चर्चित भारतीय कलाकार शाहिद कपुर, विजय सेतुपति, केके मेनन र राशी खन्ना जस्ता कलाकारले अभिनय गर्ने वेब सिरिज काठमाडौंमा छायांकन हुने भएको छ।
उनीहरु वेब सिरिज 'फेक' को छायांकनका लागि काठमाडौं आउन लागेका हुन्।
निर्देशकद्वय कृष्णदशारा कोथापाली र राज निदिमोरुको निर्देशनमा बन्न लागेको यो वेब सिरिजको छायांकन काम यही हप्ता सुरु हुने थ्री ह्विलर्स फिल्म्स प्रालिले जनाएको छ। नेपालमा यो वेब सिरिज छायांकनको व्यवस्थापन थ्री ह्विलर्सले गर्दैछ।
थ्री ह्विलर्सका निर्देशक पुष्पराज न्यौपानेले सेतोपाटीसँग भने, 'फिल्म छायांकन स्थलहरु छनोट गर्ने काम सकिइसकेको छ। सम्भवत डिसेम्बर ४ तारिखदेखि छायांकन सुरु हुने छ।'
प्रोडक्सन म्यानेजर अरुण रेग्मीका अनुसार करिब चार दिन काठमाडौंकाे त्रिभुवन विमानस्थल, बसन्तपुरलगायत ठाउँमा छायांकन हुने छ। अमेजन प्राइम भिडिओबाट प्रसारण हुने यो वेब सिरिजको छायांकनका क्रममा विजय सेतुपति, केके मेनन र राशी खन्ना काठमाडौं आउने निश्चित भइसकेको उनले बताए।
'शाहिद कपुर भने नेपाल आउने छैनन्,' उनले भने, 'मुख्य कलाकारबाहेक अरु क्रु मेम्बरहरु समेत नेपाल आउँदै छन्। फिल्म चार दिनजति नेपालमा छायांकन हुन लागेको हो।'
अमेजोन प्राइमको हिट सिरिज ‘द फेमिली म्यान’ निर्देशन गरेका निर्देशकद्वयको 'फेक' अपराध कथामा आधारित हुने छ।
नेपालमा विदेशी ठूला ब्यानरका चलचित्र छायांकनमा आउने क्रम क्रमश: बढ्दै छ। 'ऊंचाई' को छायांकनका लागि हालै मात्र अनुपम खेर, बोमन इरानी, परिणिति चोपडा, सारिका हसनले नेपालमा करिब एक महिना बिताएका थिए। निर्देशक सुरज बडजत्याको 'ऊंचाई' छायांकनका क्रममा नेपाली कलाकारहरुले समेत काम गर्ने अवसर पाएका थिए। 'फेक' का लागि समेत केही नेपाली कलाकार छनोटको काम भइसकेको छ।
'फेक' को छायांकनका लागि नेपाल आउन लागेका अभिनेता विजय सेतुपति एक दशकयताका सफल दक्षिण भारतीय अभिनेता हुन्। 'भर्सटाइल' यी तमिल अभिनेताका 'सुपर डिलक्स', 'मास्टर', '९६' लगायत फिल्म चर्चित छन्। 'फेक' का लागि विजयले शाहिदभन्दा बढी पारिश्रमिक लिएको खबरले समेत चर्चा पाएको थियो।
अर्का अभिनेता केके मेनन 'लाइफ इन अ मेट्रो', 'हैदर', 'गुलाल', 'सरकार' जस्ता फिल्ममा अब्बल अभिनय गरेका चर्चित बलिउड कलाकार हुन्।
राशी खन्ना निर्देशक सुजित सरकारको 'मद्रास क्याफे' बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री हुन्। तेलुगू फिल्म 'ओहलु गुसागुलादे' बाट चर्चा कमाएकी उनले यसअघि 'तुगलक दरबार' र 'संगाथामिझान' जस्ता फिल्ममा सँगै काम गरिसकेकी छन्।