नर्वे सरकारले जुनको मध्यदेखि सार्वजनिक र निजी संस्थानहरू खोल्ने भएको छ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारी रोकथामका लागि त्यहाँ सबै प्रकारका संस्था बन्द रहँदै आएका थिए।
प्रधानमन्त्री एर्ना सोलवर्गले बिहीवार सरकारले कतिपय यस्ता क्षेत्रहरु जुनको मध्यसम्म पुनः खोल्ने लक्ष्य राखेको बताएकी हुन्।
'सबैको साझा प्रयासका लागि धन्यवाद! हामीले यो संक्रमणलाई मार्चदेखि नियन्त्रणमा लिएका छौं,' सोलबर्गले एक पत्रकार सम्मेलनमा भनिन्, 'हामी अब कडा प्रतिबन्धहरु खुकुलो पार्न सक्छौ।'
नर्वेमा शिशु कक्षाहरु अप्रिल २० देखि नै खोलिएको छ भने प्राथमिक विद्यालयहरू अप्रिल २७ देखि सुरु भइसकेका छन्।
तर माध्यामिक र उच्च माध्यामिक तह भने अझै बन्द छन्।
ती तह अब सोमबार देखि पुनः सुरू हुँदैछन्।
सरकारले नर्वेको फुटबल लीग समेत जुन १६ देखि सुरु गर्ने अनुमति दिने भएको छ।
बार र मनोरञ्जन पार्कहरु भने जुन १ देखि पुनः संचालन गर्न सकिने व्यवस्था मिलाइएको छ।
यसैगरी ५ जना सम्मको निजी जमघटलाई अनुमति दिएको नर्वेले बिहिबारदेखि २० जनासम्म जमघट हुनसक्ने अनुमति दिएको छ।
'हामी अब प्रकोप नियन्त्रणको चरणमा छौ', प्रधानमन्त्री एर्ना सोलवर्गले भनिन्।
नर्वेमा संक्रमित कुल संख्या जम्मा ८ हजार ३४ पुगेको छ भने संक्रमणका कारण हालसम्म २ सय १७ जनाको ज्यान गएको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७, ०२:०४:००