बढेसँगै उनीहरूको काम पनि फैलियो। एउटा कोठाबाट सेवा दिँदै आएका उनीहरूले पाँच ठाउँमा कार्यालय खोलेका छन्। चाबहिल, चुच्चेपाटी, जोरपाटी, सामाखुसी र माछापोखरीमा उनीहरूको कार्यालय छ। यसबाहेक अन्य क्षेत्रमा कोठा चाहिए साथीहरूसँग सम्पर्क गराइदिन्छन्।
केशवले कोठा खोज्न आफ्नै प्रक्रिया विकास गरेका छन्।
कोठा भाडामा लगाउन चाहने वा भाडामा लिन चाहने व्यक्तिले सबभन्दा पहिला उनको कार्यालयमा आएर पाँच सय रूपैयाँ तिरेर फाराम भर्नुपर्छ। त्यसपछि कोठा चाहिएका व्यक्तिले एक महिनासम्म विभिन्न कोठा हेर्न पाउँछन्। कार्यालयको एजेन्टले सेवाग्राहीलाई कोठाहरू देखाउन लैजान्छ। प्राय:ले दुई-चार ठाउँ डुलेपछि कोठा मन पराउँछन्। कतिपयले भने एक महिना डुल्दा पनि कोठा मन नपराएको रेकर्ड छ।
कसैले फारम त भर्यो, तर एकपल्ट पनि कोठा हेर्न गएन भने उसको पाँच सय फिर्ता हुन्छ। एकपल्ट कोठा हेर्न गएर बीचमा कारणवश हेर्न जान पाएन भने उनीहरूलाई एक-दुई महिनापछि आए पनि नि:शुल्क कोठा देखाइदिने गरेको केशव बताउँछन्। तर दोस्रो महिनापछि कोठा देखाइदिनुपर्यो भने सेवाग्राहीले फेरि पाँच सय रूपैयाँ तिरेर फारम भर्नुपर्छ। त्यस्तो घटना वर्षमा एक-दुईपटक हुने उनको भनाइ छ।
'धेरैजसो व्यक्ति कोठा चाहिएको भएर नै हाम्रो कार्यालय आइपुगेका हुन्छन्, त्यसैले बेवास्ता गर्ने कमै हुन्छन्,' उनले भने, 'फारम भरेपछि शतप्रतिशतले कोठा हेरेका हुन्छन्।'
'कोठा हेर्न गएकामध्ये ७० प्रतिशत व्यक्ति भाडामा बसेको मेरो अनुभव छ,' उनले भने, 'कस्तो व्यक्तिलाई कोठा दिने र कस्तोलाई नदिने भन्ने घरधनीमा भर पर्छ। हाम्रो काम कोठा देखाइदिने हो। कोही भाडा नतिरी भाग्छ वा होहल्ला गर्छ भने घरधनी आफैले सम्हाल्नुपर्छ। यसमा हाम्रो टिम जबाफदेही हुँदैन। यो कुरा हामी घरधनी र डेरामा बस्नेलाई सुरूमै भनिदिन्छौं।'
पछिल्लो समय उनको सामाखुसी कार्यालयमा मात्र दैनिक १०-१५ जना आउँछन्। फोन भने २०-२५ जनाभन्दा बढीको आउँछ। उनले फोन उठाउन मात्र प्रत्येक कार्यालयमा एक जना कर्मचारी राखेका छन्।
केही दिनअघि हामी सामाखुसी कार्यालय पुग्दा त्यहाँका कर्मचारी सीता भुसाल फोन उठाउन व्यस्त थिइन्। उनले फोन उठाउँदै गर्दा एक युवक कार्यालयमा आइपुगे। उनले कोठा हेर्न लैजाने मान्छेले फोन नउठाएको गुनासो गरे। उनले ती पुरूषलाई घरधनीको फोन नम्बर दिएर पठाइदिइन्।
त्यसको ५-१० मिनेटमै अर्का एक युवक रिङरोडभित्र बसुन्धारा आसपास घाम लाग्ने कोठा चाहियो भन्दै आइपुगे। उनी साथीहरूसँग डेरामा बस्दै आएका थिए। भाइबहिनी पनि सँगै बस्न आउने भएपछि तत्काल कोठा चाहिएको उनले सीतालाई बताए। फराकिलो कोठा भए एउटैले पुग्ने, तर साना कोठा भए दुइटा चाहिने उनको माग थियो।
ती युवकको माग अनुसार सीताले एक-दुईवटा कोठाबारे जानकारी दिइन्। उनले तत्काल हेर्न जाने भन्दै पाँच सय रूपैयाँ तिरेर फाराम भरे।
फारम भरिसकेपछि सीताले ती युवकलाई एजेन्टको नम्बर दिएर कोठा हेर्न पठाइदिइन्।
त्यसको आधा घन्टा नबित्दै एक बाबुछोरी कोठा चाहियो भन्दै आइपुगे। उनीहरूलाई पनि पानीको सुविधा भएको घाम लाग्ने कोठा चाहिएको थियो। सीताले आफ्ना एजेन्टलाई फोन गरेर कपुरधारा आसपास त्यस्तो कोठा खाली भए-नभएको सोधपुछ गरिन्। र, फारम भराएर कोठा हेर्न पठाइदिइन्।
'यहाँ त सधैं यस्तै चाप भइरहन्छ,' सीताले भनिन्।
केशवले पैसा बाँडफाँटको नियम बनाएका छन्। फारम भरेको पैसा कार्यालयले नै राख्छ। कोठा लिने निश्चित भएपछि एजेन्ट कमिसन भनेर तोकिएको शुल्क लिइन्छ। सामान्यतया एउटा कोठा खोजेबापत २ हजार, दुईवटा खोजे ३ हजार र फ्ल्याट खोजे ४ हजार रूपैयाँ लिने गरिन्छ।
पछिल्लो एक दशकमा कति जनालाई कोठा खोजिदिए भन्ने केशवलाई हेक्का छैन। तर उनी यो व्यवसायबाट उत्साहित छन्। भविष्यमा यसलाई विस्तार गर्दै लैजाने उनको योजना छ।
उनको अनुभवमा सामान्यतया दसैं बेला बढी कोठा खाली हुन्छ भने छठ सकिएपछि कोठा खोज्न आउनेको संख्या बढ्छ।
'काठमाडौंमा कोठा खोज्न आउनेहरू बढेका छन्,' उनले भने, 'उपत्यकावासी बिदेसिँदै छन्, गाउँका मानिस सहर पस्दै छन्। यसले कोठा खोज्नेको संख्या बढिरहेको छ।'
'जे होस्, मेरो व्यवसाय फस्टाउँदैछ,' उनले भने।
***