आगामी वर्षको जेठ २२ गते पोखरामा आयोजना हुने 'हेरिटेज अफ फेसन नेपाल- सिजन २’ को तयरी तीव्र भएको छ।
दुबई, युरोप र अष्ट्रेलियामा समेत आयोजना हुने यो 'फेसन शो' का सञ्चालक सन्तोष अधिकारीले नेपालमा समेत दोस्रो लहरको कोरोना जोखिम बढेकाले थोरै जनशक्तिको सहभागीतामा कार्यक्रम गरिने बताए। उनी अष्ट्रेलियाको सम्पूर्ण तयारी सकेर नेपाल फर्केका हुन्।
‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ का लागि केही दिन पहिले काठमाडौंमा आयोजित मिट एण्ड ग्रीट कार्यक्रममा अभिनेता प्रशान्त ताम्राकार, अपर्ण थापा, सन्दीप क्षेत्री, अभिनेत्री बेनिशा हमाल, निर्देशक दीपेन्द्र के. खनाल, देव कुमार श्रेष्ठ, रंगपत्रकार प्रकाश सुवेदी, मेघा मोडल सिजन ४ विजेता पूजा बराल लगायतका थुप्रै मोडल सहभागी थिए।
‘मिट एण्ड ग्रीट’ कार्यक्रममा उपस्थित अतिथिले कोरोना जोखिम बढ्दै गर्दा पनि रिक्स लिएर नेपाली सिनेमा क्षेत्र र फेसन दुनियाँलाई चलायमान बनाउन चुनौती मोल्न तयार रहेको भन्दै आयोजक संस्था असाप इन्टरटेनमेन्ट र सञ्चालक सन्तोष अधिकारीलाई धन्यवाद ज्ञापन गरे।
सञ्चालक अधिकारी सह-निर्माता रहेका सिनेमा ‘आमा, 'घर’ रिलिज भइसकेका छन्, भने ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ।
यो फेसन शोमा नेपाली तथा विदेशी मोडलहरुको उल्लेख सहभागिता रहने आयोजकले जनाएको छ। यसअघि मार्च १५ मा आयोजना हुने भनिएको कार्यक्रम कोरोनाका कारण ढिला भएको हो।