काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को आगामी संस्करण भर्चुअल हुने भएको छ।
कोरोना महामारीका कारण भौतिक दुरी कायम राख्नुपर्ने बाध्यता र यातायातको आवतजावतको कठिनाइका कारण महोत्सव भर्चुअल रूपमै सञ्चालन गर्न बाध्य भएको आयोजकद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
किम्फको यो १८ औं संस्करण यही वर्षको डिसेम्बर १० देखि १४ सम्म चल्नेछ। तर महोत्सवको पूर्वतयारीका रुपमा अक्टोबर र नोभेम्बरमा भर्चुअल प्यानल छलफलहरू आयोजना हुने जानकारी दिइएको छ।
किम्फको कार्यतालिका अनुसार, सुरूमा अक्टोबर १३ देखि १८ सम्म 'द पोर्टरः द अनटोल्ड स्टोरी एट एभरेस्ट' देखाइनेछ। यो फिल्म किम्फको वेबसाइटमा गएर हेर्न सकिनेछ।
फिल्म प्रदर्शनपछि नेपाली भरियाका समस्या र हिमाली जनजीवन, पर्यटनलगायत विषयमा जुम प्यानल छलफल आयोजना गरिनेछ।
बेन अयर, कुलबहादुर गुरुङ, नथानिअल जे मेनिंगर, पासाङ ल्हामू शेर्पा अकिता जस्ता व्यक्तित्व रहेको यो प्यानल पत्रकार तथा निर्देशक सुबिना श्रेष्ठले सञ्चालन गर्नेछिन्।