नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको तेस्रो दिन शनिबार चलचित्र उधोगमा महिला सहभागिता र अवसर विषयक अन्तर्क्रिया सम्पन्न भएको छ।
जुम मार्फत गरिएको सो कार्यक्रममा चलचित्र जगतका महिला हस्तीसँग गहन छलफल गरिएको नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान एवं निफका अध्यक्ष केपी पाठकले बताए।
कार्यक्रममा कलाकार करिश्मा मानन्धरले चलचित्र श्रेत्रमा महिला सहभागिता सन्तोषजनक रहेको तर विविधपूर्ण बताइन्। उनले समान काम गर्ने पुरूष कलाकारको तुलनामा महिला कलाकारले कम पारिश्रमिक पाउने गरेको बताइन्। समान कामको समान पारिश्रमिक हुनुपर्नेमा उनको जोड थियो।
यस्तै हाँस्यकलाकार तथा निर्देशक दिपाश्री निरौलाले चलचित्रमा महिला सहभागिताको कुरा गर्दा अहिले सुनौलो समय रहेको बताइन्। ‘पहिलाको तुलनामा अहिले धेरै सहज छ, पहिला फिल्म खेल्ने भई यो बिग्री भन्थे तर अहिले पढे लेखेको, जिम्वेवार महिलाहरुको सहभागिता छ,’ उनले भनिन्, ‘चलचित्रमा महिला सहभागिता टिकिराख्न चुनौती छ। तर समय सन्दर्भ प्रविधिसँग परिचित भएमा अवसर पनि उतिकै छ।’ उनले पितृसत्ताक सोचको उपज भएको र चलचित्रसँगै अरु क्षेत्रमा पनि यो समस्या रहेको बताइन्।
सोही कार्यक्रममा छांयाकार , सम्पादक तथा चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणाले नेपाली चलचित्र जगतमा महिला प्राविधिकको सहभागिता न्यून रहेको बताइन्। ‘एक-दुई वटा चलचित्रमा प्राविधिक काम गर्नेहरु पलायन हुँदै गएको अवस्था छ। क्यामेरा, सम्पादनमा शुरुवाती कक्षा लिनेको उत्साह हुने तर पछि कलाकारीता निर्देशन तिर आकर्षण बढिरहेको छ’, उनले भनिन्।