रातको साढे ७ बजेको थियो। निकी (नाम परिवर्तन) पुरानो बसपार्क अगाडि फुटपाथमा उभिएकी थिइन्।
उनकी साथीले निकीतिर इसारा गर्दै सोधिन्, 'हामीलाई सँगै लैजाने भन्दै छ, जाने हो?'
निकीले पनि इसाराबाटै सोधिन्, 'कति दिन्छ?'
साथीले प्रतिव्यक्ति १५ सय रूपैयाँ दिने भनेर जानकारी गराइन्। निकी सहमत भइन्। त्यसपछि उनीहरू बागबजारको एउटा होटलभित्र छिरे।
उनीहरूलाई पछ्याउँदै दुई युवक पनि त्यही होटलभित्र पसे।
निकी आफ्ना ग्राहकलाई सधैं त्यहीँ लैजान्छिन्। त्यहाँ गएपिच्छे होटलले तीन सय रूपैयाँ लिन्छ। त्यो पैसा निकी आफै तिर्छिन्।
उनी आफ्नो साथी र दुई जना ग्राहकसँग राति ११ बजेसम्म होटलमा बसिन्। पठाओ चढेर डेरा फर्किँदा रातको १२ बज्नै लागेको थियो।
निकी गोकर्णेश्वर नगरपालिकामा बस्छिन्। फर्किन ढिला हुन्छ भनेको रात छोरीले ढोका खुल्लै राखिदिन्छिन्। उनी डेरा पुग्दा छोरी सुतिसकेकी हुन्छिन्। कोठा पुगेर दुई-चार पेग रक्सी पिउँछिन्, खाना खान्छिन् र सुत्छिन्।
'रक्सी नखाई निदाउनै सक्दिनँ,' निकीले भनिन्, 'पहिले श्रीमानले खाँदा गाली गर्थेँ, अहिले आफै नशामा डुबेकी छु।'
मैले सोमबार बिहान साढे १० बजे भेट्दा पनि उनको शरीरबाट रक्सीको नशा र गन्ध उत्रिसकेको थिएन। उनी आफ्नो मनको पीडा पोख्न जुरूक्क उठेर एकसरो लुगामै भेट्न आएकी थिइन्।
निकीलाई शृंगार मन पर्दैन, तर हरेक रात ग्राहक लोभ्याउन आफूलाई सकेजति सजाउँछिन्।
उनी यौन व्यवसायमा लागेको ११ वर्ष भइसक्यो। यसबीच कति जनासँग सम्बन्ध भयो, उनी भन्न सक्दिनन्। उनले एक रातमा ७ जनासँग पनि यौन सम्बन्ध राखेकी छन्। कहिलेकाहीँ उनलाई पैसा मात्र सबथोक होइन, त्यसैले यो पेसा छाड्छु भन्ने लागिरहन्छ। तर छाड्न सक्दिनन्।
'साथीहरूको लहैलहैमा लागेर फसियो। यसैबाट तीन सन्तान हुर्काएँ,' निकीले भनिन्, 'अरू काम पाए त छोड्थेँ, तर एकचोटि यसमा लागेपछि निस्किन गाह्रो रहेछ।'
उनले थपिन्, 'रहरले जानी जानी त को आउँछ र यो पेसामा?'
निकी पनि रहरले यौनकर्मी बनेकी होइनन्।
उनले यौन व्यवसायमा लागेदेखि अहिलेसम्मको यात्रा विस्तारपूर्वक बताइन्।
निकी गर्भमा हुर्किँदै गर्दा उनकी आमाले धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका एक स्थानीयसँग प्रेम विवाह गरेकी थिइन्।
दुवैले ज्याला मजदुरी गरेर निकीलाई हुर्काए।
उनकी आमाले दुई-दुई वर्ष फरकमा तीन सन्तान जन्माइन्। उनीहरू त्यति बेला हनुमानढोकानिर बस्थे। नजिकै तलेजु स्कुल थियो। बच्चाहरूलाई त्यहीँ पढाइन्। बुबाको ज्यालाले घर धान्न गाह्रो भएपछि निकीलाई वसन्तपुर, असन र हनुमानढोकातिर माला बेच्न सिकाए।
'म दिनभरि स्कुल जान्थेँ, बिहान-बेलुकी माला बेच्थेँ,' निकीले भनिन्, 'आठ-नौ वर्षदेखि नै सडक नाप्दै हिँड्नुपर्यो।'
सडकमा हिँड्ने बानी भएपछि पैसा कमाउनुपर्छ भनेर पढ्न पनि छाडेको उनको भनाइ छ।
पढाइ छाडेपछि केही समय अर्काको घरमा काम गर्न बसिन्। त्यसरी बस्दा परिवारसँग छुट्टिनुपर्यो। उनी भर्याङमुनिको प्यासेज वा भान्सामै गुन्द्री ओछ्याएर सुत्थिन्। डेढ-दुई वर्ष काम गर्दा घरधनीले कति पैसा दिएका थिए भन्ने उनलाई राम्ररी हेक्का छैन। पैसा सबै बुबाले नै बुझ्थे। बेला बेला बुबा आएर एक रात परिवारसँग बस्न कोठामा लिएर पनि जान्थे।
निकी ११-१२ वर्षको हुँदा उनकी आमाको निधन भयो। उनी दमको बिरामी थिइन्। समयमा उपचार गर्न नसकेर करिब ३५ वर्षकै उमेरमा संसार छाडिन्।
'अन्तिम समयमा आमाको मुख हेर्न पनि पाइनँ,' उनले निन्याउरो मुख लाउँदै भनिन्, 'किरिया गर्न आफन्त लिन आउँदा मात्र आमा बितेको थाहा पाएँ।'
काजकिरिया सकिएको एक-दुई दिन बुबासँग बसेर उनी काममा फर्किइन्। त्यसपछि तीन-चार महिना बुबा भेट्न आएनन्। उनलाई पछि थाहा भयो — बुबा त दुई बहिनी र भाइलाई लिएर गाउँ फर्किएछन्।
निकीले जिन्दगीमा पहिलोपटक आफ्नो र अर्काको रगतमा कति फरक पर्दो रहेछ भन्ने थाहा पाइन्।
उनले जसलाई बुबाको दर्जा दिएकी थिइन्, ती व्यक्तिले उनलाई छोरीको दर्जा दिएका रहेनछन् र सहरमा एक्लै छाडेर गाउँ फर्केछन् भन्ने थाहा पाउँदा उनको मन स्याइँय्य भयो।
उनलाई बुबाको भन्दा भाइबहिनीको यादले विचलित बनाउँथ्यो। उनी भाइबहिनी खोज्न चाहन्थिन्। तर त्यति बेला उनलाई आफ्नो गाउँ थाहा थिएन।
उनी घरधनीसँग दुई सय रूपैयाँ मागेर हनुमानढोका आइन् र पुराना साथीहरूको डेरामा बस्न थालिन्। कहिलेकाहीँ फुटपाथ, सडक र पाटीपौवामा रात काट्थिन्। भोक टार्न वसन्तपुर वरिपरि माला बेचिन्, गाइड पनि गरिन्।
'कति रात भोकभोकै सुतेँ, कुनै लेखाजोखा छैन,' दुवै हातले आँसु पुछ्दै उनले भनिन्, 'सडकमा भोकै बस्नुभन्दा पहिलेकै ठाउँमा भाँडा माझ्नु राम्रो लाग्यो।'
उनी ठमेलस्थित पहिले काम गरेकै घरमा फर्किइन्। उनलाई त्यहाँ दुई छाक खान दिइन्थ्यो, सुत्ने ठाउँ दिइन्थ्यो। महिनाभरि काम गरेबापत् दुई-चार सय रूपैयाँ पनि पाउँथिन्।
निकीले झन्डै दुई वर्ष त्यहाँ बिताइन्। त्यसपछि घरधनीले नै उनलाई आफन्तको घरमा काम गर्न पठाइदिए। त्यति बेला निकी करिब १५ वर्षकी थिइन्।
डल्लुको त्यो घरमा परिवार संख्या ठूलो थियो। निकीले १०-१५ जनाको लुगा धुनुपर्थ्यो। भाँडा माझ्नुपर्थ्यो। घर सरसफाइ गर्नुपर्थ्यो। यी सारा कामबापत् खाएर, बसेर महिनाको १२ सय रूपैयाँ पाउँथिन्।
त्यही घरमा काम गर्दा एउटा यस्तो घटना भयो, जसले निकीको जिन्दगी नै बदलियो।
रातको समय थियो। निकी सुतिरहेको ठाउँमा घरका एक ज्येष्ठ व्यक्ति उनीसँगै सुत्न आए र गोप्य अंगहरू छुन खोजे।
यो क्रम धेरै दिन चल्यो।
पछि एक रात ती ज्येष्ठ व्यक्तिले आफ्नो बलात्कार नै गरेको निकी बताउँछिन्।
'म चिच्याएँ, कराएँ। घरका मान्छेहरू ब्युँझिएर आए। के भयो भनेर सोधपुछ गरे। मैले सबै कुरा सुनाएँ,' उनले भनिन्, 'भोलिपल्टदेखि मलाई सुत्नलाई घरबाहिर जस्ताले बारेको कोठा दिइयो।'
हुन त त्यो रातको घटनापछि निकी त्यहाँ बसिरहन चाहँदैन थिइन्। तर उनीसँग विकल्प थिएन। घरभन्दा असुरक्षित उनलाई समाज लाग्यो। छत गुमाएपछि खानुपर्ने हन्डर सम्झिँदा नै उनलाई कहाली लाग्थ्यो। त्यही भएर दुई वर्षजति त्यही घरमा बिताइन्।
करिब १७ वर्ष उमेरमा उनी त्यहाँबाट निस्किइन् र फेरि आफू हुर्किएको ठाउँ हनुमानढोका पुगिन्। उनका केही साथी घर निर्माणको काममा थिए। केही क्याटरिङको काम गर्थे। उनी पनि साथीहरूलाई पछ्याउँदै क्याटरिङको काममा लागिन्।
त्यसै क्रममा सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका स्थानीय नीर (नाम परिवर्तन) सँग उनको भेट भयो। ती युवकले मन पराउँछु भनेपछि भेटेको एक सातामै उनीहरूले विवाह गरे। यो २०५९ सालको कुरा हो।
'पहिला त केटा मन परेको थिएन। उसले दिएको चुइगम खाएको थिएँ, पछि लागेर गएछु,' निकीले भनिन्, 'मोहनी लगाएको रहेछ भन्ने पछि थाहा पाएँ।'
विवाहपछि उनीहरू सिन्धुपाल्चोक फर्किए र उतै बस्न थाले।
नीर रिक्सा चलाउने काम गर्थे। निकी घरव्यवहार हेर्थिन्। विवाह भएको डेढ वर्षमा उनले पहिलो सन्तान जन्माइन्।
दोस्रोपटक गर्भवती हुँदा निकीको जिन्दगीमा अर्को मोड आयो।
नीरलाई गाउँका एक आफन्तले कुनै सामान चौतारा बजारसम्म पुर्याउन लगाए। उनले के सामान भनेर सोधेनन्। चिनेजानेका मान्छेले भनेपछि उनी सामान पुर्याउन तयार भए।
चौतारा बजार पुग्दा उनी प्रहरी छानबिनमा परे। उनले लैजाँदै गरेको सामानमा मूर्ति भेटियो।
नीरलाई १४ महिना पुर्पक्षका लागि थुनामा राखियो। छुटेर आउँदा निकीले दोस्रो सन्तान जन्माइसकेकी थिइन्।
'थुनामा बसेर फर्किएपछि उसले एकदमै धेरै गाँजा र रक्सी खान थाल्यो,' निकीले भनिन्, 'काम केही नगर्ने, दिनभरि रक्सी खादै हिँड्ने भएपछि मैले घरमा पालेको बाख्रा बेचेर उसलाई काठमाडौंमा ज्याला मजदुरी गर्न पठाइदिएँ।'
काठमाडौं गएको तीन-चार महिनासम्म उनी घरमा पैसा पठाइरहन्थे। त्यसपछि भने सम्पर्कविहीन भए। घरखर्च पनि पठाएनन्।
लामो समय सम्पर्क नभएपछि निकी श्रीमान खोज्न काठमाडौं आइन्। यहाँ आएपछि थाहा पाइन्, नीर त अर्को विवाह गरेर बसेका रहेछन्।
निकीसँग परिस्थिति स्वीकार गर्नुको विकल्प थिएन। गाउँमा दुई सन्तान हुर्काउने जिम्मेवारी उनको काँधमा थियो। यही सोचेर उनी नीर र उनकी दोस्रो श्रीमतीसँगै बस्न थालिन्।
यसबीच उनी तेस्रोपटक गर्भवती भइन्। नीरको व्यवहारमा भने कुनै परिवर्तन देखिएन। उनी जाँडरक्सीको नशामा धुत्त भएर हिँड्थे। घरपरिवारको मतलब थिएन। यही व्यवहारले आजित भएर दोस्रो श्रीमती पनि छाडेर हिँडिसकेकी थिइन्।
'उसले एक दिन पनि मलाई सुखले बस्न दिएन। घरमा अन्नको एक दाना हुन्थेन, उसलाई भने नशा गर्ने र बाहिरतिर सम्बन्ध राख्दै हिँड्ने बाहेक अरू कुनै मतलब थिएन,' निकीले भावुक हुँदै भनिन्, 'तेस्रो सन्तान जन्मेपछि मैले हार खाएँ। आफू र आफ्ना केटाकेटीको पेट पाल्न घर बनाउने काम गर्दै हिँडेँ।'
छोरीहरू साना हुँदासम्म त ठिकै थियो, ठूला हुँदै गएपछि निकीको मनमा अर्को चिन्ता थपियो। नीर नशा गरेर दिनभरि घरमै बस्थे। हुर्केका छोरीहरूलाई उनको जिम्मामा छाडेर काममा जान उनी डर मान्न थालिन्।
'श्रीमानबाटै छोरीहरू सुरक्षित हुँदैनन् कि भन्ने मलाई डर लाग्यो,' उनले भनिन्, 'उसको व्यवहार त्यस्तै थियो। नशामा धुत्त भएर बस्नेहरूको के भर हुन्छ र! तिनले अर्काको छोरी पनि भन्दैनन्, आफ्नो छोरी पनि भन्दैनन्।'
यही डरले २०७० सालमा उनी श्रीमान छाडेर छुट्टै बस्न थालिन्। डल्लुमा डेरा लिइन्, केटाकेटी आफूसँगै लगिन्।
छुट्टै बस्न थालेको महिनादिन नपुग्दै नीर उनलाई खोज्दै आइपुगे। नशा छाड्ने कसम खाए। सँगै बस्न हारगुहार गरे।
निकीको मन पग्लियो। तर नीरको आनीबानी बदलिएन। दुई-चार दिन त सुध्रिएझैं गरेका थिए, फेरि जस्ताको तस्तै।
२०७१ सालको आखिरीतिरको कुरा हो। निकी सधैंझैं कामबाट घर फर्किँदा छोरीहरू घरबाहिर बसिरहेका थिए। उनले 'के भयो' भनेर सोधिन्। छोरीहरूको जबाफ सुनेर निकी छांगाबाट खसेझैं भइन्। उनीहरूले भनेका थिए, 'बुबाले कट्टु खोल्न थालेपछि हामी भागेर बाहिर निस्क्यौं।'
त्यसपछि भने निकीको धैर्यले सीमा नाघ्यो।
उनी श्रीमानलाई पत्तै नदिई केटाकेटी लिएर भागिन् र असनको एउटा गल्लीमा नयाँ डेरा लिएर बस्न थालिन्।
'त्यो बेलाको दु:ख सम्झेर अहिले पनि भक्कानो छुट्छ,' उनले भनिन्, 'आफू चिसो भुइँमा सुतेर छोराछोरीलाई कुर्ता र सल ओछ्याएर सुताउँथेँ। मेरो बिजोग देखेर आसपासका मान्छेले पुराना ओढ्ने-ओछ्याउने दिए। घरधनीको किराना पसल थियो। त्यहीँबाट उधारोमा दालमोठ, चिउरा ल्याउँथेँ र पानीसँग खान दिन्थेँ।'
क्याटरिङको काम पाएको दिन भने उब्रेका भात र तरकारी ल्याएर छोराछोरीलाई खुवाउँथिन्।
समय यसरी नै बित्दै थियो, त्यही बेला अर्को घटना भयो।
निकी क्याटरिङको काम सकेर डेरा फर्किँदै थिइन्। सँगै काम गर्ने साथीले ५ हजार रूपैयाँ देखाइन्। क्याटरिङमा जम्मा ३ सय रूपैयाँ पाइन्थ्यो। त्यति धेरै पैसा कसरी आयो भनेर निकी छक्क परिन्। ती साथीले आफू राति राति दोहोरी रेस्टुरेन्टमा भाँडा माझ्ने गरेको बताइन्। निकीले आफूलाई पनि त्यहाँ लैजान आग्रह गरिन्।
सुरूमा त ती साथी मानिनन्। निकीको तारन्तार आग्रह र उनको दु:ख देखेर तयार भइन्।
निकीलाई अझै याद छ — ठमेलको पुरानो घरभित्र सुरूङजस्तो बाटो हुँदै उनीहरू एउटा अँध्यारो कोठामा छिरेका थिए। त्यहाँ ४०/४५ वर्षीय पुरूषले ढोका खोले। ढोका खोल्नासाथ साथीले 'म बाहिर बस्छु, तिमी भित्र जाऊ' भनेर पठाइदिइन्। ती पुरूषले ढोका लगाउँदै कन्डमको प्याकेट निकीको हातमा राखिदिए।
निकीले हत्तपत्त कन्डमको प्याकेट फाल्दै 'यो के हो' भनेर तर्किइन्। त्यसपछि आफै ढोका खोलेर बाहिर निस्किइन्।
बाहिर आएपछि बल्ल उनले थाहा पाइन्, ती साथीले दोहोरी रेस्टुरेन्टमा भाँडा माझ्छु भनेर ढाँटेकी रहिछन्। खासमा उनी यौन व्यवसायमा लागेकी रहिछन् र निकीलाई पनि त्यही कामको निम्ति ल्याएकी रहिछन्।
'भाँडा माझेर मात्र पैसा कमाउन गाह्रो छ। यस्तो काम गर्दा पैसा कमाउन सकिन्छ,' उनले निकीलाई सम्झाइन्।
निकीको मनमा ज्वारभाटा उठ्यो।
उनले आफ्ना छोराछोरी दिनभरि भोकै बसेको, एकसरो लुगा किनिदिन नसकेको, स्कुल पठाउन नसकेको विवशता झलझली सम्झिइन्।
र, ती सारा दु:ख दूर गर्न, पेटको भोक मार्न र सन्तानको भविष्य सपार्न परिस्थितिसँग सम्झौता गर्न तयार भइन्।
सुरू सुरूमा उनले तिनै एक पुरूषसँग मात्र सम्बन्ध राखिन्। पाएको पैसा आधा आफू राख्थिन्, आधा साथीलाई दिनुपर्थ्यो।
पछि बालाजुको एउटा होटलमा ग्राहकसँग एक रात बिताएको २० हजार रूपैयाँ पाउने अफर आयो। त्यति पैसाले धेरै गर्जो टर्छ भनेर उनी जान तयार भइन्।
त्यहाँ दुई जना पुरूष थिए, जोसँग निकी र उनकी साथी छुट्टाछुट्टै कोठामा बसे।
'कोठाभित्र कपडा खोल्दै गर्दा मेरो आँखाबाट आँसु झर्यो,' निकीले भनिन्, 'मेरो आँसु देखेर ती पुरूषले पहिलोपल्ट हो भनेर सोधे।'
त्यति बेला निकी २५-२६ वर्षकी थिइन्। उनले आफ्ना सबै समस्या सुनाइन्। त्यसपछि ती पुरूषले लुगा लगाए र निकीलाई पनि लगाउन भने। उनले निकीलाई थप ५ हजार रूपैयाँ दिए र छोराछोरीका लागि खानेकुरा लैजान र आइन्दा त्यस्तो काम नगर्न सुझाए।
'त्यो रात मैले केही नगरी २५ हजार कमाएँ,' उनले भनिन्, 'त्यही पैसाले भाँडाकुँडा किनेँ। स्टोभ किनेँ। छोराछोरीका लागि लुगा-जुत्ता किनेँ।'
'छोराछोरीलाई आमाको ममताले मात्र पुग्दैन। उनीहरूलाई शिक्षा चाहिन्छ, लुगाफाटो चाहिन्छ, खाना चाहिन्छ,' निकीले थपिन्, 'छोराछोरीको खुसीको निम्ति मैले आफ्नो शरीरको माया मारेँ।'
त्यसपछि निकी पूर्णकालीन यौन व्यवसायमा लागिन्। दिउँसो क्याटरिङको काम गर्थिन्, राति यौनको। ग्राहकले भने-भनेको ठाउँमा जान्थिन्। एक घन्टाको दुई हजार रूपैयाँ लिन्थिन्।
'जब मैले पहिलोपटक श्रीमानबाहेक अरूसँग सम्बन्ध बनाएँ, त्यो दिनदेखि आफ्ना भावनाहरू सबै मारेँ,' उनले भनिन्, 'मन नजोडिएकाहरूले तन छुँदा केही भावना नआउने रहेछ।'
'एक दिन, दुई दिन गर्दै म सातामै १०-१५ जनासँग सम्बन्ध बनाउने अवस्थामा पुगेँ। मेरो शरीर बिस्तारै मर्दै थियो। मलाई कसैले आफ्नो शरीर छुँदा कुनै अनुभूति हुन्थेन। केही फरक पर्थेन। मैले सयौंसँग सम्बन्ध राखिसकेँ, तर श्रीमानसँगको सम्बन्धमा जस्तो भावना आउँथ्यो, त्यो भावना कहीँ पाइनँ,' निकीले भनिन्।
समय बित्दै गयो। छोराछोरी हुर्कँदै गए। तीनै जना स्कुल जान थाले। उनीहरू खुसी थिए। उनीहरूलाई खुसी देखेर निकीको पनि खुसीको सीमा थिएन।
सन्तानको उज्यालो अनुहारको अगाडि आमालाई आफ्ना सारा दु:ख गौण लाग्छन्!
उनकी जेठी छोरीले ८ कक्षा पढ्दा पढ्दै भागेर विवाह गरिन्। कान्छी छोरी ११ कक्षा पढ्दै छिन्। छोरा ८ कक्षा पढ्दै छ। पहिले तीनै जनालाई होस्टलमा राखेकी थिइन्। एक वर्षदेखि कान्छी छोरी उनकै साथमा छिन्।
'कान्छी छोरी पनि १० कक्षासम्म होस्टलमै बसेर पढी। आमासँग बस्छु भनेपछि सँगै राख्न थालेकी हुँ,' उनले भनिन्, 'यी दुई जना सन्तानलाई १२ कक्षा पास गराएर जे गर्न चाहन्छन् त्यहाँसम्म पुर्याउने सपना छ।'
उनकी कान्छी छोरी प्लस-टू सकेर विदेश जान चाहन्छिन्। निकी त्यसैको निम्ति पैसा जोहो गरिरहेकी छन्।
छोराले भने आफ्नो सपनाबारे केही भनेका छैनन्। जे बन्छु भने पनि पूरा गरेरै छाड्ने निकीको अठोट छ।
निकी अहिले ३९ वर्षकी भइन्। उमेर बढ्दै गएपछि ग्राहक नपाइने हो कि भन्ने उनलाई डर छ। त्यसैले समय रहँदै जतिसक्दो पैसा जम्मा गर्न धेरै ग्राहकसँग सम्बन्ध बनाउने कोसिसमा छिन्।
उनको कामबारे अहिलेसम्म छोराछोरीले थाहा पाएका छैनन्। कुनै दिन थाहा पाएर सोधे भने निर्धक्क भन्न सक्छु भन्ने निकीको आत्मविश्वास छ।
यौन व्यवसायमा लागेको ११ वर्षमा निकीले अनेक खालका पुरूष देखेकी छन्। कोही यौन सम्बन्ध बनाउँछन् र खुरूक्क जान्छन्। कोहीले भने बन्द कोठाभित्र हिंस्रक रूप देखाउँछन्।
'सुरूका दिनमा ग्राहकले जे गरे पनि म चुपचाप सहन्थेँ। बिस्तारै ग्राहक रिझाएर आफूलाई मन नपर्ने काम गर्न छाडेँ,' उनले भनिन्, 'यौन सम्बन्ध राख्न आउने पुरूष रिझाउन एकदमै फरक भाषा बोल्नुपर्छ। उनीहरूलाई आफ्नैजस्तो अनुभव गराउनुपर्छ।'
छ-सात वर्षदेखि निकी रत्नपार्कमा उभिएर ग्राहक खोज्छिन्। साँझ ६ बजे रत्नपार्क पुग्छिन्, ११ बजेसम्म त्यहीँ बस्छिन्। ट्याक्सी चालक र साथीहरूमार्फत् ग्राहक आउँछन्। चालकले ग्राहक ल्याइदिए १०-१५ प्रतिशत कमिसन दिनुपर्छ। नजिकका साथीहरूले भने कमिसन लिँदैनन्।
'राति रत्नपार्कमा बस्न पनि सजिलो छैन। प्रहरीले लखेट्ने र कुटपिट गर्ने गर्छन्,' उनले भनिन्, 'कतिपय प्रहरीले पैसा, रक्सी र सम्बन्ध राख्न पाएपछि छाडिदिन्छन्। कुनै कुनै प्रहरीले पछि पछि पनि सम्बन्ध राख्न दबाब दिन्छन्। नदिए पक्राउ गर्ने धम्की दिन्छन्।'
यही धम्कीका कारण धेरैपल्ट प्रहरीसँग नि:शुल्क सम्बन्ध राख्नुपरेको उनी बताउँछिन्।
उनीसँग सम्बन्ध राख्न आउने धेरैजसो ग्राहक युवा हुन्छन्। भर्खर स्नातक वा प्लस-टू पढ्दै गरेका युवकहरू पनि आउँछन्। उनका अनुसार भर्खरका केटीहरू प्राय: अधवैंशे पुरूषले लैजान्छन्। अधवैंशे महिला भने युवाहरूको रोजाइमा पर्छन्।
अहिले काठमाडौंमा २० देखि ५०-५० वर्षका महिलासमेत यौन व्यवसायमा संलग्न रहेको निकीको भनाइ छ। धेरैजसो यौनकर्मी युवतीहरू लागुपदार्थ सेवन गर्छन्। महिलाहरू भने रक्सीमा डुब्छन्।
उनी यो पेसामा काम गर्नेहरूलाई अरू श्रमिकजस्तै मान्यता दिइए हुन्थ्यो भन्ने चाहन्छिन्। यौनकर्मीहरूलाई अपराधीको दृष्टिले नहेरियोस् भन्ने चाहन्छिन्। उनी यौन श्रमिकहरूको समस्या समाधानमा काम गर्ने विभिन्न संघ-संस्थामा पनि आबद्ध छिन्। तिनमा नारी चेतना नेपाल, जागृति महिला महासंघ, जीवन ज्योति महिला संघ, मायाको चिनो, दृष्टि नेपाल, स्वास नेपाल लगायत छन्।
यी संस्थाले यौनकर्मीलाई अन्य श्रमिकजस्तै मान्यता दिनुपर्ने माग राख्दै आएका छन्। नेपालमा ४० हजारभन्दा बढी यौन श्रमिक रहेको तथ्यांक छ।
'हामीलाई रेड लाइट एरिया चाहिएको छैन, खाली यौन व्यवसाय गर्दा हुने हिंसा र दुर्व्यवहार बन्द होस्। केही घटना भइहाले त्यसविरूद्ध बोल्ने बाटो खुला गरियोस्,' निकीले भनिन्।
***