'दाइ, क्यानडाको मेरो सपना भंग भयो!'
यसो भन्दै गर्दा उनका ओठ थर्रर कामेका थिए। पालुंगो गलेझैं अनुहार फतक्क गलेको थियो।
उनले एक सातादेखि राम्ररी खाएका पनि थिएनन्। कोठामा सँगै बस्ने साथीले 'जति रूच्छ त्यति खा!' भन्दा उनी मुख अमिलो बनाउँथे। दाबिलोझैं दाम्रिएको पेट समात्दै भन्थे, 'पेटमा टमक्क बिर्को लागेझैं भएको छ! रूचे पो खानू! अमन भएपछि कसको के लाग्छ!'
उनको निद्रा पनि कचमचिएको थियो। रात एक युगभन्दा लामो कट्थ्यो! निद्रा टर्दै गएपछि बिझाउन थाल्दो रहेछ ओछ्यानले पनि। दुस्वप्न खसिरहने बिस्तारामा पल्टनुभन्दा जाग्राम बसेकै बेस ठान्थे उनी।
भोक र निद्राको लय बिथोलिएपछि ओठमा अवसादका धर्सा बस्न थालेका थिए। अनुहार केरा पाकेझैं पहेँलपुर भएको थियो। आँखा ओढार पसेजस्तो गहिरिँदै गएका थिए।
अनुहारसँगै सपनाको आयातन पनि खुम्चिन थालेपछि बुटवलका ती युवक भन्न थालेका थिए, 'दाइ! क्यानडाले मलाई सहेन! म त नेपालै फर्कन्छु। पढाइ पनि उतै गएर पूरा गर्छ!'
बुटवलकै अंकित न्यौपानेले उनलाई खुब आडभरोसा दिए। बिहान उदयाचल नहुँदै र साँझ अस्ताचलपछि पनि पुगेर सम्झाइबुझाइ गर्थे। आफ्नै संघर्षका कथा सुनाउँथे।
उनले ती युवकलाई आमाबाबुका सपना देखाए। झन्डै २५ लाख रूपैयाँ खर्चेर क्यानडासँग जोडेको सपनाको अवतरण देखाए। नेपाल फर्कँदा बढ्ने ऋणको सावाँ-ब्याजको बोझ र परिवारको थाप्लामा थपिने चिन्ताको भारी पनि देखाए।
तर ती युवक अवसादले थिलथिलो भइसकेका थिए। बिरानो भूमिमा एक्लिँदै गएको महसुस गर्दै थिए। भीमकाय भवन, चिल्ला र सफासुग्घर बाटाघाटा र क्यानडाको चित्ताकर्षक वैभवले पनि उनलाई रत्तिभर आकर्षण पैदा गर्न सकेन। उनको मन अड्याउन सकेन।
'घरको न्यास्रोले उनलाई निकै दपेटेको थियो। मैले धेरै बार सम्झाएँ। परिवारले पनि दिनहुँ फोन गरेर सम्झाइबुझाइ गरेको थियो। तर कसैको केही सीप चलेन,' अंकितले त्यो क्षण सम्झिँदै भने, 'आखिरमा उनी फर्किए।'
भर्खरै किशोर काल पार गरेका ती युवक परिवारको लाडप्यारमा हुर्किएका थिए। घरायसी सुखसयलमा बढेका थिए, सुखमै पढेका थिए। उनले कामका नाममा ढलेको लोहोटा पनि उठाउनुपरेको थिएन। क्यानडा ओर्लिएपछि भने उनको जीवनले कोल्टे फेर्यो। सबै काम एक्लै गर्नुपर्यो।
'आमाबाबुले आफ्नो लाडप्यारमा उमेरअनुसार गर्न सक्ने काम पनि लगाएका हुँदैनन्। बुटवलबाट दाउन्ने नकटेको मानिसले एक्कासि विदेशमा संघर्ष गर्नुपर्दा घरको न्यास्रोले गलाउने नै भयो,' अंकितले भने, 'त्यो उमेरका केटाकेटीले आइपरेका व्यवधान सामना गर्न पनि त सिकेका हुँदैनन्!'
घरको न्यास्रो कसैगरी शमन नभएपछि उनी क्यानडा पुगेको १० दिनमै नेपाल फर्किए।
फर्किएर मात्र कहाँ सुविस्ता मिल्थ्यो र! यहाँ बेग्लै चिन्ताले उनलाई लखेट्न थाल्यो।
उनी ऋण काढेर गएका थिए। त्यसको सावाँ-व्याजसँगै ताकेता पनि बढ्न थाल्यो। पढाइ पनि अधुरै, अपूरै थियो। क्यानडामा घरको न्यास्रोले सताएको थियो, यहाँ ऋणको बोझले बेचैन तुल्याउन थाल्यो। भोक र निद्राको लय फेरि कचमचियो।
'उनले फेरि क्यानडा नआई सुख पाएनन्,' अंकितले भने, 'दोस्रोपटक आउँदा उनी निकै परिपक्व भइसकेका थिए। केही समय संघर्ष गरेपछि काम पाउने अवस्था बन्यो।'
नेपाल आएको दुई महिनामै पुनः क्यानडा फर्किएका ती युवकको सपनाले शनैः शनैः बाटो पायो।
एक दशकयता क्यानडा नेपाली विद्यार्थीहरूको आकर्षक शैक्षिक गन्तव्य बनेको छ। पढ्दै कमाउन र भविष्यको राजमार्ग चौडा तुल्याउन अघिल्लो आर्थिक वर्ष मात्रै २१ हजारभन्दा बढी विद्यार्थीले क्यानडा जान 'नो अब्जेक्सन लेटर' (एनओसी) लिएका थिए। तीमध्ये ९० प्रतिशतभन्दा बढी विद्यार्थी सम्बन्धित देश पुग्छन्।
चालू आर्थिक वर्षको फागुन मध्यसम्म ५९ देशमा अध्ययन गर्न ६१ हजार ७३२ जनाले एनओसी लिएका थिए। तिनमा क्यानडा जानेकै संख्या अधिक छ। चालू आर्थिक वर्षको फागुन मध्यसम्म क्यानडा जान १३ हजार ५५३ जना विद्यार्थीले एनओसी लिएको तथ्यांक छ।
त्यसो त क्यानडालाई शैक्षिक गन्तव्य बनाउनेमा नेपाली विद्यार्थीको संख्या मात्र अधिक छैन। सन् २०२३ मा विश्वभरबाट १० लाखभन्दा बढी विद्यार्थी अध्ययनका लागि क्यानडा पुगेका थिए।
सन् २०२४ मा भने क्यानडाको नीति परिवर्तन भएको छ। अब ३ लाख ६४ हजार विद्यार्थीले मात्र क्यानडामा अध्ययन गर्न इजाजत पाउने छन्।
क्यानडाले विद्यार्थी भिसामा मात्र आप्रवासीलाई आकर्षित गरिरहेको हुँदैन। उसले संसारभरका दक्ष जनशक्ति कामदार भिसामा पनि भित्र्याउँछ। पढाइमा अब्बलहरूलाई अन्य विभिन्न भिसामा तानिरहेको हुन्छ। यसरी झन्डै ४ लाख मानिस बर्सेनि विभिन्न भिसामा क्यानडा पुग्छन्। तिनको चाप त्यहाँको रोजगार बजारले थेग्न सक्ने अवस्था छैन।
देशको आर्थिक अवस्था खस्किँदै गएपछि विकसित देशहरूले अध्ययन भिसामार्फत् बाह्य विद्यार्थी भित्र्याउने नीति लिन्छन्। केही समयअघि बेलायतले यस्तै नीति अघि सारेको थियो। अस्ट्रेलियाले पनि यस्तै गरेको थियो। तर रोजगार क्षेत्र विस्तार नभएपछि अस्ट्रेलियाले विद्यार्थी भिसामा अंकुश लगाउन थाल्यो। क्यानडाले पनि बेरोजगारी समस्या चुलिँदै गएपछि आप्रवासी विद्यार्थी नीतिमा कडाइ गरेको हो, जसको मार नेपाली विद्यार्थीहरूलाई परेको छ।
अध्ययन भिसामा क्यानडा पुगेकाहरूले कत्तिको कामको अवसर पाएका छन् र कसरी जीविका चलाउँदै छन् भनेर हामीले २० जनाभन्दा बढी विद्यार्थीसँग कुराकानी गरेका छौं। उनीहरूले आफ्ना साझा दुःख हामीलाई सुनाए। उस्तै कहर र व्यथा बाँडे; अनुभूतिको बह पोखे।
तिनैमध्ये एक हुन्, तिलोत्तमा नगरपालिका-४ का अंकित न्यौपाने।
पढाइमा उम्दा न्यौपाने १२ कक्षा पास गरेर चार्टर्ड एकाउन्टेन्ट (सिए) मा भर्ना भएका थिए। झन्डै एक लाख खर्च गरेर उनले पहिलो चरणको पढाइ पूरा गरे र आइक्यानअन्तर्गत् सिए सिध्याउने धुनमा लागिरहे। तर अचानक मथिंगलमा वैदेशिक अध्ययनले फणा उठाउन थाल्यो। पढाइ पूरा भएपछि पनि चित्तबुझ्दो काम नभेटिने र काम भेटिइहाले पनि भनेजस्तो तलब-सुविधा नपाइने भय छँदै थियो। त्यसैले उनको दिमागको क्यानभासमा विदेशको सपनाका अनेक मूर्त-अमूर्त र रंगीन चित्र बन्न थालेका थिए।
'विदेश गएर राम्रो विषयमा अध्ययन गरौं र उतै सेटल होऔं, आर्थिक हिसाबले सुरक्षित बनौं भन्ने त जसलाई पनि हुन्छ, मेरो दिमागमा पनि त्यही खेलिरहेको थियो,' उनले भने।
उनको मथिंगलमा विदेशको सपनाले हाँगा हाल्नुका पछाडि अर्को कारण पनि छ।
२०७७ सालबाट कोरोना त्रासदी सुरू भयो। कोरोनाको विश्वव्यापी प्रभाव त शनैः शनै: मत्थर भयो, तर त्यसले सिर्जना गरेको संकट र अवसाद साँघुरिन समय लाग्यो।
'कोरोनाको बहुआयामिक असरबाट बच्न नेपालमा बसेर सम्भव हुँदैन भन्ने निर्क्यौलमा पुगेपछि मैले क्यानडा उडान भरेको हुँ,' उनले भने।
अंकितले २०७८ मंसिर (जनवरी इन्टेक) मै क्यानडा उडान भर्ने तारतम्य मिलाएका थिए। जनवरी इन्टेक छुटेपछि उनले मे इन्टेकका लागि आवेदन दिए। अप्रिलमै भिसा लाग्यो, अनि सुरू भयो क्यानडा यात्रा।
उडानपूर्व उनलाई पनि क्यानडाको वर्णानातीत दृश्यले लोभ्याएको थियो। तर कल्पना र यथार्थबीच जमिन-आकासको अन्तर थियो।
'म एउटा देशबाट अर्को देशमा मात्र गइरहेको थिइनँ, एउटा रहनसहनबाट अर्को रहनसहनमा पुगेको थिएँ। एउटा संस्कृति र जीवनशैलीबाट अर्कोमा प्रवेश गरेको थिएँ,' उनले भने, 'दुई देशको हावापानी, भूबनोट, भूअवस्थिति र बाँच्ने पद्धतिबीचको भिन्नताबारे मैले सोचेकै रहेनछु।'
खासमा विमानस्थलबाट ओर्लिनेबित्तिकै समस्यासँग जम्काभेट हुन्छ। सघाउने मानिस कोही हुँदैन। लगेज कहाँ राख्ने? कुन गाडी समात्ने? कुन होटल जाने? बासको प्रबन्ध कसरी मिलाउने? यस्ता आधारभूत समस्याको गाँठो फुकाउने भेउ नै धेरैले पाउँदैनन्; अंकितले पनि पाएनन्।
'विदेश गएपछि सबै सहजै उपलब्ध हुन्छ जस्तो सोच्दा रहेछौं,' उनी भन्दै थिए, 'एक्कासि समस्या आइपरेपछि समाधानको मेलोमेसो नै नपाउँदा रहेछौं।'
अंकित अहिले ब्राम्टनको अल्गोमा विश्वविद्यालयमा अध्ययनरत छन्। कम्प्युटर साइन्समा स्नातक पढिरहेका उनी क्यानडामा पछिल्लोपटक आप्रवासी विद्यार्थीहरूले बेहोरिरहेको संकटका साक्षी हुन्। आफै भुक्तभोगी पनि हुन्।
झन्डै २५ लाख खर्च गरेर २५ महिनाअघि क्यानडा पुगेका उनी अझै निर्भीकतापूर्वक आफ्नो खुट्टामा उभिन सकेका छैनन्। सातामा २० घन्टा रोजगारी गरेर त्यसबाट आएको वेतनले बाँच्नै धौ धौ भएको उनी बताउँछन्।
हुन त दुई वर्षअघिको तुलनामा ज्याला दर नबढेको होइन। तिनताक घन्टाको १५ क्यानेडियन डलर थियो। अहिले बढेर १६.५ पुगेको छ। यो बढ्दो उपक्रममै छ। तर ज्यालादर वृद्धिको तुलनामा कोठाभाडा, खाना खर्च र सवारी भाडा अकासिएका छन्। र, यही नेपाली थाप्लामा अवसाद थप्ने कारक बनेका छन्।
'दुई वर्षअघि सेयरिङमा बस्दा एक जनाको भागमा ३५० डलर हाराहारी पर्थ्यो। अहिले बढेर ५०० देखि ६०० सम्म पुगेको छ। एक्लै बस्ने हो भने न्यूनतम ७५० देखि सुरू हुन्छ। खानेकुरा पनि त्यसै गरी महँगिदै गएका छन्,' उनले भने, 'आन्दानी र खर्चबीचको सन्तुलन मिलाउन मलाई हम्मे हम्मे परिरहेको छ।'
खर्चिलो विषय रोजेका उनले कलेजलाई प्रतिसेमेस्टर ११ हजार डलर तिर्नुपर्छ। निर्धारित भौतिक उपस्थिति नपुगे विषय लाग्ने भय हुन्छ। फेल हुँदा अतिरिक्त २ हजारदेखि २५ सय डलरसम्म भुक्तानी गर्नुपर्छ। स्थायी बसोबास (पिआर) अनुमतिका लागि आवेदन दिँदा यसको मूल्यांकन हुन्छ। उस्तै परे नपाउन पनि सकिन्छ। र, दुःख व्यर्थ हुन्छ।
'कहिले कहिले कलेजले कामको समयमा कक्षा राखिदिन्छ।। त्यसले काम र पढाइबीच सन्तुलन मिल्दैन। कतिपय विद्यार्थी बीचमै कक्षा छाड्न पुग्छन्। करिअरमा एक किसिमको धक्का लाग्छ,' उनले भने।
काम र कक्षाको सन्तुलन मिलाउन नसक्दा अंकितले घरबाटै पैसा मगाउन परिरहेको छ। दुई वर्ष अवधिमा उनले ८ देखि १० लाख रूपैयाँसम्म मगाइसकेका छन्। यो अवस्थाबाट उनले तत्काल पार पाउने सम्भावना क्षीण छ।
'चारवर्षे स्नातक सकेपछि तीन वर्षको श्रम अनुमति (वर्क परमिट) पाइन्छ। सन् २०२४ पछि आएकाको हकमा त यो नीति पनि संशोधन भइसकेको छ। हामी त्यसपूर्व नै आएकाले त्यो अवधिमा राम्रै कमाइ गर्ने र स्थायी बसोबासको प्रक्रिया अघि बढाउन सहज हुने अनुमान गरेका छौं। त्यतिञ्जेल दुःखसुख गर्नै पर्यो नि!' उनले भने।
अर्कातिर आप्रवासी विद्यार्थी र दक्ष, अर्धदक्ष कामदार संख्या थपिँदा रोजगार बजारमा माग र आपूर्तिको लय खज्मजिएको छ। सन् २०२३ को अन्त्यतिर र २०२४ को सुरूआततिर क्यानडा पुगेका नेपाली विद्यार्थी सबभन्दा प्रताडित छन्। २०२४ को सुरूआततिर टोरन्टो, ब्राम्टन, स्कार्बो लगायतका सहरमा कोठा भाडा नै नपाइने समस्या चुलिएको थियो। अहिले नेपाली विद्यार्थी काम नपाइने समस्याबाट गुज्रिइरहेका छन्। परिवारले खर्चको बोझ उठाउन नसक्ने विद्यार्थी अवसादको गर्तमा धकेलिएका छन्। कतिपयले विश्वविद्यालय, कलेज र इन्स्टिच्युटको पढाइ अलपत्र छाडेका छन्। कतिपय त बेवारिसे अवस्थामा फेला पर्न थालेका छन्।
सिद्धार्थ नगरपालिका-८, भैरहवाका साहिल श्रेष्ठ अवसादकै कारण सडक किनारमा फेला परेका थिए।
डेढ वर्षअघि विद्यार्थी भिसामा क्यानडा पुगेका २३ वर्षीय साहिल टोरन्टोमा रहेको सेन्टेनियल कलेजमा सफ्टवेयर टेक्नोलोजीमा भर्ना भएका थिए। त्यो दुई वर्षको डिप्लोमा कोर्स हो। साहिलले एक वर्षको पढाइ जेनतेन पूरा गरे। दोस्रो वर्षको कलेज शुल्क तिर्ने बेला घर्किइसकेको थियो। गैरआवासीय नेपाली संघका प्रतिनिधिले बताएअनुसार उनले त्यसबीच चारचौरास चहार्दा पनि काम पाउन सकेनन्। एकातिर कलेज शुल्क तिर्नुपर्ने दबाब, अर्कातिर क्यानडाको महँगिदै गएको बसाइको घानमा परे उनी। र, नराम्ररी पिल्सिए।
तनावले उनलाई डिप्रेसनमा पुर्यायो। बेखर्ची भएर कोठा भाडासमेत तिर्न नसकेका उनलाई प्रहरीले उद्धार गरेर ब्राम्टन सिभिक हस्पिटल पुर्याएको थियो। र, क्यानडाको गैरआवासीय नेपाली संघको पहलमा उनलाई माघ पहिलो साता नेपाल फर्काइएको थियो।
नुवाकोटका युवराज नेपाल पनि काम खोज्दाखोज्दै आजित भएका छन्। गत असोज मध्यतिर क्यानडा गएका उनी नौ महिना चहार्दा पनि आयआर्जनसँग जोडिन सकेका छैनन्। घरपरिवारकै मुख ताकिरहनुपरेको छ।
युवराज ओन्टारियोको स्कारब्रोमा बस्दै आएका छन्। नेपालबाट गएपछि उनले प्रोजेक्ट म्यानेजमेन्ट विषयको एउटा कोर्स पूरा गरिसकेका छन्। केही समयअघि मात्र उनले म्युजिक एन्ड कल्चरल म्यानेजमेन्टको अर्को नयाँ कोर्स सुरू गरेका छन्। तथापि कामको खडेरी छ।
उनले पछिल्लो समय क्यानडाका सहरी क्षेत्रमा बेरोजगारको ताँती नै देखेको अनुभव सुनाए।
'काम पाइने सम्भावित सबै ठाउँ गइसकेँ,' उनले भने, 'आवेदन दिन्छु, अन्तर्वार्ता फेस गर्छु, तर दोस्रो राउन्डमा बोलाउँदै बोलाउँदैनन्।'
उनले यस्तो समस्यासँग पौँठेजोरी खेल्नुपरेको शैक्षिक योग्यता र विषयगत दक्षता अपुग भएर होइन। एक त त्यहाँ नेपालीले काम पाउने भनेको ग्रोसरी, सुपरमार्केट, ग्यास स्टेसन, रेस्टुरेन्ट र कफी स्टेसनहरूमा साधारण मजदुरी हो। सवारी चालक अनुमतिपत्र निकाल्न सक्नेहरूले उबर (ट्याक्सी) चलाएर पनि आयआर्जनको बाटो पहिल्याउन नसक्ने होइनन्। नेपालको कार, ट्याक्सी लगायत चारपांग्रे सवारी चालक अनुमतिपत्र छ भने क्यानडामा 'जी वान', 'जी टू', 'जी' आदि परीक्षा दिएर सहजै इजाजत पाउन सकिन्छ। तर नेपालबाट १२ कक्षा पास गरेर गएकाहरूसँग चारपांग्रे त के, दुईपांग्रे सवारी चलाउने लाइसेन्स पनि हुँदैन।
'हामीले पाउने भनेकै साधारण काम हो। त्यसमा पनि आवश्यक संख्याभन्दा दसौं गुणा बढीले अन्तर्वार्ता दिन्छन्। दोस्रो राउन्डमा बोलाउँदै बोलाउँदैनन्। काम खोज्दाखोज्दै हैरान भइसकेँ। कति ठाउँ चहार्नु! विज्ञापन खोज्दै कति ठाउँमा आवेदन दिनू!' युवराजले भने।
गाँस, बासको प्रबन्धका लागि उनको अहिले मासिक खर्च ८ देखि ९ सय क्यानेडियन डलरसम्म छ। त्यो भनेको ७८ हजारदेखि ८७ हजार रूपैयाँ हो।
'यति पैसा अहिले घरबाटै भरथेग गर्नुपर्ने अवस्था छ,' उनले भने।
युवराजका बुबा सरकारी कर्मचारी हुन्। परिवारको आयस्ता र आर्थिक स्थिति मजबुत भएकाले उनले खासै कठिनाइ बेहोर्नुपरेको छैन। तर महिनैपिच्छे परिवारको मुख ताक्नुपर्ने बाध्यता हटेको दिन मात्र क्यानडा पुगेको अनुभूति हुने उनी बताउँछन्।
'अहिले त विदेशमा छु भन्न पनि लाजै छ,' उनले आवाज बिगार्दै भने।
तस्बिर स्रोत: सिबिसी क्यानडा
क्यानडाको क्षितिजमा निराशाका बादल मात्र छैनन्। त्यही बादलबीच केही उज्याला आभा पनि छन्, जसबाट नेपाली समुदाय आशावादी छ।
क्यानडा सरकारले सन् २०११ मा विश्वविद्यालय र कलेजमा स्नातक तहसम्म पढाइरहेकाहरूले स्थायी बसोबास (पिआर) का लागि आवेदन दिन सक्ने गरी भिसा खुलाएको थियो। त्यति बेला झन्डै २० हजारले आवेदन दिए। स्नातक तहमा अध्यापन गराइरहेकाले मात्र होइन, कागजात मिलाएर माध्यमिक र उच्च माध्यमिक तहमा अध्यापन गर्नेहरूले पनि आवेदन भरे। यसअन्तर्गत १० हजारभन्दा बढी नेपालीले स्थायी बसोबास अनुमतिसहित भिसा प्राप्त गरेका थिए।
'सन् २०११ मा नेपालमै स्थापित भइसकेकाहरू पनि क्यानडा आउनुभयो। त्यति बेला आएकाहरू आ-आफ्नो ठाउँमा स्थापित हुनुहुन्छ। घरजग्गा व्यवसायमा लगानी गर्नुभएको छ। तीन-चारवटा घर जोड्नुभएको छ। उहाँका बालबच्चाले राम्रो शिक्षादीक्षा र राम्रो समुदाय पाउनुभएको छ,' गैरआवासीय नेपाली संघ क्यानडाका सचिव विनोद कोइरालाले भने, 'पछिल्लोपटक विद्यार्थी भिसामा आएकाहरूले भने समस्या बेहोर्नुपर्यो!'
त्यति बेला क्यानडा पुगेर राम्रो हैसियत बनाएकाहरू नै अहिले नेपाली विद्यार्थीको भरोसाको माध्यम बनेका छन्। कतिपयले आफ्नै घरमा ओत दिएका छन्। काम खोज्न सघाएका छन्।
'क्यानडाले आर्थिक मन्दी बेहोर्नु नपरोस्, भएका जनशक्तिले बेरोजगार बस्नु नपरोस् र क्रयशक्ति नघटोस् भनेर नीति परिवर्तन गरेको हो,' उनले भने, 'यसले सन् २०२३ पछि क्यानडा पुगेका नेपाली विद्यार्थीले प्रकोपकै सामना गर्नुपरेको छ।'
उनका अनुसार सन् २०१७-२०१८ पछि १२ कक्षा पास गरेका विद्यार्थी क्यानडा जाने क्रम ह्वात्तै बढेको थियो। कोभिड कालमा केही सुस्ताए पनि २०२१ पछि झन् तीव्रता लियो। अहिले नेपालीका तुलनामा भारतीय विद्यार्थीले छिटो काम पाउने अवस्था छ। त्यसो हुनुको कारण ब्राम्टन, स्कारब्रो लगायत सहरमा भारतीय मूलका नागरिकको बाहुल्य हुनु हो। ब्रिटिस शासनताक नै भारतबाट त्यहाँ पुगेकाहरूले छ-सात पुस्ता क्यानडामा गुजारिसकेका छन्। व्यापार, व्यवसाय, सेवा लगायत क्षेत्रमा उनीहरूको राम्रो पकड छ।
'त्यसैले पनि उनीहरूको पहिलो रोजाइमा भारतीय नै पर्ने गरेका छन्,' अंकितले भने, 'नेपालीहरूको समुदाय भने सानो छ। धेरैले रोजगारका क्षेत्रमा हात हालिसकेका छैनन्। त्यसैले पुरानो पुस्ताबाट नेपाली विद्यार्थीहरूले लाभ उठाउन सक्ने अवस्था बनेकै छैन।'
यी सबका बीच अहिले पनि सिकाइ र बुझाइका हिसाबले अपरिपक्व किशोर-किशोरीलाई विदेश उडाएर मख्ख पर्ने अभिभावकको जमात बढेकै छ। पढाइ र कामको लय समात्न नसकेका सन्तानलाई वैदेशिक अध्ययनको बाटो देखाउने र विदेश 'सुधार केन्द्र' बन्ने ध्याउन्नमा रहेका अभिभावकले छोराछोरीका तर्फबाट शुभ समाचार सुन्ने अवस्था नआउन पनि सक्छ। पछिल्ला दिनका केही घटनाले त्यसको संकेत गरेका छन्।
गैरआवासीय नेपाली संघ क्यानडाका सचिव विनोद कोइरालाका अनुसार केही वर्षयता विद्यार्थीहरूमा घातक रोग देखिन थालेको छ। सुनसरीकी एक विद्यार्थी ६ महिनादेखि क्यान्सरबाट गुज्रिइरहेकी छन्। डेढ वर्षअघि विद्यार्थी भिसामा क्यानडा पुगेकी उनी फ्लेमिङ कलेजको प्रारम्भिक बाल शिक्षा विषय पढिरहेकी थिइन्। उनको बायाँ अन्डासयमा ट्युमर पत्ता लागेको छ।
'झन्डै सात घन्टा लगाएर उनको शल्यक्रिया गरिएको थियो। अहिले नियमित केमो चढाइरहनुपर्छ,' कोइरालाले भने, 'झन्डै दुई महिना मैले आफ्नै घरमा राखेर उपचार गरेँ। केही सुधार देखिएपछि अहिले अन्यत्र स्थानान्तरण गरिएको छ। उनको उपचारका लागि नेपाली समुदायबाट ठूलो धनराशि जुट्यो।'
उनको उपचारका लागि साढे २५ हजार क्यानेडियन डलर जुटिसकेको छ। सहयोग जुट्ने क्रम जारी रहेको कोइराला बताउँछन्।
'अभिभावकहरूले आफ्ना कलिला सन्तानलाई वैदेशिक शिक्षाका लागि पठाउनुहुन्छ। उनीहरू यहाँ आएपछि पैसै पैसा, सुखसयलै सुखसयलको सपना बुनेर आउँछन्। तर बेग्लै दुःखको भासमा जाकिन पुग्छन्। त्यसले जटिल समस्या निम्त्याइरहेको छ,' उनले भने।
अर्कातिर, नेपाली समुदाय सबैतिर सहजै उपलब्ध हुँदैन। त्यस्तो अवस्थामा परिस्थिति र रोगसँग एक्लै जुध्नुपर्ने हुन्छ। त्यसका लागि मानसिक रूपमा तयार भएर मात्र हुँदैन, आर्थिक रूपमा पनि उत्तिकै सबल हुनुपर्छ।
'विदेश जानुपूर्व आफू जान लागेको सहरको रहनसहन, कलेज र सहरबीचको दुरी, चिनजान, सम्पर्क सूत्र, भाडामा कोठा पाइने-नपाइने अवस्था बुझेर मात्र पाइला सार्नु उपयुक्त हुन्छ,' कोइरालाले भने।
सहरको वस्तुस्थिति मात्र बुझेर पुग्दैन। भनिन्छ – सीपले भोको मर्न दिँदैन। त्यसैले वैदेशिक अध्ययनमा जानुपूर्व हातमा धेरथोर सीप चाहिन्छ। कुक, वेटर, बरिस्टा लगायत सीप वैदेशिक अध्ययनमा जाँदा निकै उपयोगी मानिन्छन्। एक किसिमले भन्दा यी नगदे सीप हुन्। भारतीय, चिनियाँ परिकार बनाउन जान्ने र बान्कीपूर्ण कफी बनाउन जान्नेले बेरोजगार बस्नुपर्दैन। उनीहरूले हातहातै काम पाउने अवस्थामा कहिल्यै कमी आउँदैन। त्यसबाहेक सवारी चालक अनुमतिपत्र भएकाले त मनग्गे कमाउँछन्।
'कतिपयले कलेज र काम गर्ने ठाउँको दुरी मिलाउन सक्दैनन्। कतिपय ठाउँ रेलमा जानुपर्ने हुन्छ। आउजाउमै काम गर्ने समय खर्च हुन्छ,' अर्का नेपाली विद्यार्थी अंकित काफ्लेले भने, 'त्यसो हुँदा गाडी चलाउन सक्ने भएर विदेश जाने प्रक्रिया अघि बढाउनु उपयुक्त हुन्छ। हातमा सामान्य सीप पनि छैन भने त विदेशमा तुरून्तै काम पाउने र आत्मनिर्भर बन्ने सपना नदेखेकै राम्रो!'
अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लर्को लागेपछि देशको शैक्षिक पूर्वाधार तथा आवास सुविधामा चाप परेको क्यानडाको ठहर छ। यसले गत जनवरीदेखि अन्तर्राष्ट्रिय विद्यार्थीसम्बन्धी नयाँ नीति अंगीकार गरिएको छ।
उसले अन्तर्राष्ट्रिय विद्यार्थी संख्या दुई वर्षका लागि ३५ प्रतिशत घटाउने नीति अघि सारेको छ। त्यसबाहेक निजी-सार्वजनिक साझेदारीमा सञ्चालन भइरहेका कलेजमा भर्ना भएका स्नातक र त्योभन्दा मुनिका तहमा अध्ययन गर्ने विद्यार्थीलाई आगामी सेप्टेम्बरबाट श्रम स्वीकृति/वर्क परमिट (एजिडब्ल्युपी) जारी नगर्ने नीति लिएको छ।
नेपाली दूतावास क्यानडाले यो नीतिबारे जानकारी दिँदै गत वैशाख १७ गते सूचना प्रकाशित गरेको छ। छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्नेखाने खर्च व्यवस्था गरेर मात्र क्यानडा पठाउन दूतावासले अभिभावकहरूलाई आग्रह गरेको छ।
'पठाइसकेपछि आफ्ना छोराछोरीसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के-कस्ता समस्यासँग जुधिरहेका छन् भन्नेबारे जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रूपले सहयोग गर्नुपर्छ,' नेपाली दूतावासले भनेको छ।
उसले यो पनि भनेको छ, 'क्यानडा पढ्न आउने विद्यार्थीले यहाँ आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अतिआवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावबारे हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्छ।'
***