अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) ले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिन फिल्म फेस्टिभल गर्ने भएको छ। नेपालमा फिल्म पढाउने पहिलो कलेजका रुपमा स्थापित अस्करले आउँदो मंसिर १० र ११ गते चलचित्र विकास बोर्डको हलमा फिल्म फेस्टिभल गर्न लागेको हो।
कलेजका प्रिन्सिपल रामराजा दाहालले अस्कर कलेजले केही वर्षअघिदेखि गर्दै आएको फेस्टिभललाई निरन्तरता दिने उद्देश्यले आउँदो शुक्रबार र शनिबार फेस्टिभल गर्न लागेको जनाएका छन्।
‘गत साल पनि हामीले महामारीकै बीचमा भर्चुअल माध्यमबाट फेस्टिभल गरेका थियौं। महामारीका कारण मृतप्रायः रहेको उद्योगलाई गतिशील बनाउन यो फेस्टिभलले महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया पाएका थियौं,’ उनले भने, ‘त्यही प्रतिक्रियाले उत्साहित भएर यो साल पनि निरन्तरता दिएका हौं।’
प्रिन्सिपल दाहालका अनुसार फेस्टिभलमा कलेजका विद्यार्थीले बनाएकासँगै विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिएका सिनेमाहरु पनि देखाइने छन्। कलेजको संलग्नतामा निर्माण भएका र फेस्टिभलमा स्क्रिनिङ हुने फिल्म पनि विश्वका धेरै फेस्टिभलमा छानिएका फिल्म हुन्।
फिल्म प्रदर्शनबाहेक फेस्टिभलमा नेपाली सिनेमासम्बन्धी विभिन्न विषयमा छलफल पनि समानान्तर रुपमा चल्नेछन्। छलफलका विषय र सहभागी केही दिनमै टुंगो गरेर सार्वजनिक गर्ने प्रिन्सिपल दाहालले जनाएका छन्।