गायक प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सपुतले आफ्नो फेसबुक पेजमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्। उनले काठमाडौं मेडिकल कलेजमा पिसिआर परीक्षण गराएका थिए।
'एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ,' उनले फेसबुकमा लेखेका छन्।
उनले पछिल्लो समय आफूसँग सम्पर्कमा रहेकाहरूलाई पिसिआर परीक्षण गराउन समेत अनुरोध गरेका छन्।
उनी अहिले होम आइसोलेसनमा छन्। अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।
'कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौं तर यसलाई सामान्य भने नठानौं। किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ। सतर्कता अपनाउँ, सुरक्षित बसौं,' सपुतले भने।
उनले गायका गीतहरू पछिल्लो समय लोकप्रिय छन्। हालै उनले 'मेरो पनि होइन र यो देश?' नामक गीत सार्वजनिक गरेका थिए। जुन एकदिनमै १० लाखले युट्युबमा हेरेका थिए।