नेपालको लोपोन्मुख बहुपति प्रथाबारे निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट भएको छ।
आगामी अगष्ट २७ देखि २९ सम्म रसियामा हुन लागेको अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिभलमा नेपालबाट ‘सहायक श्रीमान’ छनौट भएको हो। गणेश पाण्डेद्वारा निर्देशित उक्त वृत्तचित्रले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्ड सहित १ हजार अमेरिकी डलर जितेको थियो।
नेपालबाहिरको चलचित्र महोत्सवमा ‘सहायक श्रीमान’ छनौट भएको यो पहिलो पटक हो। निर्देशक पाण्डेका अनुसार कोरोना भाइरस महामारीका कारण विभिन्न देशका चलचित्र महोत्सव स्थगित भएका कारण ‘सहायक श्रीमान’ को अन्तर्राष्ट्रिय यात्रा पनि रोकिएको थियो।
यो पनि पढ्नुस्ः दुई बुबा र एक आमाका सन्तान अभिनाष
पाण्डेको निर्देशनमा बनेको ‘सहायक श्रीमान’ अभिनाष लामा र उनको टोलीले छायांकन गरेका हुन्। घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन्।
नौ परिवारको कथा समेटिने गरी बनाएका भए पनि तीन परिवारको कथासँगै वृत्तचित्र ३५ मिनेटमा सकिन्छ। वृत्तचित्रमा तीन महिला र उनीहरूका श्रीमानहरूको कथा देखाइएको छ। कथाको 'सेटिङ' हुम्लाकै गाउँहरू छन्।
हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन छ। उनीहरू माया र काम मात्रै बाँडदैनन्, श्रीमती पनि एक आपसमा बाँड्छन्। जुन अहिलेको पुस्ताका लागि अत्यन्तै अनौठो विषय हुन सक्छ।
‘भाग्यले बाँचेकाहरू’ नामक वृत्तचित्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाएका निर्देशक पाण्डेले करिब चार वर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान तयार गरेका हुन्। वृत्तचित्र निर्देशन मात्र नभई उनकै लेखनमा तयार भएको हो।
साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको डकुमेन्ट्रीको प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन्। यसैगरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अभिनाष लामा र राधेश्याम तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन्। संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन्।