संयुक्त अरब इमिरेट्स (युएई) को दुबई सरकारले पर्यटक (भिजिट) भिसा आवेदन प्रक्रियालाई सहज बनाउन नयाँ डिजिटल सेवा ल्याउने भएको छ।
अब दुबई घुम्न जाने विदेशी नागरिकले भिजिट दुबईको आधिकारिक वेबसाइटबाटै पर्यटक भिसाका लागि आवेदन दिन सक्नेछन्।
दुबईका युवराज तथा दुबई कार्यकारी परिषद्का अध्यक्ष शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतुमले आइतबार नयाँ सेवाको घोषणा गरेका हुन्।
यो सेवा नोभेम्बर महिनाभित्र सञ्चालनमा ल्याउने दुबई सरकारको तयारी छ।
नयाँ व्यवस्थाअनुसार भिजिट दुबईको वेबसाइटबाट सिंगल र मल्टिपल इन्ट्री पर्यटक भिसाका लागि आवेदन दिन सकिनेछ।
यो व्यवस्था दुबईको जनरल डाइरेक्टरेट अफ आइडेन्टिटी एन्ड फरेनर्स अफेयर्स (जिडिआरएफए), दुबईको अर्थतन्त्र तथा पर्यटन विभाग र डिजिटल दुबईको सहकार्यमा ल्याउन लागिएको हो।
नयाँ प्रणालीका थप विवरण भने पछि सार्वजनिक गरिने दुबई सरकारले जनाएको छ।
दुबई सरकारले पर्यटकलाई आकर्षित गर्ने र सरकारी सेवालाई डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था ल्याउन लागेको हो।