‘घुइँचो’ फिल्ममा अभिनेता कुन्साङ अभिनेत्री एलिजा गौतमको जोडीका रुपमा देखिने भएका छन्। सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोेषणा गरिएको हो।
सामाजिक कथावस्तुमा बन्न लागेको यो फिल्म दीपेन्द्र लामाले निर्देशन गर्ने छन्। दीपेन्द्रले यसअघि ‘घामपानी', 'गोपी', 'छ माया छपक्कै’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्।
निर्देशक लामाले फिल्मको कथाले गाउँदेखि अमेरिकाको कथा भन्ने जानकारी दिए। उनले फिल्मलाई राम्रो बनाउन आफूले सकेको मेहनत गर्ने दाबी गरे।
अभिनेत्री एलिजाले फिल्मको कथाले आकर्षित गरेर फिल्ममा जोडिएको बताइन्। अभिनेता कुन्साङले आफू फिल्म क्षेत्रमा केही फरक भूमिका गर्न चाहिरहेको बताउँदै कथावस्तु सुनेपछि मन परेको बताए। उनले अभिनेत्री एलिजाबारे आफूले धेरै कुरा सुनेको भन्दै सँगै काम गर्न पाउँदा खुशी लागेको समेत बताए ।
रामजी दैलेखी निर्माता रहेको फिल्मको छायांकन माघकोे अन्तिम साताबाट सुरु गर्ने निर्माण पक्षको भनाइ छ। फिल्मका अन्य कलाकार र प्राविधिक चाँडै नै तय गर्ने निर्माता दैलेखीले जानकारी दिए।