गायिका रचना रिमाल र अभिनय निरौलाको स्वरमा नयाँ गीत सार्वजनिक भएको हो। 'घिर्लिङ' बोलको नयाँ गीतमा अभिनय कै शब्द छ। यसमा योगेन्द्र उपाध्यायले संगीत भरेका छन् भने कुशल सिंहले संयोजन गरेका हुन्।
'घिर्लिङ'को म्युजिक भिडिओमा सागर लम्साल क्षेत्री (बले) र सिम्पल खरेलको मुख्य भूमिकामा प्रस्तुति देख्न सकिन्छ। उनीहरूसँगै रेशम बुढाथोकी, गौतम थापा, सिता राय क्षेत्री, कल्यान कुमार राय, शंकर कार्कीलगायत कलाकारको अभिनय छ।
कथा ढाँचामा प्रस्तुत 'घिर्लिङ'मा दुई प्रेमीको कथा देखाइएको छ। केटा र केटीको माया सम्बन्धबारे गाउँलेले थाहा पाएपछि गाउँको काजीलाई साक्षी राखेर सबै रोधी बस्छन्। रोधीमा केटीले आफ्नो विवाह सोही केटासँग भइहाले आफूलाई पाल्ने क्षमता बोकेको छ वा छैन भन्ने विषयमा गीत मार्फत छलफल हुन्छ।
अन्ततः केटी पक्षका सबैले राजी गरेसँगै दुवैको विवाह हुन्छ। म्युजिक भिडिओमा उनीहरू ४० वर्षपछिसम्म सँगै भएको र गाउँ फर्केको देखाएसँगै सकिन्छ। घिर्लिङको म्युजिक भिडिओको कथा योगेन्द्र उपाध्याय र अभिनय निरौलाले लेखेका हुन्।
बुद्ध थापाको सिनेमेटोग्राफीमा तयार भएको भिडिओलाई निकेश खड्काले निर्देशन गरेका हुन्। भिडिओ विकाश धमालले सम्पादन गरेका हुन्।
'घिर्लिङ' सोमबार युट्युब च्यानल 'सायरा क्रियसन'बाट सार्वजनिक भएको छ।