(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
साँझको ८ बज्नै लागेको थियो।
शान्ति तामाङ खाना बोकेर सामाखुसी चोकको एउटा होटलमा गइन्। ग्राहकलाई फोन गरेर आफू लोकेसनमा आइपुगेको जानकारी गराइन्।
ग्राहकले ८-१० मिनेट पर्खिनू भने।
उनी पर्खेर बसिन्।
करिब १५ मिनेटपछि २०-२१ वर्षीय युवक होटलको गेटबाट बाहिर निस्किए। सामान अर्डर गर्ने व्यक्ति आफू नै भएको जानकारी गराए।
शान्तिले अनलाइनमा चेक गरिन्। त्यही व्यक्ति थिए।
युवकले केएफसी रेस्टुरेन्टबाट साढे ५ हजार रूपैयाँको खानेकुरा मगाएका थिए। पैसा तिर्न बाँकी थियो। त्यसैले शान्तिले खानेकुराको प्याकेट निकालेर आफ्नो स्कुटीमाथि राखिन्। पैसा भुक्तानीका लागि आफ्नो मोबाइल युवकतिर तेर्स्याइन्।
युवकको मोबाइलबाट भुक्तानी भएन। उनले दुई-तीनपटक प्रयास गरेजस्तो गरे। तीनपटकसम्म पनि भुक्तानी नभएपछि उनले होटलभित्र गएर साथीहरूसँग पैसा मागेर ल्याउँछु भने। र, खानेकुराको प्याकेट बोकेर होटलभित्र छिरे।
शान्ति गेट अगाडि पर्खिरहिन्।
पन्ध्र मिनेटसम्म पनि ती युवक फर्किएनन्। उनले हतारहतार फोन गरिन्। फोन अफ थियो।
शान्ति आत्तिइन्।
हस्याङफस्याङ गर्दै होटलभित्र छिरिन्। रिसेप्सनमा युवकको नाम देखाउँदै उनलाई बोलाइदिन आग्रह गरिन्।
रिसेप्सनमा बसेकी युवतीले शान्तिले भनेको नाम खोजिन्, तर कतै भेटिनन्। उनले त्यो नामको व्यक्ति होटलमा हुँदै नभएको बताइन्।
त्यसपछि अन्य कर्मचारीसँग सोधपुछ गरियो। सुरक्षाकर्मीले एक युवक होटलको गेटभित्र छिरेर पछाडिको ढोकाबाट निस्किएको जानकारी दिए।
शान्ति छाँगाबाट खसेझैं भइन्।

धेरै रकमको सामान भएकाले उनले फुडमान्डूको अफिसमा फोन गरेर बताइन्।
फुडमान्डूले पनि पटकपटक ती युवकको नम्बरमा फोन गर्यो। तर अफको अफ नै भन्यो।
शान्तिले के गर्ने, कसो गर्ने हेक्कै पाउन सकिनन्। उनी एक घन्टासम्म होटलको गेटअगाडि उभिइरहिन्। तारन्तार फोन गरिरहिन्। तर लागेन।
आफू ठगिएको निश्चित भएपछि उनी अरू सामान पुर्याउन नगई सिधै फुडमान्डूको अफिस गइन्।
फुडमान्डूको अफिस काठमाडौं महानगरपालिका-१, भाटभटेनीमा छ। अफिसले शान्तिसँग सोधपुछ गर्यो। उनले घटनाबारे विस्तृत जानकारी दिइन्।
सबै कुरा सुनेपछि फुडमान्डूले कुनै पनि जरिवाना नतिराई उनलाई छाडिदियो।
'त्यो दिन पाँच हजार रूपैयाँ तलबबाट काटिने हो कि भन्ने मलाई डर थियो। फुडमान्डूले जरिवानासमेत तिर्न पर्दैन भनेपछि एकदमै सन्चो भयो,' ३५ वर्षीया शान्तिले डेढ वर्षअघिको घटना सम्झँदै भनिन्, 'त्यसपछि म खाना डेलिभरी गर्न जाँदा निकै सजग हुन्छु। पैसा नपाएसम्म ब्यागबाट सामान निकाल्दिनँ।'
सचेत हुँदाहुँदै उनी दोस्रोपल्ट फेरि ठगिइन्।
यो घटना एक वर्षअघिको हो। साँझकै समय थियो। उनी खाना डेलिभरी गर्न काठमाडौं महानगरपालिका-२६ स्थित रेडन कलेजअगाडि पुगेकी थिइन्। डेलिभरी लोकेसन त्यहीँको थियो।
त्यहाँ पुगेर उनले ग्राहकलाई फोन गरिन्।
ग्राहकले कलेज अगाडिबाट सामाखुसी खोलाको गल्ली हुँदै तीन-चार सय मिटर अगाडि आउन भने।
उनी ग्राहकले भनेकै लोकेसनमा पुगिन्।
ग्राहकले ह्वाट्सएपमा फोन गरेर आफू आउन नभ्याएकाले भाइलाई पठाएको जानकारी दिए। दोस्रो व्यक्तिको फोन नम्बर पनि पठाए।
केही बेरमै २४-२५ वर्षीय युवक सामान लिन आइपुगे। खानेकुराको मूल्य २ हजार २ सय रूपैयाँ थियो। शान्तिले पहिला पैसा तिर्न आग्रह गरिन्। ती युवक भने पैसा तिर्न हिच्किचाए।
'दाइले आफ्नै मोबाइलबाट पेमेन्ट (भुक्तानी) गर्नुहुन्छ, म त सामान लिन मात्र आएको,' उनले भने।
शान्ति मानिनन्। पैसा नपाएसम्म खानेकुराको प्याकेट झिक्दै झिकिनन्।
त्यसपछि अर्डर गरेको व्यक्तिले घरबाटै पैसा भुक्तानी गरिरहेको जानकारी दिए।
शान्तिले झोलाबाट खानाको प्याकेट निकालेर स्कुटीमाथि राखिन्।
खाना अर्डर गर्ने व्यक्तिले पैसा भुक्तानी भइसकेको र त्यसको रसिद ह्वाट्सएपमा पठाइदिएको भन्दै फोन गरे।
शान्ति मोबाइलमा ह्वाटसएप मेसेज हेर्दै थिइन्। सँगै उभिएका युवक स्कुटीमाथि राखेको खाना बोकेर खुरर्रर दौडिइहाले।
आफू फेरि ठगिएको भान भएपछि शान्ति फुडमान्डूको झोला भुइँमा राखेर पछि पछि दौडिइन्। तर जति दौडिँदा पनि भेट्न सकिनन्। ती युवक कुन गल्लीभित्र छिरे पत्तै पाइनन्।
उनले ह्वाटसएप मेसेजमा आएको स्क्रिनसट हेरिन्।
ती ग्राहकले शान्तिलाई झुक्याउन भुक्तानीको अन्तिम प्रक्रिया सकिन बाँकी हुँदाको स्क्रिनसट पठाएका रहेछन्।
त्यसपछि शान्तिले लगातार फोन गरिरहिन्। केही बेर लागेको थियो, पछि अफ भन्यो।
'त्यो दिन पनि मलाई झुक्क्याएर पैसा नतिरी खाना लिएर गए,' शान्तिले भनिन्, 'मैले अफिसमा आएर सबै कुरा बताएँ। यस्तो गल्ती दोस्रोचोटि भएकाले छुट पाइँदैन जस्तो लागेको थियो। तर कम्पनीले ह्वाट्सएप मेसेजमा आएको स्क्रिनसट र अरू सबै चिज हेरेपछि मलाई पैसा तिर्न पर्दैन भन्यो।'
दोस्रोपटकको यो घटनापछि शान्तिले ग्राहकलाई विश्वास गर्नै छाडेकी छन्। पैसा भुक्तानी भएको निश्चित नभएसम्म झोला खोल्दा पनि खोल्दिनन्।
पछिल्लो एक वर्षयता उनले यस्ता घटना भोगेकी छैनन्। कुनै अड्चनबिना काम चलिरहेको छ।
उनको काम हो — ग्राहकले अर्डर गरेको खाजा वा खाना विभिन्न होटल तथा रेस्टुरेन्टबाट टिपेर घर-घरमा पुर्याउने।


शान्तिले यो काम थालेको तीन वर्ष भयो।
उनले थरीथरीका ग्राहक झेलेकी छन्। राम्रा ग्राहक भेटेकी छन्, नराम्रा पनि भोगेकी छन्। कतिपय ग्राहकले पैसा नतिरी सामान लैजान कस्ता कस्ता जुक्ति लगाउँछन् भन्ने बुझिसकेकी छन्।
आफ्नो तीन वर्षको अनुभवका आधारमा उनी फुड डेलिभरी गर्नेहरूले ग्राहकका स-साना व्यवहारमा ध्यान दिनुपर्ने बताउँछिन्।
ध्यान दिनुपर्ने केही कुरा शान्तिले हामीसँग पनि बाँडिन्।
पहिलो, कतिपय ग्राहकले भुक्तानी भइसक्यो भनेर नक्कली रसिद देखाउँछन्। डेलिभरी गर्ने मान्छे प्राय: हतारमै हुन्छ। हतारमा हेर्दा त्यो रसिद सक्कली हो कि नक्कली थाहा पाइँदैन।
'हरेक डेलिभरीअघि कम्पनीको खातामा पैसा जम्मा भयो कि भएन हेरेपछि मात्र ग्राहकको हातमा सामान दिनुपर्छ,' उनले भनिन्, 'को मान्छेको नियत कस्तो छ भन्ने उसको अनुहारमा लेखिएको हुँदैन। कतिपय ग्राहकलाई फुड राइडरले विश्वास गरेन भन्ने लाग्नसक्छ। जसले त्यस्तो सोच्छ, उसलाई आफू ठगिएका घटना सुनाउँछु। धेरैजसो ग्राहकले कुरा बुझ्छन्। कोही कोही मात्र हुन्छन् किचकिच गर्ने।'
दोस्रो, कहिलेकाहीँ ग्राहकको खाताबाट पैसा गइसक्दा पनि मोबाइलमा मेसेज आउँदैन। त्यस्तो हुँदा कम्पनीमा फोन गरेर सिस्टम हेर्न लगाउनुपर्छ। दुई-चार मिनेट पर्खिनुपर्दा प्राय: ग्राहक रिसाउँदैनन्।
'कसै-कसैले गाली गर्छन्, तर म विवाद गर्दिनँ,' उनले भनिन्, 'आफ्नो समस्या बताउँछु र उनीहरूको कुरा चुपचाप सुनिरहन्छु। हरेक ग्राहकलाई जबाफ दिन थाल्यो भने झगडा मात्र पर्छ। त्यसैले स-साना कुरा हाँसेरै टारिदिन्छु।'
तेस्रो, खाना-खाजा डेलिभरी गर्न जाँदा बाटोमा पोखिने वा छुट्ने डर हुन्छ। डेलिभरी गर्नेले यसमा विशेष ध्यान दिनुपर्ने उनी बताउँछिन्।
'डेलिभरी लिँदा नै प्याकिङ कस्तो छ भनेर हेर्नुपर्छ। झोलिलो पदार्थ छ भने बढी सतर्क हुनुपर्छ। त्यस्तो सामान कसरी राख्ने र कहाँ राख्ने भनेर विचार पुर्याउनुपर्छ,' उनले भनिन्।
खानेकुरा पोखिएकै कारण ग्राहकले लिन नमानेको र यसै फिर्ता ल्याउनुपरेको अनुभव पनि शान्तिसँग छ।
तीन वर्षअघि उनी भर्खर भर्खर यो काममा लागेकी थिइन्। होटलले खानेकुरा प्याकिङ गरेर दियो। उनले हतारहतार झोलामा हालिन्। कच्ची बाटोमा आफ्नै पाराले दौडिइन्। सामान पोखिएला कि भन्ने हेक्कै भएन। ढिला पुगे गाली खानुपर्ला भन्ने मात्र डर भइरह्यो।
उनी ग्राहककहाँ समयमै पुगेकी थिइन्, तर प्याकिङभित्र खानकुराको अवस्था बिजोग थियो। त्यो देखेर ग्राहकले लिनै मानेनन्। शान्तिले दुई-चारपटक सम्झाइन्। ग्राहक मान्दै मानेनन्।
कम्पनीलाई फोन गरेर समस्या सुनाएपछि सामान फिर्ता ल्याउन भनियो।
'त्यसअघि मलाई खानेकुरा समयमा पुर्याउनुपर्छ मात्र भनिएको थियो। हतारमा जाँदा पोखिएला, लतपतिएला भनेर कसैले सुझाएको थिएन। डेलिभरी लिँदा प्याकिङ राम्ररी चेक गर्नुपर्छ भनेर पनि कसैले भनेको थिएन। त्यो घटनापछि नयाँ कुरा सिकेँ,' उनले भनिन्, 'मान्छेले गल्तीबाटै सिक्दै जाने त हो।'
हतारमा डेलिभरी गर्दा सामान छुटेको अनुभव पनि शान्तिसँग छ। त्यो बेला शान्तिले ग्राहकलाई केही समय पर्खिन अनुरोध गरिन् र छुटेको सामान फेरि पुर्याउन गइन्। तर सबै ग्राहक पर्खिन मान्दैनन्। त्यस्तो बेला फुडमान्डूको राइडरले जरिवाना तिर्नुपर्छ।
'म जरिवानाबाट त बचेँ, तर आवतजावतमा घाटा लागिहाल्यो,' उनले भनिन्, 'त्यसैले फुड राइडरहरूले डेलिभरी लिँदा नै अर्डर गरेको सामान सबै छ कि छैन निश्चित गर्नुपर्छ।'
राइडरले ध्यान दिनुपर्ने चौथो कुरा हो, ग्राहकलाई समयमै खाना पुर्याउने।
'प्राय: खाजाको अर्डर दिउँसो र खानाको साँझ आउँछ। यी दुवै समय ट्राफिक चाप बढी हुने भएकाले समयमा पुग्न गाह्रो हुन्छ,' उनले भनिन्, 'समयमा पुग्न सकिएन भने गाली खान तयार हुनुपर्छ। माफी मागेर चुपचाप बस्नु नै बेस हुन्छ।'
समयभन्दा ढिलो पुगेको अवस्थामा कसले कस्तो प्रतिक्रिया जनाउँछ भन्नेमा पनि शान्तिको फरक फरक अनुभव छ।
उनका अनुसार नेपाली र विदेशी ग्राहकहरू ढिला आउने राइडरलाई गाली गरे पनि सामान फिर्ता गर्दैनन्। भारतीय र चिनियाँ ग्राहक भने हत्तपत्त सामान लिन मान्दैनन्।
ढिला पुगेकै कारण सामान फर्काइएको अनुभव पनि कयौंपटक भोगेकी छन् शान्तिले। तीमध्ये केही घटना हामीलाई सुनाइन् —
ठमेलको एउटा रेस्टुरेन्टबाट कुलेश्वरको ग्राहकलाई राति ९ बजे खाना पुर्याउनुपर्ने थियो। उनी रेस्टुरेन्ट पुग्दा खाना तयार थिएन। लगभग ४० मिनेट पर्खिनुपर्यो। त्यसपछि कुलेश्वर पुग्दा १० नै बज्यो।
लोकेसनमा पुगेर शान्तिले ग्राहकलाई फोन गरिन्। एक अधवैंशे महिला बाहिर निस्किइन् र सिधै गाली गर्न थालिन्।
'बच्चाहरूका लागि खाना मगाएको, सब सुतिसके, अब खाना फिर्ता लैजानू भन्दै मलाई थर्काइन्,' शान्तिले भनिन्, 'धेरैपल्ट आग्रह गर्दा पनि लिन मानिनन्। त्यसपछि मैले अफिसमा फोन गरेँ।'
फुडमान्डूका कर्मचारीले ती ग्राहकलाई सम्झाउन खोजे। तैपनि कुरा नमिलेपछि उनी खाना बोकेर फर्किइन् र अफिसमै लगेर बुझाइदिइन्।
यसरी डेलिभरी हुनुपर्ने खाना वा खाजा फिर्ता आउँदा कम्पनीले राइडर र रेस्टुरेन्ट दुवै पक्षसँग कुरा गर्छ। जसको गल्ती हुन्छ, उसलाई सचेत गराइन्छ। कहिलेकाहीँ जरिवाना पनि तिर्नुपर्छ। फिर्ता ल्याइएको खानेकुरा राइडर वा अफिसका कर्मचारीले ५० प्रतिशत तिरेर आफै लैजान पाउँछन्।
'यस्ता स-साना कुरामा ध्यान दिने हो भने फुड राइडिङ काम एकदमै राम्रो छ,' शान्तिले भनिन्, 'बजारमा रोजगारीको अभाव भइरहेका बेला यसले हामी युवाहरूलाई काठमाडौंमा बाँच्ने आधार दिएको छ।'


फुड राइडिङ नै किन त?
'अरू जागिरभन्दा यो काममा स्वतन्त्र भएर बाँच्न पाइन्छ। यसमा नियम त छ, तर त्यो नियमले तपाईंको स्वतन्त्रता खोस्दैन,' शान्तिले भनिन्, 'म तीन वर्षदेखि यो काममा टिकिरहनुको एउटै कारण यही हो।'
शान्तिको ड्युटी अवधि दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म हो। त्यस अवधिमा उनी न्यूनतम ४-५ ठाउँमा सामान पुर्याउँछिन्। अहिलेसम्म सबभन्दा बढी एकैदिन १८ ठाउँमा डेलिभरी गरेकी छन्।
उनी दैनिक ९ सय रूपैयाँ कमाउँछिन्। ड्युटी अवधिभन्दा बढी काम गरे सेवासुविधा थपिन्छ। काम गरेको एक वर्षपछि कम्पनीले बोनस पनि दिन्छ।
अहिले उपत्यका तथा बाहिरी जिल्ला गरी तीन सयभन्दा बढी फुड राइडर छन्। फुडमान्डूमा जोडिएपछि राइडरहरू कहाँ छन्, के गर्दै छन् भनेर सिस्टमले नै देखाउँछ। त्यसैअनुसार कल सेन्टरको टिम वा व्यवस्थापन हेर्ने व्यक्तिले को राइडर कहाँ जाने भनेर ग्रुप मेसेजबाट जानकारी गराउने चलन छ।
युवा पुस्तामा लोकप्रिय हुँदै गएको यो कामबारे हामीले फुडमान्डूका सञ्चालक मनोहर अधिकारीसँग पनि कुरा गरेका थियौं।
उनले फुडमान्डूलाई छिटो-छरितो बनाउन कुनै कसर बाँकी नराखेको र यसले ग्राहकको सेवाका साथै रोजगारी बढाउनमा पनि योगदान गरेको बताए।
उनका अनुसार फुडमान्डूले आफ्ना कर्मचारीलाई पहिलो वर्ष तलबसहित १५ प्रतिशत, दोस्रो वर्ष २२, तेस्रो वर्ष २५, चोथौ वर्ष २७ र पाँचौं वर्ष ३० प्रतिशतसम्म बोनस दिने गरेको छ। यसअनुसार शान्ति तलबसहित २५ प्रतिशत बोनस पाउँछिन्। महिनाको ५५ हजार रूपैयाँ कमाइ हुन्छ। कुनै दिन पूरा समय काम गर्न पाइएन वा मन भएन भने 'पार्ट टाइम' काम गर्ने अवसर पनि छ।
त्यस्तै, साँझ ५ देखि १० बजेसम्म काम गर्ने फुड राइडरले दैनिक ५ सय रूपैयाँ पाउँछन्। राति काम गर्दा ट्राफिक जामको समस्या नभए पनि सुरक्षाको चुनौती हुने शान्ति बताउँछिन्।
'हामी कम्तिमा ५-७ हजारदेखि ४०-४५ हजारसम्म बोकेर हिँडिरहेका हुन्छौं। त्यसैले राति काम गर्न डर लाग्छ,' उनले भनिन्, 'महिलामाथि हुने विभिन्न घटनाले पनि अबेरसम्म काम गर्न डराउनुपर्छ। सुरक्षा व्यवस्था राम्रो हुन्थ्यो भने त रातको १-२ बजेसम्म सजिलै काम गर्थेँ।'
कम्पनीले दिने सेवासुविधा बाहेक कहिलेकाहीँ ग्राहकहरूले खुसी भएर टिप्स दिन्छन्।
'मैले ३ हजार ५ सय रूपैयाँसम्म टिप्स पाएको छु,' उनले भनिन्, 'ग्राहकले दिने टिप्स राइडर आफैले राख्न पाउँछन्। कम्पनीलाई दिनुपर्दैन।'


यो काममा कसरी लाग्ने त?
हाम्रो यो प्रश्नमा शान्तिले भनिन्, 'सजिलो छ। आफूसँग भएको सवारी साधनको लाइसेन्स र प्रहरी रिपोर्ट बुझाएपछि फुडमान्डूले आवश्यक परेका बेला तपाईंलाई काममा राख्छ। त्यसबाहेक अरू कुनै शुल्क लाग्दैन।'
शान्ति यो काममा कसरी लागिन्? हामीले यसबारे पनि उनीसँग कुरा गरेका थियौं।
मानबहादुर र कान्छी तामाङकी कान्छी छोरी शान्तिको पुर्ख्यौली घर नुवाकोट हो। उनको परिवार काठमाडौं बस्न थालेको चार दशक भइसक्यो। उनी काठमाडौंमै हुर्किइन्, यहीँ बढिन्।
सिद्धार्थ वनस्थलीबाट २०६२ सालमा एसएलसी पास गरेकी शान्तिले चाबहिलको सेन्ट लरेन्समा स्नातकसम्म पढेकी छन्। उनले होटल व्यवस्थापनमा स्नातक गरेकी हुन्।
स्नातकपछि प्रशिक्षार्थीका रूपमा केही महिना हायात होटलमा काम गरिन्। त्यसपछि आफै होटल चलाउने अठोट लिएर चाबहिलमै क्याफे खोलिन्।
सात वर्ष क्याफे चलाउँदा खासै नाफा नभएपछि उनले कपडा पसल सुरू गरिन्। करिब १२ लाख रूपैयाँ लगानी गरेर खोलेको कपडा पसले पनि उनलाई फाइदा दिएन। उल्टै घाटा बेहोर्नुपर्यो। त्यही घाटा उतार्न उनी वैदेशिक रोजगारीका लागि युएई गइन्।
'होटल व्यवस्थापन पढेको र हायातमा केही समय काम गरेको अनुभवले त्यहाँ मैले राम्रो अवसर पाएँ,' शान्तिले भनिन्, 'परिवारको जिम्मेवारी थिएन। म जिन्दगीमा पहिलोपटक आफ्नै पैसामा रमाएँ, जिन्दगी मज्जाले बाँचेँ।'
युएईमा होटलको जागिर राम्रै चलिरहेको थियो, त्यही बेला कोरोना महामारी सुरू भयो।
महामारीले पर्यटन उद्योग धराशायी भएपछि शान्ति काम गर्ने होटल बन्द भयो। उनी नेपाल फर्किइन्।
यहाँ आएर केही समय भाइहरूले चलाएको क्याफे सम्हालिन्। तर लामो समय टिक्न सकिनन्। क्याफेमा काम गर्दा उनलाई बाँधिएको महसुस भयो। स्वतन्त्रता खोसिएझैं लाग्यो।
त्यही बेला फुडमान्डूले राइडरको निम्ति सामाजिक सञ्जालमा गरेको विज्ञापन उनले देखिन्।
'मलाई यो काम गज्जब लागिरहेको छ। हरेक दिन दिउँसो १२ बजे अफिसमा हाजिर हुन्छु। साँझ आफ्नो इच्छाअनुसार काम गर्छु। मन लागे ड्युटी अवधिपछि पनि काम गरिरहन्छु, मन नलागे गर्दिनँ,' उनले भनिन्, 'मलाई राति ढिलासम्म निद्रा नलाग्ने हुँदा प्राय: राति १२ बजेसम्म काम गर्छु। घरमा ढिला आइस् भनेर कसैले गाली गर्दैनन्। त्यसैले इच्छाअनुसार काम गर्न स्वतन्त्र छु।'
उनका अनुसार नयाँ वर्ष, भ्यालेन्टाइन्स डे वा अन्य विशेष दिनमा धेरै अर्डर आउँछ। त्यस्तो बेला काम धेरै हुन्छ।
'आमाबुबाले मलाई छोराजस्तै हुर्काउनुभयो। त्यसैले होला, मेरो लुक्स पनि केटाकै जस्तो छ,' शान्तिले हाँस्दै आफ्नो छोटो कपाल देखाइन्।
'मलाई प्राय: ग्राहकहरू केटा भनेर झुक्किन्छन्,' उनले भनिन्, 'दाइ वा भाइ भनेर बोलाउँछन्, म केही भन्दिनँ। चुपचाप आफ्नो काम गर्छु।'
मैले यो स्टोरीको निम्ति उनलाई जुन क्याफेमा भेटेकी थिएँ, त्यहाँका कर्मचारीले पनि शान्तिलाई 'दाइ' भनेर सम्बोधन गरेकी थिइन्।
शान्तिले हाँस्दै भनेकी थिइन्, 'म दाइ होइन, दिदी हुँ।'
कुराकानीको बीचमा उनले यो पनि भनेकी थिइन्, 'सबैले दाइ भन्छन् अनि कसरी प्रेम होस्!'
***