रियालिटी सोहरुको भीडमा इमेज टेलिभिजन एचडीबाट नयाँ रियालिटी सो प्रसारणमा आउने भएको छ। इमेजबाट भ्वाइस स्टार नेपाल प्रालिको निर्माणमा 'नेपाल्स सिंगिङ सुपरस्टार' प्रसारण गरिने भएको हो।
सोमबार इमेज टिभी एचडी र भ्वाइस स्टार नेपाल प्रालिबीच सोको सम्झौता भएको छ। इमेज एचडीका तर्फबाट कार्यकारी अधिकृत महेन्द्र विष्ट र नायव महाप्रवन्धक सुरेश शर्मा तथा भ्वाइस स्टार नेपालका तर्फबाट क्रियटिभ डाइरेक्टर रवि श्रेष्ठ र सुरज जोशीले सम्झौतामा हस्ताक्षर गरेका थिए।
'नेपाल्स सिङ्गि सुपरस्टार' मा संगीतिक क्षेत्रमा संघर्षरत गायक-गायिका तथा दूरदराजमा रहेका प्रतिभालाई स्थान दिइने निर्देशक रवि श्रेष्ठ बताए।
निर्देशक रविका अनुसार सो लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिष्पर्धीहरुको छनोट गरिनेछ। डिजिटल अडिसन पुषको पहिलो साताबाट खुल्ला हुनेछ। डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सहभागी गराइनेछ।
२५ शृंखलासम्म चल्ने प्रतिष्पर्धामा विजयी हुने प्रतियोगीले २५ लाख नगद पाउने बताइएको छ। विजेताको घोषणा दर्शकले दिएको भोटका आधारमा हुनेछ। भोटका लागि सजिलो 'पे भोटिङ' पार्टनर बनेको छ।
सोका निर्णायकहरु पक्का भइसकेका छन्। तर, प्रचारका लागि 'गेस द जजेज' क्याम्पेन हुनेछ। उक्त क्याम्पेनमा विजयी हुनेले उचित पुरस्कार पाउने जानकारी दिइयो।