नेपालका कयौं मनोरम गाउँ ठाउँ प्राकृतिक स्टुडियोका रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म छायांकनका लागि पोखरा र आसपासका क्षेत्र आकर्षणको केन्द्रमा रहँदै आएको छ। यसले पर्यटन प्रबर्द्धनमा योगदान पुर्याएको छ। यसै भेगको कास्की अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँ पनि सिनेमा छायांकनका लागि सम्भावनायुक्त ठाउँ हो।
प्राकृतिक सौन्दर्यको धनी घान्द्रुकमा हालै नेपाल चलचित्र पत्रकार संघ कास्की शाखाको आयोजनामा सिनेमा, साहित्य र पर्यटनका विषयमा अतक्र्रियात्मक कार्यक्रम आयोजना भयो। मंगलबार भएको ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रममा ‘सिनेमा टुरिजमः सम्बन्ध र सम्भावना’ र ‘सिनेमा साहित्य ः सम्बन्ध र साझेदारी’ बारे छलफल चल्यो।
छलफलको पहिलो सेसन ‘सिनेमा टुरिज्मः सम्बन्ध र सम्भावना’ मा वक्ताको रुपमा नेपाली चलचित्रका निर्देशक/नायक सुदर्शन थापा, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई र पत्रकार वासु मिश्रले सहजीकरण गरे। छलफलको सुरुआतमै सहजकर्ता मिश्रले नेपाली भूगोललाई नेपालीले नै चिन्न नसकेको र पर्यटन प्रर्वद्धनमा ठूलो आयतनमा सहयोग नपुगेको बताए।
कोरोना महामारीपछि अत्यन्तै प्रभावित क्षेत्रमध्ये सिनेमा र पर्यटन दुवै पर्छन्। अहिलेको पर्यटन क्षेत्रको अवस्था कस्तो छ त? ‘कोरोनाले हरेक क्षेत्रलाई अस्तव्यस्त बनाएको छ। कोरोना साम्य बन्दै जाँदा बिस्तारै लयमा फर्किँदै छ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले भने, ‘आन्तरिक पर्यटनलाई कसरी पुर्नस्थापना गर्न सकिन्छ भनेर नेपाल सरकारसँग समन्वय गरिरहेको अवस्था छ।’
निर्देशक सुदर्शन थापाले कोभिडले सम्पूर्ण क्षेत्रलाई असर गरेको बताउँदै सिनेमा र पर्यटन दुवै क्षेत्र अति प्रभावित भएको बताए। उनले भने, ‘पर्यटन र सिनेमा एकदमै जोडिएको विषय हो। सिनेमा छायांकनका लागि विभिन्न ठाउँमा पुगिन्छ। म पनि १२ वर्षअघि घान्द्रुक आएको थिएँ।’
आफू १२ वर्षअघि “मेरो एउटा साथी छ” फिल्म सुटिङका लागि नयाँपुलदेखि खच्चरमा सामान बोकाएर घान्द्रुक आएको स्मरण गर्दै उनले भने, ‘सिनेमाले पर्यटनलाई सहयोग त गर्छ नै। म त्यसबेला र अहिले आउँदा धेरै परिवर्तन भइसकेको छ। केही हदसम्म टेलिफिल्मले निकै चिनायो घान्द्रुकलाई। विकास निर्माणको काम पनि धेरै भइसकेको रहेछ।’
तनहुँको मानहुँकोटको चर्चा यतिबेला चुलिएको छ। युवापुस्तामाझ चर्चित टिकटक एपमा राखिएको १५ सेकेण्डको भिडिओले उक्त डाँडालाई चर्चित बनायो। त्यसरी नै सिनेमाले कुनै ठाउँलाई पर्यटकीय हबको रुपमा विकसित बनाइसकेको छ। सहजकर्ता मिश्रले मानहुँकोटकै सन्दर्भ उल्लेख गर्दा पर्यटन परिषद्का अध्यक्ष भट्टराई सहमत देखिए।
‘सिनेमाको माध्यमबाट विश्वका धेरै ठाउँहरु पर्यटकीय हब बनेका छन्। सिनेमाबाट पोखराका आसपासका क्षेत्रले पनि महत्व पाउँदैछ। अहिले पर्यटन संस्थाहरु अस्ताएको हो कि भन्ने लाग्छ। त्यसमा हाम्रो समन्वय जरुरी छ।’
सिनेमा र गीत-संगीतले पर्यटकीय क्षेत्रको रुपमा कुनै स्थानलाई चिनाउन सहयोग गरे पनि त्यसको विकास निर्माणमा सहयोग गर्छ भनेर ढुक्क हुन नमिल्ने निर्देशक थापाको मत छ।
उनले भने, ‘मुस्ताङमा सुटिङ गर्दा के यो माया हो? फिल्म खिच्यौं तर त्यसमा भूगोलको चर्चा भएन। पछि त्यहीँ प्रेम गीत खिच्यौं। घाँसादेखि मुस्ताङसम्मको क्षेत्रलाई कथामा बाँधेर देखाउँदा स्थानीयको प्रतिक्रिया राम्रो पायौं। आन्तरिक पर्यटन आउँदा नै अझ राम्रो बनेको सुनियो। प्राकृतिक सौन्दर्यसँगै भेषभूषा, संस्कृतिलाई देखाउन सक्यौं भने दर्शकले पनि रुचि र महत्व दिएर फिल्म हेर्छन्।’
सरकारी निकायको सहयोग भने अपेक्षा नगरिएकोले वास्ता नभएको उनको प्रतिक्रिया छ। त्यसको साटो स्थानीय स्तरबाट पाएको सहयोगले नै हौसला मिलेको उनले बताए। ‘ड्रोन शटका लागि सरकारी अनुमति लिनुपर्छ। त्यसमा प्रक्रिया त्रुटि भयो भने पनि हामीले सजाय भोग्नु पर्छ।’
पर्यटन सम्बद्ध संस्थाहरुको सहयोग सिनेमा क्षेत्रलाई पर्याप्त नभएको पो हो कि? भन्ने प्रश्नमा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले भने, ‘माया त गरेकै छौं तर समन्वय नभएको चाहिँ हो। विगतमा भएको कमजोरीभन्दा पनि आगामी दिनमा राम्रो गर्दै जाने हो।’
उक्त प्रसंगमा निर्देशक थापाको मत केही फरक सुनियो। उनी भन्छन्, ‘कुनै ठाउँलाई सिनेमाले पर्यटन क्षेत्रलाई उकास्यो भने पनि धन्यवाद पाएनौं। हामी पनि छायांकन सकेर त्यस ठाउँसँग सम्बन्ध राखेनौं। स्थानीयस्तरमा धेरथोर सम्बन्ध होला तर सम्बद्ध निकायसँग छैन।’
त्यस्तै, नेपाली साहित्यिक कृति 'सेतो बाघ', 'वसन्ती', 'झोला'देखि पछिल्लो पुस्ताले अत्याधिक रुचाएको उपन्यास 'समर लभ' माथि सिनेमा बनेका छन्। केही कृतिले ऐतिहासिक देश कालको कथा बोलेका छन् भने कुनै कृतिले समसामयिक परिवेशलाई चित्रण गरेका छन्।
दोस्रो तथा अन्तिम सेसन ‘सिनेमा साहित्यः सम्बन्ध र साझेदारी’ मा यस्तै विषयमा छलफल चल्यो। सेसनमा वक्ताहरुमा कलाकार दीपकराज गिरी, लेखक गनेश पौडेल, कवि भूषिता वशिष्ठ र सहजकर्ता दिनेश डिसी थिए।
वक्ताहरुसँग सहजकर्ता डिसीले साहित्यिक कृतिमाथि बनेका फिल्महरुको समीक्षा अनुभवबारे प्रश्न गरे। कवि भूषिताले सिनेमाको संवादमा मौलिकता हुनुपर्ने बताइन्। कलाकार दीपकराज गिरीले लेख्ने चिज र बोल्ने चिज दुवै फरक भएको बताए।
‘व्यावहारिक जीवनसँग जोडिने संवादले सिनेमामा दर्शकलाई जोड्छ। जब साहित्य सिनेमामा रुपान्तरित हुन्छ तब सहजता हुनै पर्छ।’ साहित्यमाथि सिनेमा पर्याप्त मात्रामा नबन्नुको कारण सिनेमाकर्मी दर्शकसँग डराएको कलाकार गिरीले बताए। उनले भने, ‘लेखिने र बोलिनेमा फरक हुन्छ। जटिलता हुने कारणले गर्दा पनि होला नेपालमा साहित्यमाथि सिनेमा खासै बनेनन्।’
लेखक गनेस पौडेलले पञ्चायती व्यवस्थाको ह्याङओभर अझै पनि नेपाली सिनेमाबाट उत्रिन नसकेको बताए। ‘पञ्चायतमा राजा महेन्द्रले नेपाली चलचित्रमा प्रयोग गरिने संवादलाई शुद्धिकरण गर्न र भाषिक एकीकरण गर्नका लागि पात्रले बोल्ने संवाद मौलिक लागेनन्। त्यसको ह्याङओभर अझै बाँकी छ। सिनेमा कला हो भाषा होइन।’ आफ्नो परम्परा र संस्कृतिलाई मिसाएर हरेक प्रकारका कला सिनेमा देखाउन सकिने उनले बताए।
बलिउड फिल्मका दृश्यलाई उल्लेख गर्दै कुनै भिलेनले हिरोलाई लखेट्दा होली मनाइरहेको दिन खेदेको देखाइने बताए। त्यसले परम्परा र संस्कृतिलाई पनि फिल्मको संवादसँगै चित्रण गरेको उनको भनाइ थियो।
यता कलाकार गिरीले भने एकाध बनेका चलचित्रलाई गनेर चलचित्र क्षेत्रको इतिहासलाई ५० वर्ष मान्न नहुने बताए। प्रजातन्त्रको पुर्नस्थापना पछि नै नेपाली सिनेमाको उत्थान भएको उनको भनाइ छ। नेपाली सिनेमाले ३० वर्षको यात्रा मात्र पार गरेको उनले बताए।
‘उपन्यासमा संवाद थोरै र विवरण धेरै हुन्छन्। सिनेमा दृश्य भाषामा बोल्नु पर्ने हुन्छ त्यसमा पनि सीमितता छ। अर्को बजेटले पनि प्रभाव पार्छ,’ कलाकार गिरीले भने, ‘मार्केटले भन्छ, दुई करोडभन्दा माथि लग्यो भने डुब्यौं। एउटा भिलेनले हिरोलाई लखेटेको सिन देखाउनलाई होली सिनका लागि पाँच सय मान्छे जम्मा पार्न बजेटले नथेग्ने हुन्छ।’
साहित्यसँग सिनेमाको साझेदारीको प्रश्नमा कवि भूषिताले सिनेमाकर्मी साहित्यकारहरुसँग डराउन नहुने बताइन्।
कार्यक्रम समापन गर्दै चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले लामो समयको बन्दपश्चात् खुलेको पर्यटन र सिनेमा क्षेत्रको प्रचारप्रसारका लागि आफूहरुले उक्त कार्यक्रमको आयोजना गरेको जानकारी गराए।
उनले भने, ‘हाम्रो टिमलाई कोरोनापछि पनि केही न केही कार्यक्रम गरौं भन्ने लागेको थियो। साहित्य, पर्यटन र सिनेमा तीनै क्षेत्रमा काम भइरहेका थिएनन्। फेरि पछिल्लो समय सिनेमाभित्र साहित्य र पर्यटन दुवै अटाउन थालेका छन्।
हामीले तीनै क्षेत्रलाई एउटै मञ्चमा प्रस्तुत गर्ने निर्णय गर्यौं। जसमा पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङ र लामा अमृत फाउन्डेसनका अध्यक्ष अमृत गुरुङको साथ मिल्यो। अनि मात्र आँट गर्यौं।’
अरुण गिरीले छोटो समयको तयारीमा ‘सिनेमा संवाद एट घान्द्रुक’ सम्पन्न भएको बताए। कार्यक्रम घान्द्रुकको गुरुङ कटेजमा गरिएको थियो। स्वागत मन्तव्य किसम गुरुङले राखेका थिए भने संचालन सचिव प्रभु अधिकारीले गरेका थिए।
सिनेमा संवाद कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, अन्नपूर्ण गाउँपालिका, नेपाल टुरिज्म बोर्ड, इसेवा, कुटी रिर्सोट एन्ड स्पा, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, पर्यटन व्यवस्थापन समिति घान्द्रुक, परिचय एडभरटाइजिङ, गुरुङ चलचित्र शिरसुबा, अमृत लामा फाउन्डेसन घान्द्रुक, मूल आमा समूह घान्द्रुक र डाँडा गाउँ युवा परिवार घान्द्रुकले सहयोग गरेको थियो।