(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
२०७८, कात्तिक।
बेमौसमी वर्षाले सुदूरपश्चिम र लुम्बिनीका केही भागमा अफरातफरी मच्चायो।
मनसुन बाहिरिइसकेपछि आकाशबाट खनिएको मुसलधारे पानीले फाँटमा पाकेको धानबाली किसानहरूले भित्र्याउन सकेनन्। ठाडै रहेको धानबाली त जसोतसो किसानहरूको धनसारमा पुग्यो। निन फिँजाएको धान फाँटको फाँटै उम्रने अवस्था बन्यो।
त्यो याममा जेठ २८ गते मनसुन नेपाल प्रवेश गरेको थियो भने असोज २५ गते मनसुन बाहिरिएको घोषणा जल तथा मौसम विज्ञान विभागले गरेको थियो।
त्यसबीच जेठ १८ देखि असोज १४ गतेसम्म १२९ दिन अवधिमा १६२०.२ मिलिमिटर वर्षा भएको थियो। यो सरदरभन्दा १५.५ प्रतिशत बढी हो। डडेलधुरा, दिपायल र धनगढीमा सरदरभन्दा बढी पानी परेको थियो। नेपालगन्जमा मात्र सरदरभन्दा कम वर्षा भएको थियो।
तर मनसुन बाहिरिइसकेपछि कात्तिक लाग्दैदेखि परेको पानीले सुदूरपश्चिम प्रदेशमा मात्रै ७ अर्ब रूपैयाँ बराबरको धानबाली विनष्ट तुल्यायो।
मौसम प्रणालीमा यस्ता बिरलाकोटीका घटना हुन्छन्; भइरहन्छन्।
त्यस वर्ष किन त्यस्तो भयो भनेर कारण खोज्ने हो भने मनसुन बाहिरिँदै गर्दा बंगालको खाडीमा न्यून चापीय प्रणाली विकास भएको थियो। त्यो प्रणाली र नेपालमा ६ महिना दबदबा कायम राख्ने पश्चिमी वायु प्रणाली आपसमा जुध्दा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, लुम्बिनीका बाँके, बर्दियामा अत्यधिक पानी परेको थियो।
मौसमविद् भन्छन् – दुई प्रणाली अचानक जुध्दा यस्ता मौसमी घटना हुन्छन् र विपत्तिको ताडना बर्साउँछन्।
यस्तो नेपालमा मात्र हुने होइन। सन् २०१३ मा केदारनाथमा यस्तै 'क्लाउडब्रस्ट' भएको थियो। केदारनाथ विपत्तिलाई पनि दुई प्रणालीकै असरका रूपमा अर्थ्याइएको छ।
अब प्रश्न उठ्छ – मौसमी प्रणालीमा यस्तो घटना हुँदैछ भन्ने पूर्वानुमान गर्न सकिन्छ कि सकिँदैन?
सकिन्छ।
२०७८ कात्तिकमा सुदूरपश्चिममा बेमौसमी वर्षा हुँदैछ भनेर जल तथा मौसम विज्ञान विभागले पहिल्यै सचेत गराएको थियो। विभागको मौसम पूर्वानुमान महाशाखाले असोज २८ र ३० गते बुलेटिन नै निकालेर भारी वर्षाको अनुमान गरेको थियो। किसानहरूलाई तत्काल बाली नकाट्न र काटेकै भए फाँट–फाँटमै नछाड्न आग्रह गरेको थियो।
तर टन्टालपुर घाम लागेकाले कृषकहरू महाशाखाको भर पर्न सकेनन्। चाडबाड सकिएको मौका पारेर धान काटिहाले। पछि सखाप हुने स्थिति बन्यो।
'किसानहरूले पनि एक दशकको अवस्था सोच्नुभयो। महाशाखाको अनुमान के मिल्ला र भन्ठान्नुभयो,' वरिष्ठ मौसमविद् शान्ति कँडेल सम्झन्छिन्, 'किसानहरूलाई दोष दिने कुरा त भएन। हामीले नै प्रभावकारी सञ्चारमा कमी गर्यौं कि!'
आकाश नीरझैं कञ्चन भएर घाम लागेका बेला किसानहरूले बेमौसमी वर्षाको पूर्वानुमान गर्न नसके पनि महाशाखाको प्रक्षेपण सही साबित भयो। यसले विनाश त ठूलै गरायो, सँगसँगै मौसमविद्हरूलाई खुसी हुने ठाउँ पनि दियो। भलै मौसम प्रक्षेपणको निर्देशानुसार किसानहरूले बाली थन्क्याउन हतार नगरिदिएका भए उनीहरू झनै धेरै खुसी हुन्थे!
अब योभन्दा अझ पछाडि जाऊँ।
२०७५ चैत १७ गते – त्यस दिन बारा, पर्सामा टोर्नाडो (घुम्रपात) आएको थियो। पर्साको सखुवा–प्रसौनीबाट सुरू भएको आँधीको विभीषिकाले २४ जनाको हताहती निम्त्यायो।
पृथ्वीको सतहबाट तातो हावा माथि जाने र वायुमण्डलमा रहेको चिसो हावा तल झर्ने प्रक्रिया बढ्दै जाँदा आकाशमा बादल बन्छ। त्यही बादल पृथ्वीको सतहतिर झर्ने उपक्रम नै टोनार्ड आउने प्रक्रिया हो।
टोर्नाडोमा बादल नै सोली आकारमा पृथ्वीको सतहसम्म आइपुग्छ र भेट्नसक्ने जति वस्तु सोहोरेर लैजान्छ। बाराको फेटा गाउँपालिकामा त लसुनको पोटीदेखि भीमकाय बाँसका झ्याङसम्म उखेलेको थियो।
नेपालका लागि टोर्नाडो नयाँ मौसमी परिघटना हो। बदलिँदो मनसुनजन्य विपत्तिको यो विध्वंशकारी आयामबारे मौसम पूर्वानुमान महाशाखाले अनुमान गर्न सकेन। वा भनौं, महाशाखाको राडारले यसको संकेतसम्म दिएन। चिनियाँ र जापानिज स्याटेलाइटहरूले बादलको क्लेशबारे सूचित गर्न सकेनन्।
'त्यति बेला चाहिँ हामीलाई साह्रै नमीठो लाग्यो,' वरिष्ठ मौसमविद् शान्ति कँडेलले थकथकी मान्दै भनिन्, 'प्रविधियुक्त प्रणाली भइदिएको भए पूर्वसूचना दिन सकिन्थ्यो! हताहती हुनबाट जोगाउन सकिन्थ्यो!'
मौसम पूर्वानुमानसँग जोडिएका यी दुई फरक घटनाको चर्चापछि अब कुरा गरौं ती व्यक्तिहरूबारे, जो हाम्रो मौसम पूर्वानुमानसँग जोडिएका छन्।
पूर्वानुमान महाशाखामा अहिले १३ जनाको दरबन्दी छ। तर १० जना मात्र कार्यरत छन्। यी १० जनाले आलोपालो गरेर तीन सिफ्टमा मौसमसम्बन्धी जानकारी दिइरहेका हुन्छन्। एक सिफ्टमा बढीमा चार जना र रात्रिकालीन सिफ्टमा एक जना मात्रै हुन्छन्। उनीहरूकै सामूहिक अध्ययन र अनुभवको सम्मिश्रणले मौसम पूर्वानुमानमा पछिल्लो समय त्रुटि घट्दै गएका छन्। मौसमसम्बन्धी भविष्यवाणी फेल खाँदैन भन्ने विश्वास सर्वसाधारणमा बाक्लो हुँदै छ।
मौसम पूर्वानुमानमा संलग्न १० जनाको टोलीमा चार जना महिला छन्। कुनै बेला महिला भेट्नै दुरूह हुने मौसम पूर्वानुमान महाशाखामा अहिले उपसचिव तहमै दुई जना महिला छन् – शान्ति कँडेल र प्रतिभा मानन्धर। उनीहरूलाई वरिष्ठ मौसमविद् भनिन्छ। त्यस्तै, विनु महर्जन र गंगा नगरकोटी मौसमविद्का रूपमा कार्यरत छन्।
सबभन्दा पहिला कुरा गरौं शान्तिको।
बाह्र कक्षा उत्तीर्ण गरेपछि शान्तिका पाइला चितवनबाट काठमाडौं मोडिएका थिए।
उनका बुबा बोर्डिङ स्कुलका सञ्चालक थिए। परिवारका अरू सदस्य पनि शिक्षाको झल्झलाकार आभाबाट पर थिएनन्। पारिवारिक शिक्षादीक्षाकै आलोकमा उनले रंगीचंगी भविष्य देखेकी थिइन्।
त्यही भएर उनी नर्सिङ पढ्न काठमाडौं हानिइन्। आइओएमबाट प्रवेश परीक्षा दिइन्। तर बिग्रँदो स्वास्थ्य र नतिजाले नर्सिङको बाटो नदेखाएपछि उनी चितवन फर्किएर निजी स्कुल पढाउन थालिन्।
पढाइमा मेधावी छात्रा थिइन् शान्ति। एसएलसीमा पनि विशिष्ट श्रेणी नै हात पारेकी। सँगैका साथी–संगाती स्नातक दोस्रो वर्ष पुगिसकेकाले नर्सिङको निराशा अरू रजनीघनीभूत बनेपछि उनी पुनः काठमाडौं आइन्। त्रिचन्द्र क्याम्पस भर्ना भइन्।
'तिनताक के पढ्दा के हुन्छ थाहा थिएन,' उनले भनिन्, 'नाताले भिनाजु पर्नेले त्रिचन्द्रमा हावापानी विज्ञान (मेट्रोलोजी) पढाइ हुन्छ भन्नुभएको थियो।'
बाल्यकालमा उनी बादल, वर्षा, आद्रताबारे त्यति धेरै जिज्ञासु थिइनन्। तर मेट्रोलोजी भन्ने शब्दले नै उनलाई वशीभूत तुल्याइहाल्यो।
'खै किन हो, यो शब्दले नै यसरी तान्यो, यसमै आफूलाई सिद्धहस्त तुल्याउँछु भन्ने लाग्यो,' उनी अहिले सम्झन्छिन्।
बोर्डिङ स्कुलको जागिरे यात्रा बिट मारेर उनी काठमाडौं आइन्। काठमाडौं आउँदा पो थाहा भयो, उनलाई त इन्भारोमेन्टल साइन्स (वातावरण विज्ञान) मा भर्ना गरिसकिइएको रहेछ।
वातावरण विज्ञान उनको रूचिको विषय थिएन। मेट्रोलोजीमा बदल्ने सोच बनाइसकेकी थिइन्। उनले क्याम्पसका विभागीय प्रमुखसँग गएर सोधपुछ गरिन्।
'विषय पढ्नुभन्दा अघि त्यसको क्षेत्र थाहा पाउनुपर्यो नि! पढाइ र व्यवहारिक ज्ञान पनि भएकाले होला, आफूले पढेको विषयको सम्भाव्यताबारे पनि खोजबिन गर्न मन लाग्थ्यो,' उनी अहिले सम्झन्छिन्।
जलवायु विज्ञानको क्षेत्र फराकिलो बन्दै गए पनि पढ्ने मानिसहरू अत्यन्त कम थिए। विभागीय प्रमुखले सम्भावनाको फराकिलो आयाम र क्षितिज नदेखाउने कुरै भएन।
'त्यति बेला धेरै विद्यार्थी मेट्रोलोजीभन्दा फिजिक्स, केमेस्ट्री, माइक्रोबायोलोजीतर्फ आकर्षित हुन्थे,' उनले भन्दै गइन्, 'कक्षामा त मबाहेक कोही महिला नै रहेनछन्।'
दस जना विद्यार्थी भएको कक्षामा उनी एक्ली महिला थिइन्।
एक वर्ष पढाइ छुटेकाले त्यो खाडल कसरी पुर्ने, विषयहरू कसरी मुखाग्र बनाउने भन्ने चिन्ता थियो उनलाई। तर कलेजमा पढाइको वातावरण दिनहुँ बिथोलिन्थ्यो। कलेस परिसरमा हुने राजनीतिक गतिविधिको भुंग्रोमा पढाइ परेको थियो।
'सरकारी कलेजमा राजनीतिसहितको पढाइ हुने रहेछ। गलत ठाउँमा पाइला हालेँ कि क्या हो भन्ने नलागेको होइन तर पढाइमा अर्जुनदृष्टि लगाएँ,' उनले भनिन्।
बीच बीचमा आवधिक परीक्षा नहुँदा स्वमूल्यांकनबाट टाढा रहनुपरेको थियो। सोचेजस्तो नतिजा आउँदैन कि भन्ने चिन्ताले भने थिचिराखेको उनले बताइन्।
'प्रथम वर्षको नतिजा आउँदा त सबैलाई उछिनेछु! नतिजाले आफैलाई आश्चर्यमा पुर्यायो,' उनले पुलकित हुँदै सुनाइन्।
त्यति बेला शान्तिले ८९ प्रतिशत प्राप्तांक ल्याएकी थिइन्। स्नातक पनि उनले विशिष्ट श्रेणीमै पास गरेकी हुन्।
स्नातक पढुञ्जेल उनलाई रोजगारीले ढोका ढक्ढक्याएन। मेट्रोलोजीको क्षितिजमा त्यस्ता केही सम्भावना देखिएनन्। तर स्नातकोत्तर दोस्रो वर्ष पुगेपछि आकाशमा सम्भावनाका त्यस्ता केही धर्सा देखिए। उनलाई आफूलाई परीक्षण गर्न मन लाग्यो।
'त्यति बेला सुब्बा सरहको मौसम विज्ञान सहायक पदमा आवेदन खुलेको थियो। बुबाले त पढाइ पूरा गरेपछि काठमाडौंबाटै भर्नू भन्नुभएको थियो। तर दोस्रो वर्ष पुगिसकेकाले आएको अवसर खेर फाल्दिनँ भन्ठानेर उहाँलाई आश्वस्त तुल्याएँ। नभन्दै नाम निस्कियो,' उनले जागिरको सुरूआती क्षण सम्झिइन्।
२०६८ कात्तिकबाट शान्तिले सरकारी सेवा सुरू गरिन्।
पोखरामा जागिर थालेको ९ महिना मात्रै भएको थियो। फेरि अधिकृतमा लोकसेवा खुल्यो। एकपटक सफल भइसकेकाले दोहोर्याएर आफूलाई परीक्षण गर्न मन लाग्यो।
तीक्ष्ण शान्तिले अधिकृतमा पनि सहजै नाम निकालिन्।
२०६९ सालमा काठमाडौं पोस्टिङ भयो। त्रिभुवन विमानस्थलमा रहेको मौसम पूर्वानुमान महाशाखामै उनको पदस्थापन भएको थियो।
'म आउँदासम्म अधिकृत तहमा कोही महिला हुनुहुन्थेन,' उनले भनिन्, 'बिहान, दिउँसो, रात्रि ड्युटी गर्नुपर्ने हुनाले कठिन हुने हो कि भनेर विभागमै पदस्थापन भए हुन्थ्यो भन्ने सोचेको थिएँ।'
सुरूआती दिनका रोचक अनुभूति छन् शान्तिका। काम सुरू गर्दा २४ घन्टा मौसम पूर्वानुमान हुँदैनथ्यो। रात्रि सिफ्टमा राति ८ बजेसम्म मात्र काम हुन्थ्यो।
उनी पदस्थापन भएको केही समयपछि नै नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडानका लागि रातभरि नै मौसमको अवस्था अवलोकन र पूर्वानुमान गर्नुपर्ने आवश्यकता बोध गर्यो। सहजीकरणका लागि मौसम पूर्वानुमान महाशाखालाई भन्यो।
'महाशाखा प्रमुखले आजैबाट सुरू गरौं भन्नुभयो। पहिलो दिनमै सिफ्ट मेरो भागमा पर्यो,' उनले सुनाइन्, 'रातभरि बसेर मौसमको अवस्था नियालेँ।'
विमानस्थलमा काम सुरू गर्दा विभागमै कान्छो अधिकृत थिइन् शान्ति। उनी कार्यालयमै रहँदा सेवाग्राहीहरू आउँथे, परपरसम्म आँखा तन्काउँथे र सोध्थे, 'यहाँ कोही सरहरू हुनुहुन्न? मौसमसम्बन्धी जानकारी लिनु थियो!'
खङ्ग्रङ्ग हुन्थिन् शान्ति!
माथिल्ला पदमा महिला हुँदैनन् र पुरूष नै खोजी गर्नुपर्छ भन्ने चेतनासँग साक्षात्कार हुनुपर्दा उनलाई दुःख पनि लाग्थ्यो।
अधिकृतमा कार्यसम्पादन गर्न थालेको त्यस्तै पाँच वर्षपछि उपसचिवका लागि आवेदन खुल्यो। लिखित परीक्षा दिएर पास गर्नुपर्ने आवेदन थियो त्यो।
'पदका लागि योग्य भएकाले फाइट गर्ने रहर जाग्यो। तर नाम निस्कनेमा चाहिँ ढुक्क थिइनँ,' शान्तिले सुनाइन्।
त्यसमा पनि उनले सबैलाई पछि पारिन् र २०७५ सालमा उपसचिव भइन्।
शान्तिले राजपत्रांकित द्वित्तीय श्रेणीको कर्मचारीका रूपमा काम गरेको पनि ६ वर्ष व्यतीत भइसकेको छ। यसबीच उनले प्रविधिको बदलिँदो आयामसँग चिनापर्ची पाइन्। तिनलाई उच्चतम उपयोग गरेर पूर्वानुमानलाई विश्वसनीय र यथार्थ तुल्याउन भूमिका खेलिरहेकी छन्।
सोमबार महाकालीपारि दोधारामा ६ सय २२ मिलिलिटर वर्षा भयो। नेपालमा वर्षा मापन भएयताकै यो उच्च हो। सन् २०१७ मा हेटौँडामा ५१६.२ मिलिमिटर वर्षा भएको थियो। त्यसपछि यो 'रेकर्ड' वर्षा हो।
कम्युटरमा प्रविष्ट भएको सूचनाका आधारमा अहिले मिनेट मिनेटमा यस्ता जानकारी पाउन सकिन्छ। कुन ठाउँमा आरीघोप्टे वर्षा भएको छ, खोला–किनारका क्षेत्रमा कहाँ कहाँ बाढीको जोखिम छ, कहाँ पानी पर्नेवाला छ, कहाँको तापक्रम अकासिँदो छ, कहाँको गिर्दो छ भनेर मिनेट मिनेटमा जानकारी पाउन सकिन्छ। सूचना प्रविष्टकर्ताले रातैभरि बसेर कम्युटरमा तथ्यांक अद्यावधिक गरिरहन्छन्।
दुई दशकअघिसम्म भने झ्यालबाट बाहिर हेरेर, आकाश अवलोकन गरेर मौसम पूर्वानुमान गर्नुपर्थ्यो। झमझमी पानी पर्छ भनेका ठाउँमा झलमल्ल घाम लागेर पूर्वानुमान विफल भइरहेको हुन्थ्यो। भीषण आँधी चल्छ भनेका ठाउँमा रूखका पात हल्लिएको पनि आवाज आउँदैनथ्यो।
यसको कारण पनि सुनाउँछिन् शान्ति।
'पहिला हामीले सतहको मात्रै मौसम मापन गर्थ्यौं। सतहको पनि म्यानुअल मात्रै हुन्थ्यो। आँखाले हेरेर त्यसको तथ्यांक खामबन्दी गरेर डाँकमार्फत् महाशाखा पठाइन्थ्यो। पानी परेको एक महिना–दुई महिनापछि तथ्यांक आइपुग्थ्यो। रियल टाइममा तथ्यांक हेर्नै पाइँदैनथ्यो। अहिले त हाम्रो केन्द्र भएका ठाउँबाट तुरून्तातुरून्तै तथ्यांक पाउन सक्छौं,' उनले त्यति बेलाको क्षण सम्झँदै भनिन्।
अहिले देशभर मानव सञ्चालित र स्वचालित गरी पाँच सयभन्दा बढी वर्षा मापन केन्द्र छन्। दुई सयभन्दा बढी नदीमा बाढी मापन गर्ने उपकरण राखिएको छ। ती केन्द्रले मिनेट मिनेटमा तथ्यांक प्रविष्ट गराइरहेका हुन्छन्।
यसबाहेक जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेतमा आफ्नै राडार राखेको छ। एउटा राडारले दुई सय किलोमिटरसम्मको जलवायुको स्थिति देखाउन सहयोग पुर्याउँछ।
शान्तिका अनुसार १३ वर्षअघिसम्म चिनियाँ भू–उपग्रह प्रणालीले बादलको तस्बिर खिचेर पठाउँथ्यो। त्यसैका आधारमा उनीहरूले पानी पर्ने, नपर्ने, आँधीहुरी र चट्याङको प्रक्षेपण गर्थे। चिनियाँ भू–उपग्रह प्रणालीले एक–एक घन्टामा तस्बिर पठाउँथ्यो। त्यसबीच अर्को मौसमी बदलाव आए सुइँको पाउन सकिँदैनथ्यो। अनि त, पूर्वानुमानले मिल्दो नतिजा दिँदैनथ्यो।
अहिले त जापानी उपग्रहले १०–१० मिनेटमा तस्बिर पठाउँछ। यसले पूर्वानुमान मिल्दो हुन जान्छ।
'जापानी उपग्रहमार्फत् हामीले मौसम प्रणाली कसरी गतिवान बनिरहेको छ भनेर अद्यावधिक गर्न सक्छौं,' उनले भनिन्, 'सूचना प्रणालीमा आएको विश्वव्यापी परिवर्तनले पूर्वानुमानमा सघाउ पुर्याइरहेको छ। युरोपियन युनियन लगायतका निकायले नेपालका लागि गरेको पूर्वानुमान पनि हामीले पाइरहेका हुन्छौं। उनीहरूको तथ्यांक र हाम्रो प्रणालीको पूर्वानुमानसँग भिडाएर पनि काम गर्छौं।'
शान्तिपछि कुरा गरौं, प्रतिभा मानन्धरको।
उनी शान्तिजस्तो संयोगले हावापानी विज्ञानको क्षेत्रमा आएर मौसम पूर्वानुमान गरिरहेकी होइनन्।
उनलाई त रूचिले नै डोर्याएर यहाँ ल्याइपुर्याइएको हो।
काठमाडौं कालिमाटीकी रैथाने प्रतिभालाई जलवायु, यसको उतारचढाव र आरोह–अवरोहप्रति औधी रुचि थियो। आकाशमा कपासको भुवाजस्तै उडिरहेका बादलका गुच्छा हेरेर उनी दिमागमा अनेक चित्र उतार्थिन्।
अनायास पर्ने पानी, वल्लोडाँडो र पल्लोडाँडा टाँगिने अर्धवृत्ताकार इन्द्रधनुष जस्ता प्रकृतिका जादुयी दृश्यले अनेक कौतूहल सिर्जना गर्थ्यो।
'हाम्रा पालामा प्रवीणता प्रमाण पत्र तह भन्ने हुन्थ्यो। त्यसमा विज्ञान लिएर पढिहालेँ। स्नातक पुगेपछि घाम, पानी, बादलबारे अध्ययन गर्न मन लाग्ने हुनाले यहीसँग सम्बन्धित मेट्रोलोजी हुँदो रहेछ भन्ने चाल पाएपछि यही पढेँ,' उनले भनिन्।
घर–व्यवहारका बन्धनले उनले पढाइलाई निरन्तर अघि बढाउन सकिनन्। तथापि रहरको बाटोमा पैताला हालिसकेकी प्रतिभालाई घरायसी छेकबारले अल्झाउने कुरा थिएन। अस्कलबाट प्रवीणता तह सुरू गरेकी प्रतिभाले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरिन्।
उनी सरकारी सेवामा छिरेको चाहिँ २०६७ सालदेखि हो।
सरकारी सेवामा पनि उनले फड्को मार्दै गइन्। २०६७ मा मौसम सहायक (सुब्बा) बाट सेवा प्रविष्ट भएकी उनी ९ महिना नबित्दै अधिकृत र पाँच वर्षभित्रै उपसचिव भइहालिन्।
'सरकारी सेवामा म छिटो फड्को मार्नेमा पर्छु, फर्स्ट क्लास बन्ने बाटो पनि खुल्थ्यो होला तर हामीकहाँ दरबन्दी नै एकदमै कम सिर्जना हुन्छ,' उनले हाँस्दै सुनाइन्।
उनी मौसम पूर्वानुमानमा छिर्दा झ्यालबाट आकाश चियाएर बादल, वर्षाको आकलन गर्छन् भनेर मानिसहरूले टिप्पणी गर्थे। गणितीय मौसम पूर्वानुमानको प्रणाली त्यति विकास भइसकेको थिएन। सानो प्रविधिबाट विशाल आकाश, सीमातीत वायुमण्डलबारे जानकारी लिनुपर्थ्यो। एक प्रकारले भन्दा कुवाभित्रबाट विराट आकाश अवलोकन गरेजस्तो हुन्थ्यो।
'ठूलो उपकरण राखेर भू–उपग्रह प्रणालीबाट तस्बिरहरू प्राप्त गर्नुपर्थ्यो, त्यसले शतप्रतिशत विश्वसनीय नतिजा दिँदैनथे,' उनले भनिन्।
त्यसो त, त्यति बेला मौसमसम्बन्धी चासोको दायरा पनि साँघुरो थियो। सञ्चारमाध्यमका नियमित बुलेटिनहरूलाई मात्र यसको चासो थियो। तिनै सञ्चारमाध्यमबाट मानिसहरूले जानकारी पाउँथे।
अहिले यसको दायरा बढेको छ र अझ बढ्दो उपक्रममा छ।
मानिसहरूले यात्रा गर्नुपूर्व, खेती लगाउनु र थन्क्याउनुअघि मौसमसम्बन्धी जानकारी राख्न थालेका छन्। मौसमसम्बन्धी जानकारी माग्नेहरूको फोन कलले रिसिभर एकछिन खाली हुँदैन। बिहान उदयाचलदेखि मध्यरातसम्मै जानकारी राख्नेहरू ह्वात्तै बढेका छन्।
'कृषि, स्वास्थ्य, पर्यटन, हवाई, सडक यातायात मात्र नभई मानिसले आफ्नो दैनिक जीवनमा मौसमलाई अभिन्न अंग बनाइसकेका छन्,' उनले भनिन्।
'सानो भूगोलमा बसेर बृहत् आकाश हेर्नुपर्ने हुन्छ। पूर्वानुमान भन्ने कुरा फेरि आफैमा शतप्रतिशत मिल्ने भन्ने हुँदैन,' उनले अगाडि भनिन्, 'तथापि हामीसँग भएको स्रोतसाधन, प्रविधि र ऊर्जालाई अधिकतम उपयोग गरेर विश्वसनीय बनाउने कोसिस गरिरहेका छौं। विभिन्न मोडलहरूबाट तथ्यांक बटुलेर गल्ती घटाउँदै सञ्चित गरिरहेका हुन्छौं।'
भू–उपग्रहले पठाएका तस्बिरमा मात्र भर नपरी आफैले आँखाले अवलोकन गरेर पनि मौसम पूर्वानुमान गरिने उनले बताइन्।
'यन्त्र वा उपकरणले भन्दा आँखैको अवलोकनले राम्रो नतिजा दिन्छ,' उनले भनिन्, 'आद्रता, वर्षा आदिको तथ्यांक उपकरणबाटै आउँछ। उपकरणमा पनि दुई–तीनवटा छ भने तिनको नतिजा एकापसमा भिडाएर निष्कर्षमा पुग्छौं।'
तीन दिनको गणितीय मौसम पूर्वानुमानका लागि नेपालले डब्ल्युआरएफ (द वेदर रिसर्च एन्ड फरकास्टिङ) प्रणाली अवलोकन गरिरहेको छ। यसका अतिरिक्त संसारभर निःशुल्क रूपमा उपलब्ध हुने अरू प्रणालीहरू पनि छन्। वेबसाइटहरूमा त्यसको प्रणाली उपलब्ध हुन्छ।
'मौसममा काम गर्नेहरूको पहुँचमा ती तथ्यांक हुन्छन्। संसारका अरू देशहरूले पनि त्यसको प्रयोग गरिरहेका छन्। एउटा मात्रै मोडलको भर परेर हुँदैन। तत्कालीन अवस्थामा वायुमण्डलको चाप, डब्ल्युआरएफ मोडल, विदेशी मोडलहरू हेरेर निष्कर्षमा पुग्नुपर्ने हुन्छ,' उनले भनिन्।
वर्षैपिच्छे मनसुन भित्रने र बाहिरिने भिन्न भिन्न अवस्था देखिन्छन्। वर्षैपिच्छे फरक फरक तरिकाले मनसुन विकास र परिस्कृत भइरहेको हुन्छ। अरू देशका प्रणालीहरूले के भनिरहेका छन् र त्यस आधारमा के हुन्छ भनेर ठम्याउने सन्दर्भमा अध्ययन–अनुसन्धानभन्दा पनि अनुभव जेठो भइदिन्छ।
तीन दिनको मौसम पूर्वानुमान गर्न आधा दिनभन्दा बढी तथ्यांक सञ्चय र अध्ययन गर्न लाग्ने मानन्धरले बताइन्।
पछिल्लो समय पूर्वानुमानको क्षेत्र विस्तार पनि हुँदै गएको छ। महाशाखाले अहिले तीन दिनको पूर्वानुमान गर्दै आएको छ। त्यस अतिरिक्त पर्वतारोहणका लागि मौसम पूर्वानुमान गर्नेगर्छ।
पर्वतारोहणको पूर्वानुमानमा हावाको दिशा, गति र तापक्रम आकलन गरिन्छ। पर्यटनका लागि पनि मौसम पूर्वानुमान हुने गरेको छ।
त्यस्तै, शीतयाममा हुस्सु र कुहिरोको पूर्वानुमान हुन्छ। दैनिक रूपमा हवाई उड्डयनको मौसम पनि पूर्वानुमान हुने मानन्धरले बताइन्। यस अतिरिक्त सहरहरूको पनि मौसम पूर्वानुमान हुन्छ। पछिल्लो समय प्रभावमा आधारित मौसम पूर्वानुमान हुन थालेको छ। समय समयमा विशेष मौसम पूर्वानुमान बुलेटिन पनि जारी हुने गर्छ।
'मौसम पूर्वानुमान सामूहिकीकरणको उत्तम नमूना पनि हो। प्रणालीहरू अध्ययन गरेर मात्र हामी निष्कर्षमा पुग्दैनौं। कुनै तथ्यांकमा द्विविधा भए ह्वाट्सएप, भाइबर लगायत ग्रुपमा छलफल गर्छौं र पूर्वानुमानको निष्कर्षमा पुग्छौं,' उनले भनिन्।
मौसम पूर्वानुमान महाशाखाले ११५५ नम्बरको निःशुल्क हटलाइन पनि उपलब्ध गराएको छ। यो नम्बरमा फोन गरेर जोसुकैले मौसमसम्बन्धी जानकारी र पूर्वानुमान प्राप्त गर्न सक्नेछ।
'पूर्वानुमान मिल्न थालेपछि अहिले एक मिनेटमै धेरै कल आइरहेको हुन्छ। फोन गरेर उहाँहरूले आ–आफ्ना क्षेत्रबारे चासो राख्नुहुन्छ,' प्रतिभाले भनिन्, 'यहाँसम्म कि विवाह, ब्रतबन्ध, पार्टी गर्न लागेको मौसम कस्तो हुन्छ भनेरसम्म सोध्नुहुन्छ।'
सरकारी तथा गैरसरकारी निकायले त इमेल नै गरेर जानकारी माग्ने गरेको उनले बताइन्।
'पूर्वानुमानसम्बन्धी चासोको दायरा बढ्दै जाँदा हाम्रासामु चुनौती पनि थपिएका छन्। हाम्रो सीमित स्रोतसाधन, जनशक्तिले बदलिँदो मौसमको चुनौतीलाई कसरी सम्बोधन गर्ने भनेर दिनरात सोचिरहेका हुन्छौं,' उनले अन्तिममा भनिन्।
***